काठमाडौं, वैशाख ३०
मूल्य वृद्धि अघिल्लो महिनाको भन्दा घटेर राष्ट्र बैंकले प्रक्षेपक्ष गरेको लक्ष्यभित्र आएको छ। चालु आर्थिक वर्षको पहिलो नौं महिना (चैत मसान्त) मा मूल्य वृद्धि साढे नौं प्रतिशतामा झरेको हो। अघिल्लो महिना मूल्य वृद्धि १०.२ प्रतिशत पुगेको थियो।
यद्यपी मूल्य वृद्धि अघिल्लो वर्षको तुलनामा अझै वढी नै छ। अघिल्लो वर्ष मूल्य वृद्धि दर साढे ७ प्रतिशत थियो। राष्ट्र बैंकले अघिल्लो वर्षको यसपाली खाद्यान्न तथा पेय पदार्थको मूल्य वढेका कारण मूल्य वृद्धि उकालो लागेको जनाएको छ। सेवा क्षेत्रको मूल्य वृद्धि भने घटेकेा छ। अघिल्लो वर्ष १०.१ प्रतिशत रहेको सेवा क्षेत्रको मूल्य वृद्धि यसपाली ८.७ प्रतिशतमा सीमित भएको छ। यसले गर्दा समग्र मूल्य वृद्धिमा गिरावट आएको हो।
माछा मासुको मूल्य सबैभन्दा वढी वृद्धि भएको छ। ८ प्रतिशत रहेको यसको मूल्य वृद्धि यसपाली १६.२ प्रतिशत पुगेको छ। खाद्यान्न र दाल तथा गेडागुडीको मूल्य पनि अचाक्ली वढेको छ। खाद्यान्नको मूल्य वृद्धि १३.५ प्रतिशत र दाल तथा गेडागुडीको ११.८ प्रतिशतले मूल्य वढेको छ।
अघिल्लो वर्ष १२.५ प्रतिशतले वढेको रेष्टुरेन्टको खाना तथा सेवाको मूल्य ११ प्रतिशतले वढेको छ। सेवातर्फ शिक्ष क्षेत्रको मूल्य वृद्धि साढे १२ प्रतिशतले भएको छ। अघिल्लो वर्ष मूल्य वृद्धि ८.९ प्रतिशत थियो। फर्निसिङ तथा घरायसी उपकरणको मूल्य वृद्धि १२.१ प्रतिशत र लत्ताकडा तथा जुत्ताचप्पलको १० प्रतिशतले मूल्य वढेको छ।
सबैभन्दा वढी मूल्य वृद्धि काठमाडौं उपत्यकामा भएको छ। काठमाडौंको मूल्य वृद्धि ६.४ प्रतिशतबाट वढेर १०.३ प्रतिशत पुगेको छ। तराईको मूल्य वृद्धि ७.८ प्रतिशतबाट बढेर ९.३ प्रतिशत पुगेको छ भने पहाडको मूल्य वृद्धि ८.४ प्रतिशतबाट वढेर ८.८ प्रतिशत पुगेको छ।
चैतमा कुल वस्तु निर्यात ३.५ प्रतिशतले वढेर ५७ अर्ब १६ करोड रुपैयाँ पुगेेको छ। अघिल्लो वर्ष निर्यात १५.९ प्रतिशतले वढेर ५५ अर्ब २४ करोड पुगेको थियो। भारत तथा अन्य मुलुकतर्फको निर्यातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा न्यून रहन गएको कारण वस्तु निर्यातको वृद्धिदर घटेको हो।
चैतमा कुल वस्तु आयात २०.३ प्रतिशतले बढेर ४ सय ८ अर्ब ८३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ प्रतिशतले वढेर ३३९ अर्ब ८४ करोड पुगेको थियो। भारत तथा अन्य मुलुक दुवै तर्फको आयात बढेकोले कुल वस्तु आयातको वृद्धिदर उच्च रहन गएको हो। कुल वस्तु निर्यातमध्ये भारततर्फको ०.४ प्रतिशतले मात्र वढेको छ। अघिल्लो वर्ष निर्यात १८.४ प्रतिशत वृद्धि भएको थियो। भारत वाहेकका मुलुकतर्फको निर्यात ११.१ प्रतिशतले बढेको तुलनामा अहिले जम्मा १० प्रतिशतले वढेको छ।
भारततर्फ मुख्यतया जीआई पाइप, तार, जिङ्क शिट, अदुवा लगायतका वस्तुको निर्यात बढेकोे छ। अन्य मुलुकतर्फ विशेषगरी दाल, प्रशोधित छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ।
कुल आयातमध्ये भारततर्फको २२.९ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष १३.१ प्रतिशतले आयात वढेको थियो। भारत वाहेकका मुलुकबाट भएको आयात १५.५ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष आयात २८.३ प्रतिशत वढेको थियो।
भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस्, सिमेन्ट, चामल तथा अन्य मेशिनरी तथा पार्टस् लगायतको आयात बढेको छ। अन्य मुलुकबाट विशेषगरी तयारी पोसाक, चाँदी, पाईप तथा पाईप फिटिङ्ग, सञ्चारका उपकरण तथा पार्टस तथा जुत्ता तथा चप्पल लगायतकोे आयात बढेको छ।
शोधनान्तर बचत
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) बचत ३० अर्व ७७ करोड पुगेको छ। अघिल्लो वर्षको चैतमा ९२ अर्व ५५ करोड रुपैयाँ थियो। फागुनको बचत ११ अर्ब ७८ करोड थियो।
वस्तु तथा सेवाको आयातमा भएको वृद्धि र रेमिट्यान्स वृद्धि दर घटेका कारण बचत घटेको राष्ट्र बैंकको विश्लेषण छ। विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) को वृद्धि दर ३५.५ प्रतिशतबाट झरेर २१.९ प्रतिशतमा सीमित भएको छ।
चैतसम्म रेमिट्यान्स ३०२ अर्ब ५८ करोड भित्रिएको छ। फागुनसम्म २ सय ६६ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
No comments:
Post a Comment
thanks for comment