ग्रान्ड बैंकका सुधिर खत्री भन्छन्– आइएलएफसीसँग मर्ज हुँदैन


सुधिर खत्री
उपाध्यक्ष
नेपाल बैंकर्स संघ
बैंकहरु तरलता अभाव भयो भन्न थालेका छन्। अहिले के छ अवस्था?
बैंकिङ क्षेत्रकै कुरा गर्ने हो भने तरलता बचतमा छ। केही बैंकमा अधिक तरलता छ भने केहीमा कम छ। यसले गर्दा अभावजस्तो देखिएको हो। निक्षेप वृद्धिको तुलनाको कर्जा विस्तार वढी भएको छ। यसले गर्दा केही बैंकको कर्जा–निक्षेप अनुपात वढ्न थालेको छ। कर्जा–निक्षेप अनुपातका कारण त्यस्ता बैंकमा अभाव जस्तो देखिएको हो। अहिले सरकारी स्वामित्का साथै केही निजी बैंकहरुमा तरलता बचतको अवस्थामा छ। अभाव भएका बैंकहरुले अन्तर बैंक सापटीमा अलिक महँगोमा पैसा उठाइ रहेका छन्। उनीहरुले कल डिपोजिटका साथै संस्थागत निक्षेपकर्तालाई दिने ब्याज वढाउन थालेका छन्। 
अहिलेको तरलता अभाव अस्थायी प्रकृतिको हो। सरकारको कोषमा रकम वढी जम्मा भएकाले उत्पन्न भएको हो। केही सातामा यो समाधान भएर जान्छ। त्यही भएर यसलाई अभाव नै हो भनेर भन्न मिल्दैन। 
अभाव नभएका भए किन रिपो मागिएको त बैंकर्स संघबाट?
हामीले स्थायी समाधान खोजेका हौं। साताको एक दिनजस्तो गरेर रिपो  र रिभर्स रिपोको स्थायी व्यवस्था गरिदिए वेलावखत आउने यस्ता समस्या  आफै समाधान हुन्छन् भनेर संघमार्फत मागेका हौं। एउटामा आएको अभाव अर्कोमा पनि सर्न सक्छ। त्यही भएर मागेका हौं। अहिलेको अभावलाई त अन्तर बैंकबाटै समाधान गर्न सकिने अवस्था छ। 

