वनस्पति घिउ निर्यात आगामी सातादेखि

सुदर्शन सापकोटा, काठमाडौं चैत १२
अठार महिनादेखि अवरुद्ध वनस्पति घिउ आगामी सातादेखि भारत निर्यात हुने भएको छ। भारतले नेपालबाट आयात हुने घिउ बिक्री गर्ने एजेन्ट नियुक्त गरेर अतिरिक्त कर लगाउन थालेपछि निर्यात हुन सकेको थिएन।
(break)
वार्षिक एक लाख टन घिउ भारत निर्यात गर्ने कोटा पाएको नेपालले पहिलो चरणमा १५ हजार टन निर्यात तयारी गरिरहेको नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघका महासचिव मनीषकुमार अग्रवालले बताए। ´बारम्बारको प्रयासपछि एजेन्ट खारेज भएकोमा खुसी छौं´, उनले भने- अब कोटा पूरा गर्नका लागि उत्पादन बढाउनुपर्ने चुनौती छ। कोटाभन्दा बढी नेपाली घिउको माग भारतमा भएको भन्दै उनले कोटा बढाउन पनि पहल गर्न आवश्यक भएको बताए। तर नेपाली उद्यमीहरुले सो मागअनुरुप निर्यात गर्न भने सकेका छैनन्। कुनै प्रकारको अवरोध नहुँदा पनि वार्षिक कोटाको ४० प्रतिशत घिउ मात्र भारत निर्यात भएको थियो।लोडसेडिङ र बन्दका कारण पर्याप्त घिउ निर्यात गर्न नसकिएको उनले बताए। ´विस्तारै कोटाअनुरुपको घिउ निर्यात गर्ने भएका छौं´ उनले भने ।
अग्रवालले सरकारले डिमाण्ड शुल्क र डिजलमा १० रुपैयाँ छुट दिन गरेको निर्णय कार्यान्वयनमा आएपछि उत्पादन बढाउने बताए। नेपाली बजारका लागि मात्र घिउ उत्पादन गर्दै आएका उद्योगले एजेन्ट खारेजीपछि निर्यातका लागि पर्याप्त घिउ उत्पादन गर्न ऊर्जा संकटले असर परेको बताए। नेपालमा वार्षिक ४० हजार टन घिउ खपत हुन्छ। भारतले नेपालबाट आयात हुने घिउमा एजेन्टमार्फत् प्रतिकिलो दुईदेखि तीन रुपैयाँसम्म अतिरिक्त कर उठाउने गरेको थियो। साथै भारतको सीमावर्ती क्षेत्रमा मात्रै घिउ निर्यात गर्न दिएको थियो। दोहोरो करका कारण नेपाली घिउ उद्योगीहरुले भारत निर्यात बन्द गरेका थिए।

No comments:

Post a Comment

thanks for comment