सुदर्शन सापकोटा
काठमाडौं, पुस ३०
नेपाललाई कृषि प्रधान देश भनिँदै आएपनि केही बर्षयता कृषि उत्पादनहरुले ढाकेको समग्र क्षेत्रफल क्रमशः घट्दै गएको अध्ययनले देखाएको छ। खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल एक बर्षमै २.४ प्रतिशतले घटेको छ भने उत्पादनमा पनि ह्रास आएको छ।
धान, गहुँ, कोदो, जौं, सनपाट, सुर्ति, दाल तथा तेलजन्य बालीले ढाकेको क्षेत्रफल अझ बढी घटेको छ। नेपाल राष्ट्र बैंकले ७५ जिल्लामध्ये ४७ जिल्लामा गरेको अध्ययनले धान, मकै र गहुँको उत्पादनमा उच्च ह्रास आएको जनाएको छ। कृषि क्षेत्रमा कर्जा विस्तारका बावजुत पनि धान उत्पादन ९.५ प्रतिशत, मकै २.७ प्रतिशत र गहुँ उत्पादन ९.१ प्रतिशतले घटेको हो। जबकी कृषि क्षेत्रको बैंक कर्जा ३९.१ प्रतिशतले बढेको छ। सिँचाइ सुविधा एक प्रतिशतले बढेको छ।
जबकी चालु बर्षको मंसिरसम्म मात्रै नेपालले तीन अर्ब ३० करोडको चामल, दुई अर्ब ६९ करोड ६८ लाखको तरकारी र एक अर्ब आठ करोडको फलफूल आयात गरिसकेको छ।
किसानहरु धान, कोदो, गहुँजस्ता परम्परागत बालीहरु लगाउन कम गर्दै नगदेवालीमा आकर्षित हुन थालेका छन्। तरकारी तथा वागबानी, फलफुल तथा मसला र मासुजन्य उत्पादनमा किसानहरु आकर्षित हुन थालेका हुन्। तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफल ३.३ प्रतिशतले बढेको छ भने फलफुल तथा मसला बालीले ढाकेको क्षेत्रफल २.५ प्रतिशतले बढेको छ।
काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी क्षेत्र वरपर खाद्यान्न तथा अन्य बालीले ढाकेको क्षेत्रफल ब्यापक रुपमा घटेको छ। तरकारी तथा बागवानी बालीको क्षेत्र काठमाडौं, वीरगञ्ज, नेपागञ्ज क्षेत्रमा ब्यापक घटेको छ। फलफुल तथा मसलाजन्य बालीले ढाकेको क्षेत्रफल काठमाडौं बाहेक सबै क्षेत्रमा बढेको छ।
अध्ययनले आलु, ऊखु र भटमासको उत्पादनमा बृद्धि भएको देखिएको छ। दाल तथा तेलजन्य बालीको उत्पादन भने घटेको छ। दुध, माछामासुको उत्पादनमा भने बृद्धि देखिएको छ। दुध उत्पादन तीन प्रतिशतले बढेको छ भने माछामासु तथा अन्डा उत्पादन सात प्रतिशतले बढेको छ।
मासुजन्य उत्पादनमध्ये भैसी तथा राँगाको मासु उत्पादन ३.२ प्रतिशत, खसी, बोका तथा भेडाका मासुको उत्पादन ६.४ प्रतिशत, सुँगुर तथा बंगुरका मासुको उत्पादन ५.७ प्रतिशत र कुखुरा तथा हाँसका मासुको उत्पादन सात प्रतिशतले बढेको छ। माछाको उत्पादन पनि ७.५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
तराईका विभिन्न जिल्लाहरुमा कृषकहरुलाई व्यावशायिक रुपमा माछा पालन गर्न आर्थिक अनुदान तथा प्राविधिक सहयोग प्रदान गरिएको थियो। सर्वसाधारणमा माछा उपभोग गर्ने क्रम बढ्दै गएका कारण यसमा कृषकको आकर्षण बढेको अध्ययनमा उल्लेख गरिएको छ।
सरकारले सिँचाइ सुविधालाई समेत यसपाली बढाएको छ। कुल खेति गरिएका क्षेत्रमध्ये ४६.८ प्रतिशत क्षेत्रफल सिँचित भएका थिए। सरकारले कुलो, नहर, वोरिङ तथा पोखरीमार्फत सिँचाइ सुविधा उपलब्ध गराएको थियो। कृषिलाई प्राथमिकतामा राख्दै बैंक तथा वित्तीय संस्थाहरुले कृषि ऋण ३९.१ प्रतिशतले बढाएर ३५ अर्ब २० करोड रुपैयाँ पुर्याएका छन्।