बैंकहरुले स्प्रेड दर वढी राख्न थाले भनेर खुवै आलोचना भइरहेको छ। नाफा पनि यसैले वढेको रैछ होइन?
चालु वर्ष नाफा घट्दैन भनेर मैले पहिले भनेको हो। नाफा एउटै कारणले वढेको हो–स्प्रेड। आधार दर कार्यान्वयनमा आएपछि नेपालमा ६ देखि १२ प्रतिशतसम्म आधार दर भएको बैंकहरु रहेछ भन्ने पत्ता लाग्यो। तीनदेखि साढे ६ प्रतिशतसम्म स्प्रेड भएको बैंक पनि रहेछन्। आधार दर त आयो तर, आधार दरभन्दा सकभर तल ऋण नदिनु भनिएको छ। तल दिनु हँुदैन भन्ने त सिद्धान्तै हो। तर आधार दरभन्दा माथि कतिसम्म दिने त? यो तोकिएको छैन। माथि कतिसम्म दिने भन्ने नभइन्जेल स्प्रेड वाञ्छनीय सीमाभित्र आउँदैन। 
बैंकहरुले स्प्रेड धेरै राखेर नाफा खाने कि, डुवेको ऋण उठाउने?
फराकिलो स्प्रेड दरले राम्रो काम पनि गरेको छ। धेरै बैंकले समस्याग्रस्त ऋणहरुलाई जोखिम व्यवस्था (प्रोभिजनिङ) गर्न भ्याए। २५ देखि १०० प्रतिशतसम्म प्रोभिजनिङ राखेर पनि नाफा गर्नु भनेको त बैंकिङ प्रणालीलाई नै राम्रो हो। स्प्रेडले समस्यालाई समाधान पनि त गर्‍यो नि। फराकिलो स्प्रेड सँधै राख्नु हुँदैन। तर समस्या समाधानका लागि राखिएकाले यसलाई राम्रै मान्नु पर्छ। 
स्प्रेड वढी हुँदा निक्षेप राख्ने र कर्जा लिने दुवैलाई घाटा हुन्छ। करिव करिब चार प्रतिशतमा वसेको भए निक्षेपकर्ता र ऋणी दुवै ग्राहकलाई फाइदा हुने थियो। अहिले स्प्रेडमा सुधार हुँदै गएको छ। निक्षेपको व्याज दर वढ्न थालेको छ। यसबा स्प्रेड रेट घट्छ। 
घरजग्गा ऋणका बारेमा बैंकरहरुबाट पहिलेजस्तो गुनासो सुनिन छाडेको छ। समस्या समाधान भइसकेको हो?
घरजग्गा ऋण अब बैंकको टाउको दुखाइको विषय रहेन। राष्ट्र बैंकले समयमा घरजग्गा ऋणलाई नियन्त्रण गरका कारण आज बैंकिङ क्षेत्रले सहज रुपमा आफूलाई अवतरण गर्न सकेको छ। राष्ट्र बैंकले नगरेको भए ठूलो दुर्घटना हुने निस्चित थियो। आज घरजग्गाका कारण कुनै बैंक पनि समस्यामा छैनन्। औषत १० प्रतिशत जति मात्र रियलस्टेटमा ऋण छ। १० प्रतिशतमा पनि धेरै बैंकले पैसा उठाइ सकेका छन्। उठाउन नसक्नेले प्रोभिजङि गरेका छन्। केही वर्ष सानोतिनो असर त रहन्छ। तर, यसले बैंकिङ प्रणालीलाई कुनै हानी गर्दैन। अबको एक दुई वर्षमा वाँकी ऋण पनि उठ्ने छ। 
पछिल्लो समय बैंकहरुमा सञ्चालन जोखिम वढिरहेको छ। यसलाई नियन्त्रण गर्न संघबाट कस्तो पहल कदमी भइरहेको छ?
जब वासेल–१ कार्यान्वयनमा आयो यसले पुँजी कोषलाई मात्र महत्व दियो। वासल–२ मा पुँजी कोष र आन्तरिक पुँजी कोष मूल्यांकन प्रकृया (आइक्याप) लाई महत्व दिइएको छ। यसलाई नेपाल राष्ट्र बैंकले पनि महत्व दिएको छ। सबैले आइक्यापलाई अँगालेर जानु पर्छ भनिएको मूख्य कारणमध्ये सञ्चालन जोखिम पनि एक हो। ऋण जोखिमसँगै अहिले अरु जोखिम थपिएका छन्। वित्तीय क्षेत्रको संख्या र सञ्जाल विस्तार भएको छ। यो अनुसारको दक्ष जनशक्ति छैन। 
सञ्चालन जोखिम मान्छे इमान्दार छ, राम्रो छ तर ज्ञान छैन भने यस्तोमा नजानेर जोखिम हुन्छ। अर्को, ज्ञान गुन छ वा छैन। तर, नियत नै खराव छ भने जोखिम हुन्छ। आन्तरिक नियन्त्रण प्रणालीलाई वलियो बनाउनु पर्ने आवश्यकता देखिएको छ। अहिले प्रत्येक बैंकले यसमा विशेष चासोका साथ सुधारका कामहरु गरिरहेका छन्। बंैकिङ आफैमा जोखिम हो। यसलाई नियन्त्रण गर्न अधिकतम प्रयास सँधै गरिरहुन पर्छ।
अब ग्रान्डकै कुरा गरौं। आइएलएफसीसँग मर्ज गर्ने कुरा कहाँ पुग्यो?
हाम्रो आइएलएफसीसँग मात्र होइन केही वाणिज्य बैंकसँग पनि मर्जरको कुरा चलेको थियो। वाणिज्य बैंकसँग मर्ज गर्ने कुराकानीको प्रकृयालाई हामीले अगाडि वढाएनौं। आइएलएफसीलगायत केही विकास बैंक र फाइनान्स कम्पनीले मर्जरका लागि अनुरोध गरेका छन्। मर्जर साह्रै जटिल प्रकृया हो। सञ्चालक समिति, व्यवस्थापन, कर्मचारीका साथै बैंकको नाम, प्रिमियमलगायतका कुरा मिल्न आवश्यक छ। यसमध्ये एउटा मात्र विषय नमिल्दा पनि मर्जर अगाडि वढ्न सक्दैन। आइएलएफसीसँग मर्ज हुने कुरा तय भइसकेको छैन। तर हामीले मर्जरको ढोका भने खुला राखेका छौं। 
घरजग्गा व्यवसायी सुधिर वस्नेतसँग जोडिएर बैंकको नाम आयो। खास कारण के थियो?
अब त सबैले थाहापाइसकेका छन् एइरलाइन्सको ऋण र सुधिर वस्नेतको थुनाइमा कुनै सम्वन्ध थिएन भनेर। बैंकको नाम वद्नियतपूर्वक मुछिएको थियो भन्ने कुरा छर्लङ्ग भइसकेको छ। ९० करोड पर्ने जहाज ६५ करोडमा बैंकले वेच्न लाग्यो भन्ने कुराहरु आएका थिए। ६५ करोडको ऋणमा अग्नीका सञ्चालकहरुले कुनै मान्छे ल्याउनु हुन्छ भने ४–५ करोड रुपैयाँ ब्याज घाटा खाएर एयरलाइन्स उहाँहरुलाई दिन तयार छौं। 
अहिले अग्नी समूह र अर्को समूह मिलेर एयरलाइन्स चालउने तयारीमा हुनु हुन्छ। हामी ऋण दिने बैंकहरु यसमा सकारात्मक छौं। हामीलाई त परियोजना राम्रो चलाएर उहाँहरुले पैसा तिर्नु भयो भने खुसीको कुरा हुन्छ। 
नाम परिवर्तनपछि ग्रान्ड बैंकको अवस्थामा के सुधार आएको छ?
ग्रान्डको पुँजी २ अर्ब पुगिसकेको छ। निक्षेप १६ अर्ब र कर्जा १४ अर्ब पुगेको छ। २१ वटा शाखा छन्। मर्जरको कुरा उठिरहेको र सञ्चालन जोखिमका कारण यसपाली शाखा खोलनौं। चाँडै कर्पोरेट विल्डिङ सक्दैछौं। माघसम्म ३२ करोड नाफा गरेका छौं। यो वर्ष सञ्चालन नाफा ६० करोड पुग्छ। ९ महिनाअघि निक्षेप १० अर्ब थियो अहिले १६ अर्ब पुगेको छ। रेमिट्यान्स पनि राम्रो भित्राइरहेका छौं। एलसी कारोबार पनि राम्ररी वढेको छ। बैंकको स्टे्रन्थ वढाइरहेका छौं। यसपाली दोहोरो अंकमा लाभांस दिन्छौं। नाम परिवर्तनपछि प्रतिस्ठामा सुधार आएको छ। 

No comments:

Post a Comment

thanks for comment