काठमाडौं, चैत १४-
राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गोर्खा बैंकका
निक्षेपकर्ताले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। उनले बैंकको कुल
कर्जाध्ये करिब ८३ प्रतिशत राम्रो भएकाले आत्तिनुपर्ने अवस्था नरहेको
उल्लेख गरे। 'बैंकसँग ३ अर्ब ७५ करोड कर्जाको धितो एकदमै राम्रो छ,' उनले
आइतबार नागरिकसँग भने, 'करिब ४० करोड नगदै छ।'
![]() |
| महाप्रसाद अधिकारी |
बैंकमा दुई लाख रुपैयाँसम्म निक्षेपको बिमा भएको र ऋणीहरूले कर्जा
तिर्ने प्रतिबद्धता जनाएकाले निक्षेपकर्तालाई केही समय धैर्य गर्न उनले
आग्रह गरे। बैंकसँग करिब सवा ४ अर्ब रुपैयाँ निक्षेपमध्ये साधारण
बचतकर्ताको अब ३७ करोड रुपैयाँ मात्र बाँकी छ। बाँकी पैसा संस्थागत
निक्षेपकर्ता र भुक्तानी अवधि नपुगेको मुद्दति निक्षेप खातामा छ।
'बैंक सुधारिने अवस्था धेरै छ,' उनले भने, 'निक्षेपकर्ताले हतास
हुनुपर्दैन। बैंकलाई सामान्य अवस्थामा चल्न दिएर कर्जा उठाउने वातावरण
बनाइदिनुपर्छ।'
राष्ट्र बैंक स्रोतका अनुसार जग्गा खरिदका लागि बैनाबापत दिएको ३० करोड रुपैयाँ फिर्ता आउँछ। जग्गा बिक्रीका लागि प्रविण नौलखाले लिएको ३० करोड फिर्ता गर्ने बताएको स्रोतले जानकारी दियो।


































