लघुवित्तमा नबुझेका पनि आउन थालेका छन्


रामचन्द्र जोशी
कार्यकारी निर्देशक,
छिमेक विकास बैंक
 
 

छिमेक विकास बैंक लघुवित्त क्षेत्रमा कार्यरत अग्रणी कम्पनीमध्ये एक हो । कम्पनीले ५० शाखामार्फत एक लाख १९ हजार सदस्यलाई सेवा दिइरहेको छ । हालसम्म एक अर्ब ४० करोड कर्जा लगानी गरेको कम्पनी तथा समग्र लघुवित्त क्षेत्रका बारेमा कार्यकारी निर्देशक रामचन्द्र जोशीसँग नागरिकका सुदर्शन सापकोटाले गरेका कुराकानी :


लघुवित्त क्षेत्रबाट कसरी पिछडिएकाले फाइदा लिन सक्छन् ?
अहिले १८ कम्पनी साचालनमा छन् । अझै धेरै कम्पनी आउने तयारीमा छन् । अहिले यसै क्षेत्रमा काम गरिरहेका भन्दा पनि वाणिज्य बैंकको लगानीमा कम्पनीहरु खुल्ने क्रम छ । यसो हुँदा बुझेकाले भन्दा नबुझेकाले काम गरिरहेका छन् । यस क्षेत्रमा अरुको सहयोगबाट लगानी गरिरहेको बैंकले कसरी यस क्षेत्रमा तलसम्म पुगेर काम गर्छ भन्ने चिन्ता छ ।
लघुवित्तबाट ससानो रकम लगेर उत्पादनमूलक काम गरी जीविकोपार्जन धेरैले गरिरहेका छन् । वास्तविक पिछडिएका वर्गलाई नै यी संस्थाले समेट्ने हुँदा गाउँगाउँमा यसको सकि्रयता छ । पछिल्लो अवधिमा सानो कर्जालाई लघुवित्त कर्जा हो भन्ने बुझ्न थालिएको छ । यस्तो सोचाइले वास्तविक पिछडिएका वर्ग छुट्छन् ।

यो क्षेत्रको वास्तविक चुनौती के हो ?
यस क्षेत्रको चुनौती दोहोरोपन हो । एक संस्थाको ऋण सदस्य रहेको व्यक्ति अर्कोमा गएर कर्जा लिने क्रम बढेको छ । यो भनेको कर्जा नतिर्ने नियत भएकाहरुको संख्या बढ्दो छ भन्ने हो । यसले कम्पनीहरुको खराब कर्जा बढाउन थालेको छ । नयाँ आएका कम्पनीहरु नाफामा गएपछि मात्र वाणिज्य बैंकबाट पाउने कर्जा कुल कर्जाको तीन प्रतिशत पाउँछन् । नाफामा आउन उनीहरु पहिले अरु कम्पनी पुगेकै क्षेत्रमा लगानी गर्छन् । यसबाट झन् समस्या आउँछ ।
लघुवित्त संस्थाहरु तराईमा मात्र भए भन्ने आरोप छ नि ?
पहाडतिर कर्जा लिन मान्दैनन् । कर्जा लिएर तिर्न नसकिने हो की भनेर यस्तो भएको हो । तराइतिर सजिलै कर्जा लिन्छन् । तराईतिर बजार पनि छ । पूर्वाधार पुगेकाले काम गर्न सजिलो हुन्छ । पहाडमा पनि प्रशस्त सम्भावना छन् । पहाडी क्षेत्रमा सेवा पुगेको छैन । त्यस क्षेत्रमा लगानी विस्तारसँगै निक्षेप विस्तारको सम्भावना छ । सरकारले पहाडी क्षेत्रमा जानका लागि करमा १० देखि १५ प्रतिशतसम्म छुट दियो भने त्यहाँ जान सहज हुन्छ ।

अहिले लघुवित्त कम्पनी खोल्ने होड चलेको छ । यसले भइरहेका कम्पनीलाई कस्तो असर पार्ला ?
अहिले धेरै लघुवित्त क्षेत्रमा आइरहेका छन् । वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनी खोल्नका लागि बन्द भएकाले यता तिर आएका हुन् । बुझेका भन्दा नवुझेका मान्छे यो क्षेत्रमा पस्न थालेकाले यो क्षेत्र पनि अन्य जस्तै बिगि्रने हो की भन्ने आशंका बढेको छ । यसले भइरहेकालाई समेत अप्ठेरो पार्छ ।
कम्पनी धेरै आइरहेका छन् । जनशक्तिको अभाव छैन ?
लघुवित्त क्षेत्रमा जनशक्ति अभाव छैन । गाउँगाउँमा गएर काम गर्नुपर्ने भएकाले एसएलसी पास गरेको मान्छे भएपनि हामीलाई हुन्छ । सामान्य तालिमपछि उ त्यो काम गर्न योग्य हुने भएकाले पनि समस्या नभएको हो । यो क्षेत्रमा एक संस्थाबाट अर्कोमा जाने भन्ने हुँदैन । किनभने कम्पनीपिच्छे काम गर्ने मोडल फरक पर्ने भएकाले कर्मचारी सर्ने सम्भावना कमै हुन्छ ।

