सुदर्शन सापकोटा
काठमाडौं, फागुन २९
राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले खाता सञ्चालनका लागि ग्राहकसँग पूर्ण पहिचानसहित परिवारका सबै सदस्यहरुको नागरिकता नम्बर र जारि मिति माग्न थालेपछि निक्षेपकर्ताले बैंक खाता बन्द गर्न थालेका छन्।
राष्ट्र बैंकले सम्पत्ति सुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने भन्दै खाता खोल्ने प्रकृयालाई झन्झटीलो बनाएपछि ग्राहकले भएकै खाता बन्द गर्न थालेका हुन्।
बैंकहरुले सार्वजनिक सुचनाका साथै फोन सम्पर्क, एसएमएसमार्फत ग्राहकहरुलाई परिवारका सदस्यको नागरिकता नंबरसहित खाता अद्यावधि गराउन आग्रह गरिरहेका छन्। ग्राहकले परिवारका सदस्यहरुको विवरण उपलब्ध गराउनुको साटो खाता बन्द गर्ने सजिलो बाटो रोज्न थालेका हुन्।
'बैंकको सुचनापछि धेरै कम ग्राहक मात्र खाता बारे वुझ्न आउने गरेका छन्,' बैंकर्स संघका एक सदस्यले भने, 'खाता बारे वुझ्न आएका १० जना ग्राहकमध्ये तीन जनाले खाता बन्द गर्न थालेका छन्।'
नयाँ व्यवस्था अनुसार खाता खोल्न तथा सञ्चाल गर्न पति वा पत्नी, वावु, आमा, बाजे, बज्यै, छोरा, छोरी र वुहारीको नागरिकता नंबर, जारि गरेको कार्यालय र जारी मितिसमेत उल्लेख गर्नु पर्ने हुन्छ। आफ्नो नागरिकताको प्रतिलिपी र दुई वटा पासपोर्ट आकारको फोटो बुझाएर खाता खोल्दै आएका ग्राहकलाई नयाँ व्यवस्थाले झन्झटिलो बनाएको हो।
राष्ट्र बैंकले यसअघि पति वा पत्नी, वावु, आमा, बाजे, बज्यै, छोरा, छोरी र वुहारीको नागरिकताको प्रतिलिपी वुझाउनु पर्ने व्यवस्था गरेको थियो। बैंकर्सको दवावपछि यसलाई सच्याउँदै राष्ट्र बैंकले जारि मिति र नागरिकता नम्बर भए पुग्ने व्यवस्था गरेको छ।
'नागरिकता नंम्बर र जारि मिति भए त्यसको प्रतिलिपी ल्याउन के गाह्रो छ र?' एक बैंकरले भने, …पुरानो व्यवस्थालाई सच्याएजस्तो गरेर झुक्याउन खोजिएको छ।' राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार, रोजगारीमा रहेको भए संस्थाको नाम, ठेगाना, पद र अनुमानित वार्षिक आम्दानीसमेत उल्लेख गरेपपछि मात्र खाता खोल्न पाइन्छ। व्यवसाय सञ्चालन गरिरहेकाहरुले स्थायि लेखा नम्बरका साथै अनिवार्य रुपमा वार्षिक कारोबार हुने अनुमानित रकमसमेत उल्लेख गर्नु पर्छ।
राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार खाता अद्यावधिक नगराएका बैंक तथा वित्तीय संस्थाहरुलाई …सुपरिवेक्षकीय मूल्यांकन' मार्फत कारवाही गर्न थालेको छ। खाता अद्यावधिक नगर्दा सञ्चालन जोखिम वढेको भन्दै राष्ट्र बैंकले पुँजी कोष अनुपातमा पेल्न थालेको बैंकरहरुको भनाइ छ।
ग्राहकले खाता बन्द गर्न थालेको र अद्यावधिक नभएको भन्दै राष्ट्र बैंकले कारवाही गर्न थालेपछि बैंकहरुले आफ्नो छाता संगठन नेपाल बैंकर्स संघलाई नियामकसँग कुरा गर्न दवाव दिन थालेका छन्।
'अहिले नयाँ खाता खोल्न ग्राहक आउन छाडेका छन् भन्दा पनि हुन्छ,' ती बैंकरले भने, 'तरलता अभाव हुनुमा एउटा कारण नयाँ खाता नथपिने र भएकाले पनि बन्द गर्न थालेकाले हो।'
राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार, खाता खोल्नेले आफू बसेको ठेगाना पुष्टी हुने कागजात पनि उपलब्ध गराउनु पर्ने हुन्छ। खाता खोल्नेको बैंकका कर्मचारीले स्थलगत अध्ययन गरी तयार पारेको नक्सासमेत राखिन्छ।
'अहिलेको व्यवस्थाका कारण ग्राहकको गोप्यता नै भंग हुने अवस्था आएको छ,' एक बैंकरले भने, 'यस्तो झन्झटिलो व्यवस्थाका कारण खाता खोल्न सर्वसाधारणको आकर्षण कम हुनु स्वभाविक हो।'
राष्ट्र बैंकले ग्राहकसँग आवश्यक विवरण नलिइ खाता खोलेको पाइए सम्पति सुद्धिकरण निवारण ऐन अन्तर्गत एक लाखदेखि ३ लाखसम्म जरिवाना तिराइने भन्दै बैंकहरुलाई निर्देशन दिएको छ।
'बैंकहरुसँग मागेको बखत ग्राहक विवरण उपलब्ध नगराए पाँच लाख रुपैयाँसम्म जरिवाना हुने छ,' राष्ट्र बैंकको निर्देशनमा छ, 'यस वाहेक कानुन बमोजिम अन्य कारवाही पनि हुने छ।' नेपालले आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्दै वित्तीय क्षेत्रको पारदर्शिता, सवलता र स्थायित्वका लागि सम्पति सुद्धिकरणको क्षेत्रमा काम गर्दै आएको अन्तर सरकारी वित्तीय कार्यदलको सदस्यता लिएका कारण खाता खोल्ने प्रकृया झन्झटिलो भएको हो।
बैंकरका अनुसार, खाता खोल्ने प्रकृया वढी झन्झटिलो र सबै गोप्यता खोल्न वाध्य पारियो भने बैंकिङ प्रणालीमार्फत हुने कारोबार घट्न थाल्ने छ। 'सम्पति सुद्धिकरणका व्यवस्था पालना हुने गरी नेपाली माटो सुहाउँदो प्रकृया अवलब्न गर्नु पर्छ,' ती बैंकरले भने,'नभए खाता खोल्ने पिरैले सर्वसाधारण बैंक आउँदैनन्।'
No comments:
Post a Comment
thanks for comment