विगतभन्दा सिँचाइ सुविधा सामान्य बढेपनि खेती गरिएको क्षेत्रफलको आधाभन्दा कम भूभागमा मात्र सिंचाइ पुगेकाले आगामी दिनमा वाली लगाउन क्षेत्रफल अझ घट्न सक्ने अध्ययनमा उल्लेख छ। उन्नत जातका विऊ विजन, रासायनिक मलको सहज आपुर्ति तथा वितरण व्यवस्थित गर्दै प्राङगारिक मलको उत्पादन तथा उपयोगलाई विस्तार गर्दै लैजाउनु पर्ने अध्ययनले जनाएको छ।
कृषि क्षेत्रमा कमजोर देखिएपनि कर्जा उपभोग भने काठमाडौंले बढी गरेको छ। कुल कृषि कर्जामध्ये काठमाडौंमा ३८.८ प्रतिशत खपत भएको छ। त्यसपछि वीरगञ्ज, विराटनर, सिद्धार्थनगर, पोखरा, जनकपुर, नेपालगजञ्ज र धनगढी क्षेत्रमा खपत भएको छ। अध्ययन अनुसार यि क्षेत्र कृषि उत्पादन ह्रास आएका क्षेत्रभित्र अग्रस्थानमा पर्छन्।
कृषिभन्दा दर्दनाक अवस्था औद्योगिक क्षेत्रको रहेको छ। देशभरका उद्योगहरु क्षमताको औषत ५७.८ प्रतिशत मात्र उपयोग भएका छन्। मूख्यगरी लोडसेडिङका कारण उद्योगहरुले क्षमताको आधा मात्र प्रयोग हुन पाएका हुन्। अध्ययनमा धान उत्पादन ब्यापक घटेका कारण चामलजन्य उद्योगहरु क्षमताको २२.१ प्रतिशत मात्र उपयोग हुन पाएका छन्। चाउचाउजन्य उद्योग भने क्षमतको सबैभन्दा वढी अर्थात ८७.४ प्रतिशत उपयोग हुन पाएका छन्।
शान्ति सुरक्षा कमजोर, लम्बिदो संक्रमण काल, विग्रिएको श्रम सम्बन्धका कारण औद्योगिक उत्पादनमा गिरावट आएको अध्ययनको ठहर छ। उद्योग क्षेत्रमा देखिएको ऊर्जा संकटलाई दीर्घकालिन समाधान खोज्न आवश्यक भएको अध्ययनको निस्कर्ष रहेको छ।
बनस्पति घिउ, तोरीको तेल, दुग्ध पदार्थ, हल्का पेय पदार्थ, धागो, सिन्थेटिक कपडा, जुटका सामान, काठजन्य उत्पादन, कागज, बिजुलीका तार तथा केबुल, टायर तथा ट्युव उत्पादनमा ह्रास आएको छ। भटमासको तेल, पशुदाना, विस्कुट, चिनी, चाउचाउ, मदिरा, वियर, ईटा, सिमेन्ट, फलामको छडको उत्पादन भने बृद्धि भएको छ।
तेल उद्योगमा दिइएको मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ताको सुविधा तथा बजारमा माग विस्तारका कारण भटमास तेलको उत्पादन बढेको हो भने भारततर्फको निकासी बन्द भएर बजार मागमा आएको ह्रासले बनस्पति घिउ उत्पादन घटेको हो।
राष्ट्र बैंकको अध्ययनले पर्यटक स्तरीय होटलको संख्या १५.४ प्रतिशतले बढेर एक हजार दुई सय २४ पुगेको छ। होटल सैया संख्या पनि १८.५ प्रतिशतले बढेर २० हजार चार सय आठ पुगेको छ।
चार बर्षदेखि सुस्त रहेको घरजग्गा कारोबार सामान्य सुधार देखिन थालेको छ। घरजग्गा रजिस्टे्रशन संख्या २.८ प्रतिशतले बढेको छ भने राजश्व संकलन २८ प्रतिशतले बढेको छ। घर, भवन नक्सा पास संख्या पनि ६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घरजग्गा रजिस्टे्रशन वीरगञ्जमा भएको छ। त्यसपछि जनकपुर, धनगडी, सिद्धार्थनगर, पोखरा र काठमाडौंमा भएको छ।
अध्ययनले सञ्चार सुविधामध्ये टेलिफोन (मोवाइल र ल्यान्डलाइन) विस्तार २३.४ प्रतिशतले बढेको छ भने इन्टरनेट ३७.१ प्रतिशतले बढेको छ। २०६८ को जनगणनालाई आधार मान्दा ८०.५ प्रतिशत जनसंख्यामा टेलिफोन पुगेको छ भने २६.१ प्रतिशत जनसंख्यामा इन्टरनेट सुविधा पुगेको छ।
No comments:
Post a Comment
thanks for comment