विद्युतीय कारोबार सुरु भएपछि नेपालीले घरमा बसीबसी इन्टरनेट माध्यमबाट विभिन्न उपभोग्य सामान खरिद गर्न र टेलिफोन, खानेपानी, केबुल टिभीलगायत बिलसमेत तिर्न सक्नेछन् ।
विकसित देशका जनताको जीवनशैली नै बनिसकेको विद्युतीय कारोबार तीनदेखि चार महिनाभित्र सुरु गरिने एससिटीका प्रमुख प्रविधि अधिकृत (सिटिओ) समीर बज्राचार्यले जानकारी दिए । 'अहिले हामी अन्तिम परीक्षणका क्रममा छौँ, तीनदेखि चार महिनाभित्रमा इ-कमर्स सुविधा सुरु गर्छाँ,' उनले भने । इ-कमर्स थाल्न विद्युतीय भुक्तानी मार्ग (इ-पेमेन्ट गेटवे) प्राप्त भइसकेकाले सेवा सुरु गर्न कुनै कठिनाइ नभएको उनको भनाइ छ । विद्युतीय कारोबार सुरु गर्न सदस्य बैंक तथा वित्तीय संस्थासमेत इच्छुक भएको उनले बताए ।
'नयाँ सेवा सुरु भएपछि उपभोक्ताले घरमै बसेर एससिटी डेबिट कार्डर्का माध्यमबाट आफूलाई चाहिएको वस्तु खरिद गर्न सक्नेछन् भने नगद भुक्तानी झन्झट व्यहोर्नुपर्ने छैन,' उनले भने । यसका लागि एससिटी नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाको डेबिट कार्ड आवश्यक पर्नेछ । उपभोक्ताले डेबिट कार्डको पिन नम्बर थिचेकै भरमा नेपालभरि छरिएर रहेका एससिटी बिक्री केन्द्र (प्वाइन्ट अफ सेल्स, पिओएस) बाट वस्तु खरिद गर्न सक्नेछन् । नेपालमा एससिटीले पहिलोपटक यस्तो सुविधा ल्याउन लागेको उनले बताए । प्रारम्भमा नेपालभर मात्रै कारोबार गर्न सकिने सुविधा उपलब्ध भए पनि विस्तारै भारतमा समेत कारोबार गर्न सकिने व्यवस्था मिलाउने एससिटीले जनाएको छ । भारतबाहेकका अन्य मुलुकमा कारोबार विस्तारका लागि विद्यमान ऐन कानुनमा आवश्यक व्यवस्था नभएकाले कारोबार गर्न नसकिने बज्राचार्यले बताए ।
'सुरुमा हामी वस्तु खरिद तथा सेवा शुल्क भुक्तानीका लागि सेवा प्रदान गर्छाँ,' उनले भने, 'त्यसपछि विद्युतीय माध्यमबाट नै सबै आर्थिक कारोबार गर्न सकिने व्यवस्था मिलाउने योजना छ ।' सेवाको दायरा फराकिलो पार्दै पछि फन्ड ट्रान्सर्फर, एयरलाइन्स टिकेटिङजस्ता सेवासमेत उपलब्ध गराइने उनको भनाइ छ । सरकारले पनि विद्युतीय शासन (इ-गभर्नेन्स) को नीति लिएकाले आफूहरूले यस्तो सेवा सुरु गर्न लागेको उनले बताए ।
नगदमा गरिने कारोबार विद्युतीय माध्यमबाट हुन थालेपछि जोखिम न्यूनीकरण हुने उनको विश्वास छ । 'नगद कारोबार गर्नुपर्दा ठूलो रकम बोक्न झन्झट हुने, लुटिने डर हुन्छ,' उनले भने, 'सबै कारोबार अनलाइनबाट हुने भएपछि यस्तो जोखिम हुँदैन ।'
अनलाइन कारोबारमा जोखिम
अनलाइन कारोबारमा केही हदसम्म जोखिम भए पनि जोखिम व्यवस्थापनका लागि उच्च स्तरीय प्रविधि प्रयोग गरिने बज्राचार्यले बताए । सेवा प्रदायको जस्तै नक्कली (पिसिङ) साइट बनाएर उपभोक्ताको पिन नम्बरलगायत गोप्य सूचना प्राप्त गरी अवैधानिक कारोबार गर्ने जोखिम हुन्छ ।उनले भने, 'तर, यसबाट बँच्न हामीले बलियो इन्त्रिप्सन सिस्टम राखेका छौँ, जसले गर्दा यस्ता पिसिङ साइटबाट सहजै मुक्त हुन सकिन्छ ।' मजबुत इन्त्रिप्सनसँगै पिन नम्बरलगायत उपभोक्ताका गोप्य सूचना प्रवाहका लागि वेबसाइटमै भर्चुअल कि-बोर्ड राखिनेसमेत उनले बताए ।
'भर्चुअल की-बोर्ड भएपछि कीमा प्वाइन्टरले थिचेर सूचना प्रवाह गर्न सकिन्छ, जसले कारोबारलाई थप सुरक्षित बनाउँछ,' उनले भने ।
जोखिम न्यूनीकरणका लागि उच्च व्यवस्था गरिए पनि सोसियल इन्जिनियरिङ (फेसबुक, माइस्पेस, हाई फाइफजस्ता सामाजिक साइटमार्फत कुरै कुरामा गोप्य सूचना लिने) को जोखिम भने अझै रहेको उनले बताए ।
'कतिपय मानिस च्याटमा कुरा गर्दागर्दै गोप्य सूचना पाउन सिपालु हुन्छन्,' उनले भने, 'यस्तो जोखिम भने कम्पनीले व्यहोर्न सक्दैन । त्यसका लागि उपभोक्ता नै जिम्मेवार हुनुपर्छ ।' नेपालमा केही सीमित कारोबार विद्युतीय माध्यमबाट भइरहेका छन् । केही बैंकहरूले इन्टरनेट बैंकिङका माध्यमबाट वस्तु खरिद, एंव सुविधाबापतको भुक्तानी तथा मोबाइल रिचार्ज गर्ने सुविधा उपलब्ध गराइरहेका छन् ।
यसैगरी केही व्यापारिक संस्थाहरूले इन्टरनेटमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाए पनि भुक्तानी भने नगदमा हुँदै आएको छ । केही व्यापारिक संस्थामा सीमित विद्युतीय कारोबारलाई एससिटीले बृहत् रुपमा सञ्चालन गर्न लागेको हो । एससिटीले उपलब्ध गराउने सेवा पूर्ण विद्युतीय हुने बज्राचार्यले बताए ।
No comments:
Post a Comment
thanks for comment