६ वित्तीय संस्थालाई मर्जर स्वीकृति, कुन-कुन संस्था गाभिँदै छन्?

काठमाडौं, कात्तिक २५ 
राष्ट्र बैंकले ६ वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले ६ महिनाभित्र गाभिइसक्ने गरी स्वीकृति दिएको हो। 
 राष्ट्र बैंकले अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स, पशुपति विकास बैंक र लर्डबुद्ध फाइनान्स तथा बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्सलाई आपसमा गाभिन सैद्धान्तिक स्वीकृति दिएको हो। स्वीकृति पाएका तीनवटै विकास बैंक क्षेत्रीय स्तरका र फाइनान्स कम्पनी राष्ट्रिय स्तरका हुन्। आपसमा गाभिएपछि बन्ने नयाँ कम्पनी राष्ट्रिय स्तरको विकास बैंक हुनेछ।
अन्नपूर्ण विकास बैंकको चुक्ता पुँजी ६७ करोड २० लाख रुपैयाँ छ। १ अर्ब रुपैयाँभन्दा बढी निक्षेप भएको बैंकले १ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष ८ करोड रुपैयाँ नाफा कमाएको बैंकको पुँजी पर्याप्तता अनुपात ५४ प्रतिशतभन्दा बढी छ। बैंकको खराब कर्जा २ प्रतिशतहाराहारीमा छ।

सूर्यदर्शन फाइनान्सको चुक्ता पुँजी १० करोड रुपैयाँ छ। ५० करोड निक्षेप रहेको फाइनान्सले ४७ करोड कर्जा लगानी गरेको छ। कम्पनीले गत वर्ष १५ करोड रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको पुँजी पर्याप्तता अनुपात २३ प्रतिशत र खराब कर्जा अनुपात ०.३ प्रतिशत छ।
पशुपति डेभलपमेन्टको निक्षेप ४५ लाख रुपैयाँ र कर्जा ८० लाख छ। बैंकको पुँजी पर्याप्तता अनुपात ७७.३२ र खराब कर्जा अनुपात ३.५३ प्रतिशत छ।
लर्डबुद्ध फाइनान्सको चुक्ता पुँजी भने १६ करोड ८२ लाख रुपैयाँ छ। निक्षेप संकलन ४४ करोड ४३ लाख र कर्जा ४२ करोड ९८ लाख रुपैयाँ छ। कम्पनीको पुँजी पर्याप्तता अनुपात ४०.५८ प्रतिशत र खराब कर्जा अनुपात ०.८८ प्रतिशत छ।
बिजनेस डेभलपमेन्टको चुक्ता पुँजी ६९ करोड रुपैयाँ छ। १ अर्ब ७१ करोड निक्षेप रहेको बैंकको कर्जा १ अर्ब ६४ करोड रुपैयाँ छ। बैंकको पुँजी पर्याप्तता अनुपात ३९.६८ प्रतिशत र खराब कर्जा अनुपात ०.०२ प्रतिशत छ।
यसै गरी युनिभर्सल फाइनान्सको चुक्ता पुँजी १५ करोड २० लाख रुपैयाँ छ। कम्पनीको निक्षेप संकलन १ अर्ब रुपैयाँ र कर्जा १ अर्ब ८ करोड रुपैयाँ छ। कम्पनीको पुँजी पर्याप्तता अनुपात १८.६५ प्रतिशत र खराब कर्जा अनुपात ०.९९ प्रतिशत छ।

No comments:

Post a Comment

thanks for comment