बैंकले लिलामीमा राखेका सम्पत्ति बिक्न छाडे

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ३१
घरजग्गाका ऋणीले पैसा तिर्न नसकेपछि बैंकले लिलाम गर्न राखेका धितो बिक्री हुन छाडेका छन्। ऋण नउठ्ने र लिलामीका सम्पत्ति पनि नबिकेपछि बैंकहरूको नाफा–नोक्सान खाता बिग्रिने भएको छ।
'लिलामीमा राखिएका सम्पत्ति बिक्री भएका छैनन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले नागरिकसँग भने,'दिनदिनै लिलामीको सूचना बढ्नु र धितो बिक्री नहुनुले स्थिति नाजुक बन्दै गएको छ भन्ने देखाउँछ।'
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अधिकांश ग्राहकले घरजग्गा तथा अचल सम्पत्ति धितो राख्छन्। बिगँ्रदो आर्थिक अवस्था, सम्पत्तिको स्रोत देखाउनुपर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पत्ति बिक्री हुन छाडेको हो। 'व्यक्तिहरूको आम्दानी स्रोत घटेर क्रयक्षमतामा  पनि ह्रास आएको छ,' वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने।
सम्पत्ति धितो राखेका ऋणीहरूले पैसा तिर्न छाडेपछि बैंक तथा वित्तीय संस्थाले कर्जा तिर्नका लागि ३५ दिने सूचना दिन्छ। त्यस अवधिमा पनि कर्जा तिर्न नआए धितो लिलामीमा पठाइन्छ। हरेक साता सय हाराहारीमा लिलामीको सूचना निस्किने गरेका छन्।
'सर्वसाधारणसँग अहिले पैसा छैन,' जोशीले भने, 'घरजग्गाको मूल्य अझै घट्छ कि भन्ने मनोविज्ञानले पनि सम्पत्ति बिक्री नभएका हुन्।'  पछिल्लो समयमा घरजग्गाको कारोबार घटेकाले लिलामको सम्पत्ति बिक्री हुन छाडेको बैंकरहरूको भनाइ छ। 'आर्थिक क्रियाकलाप नभएका बेला लिलाम राखिएका सम्पत्ति बिक्री नहुनु स्वभाविक हो,' डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले भने।
लिलाममा बिक्री नभएको सम्पत्ति सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैले सकार्नु पर्छ। सकारेको सम्पत्ति कम्पनीको वासलातमा गैरबैंकिङ सम्पत्तिका रूपमा देखिन्छ। बैंक तथा वित्तीय संस्थाले सम्पत्ति आफ्नो नाममा आएपछि अनिवार्य रूपमा त्यसलाई लिलामी गरी बेच्नुपर्छ।
बैंकहरूले सम्पत्ति लिलाममा राख्दा बिक्री नभएपछि आफैंले ग्राहक खोजिदिएर पनि धितो राफसाफ गर्न थालेका छन्। …लिलाम हुन लागेको सम्पतिलाई राफसाफ गर्न ऋणीसँग मिलेर बैंकहरूले पनि रोल खेल्न थालेका छन्,' खड्काले भने। उनका अनुसार लिलाममा राखिएको सम्पत्तिमा मुद्दा–मामला, झै–झगडा हुने भएकाले पनि ग्राहकले  'फ्रेस' सम्पत्ति खरिद गर्न खोज्छ। यस्तो अवस्थामा ऋणीलाई विश्वासमा लिएर बैंकले भूमिका खेलेमा लिलाममा राखिएका केही सम्पत्ति बिक्री हुने उनले जानकारी दिए।
'जग्गाको कारोबा ठप्प छ,' शाक्यले भने, 'अर्थतन्त्रमा पनि मन्दी आएकाले लगानीकर्ताको उत्साह घटेको हुनसक्छ।' लिलामीको सूचना सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीहरूले निकालिरहेका छन्। 
बैंकरका अनुसार केही समयअघि लिलामको सम्पत्ति खरिदका लागि पनि बैंकहरुले कर्जा उपलब्ध गराउँथे। अहिले बैंकले पैसा दिन छाडेको तथा सम्पत्ति  खरिदको स्रोत देखाउनुपर्ने भएपछि किन्न ग्राहकले कमै चासो दिन थालेका हुन्। 'कर्जा उपलब्ध हुन छाडेको तथा आम्दानीको स्रोत घटेको छ,' एक बैंकरले भने, 'राजनीतिक र आर्थिक कारणले लगानीकर्तालाई निरुत्साहित बनाएको छ।'
ती बैंकरका अनुसार लिलामको सम्पत्ति खरिद गर्दा औपचारिक रुपमै बाहिर देखिन्छ। अनपेक्षित रूपमा सम्पत्ति खरिद गर्दा पैसा कहाँबाट कसरी आयो भनेर देखाउनुपर्ने हुन्छ। 'अहिलेको अवस्थामा पैसा हुनेहरूले जोखिम नलिएको हो,' ती बैंकरले भने।
लिलामीमा सम्पत्ति बिक्री नभएको अवस्थामा अन्य मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) ले त्यसको भर्पाइ गरिदिन्छ। नेपालमा भने यस्तो कम्पनी स्थापनाको छलफल मात्र सुरु भएको छ। व्यवस्थापन कम्पनीले आवश्यक पर्ने पैसा तŒकाल उपलब्ध गराएर बैंक तथा वित्तीय संस्थाको जोखिम न्यूनीकरण गर्ने काम गर्दछ।
बैंक तथा वित्तीय संस्थाले पैसा फिर्ता नहुने पक्का भएपछि  जोखिम न्यूनीकरणका लागि त्यो ऋणको शतप्रतिशत सम्भावित नोक्सानी व्यवस्था गरिसकेका हुन्छन्। 'ऋण नउठे पनि नोक्सानी व्यवस्था गर्नुपर्छ,' जोशीले भने, 'अहिले धितो सम्पत्ति बिक्री गरेर पैसा उठाउन सक्ने अवस्था छैन। यसले बैंकहरूको हरहिसाब चैतको भन्दा नराम्ररी बिगार्ने छ।'
चैतमा ऋण नउठेका कारण बैंकहरूको नाफा १६ प्रतिशत  घटेको थियो। ऋण नउठेपछि नोक्सानी व्यवस्थामा छुट्याउनु पर्ने रकम ६५ प्रतिशतले बढेको थियो।

1 comment:

  1. Surdshan jee good .........
    - Ishwor Prasad Kharel, http://www.rentalnepal.com

    ReplyDelete

thanks for comment