उद्योगपति विनोद चौधरीको खुलासा : विदेशीमार्फत नबिल बैंकमा ५० प्रतिशत लगानी


• 'सिस्टम' ले रोकेका कारण विदेशीमार्फत लगानी गर्नु परेको प्रस्टोक्ति
• पञ्चायतलाई जिताउन डेढ करोड सहयोग गरेको दावी
• दरवारले हरेक व्यवसायमा ५१ प्रतिशत हिस्सा खोज्थ्यो
• सुगर मिलका कारण कालोसुचीमा


सुदर्शन सापकोटा
काठमाडौं, माघ ११
उद्योगपति विनोद चौधरीले नबिल बैंकको सेयर विदेशी कम्पनीको नाममा खरिद गरेको स्वीकार गरेका छन्। उनले तत्कालिन नेपाल अरब बैंकको ५० प्रतिशत संस्थापक सेयर बंगालादेशी बैंकमार्फत खरिद गरेको स्वीकारेका हुन्।
प्रकाशोन्मुख आत्मकथा 'विनोद चौधरी' मा उनले नबिलको सेयर किन्न नेपालको 'सिस्टम'  का कारण घुमाउरो बाटो हिँड्न वाध्य हुनु परेको उल्लेख गरेका छन्।
चौधरीको एनबी इन्टरनेसनलका नाममा ५० प्रतिशत सेयर किनेका हुन्। वंगलादेशी साझेदारहरुसँगको सहयोगमा चौधरीले सेयर खरिद गरेका हुन्। तत्कालिन अरब बैंकका संस्थापक युएइका सेखहरुको सेयर उनले खरिद गरेका हुन्।
नबिलमा ५० प्रतिशत वाहेक स्थानीय सेयरधनीका तर्फबाट पनि ५ प्रतिशत सेयर छ। तीन छोरा, श्रीमती र आफ्ना स्थानीय कम्पनीहरुको नाममा उनले  पाँच प्रतिशत सेयर खरिद गरेका छन्।
उनले विदेशी कम्पनीका नाममा नबिलमा गरेको लगानीका बारेमा 'कर्पोरेट' क्षेत्रका अधिकांसलाई थाहा छ। सरकार र नियमनकारी निकायहरुलाई यस बारे पत्तो भएपनि कसैसँग प्रमाण भने छैन। नेपालको कानुनले यहाँका नागरिकलाई विदेशमा लगानी गर्ने छुट दिएको छैन।
निजी क्षेत्रको सबैभन्दा वढी नाफा कमाउने नबिल बैंकबाट विदेशी कम्पनीका नाममा उनले वर्षेनी करोडौं रुपैयाँ लाभांस वुझ्छन्। यो रकम विदेशी संस्थाका नाममा डलरका रुपमा वाहिरिन्छ। गत आर्थिक वर्षको नाफाबाट  मात्रै चौधरीले यसाली ४० प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर वुझिसकेका छन्। बैंकले १ अर्ब ६९ करोड नाफा कमाएको थियो।
'कहिलेकाहीँ सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तिनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो,' चौधरीले आत्मकथामा लेखेका छन्, 'मलाई घुमाउरो वाटो हिँड्न वाध्य पारेको यहाँको सिस्टमले नै हो।'
उनले आफ्ना टर्निङ प्वाइन्टहरु, छलाङ, राजनीतिसँग जम्काभेट, व्यावसायिक लडाइँ, महासंघको राजनीति, वहुराष्ट्रिय कम्पनी निर्माण, वाइवाइको विश्वव्यापीकरणलगायका बारेमा पुस्तकमा खुलाएका छन्।
संयुक्त  लगानीमा खुलेको पहिलो नेपाली बैंकका तत्कालिन सल्लाहकार जिसी श्रीवास्तवको सहयोगमा सेयर खरिद गरेको चौधरीले पुस्तकमा उल्लेख गरेका छन्। उनले ५० मध्ये ३० प्रतिशत सेयर किन्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेपछि तेर्सिएको कानुनी प्रावधानका कारण विदेशी कम्पनीका नाममा सेयर किन्नु परेको प्रस्टीकरण दिएका छन्।
'बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै पनि नेपालीले बैंकको आधा प्रतिशतभन्दा वढी सेयर किन्न नपाउने प्रावधान थियो,' पुस्तकमा उल्लेख छ, 'साधारणसभाबाट नियमावली शंसोधन गर्न खोज्दा साधारण सेयरधनीले विरोध गरे। प्रावधान हटायो भने बैंक एउटा विजिनेस हाउसको हातमा जान्छ भन्ने उनीहरुको तर्क थियो।'