गरिबका लागि भनेर खुलेका लघुवित्त कम्पनीको ब्याज भने महंगो छ नि ?
ब्याज पटक्कै महंगो होइन । संसारभरीकै तुलनामा सबैभन्दा सस्तो ब्याज दर नेपालमा छ । नेपालमा जम्मा २० प्रतिशत हो । अन्य देशमा कम्तिमा ४० प्रतिशत छ ।
लघुवित्तबाट ५÷१० हजारका दरले कर्जा जान्छ । गाउँगाउँमा गएर ऋण दिन्छौं । बिना धितो कर्जा दिन्छौं । त्यसैले यो ब्याज महंगो होइन । हाम्रोबाट गएको कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी हुन्छ । वाणिज्य बैंकको भन्दा हाम्रो सदस्यको कमाइको स्तर माथि छ । वाणिज्य बैंकबाट १ अर्ब ऋण लिएर २० करोड कमाइ हुन्छ भने । हाम्रोमा ५ हजार लिएर २० हजारसम्म कमाइ हुन्छ । त्यसैले महंगो भन्न मिल्दैन । हाम्रो बढी उत्पादनमूलक हुन्छ । छिमेकीको मात्र कुरा गर्ने हो भने ५० शाखा छन् । १ लाख १९ हजार सदस्य छन् । १ अर्ब ४० करोड कर्जा लगानी गरेका छौं । यो कर्जा वाणिज्य बैंकको भन्दा धेरै कम हो । तर वाणिज्य बैंकले प्राप्त गर्ने प्रतिफल भन्दा हाम्रोमा बढी छ ।
गरिबका लागि काम गर्ने संस्थाले २० प्रतिशत ब्याज लिनु महंगै हो नि ?
हामीले तिर्ने कर र वाणिज्य बेंकले तिर्ने कर बराबर छ । ३०।५ प्रतिशत । हामी वास्तविक गरिबको क्षेत्रमा गएर काम गर्नेलाई पनि समान कर लिँदा काम गर्न गाह्रो छ । गरिबी निवारणको लक्ष्य लिएको सरकारले यो कर घटाउन आवश्यक छ । कर तिर्ने पैसा हामी गरिबका लागि खर्च गर्न सक्थ्यौं । वाणिज्य बैंकले बढाएको कर्जाको ब्याज दर अवस्था सहज हुँदा पनि घटाएको छैन । यसले गर्दा हाम्रो पुँजी लागत धेरै छ । वाणिज्य बैंकको ब्याज घटे हामीलाई अझ सस्तोमा काम गर्न सजिलो हुन्थ्यो ।
लघुवित्त क्षेत्र प्रभावकारी हुन सकेको छैन कसरी बनाउन सकिन्छ ?
लघुवित्त संस्था गरिबका लागि खोलिएको हो । उनीहरुलाई ऋण दिन मात्र होइन । ऋणसँगै अन्य सामाजिक सेवा दिन सकियो भने उनीहरुको वास्तविक विकास हुने थियो । यसका लागि सरकारी तहबाट पनि सहयोग हुन आवश्यक छ । गरिबको हित गर्ने भनेको लघुवित्तबाटै हो । यसलाई प्रभावकारी बनाउन सरकारी तहबाट सहयोग हुनै पर्छ ।

छिमेकीको सेयर बजारमा त्यति पाइदैन नि  ?
हाम्रो कम्पनीको सेयर कर्मचारी वाणिज्य बैंक र ऋणी सदस्यसँग छ । हाम्रो सदस्य गाउँमा छन् । गाउँमा भएका सदस्यलाई काठमाडौं आएर सेयर विक्री गर्न आर्थिक रुपमा पनि त्यति लाभप्रद छैन । त्यही भएर बजारमा हाम्रो सेयर धेरै पाउँदैन । हाम्रो सेयरको माग हुने तर आपुर्ति नहुने भएकाले मूल्य पनि उच्च छ ।
अहिले बजार ओरालो लाग्दा पनि कतिपय वाणिज्य बैंकको भन्दा छिमेकीको सेयर माथि छ नि ?
बजार वास्तविकता तिर आउन थालेको छ । २ हजारमा किनेको सेयरमा सत प्रतिशत लाभांस दिँदा पनि थप एक सय आउने हो । ३५० मा किनेर सत प्रतिशत लाभांस दिँदा पनि १ सय रुपैयाँ आउने हो । यी दुईको तुलना गर्दा ३५० रुपैयाँमा किनेको सेयरबाट बढी प्रतिफल आइरहेको हुन्छ । अहिले लगानीकर्ताले यो कुरा बुझु्न थालेका छन् । यही कारणले होला हाम्रो सेयर बढेका बेला पनि वेपत्तासँग बढेन र घटेका बेला पनि धेरै घटेन ।


No comments:

Post a Comment

thanks for comment