काठमाडौं, साउन १८-
बैंकहरुको अन्तर बैंक (बैंकहरुले आपसमा
लिने सापटी) कारोबारको रकम वढेको छ। तरलता अभाव, व्याज आउने गरी एक बैंकले
अर्को बैंकमा पैसा राख्न नपाउने व्यवस्था र बैंकिङ विस्तारका कारण गत दुई
वर्षदेखि अन्तर बैंक रकम वढेको हो।
'तरलता अभावसँगै एकले अर्को बैंकमा व्याज आउने गरी पैसा राख्न नपाउने भएपछि
भएको पैसाबाट आम्दानी गर्न अन्तर बैंक लगानी गर्ने क्रम वढ्यो,' कमर्ज
एन्ड ट्रष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार
नागरिकसँग भने। गत आर्थिक वर्ष बैंकहरुको अन्तर बैंक कारोबार १५
प्रतिशतभन्दा वढीले वृद्धि भएको छ। अघिल्लो बर्ष वृद्धि दर १७ प्रतिशतभन्दा
वढी थियो।
बैंकहरुले गत वर्ष कुल ३ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्। अघिल्लो बर्ष यो ३ खर्ब ४४ अर्ब ५८ करोड रुपैयाँ थियो। 'बैंक तथा वित्तीय संस्थाको कारोबारमा वृद्धी भएपछि पनि अन्तर बैंक बढ्छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले मंगलबार नागरिकसँग भने, 'अन्तर बैंक कारोबार वढ्नु बैंकिङ क्षेत्रका लागि राम्रो हो।'
सामान्यतया बैंकहरुले अनिवार्य मौज्दात अनुपात (सिआरआर) कायम गर्न, निक्षेप फिर्ता गर्न, तत्काल कर्जाका लागि पैसा उपलब्ध गराउनका लागि अन्तर बैंक कारोबार गर्छन्। यो सापटी वढीमा सात दिनसम्म प्रयोग गर्न पाइन्छ। यद्यपी अन्तर बैंक सापटी नवीकरण गर्न भने पाइन्छ।
बैंकिङ क्षेत्रमा तरलता अभाव गत दुई वर्षदेखि वढेको हो। दशैंमा सर्वसाधारणले आफूले राखेको पैसा झिक्न नपाएपछि सुरु भएको तरलता अभाव त्यसयता चर्किदै आएको हो। तरलता अभाव चर्किएकै कारणले अन्तर बैंक सापटी दर साढे १६ प्रतिशतसम्म पुगेको थियो। असारमा २० अर्ब रुपैयाँ निक्षेप थपिएपछि अहिले यो दर २ प्रतिशतमा झरेको छ।
एकपछि अर्को वित्तीय संस्था समस्यामा परेपछि अन्तर बैंक सापटी फिर्ता नभएकाले डेढ महिनाअघि बैंकहरुले सापटी दिन छाडेका थिए। राष्ट्र बैंकले मध्यस्थता गरेपछि सापटी केही खुकुलो भए पनि पहिलेको अवस्थामा फर्किएको थिएन। पछिल्लो समयमा राष्ट्र बैंकले ऋणपत्रको धितोमा उपलब्ध गराउन सकिने निर्देशन दिएपछि सुधार आएको हो।
'अन्तर बैंक सापटी दर सस्तो भएका बेला पनि कारोबार वढ्छ,' भट्टराईले भने, 'तरलता अधिक भएका बेला लगानी गर्ने ठाउँ नभएको अवस्थामा दुई पैसा कमाइ हालौंन भनेर अन्तर बैंक सापटी वढ्छ।' उनले अन्तर बैंक सापटी अल्पकालिन मौद्रिक औजार भएकाले यसबाट बैंक वित्तीय संस्थाले तत्कालको आवश्यकता पुरा गर्ने जानकारी दिए।
राष्ट्र बैंकले पनि तरलता अभावका बेला अन्तर बैंक सापटीलाई नै प्रोत्साहित गर्छ। बैंक तथा वित्तीय संस्थाले अभाव भएका बेला स्थायी तरलता सुविधा सहजै पाउँछन्। तर अन्तर बैंक सापटीभन्दा तीन प्रतिशत महँगो व्याज तिर्नु पर्ने वाध्यात्मक व्यवस्था गर्दै सापटीलाई प्रोत्साहित गरेको हो। 'अन्तर बैंकमा जाँदा बैंकहरुलाई फाइदा पुग्छ,' राष्ट्र बैंक राष्ट्र ऋण विभागका एक अधिकारीले भने, 'स्थायी तरलता सुविधाको दर घटाएर राष्ट्र बैंकलाई फाइदा पुर्याउन सकिन्छ। तर बैंकहरुको फाइदाका लागि नै अन्तर बैंकलाई प्रोत्साहित गरिएको हो।'
अन्तर बैंक सापटी नियमित प्रकृया भएपनि पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको एउटै क्षेत्रमा वढी लगानी वढेर तरलता क्षमता खुम्चिएको, सरकारी बजेट समयमा नआउने तथा खर्च नहुने गरेको, निक्षेपमा स्रोत देखाउने व्यवस्थाले बैंकसम्म पैसा नआउने गरेको, गाडी र घरजग्गा खरिदमा स्रोत देखाउनु पर्ने भएपछि अनौपचारिक कारोबार वढेकाले निक्षेप घटेको हो। निक्षेप नै बैंकहरुको तरलता भएकाले सापटी लिन वल पुगेको हो। बैकहरुले तरलता अभाव भएकैले साढे १६ प्रतिशतसम्म व्याज तिरेर सापटी लिएका थिए।
आर्थिक नीतिका बारेमा अलमल, राजनीति अन्यौंलताले औद्योगिक वातावरण विग्रिदै जानु, निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नु, पुँजी पलायन, अनौपचारिक क्षेत्र विस्तार हुनु र शोधनान्तर अवस्था ऋणात्मक भएकाले बजारबाट तरलता हराएको हो।
No comments:
Post a Comment
thanks for comment