त्यही पनि सञ्चालक समितिले सेयर विक्री सम्झौता कार्यान्वय गर्न प्रबन्धपत्र नियमावली सशोधनको निर्णय गर्‍यो। यस विरुद्ध  सञ्चालक शम्भु पौडेलले सर्वोच्चमा रिट हाल्यो । 'सर्वोच्चले अन्तरिम आदेश दियो,' चौधरीको आत्मकथामा छ।
चौधरीका अनुसार, सर्वोच्चले तत्काल सेयर विक्रीमा रोक लगाएपछि  बैंक व्यवस्थापनले अन्य समूहसँग  सेयर विक्री गर्न छलफल गर्न थाल्यो। त्यही बेला दिल्लीमा भएको वल्ड इकोनोमिक फोरमको वैठकमा चौधरीको भेट नेसनल बैंक बंगलादेशका अध्यक्ष महवुव रहमानसँग भयो। त्यही बैंकका अर्का सञ्चालक अब्दुल अवाल मिन्टुसँग पनि उनको सम्बन्ध बन्यो।
'म नेपाली नागरिक भएकाले सेयर किन्न सक्दिन। तर तिमी नेसनल बैंकको तर्फबाट किन्न सक्छौं। जुन दिन नियम संशोधन हुन्छ मेरो अंश मलाई दिनु,' रहमानसँग भएको कुराकानी बारे चौधरीले उल्लेख गरेका छन्, 'उनीहरु मेरो प्रस्तावमा सहमत भए।'
उनले सेयर खरिदको सैद्धान्ति सहमतिपछि नेसनल बैंकले राष्ट्र बैंकसँग सजिलै स्विकृति पाएको थियो। चौधरीले स्वीकृति लिँदा गभर्नरमा सत्येन्द्रप्यारा श्रेष्ठ थिए, जो गभर्नरबाट अवकासपछि सोझै नबिल बैंकको अध्यक्ष भएका थिए।
'एउटा विदेशी बैंकले आफ्नो नामको सेयर अर्को विदेशी बैंकमा बेच्न कुनै कानुनले रोक्दैन,' चौधरीले उल्लेख गरेका छन्, 'कानुनी अड्चन सल्टिएपछि सेयर फिर्ता   लिन्छु भनेर रहमान र मिन्टुसँग मैले गरेको भद्र सहमतिको कुनै कानुनी आधार थिएन।'
सेयर खरिद गरेको केही वर्षमा नेसनल बैंकका साझेदारबीच मतभेद सुरु भएको थियो। नेसनल बैंकले अरब बैंकबाट हात झिक्ने भयो।'रहमान र मिन्टुले अरब बैंकको ५० प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा सारे,' आत्मकथामा छ, 'एनबीको प्रवेसपछि अरब बैंक विधिवत रुपमा नबिल बैंकमा परिणत भयो।'
पुस्तकमा २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउन डेढ करोड रुपैयाँ खर्च गरेको खुलासा गरेका छन्। तत्कालिन प्रधानमन्त्री सुर्यवहादुर थापाको आग्रहमा आर्थिक सहयोग गरिएको उनले उल्लेख गरेका छन्। कचौधरी लोकतन्त्र स्थापनापपछि गठन भएको संविधानसभामा नेकपा एमालेका तर्फबाट सभासद् बनेका थिए।
चौधरीले व्यवसाय सुरु गर्दा दरवारलाई चित्त वुझाएर मात्र अगाडि वढ्न सकिने पञ्चायति शासनका केही रहस्यहरु पनि खोलेका छन्। 'पैसा लगाउने हामी। काम गर्ने हामी। स्वामित्व हुन्थ्यो दरबारको। उनीहरू आफ्नो हिस्सा आफैं तोक्थे,' पुस्तकमा छ,'बचेको हिस्सा हाम्रा लागि 'निगाहा बक्स' हुन्थ्यो। त्यतिखेर चलेको दर थियो लगानी गर्नेको भागमा ४९ प्रतिशत, दरबारलाई ५१ प्रतिशत।'
चौधरीले वुटवल पावर कम्पनी फुत्किएको, महालक्ष्मी सुगर मिलका कारण कालोसुचीमा परेको विवरणहरु आत्मकथामा समेटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हार वेहोरेपछि नेपाल उद्योग परिसंघ खोलेको घटना पनि पुस्तकमा छन्।
३ सय २७ पृष्ठको आत्मकथा चार भागमा विभाजन गरिएको छ। भाग दुईमा व्यवसायिक लडाँइ शिर्षकमा उनले लगानी रहस्य खोलेका हुन्। चौधरीको आत्मकथा केही सातामा सार्वजनिक हुँदैछ।

No comments:

Post a Comment

thanks for comment