सुदर्शन सापकोटा, काठमाडौं, पुस ५ - विदेशबाट वर्षेनी अर्बौं रुपैयाँको
मासु आयात हुन थालेपछि बैंकहरुले स्थानीयस्तरमा मासु र यससँग सम्बन्धित
उद्योगका लागि ऋण दिन थालेका छन्। रियलस्टेट कर्जा कडाइले निरास भएका
बैंकले मासुको तथ्यांकबाट उत्साहित हुँदै उत्पादनमूलक मानिएको यस उद्योगमा
लगानी थालेका हुन्।
बैंकहरुले कुखुरा, खसी, अन्डा, दानालगायत उत्पादनका लागि ऋण
लगानी गर्न थालेका हुन्। मासुका लागि मात्र १५ अर्ब रुपैयाँ विदेशीएको
तथ्यांक आएपछि बैंकहरु यो क्षेत्रमा आकर्षित भएका हुन्। राष्ट्र बैंकले पनि
कृषि क्षेत्रमा लगानी गर्न निर्देशन दिएछि बैंकहरुलाई दबाब परेको हो।
'कृषि क्षेत्रका लागि अर्बौं लगानी हुन थालिसकेको छ,' सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले नागरिकसँग भने, 'हामीले सहवित्तीयकरणमार्फत केही दाना तथा चल्ला उत्पादन गर्ने उद्योगमा लगानी गरिसकेका छौं।' सिभिलले नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसँग मिलेर सिद्धार्थ पेलेट दाना उद्योगका लागि करिब एक अर्ब लगानी गरेको छ।
ग्रान्ड बैंक नेपाल र सिभिलले ब्रोइलर कुखुराको अन्डा उत्पादन गर्ने अविनाश लेयर फर्मका लागि करिब ५० करोड रुपैयाँ लगानी गरेका छन्। भ्याली फिड उद्योगका लागि सिभिल बैंकले ५० करोड लगानी गरिसेको छ।
सरकारले पनि ठूलो रकम बराबरको मासु आयात भएपछि यसमा चासो राख्दै पशुपालन कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने लक्ष्य राखेको छ। बजेटमार्फत सरकारले साना किसान विकास बैंक र साना किसान सहकारीमार्फत पशुपालक किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिसकेको छ। सरकारले यस्ता कार्यक्रमहरु सञ्चालनका लागि एक अर्ब बजेट छुट्याएको छ।
बैंकहरुले ठूलो र सानो दुवै स्केलमा लगानी गरेका छन्। केही बैंकले साना तथा मझौला उद्योगका रुपमा लगानी बढाएका छन्। 'हामीले मझौला उद्योगका रुपमा लगानी गरिरहेका छौं,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'यस्ता कर्जाहरु एक करोडभन्दा कमका हुन्छन्।' उनले ठूलो स्केलमा लगानीका लागि अध्ययन भइहरेको जानकारी दिए।
बैंकरका अनुसार मासुका लागि पालिने खसी, कुखुरामा बिमा प्रभावकारी हुन नसक्दा लगानी बढाउन समस्या परेको छ। प्रभावकारी रुपमा बिमा व्यवस्था भए थप लगानी विस्तार हुने बैंकरहरुको भनाइ छ।
'अहिले देशमा मासुको माग अत्याधिक नै छ,' भट्टराईले भने, 'यो क्षेत्रलाई उद्योगका रुपमा लिएर जान सक्यो भने अर्थतन्त्रलाई धेरै नै फाइदा पुग्छ।' उनले यो क्षेत्रमा सरकारी अनुदान पनि आवश्यक भएको जानकारी दिए।
उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजमा लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जासमेत उपलब्ध गराउँदै आएको छ। केन्द्रीय बैंकले आठ प्रतिशतका दरले कम्पनीहरुलाई कर्जा दिन्छ। बैंकहरुले ११ प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउँछन्।
मेगा बैंकले धादिङमा खसीपालनका लागि लगानी गरेको छ। यसबाहेक साना तथा मझौला उद्योगका रुपमा किसानलाई लगानी गरिरहेको छ।
'राम्रो सम्भावना भएको क्षेत्र भएकाले हामी इच्छुक छौं,' मेगाका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'केही क्षेत्रमा लगानी गरिसकेका छौं। लगानी बढाउन अध्ययनसमेत गरिरहेका छौं।'
एउटा ठूलो मासुजन्य उद्योग स्थापनाका लागि आठवटा बैंकले सहवित्तीयकरण गर्ने तयारीसमेत गरिहेका छन्। 'देशको माग पूरा गर्ने खालको मासुजन्य उद्योग स्थापना गर्न पाँच अर्बभन्दा बढी लगानी आवश्यक पर्छ,' उद्योग स्थापनाका लागि ऋण दिने तयारीमा रहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'यसका लागि आठवटा बैंक तयार छन्। तर लगानी गर्ने निश्चित भइसकेको छैन। हामी थप अध्ययन गरिरहेका छौं।'
मासु उद्योगका लागि दोलखामा एउटा बैंकले अध्ययन गरिसकेको छ। केही बैंकसँग सहवित्तीयकरणका लागि छलफलसमेत गरिसकेको छ। 'पाँच सय खसीबाट उत्पादन सुरु गर्ने गरी अध्ययन गरिरहेका छौं,' ती बैंकका प्रमुख कार्यकरी अधिकृतले भने, 'एक हप्ताभित्र १ अर्ब रुपैयाँ ऋणका लागि सम्झौता हुँदैछ। त्यसपछि सबै कुरा सार्वजनिक गछौं।' उनले बैंकको नाफा उल्लेख नगर्ने सर्तमा मासुजन्य उत्पादन (खसी, बोका र राँगापालन) का लागि 'सहयोगी समूह' स्थापना गरेर तालिम दिइरहेको जानकारी दिए।
No comments:
Post a Comment
thanks for comment