समस्यामा रहेका संस्थामा डुवेको रकमको नोक्शानी व्यवस्था गर्न नपर्ने

काठमाडौं, भदौ २३
नेपाल राष्ट्र बैंकले गत बर्षको वासलातमा समस्यामा रहेका बैंक तथा वित्तीय संस्थामा गरेको अन्तर बैंक सापटी, निक्षेप तथा अन्य दावीमा नोक्शानी व्यवस्था गर्न नपर्ने व्यवस्था गरेको छ। नोक्शानी व्यवस्था गर्नु नपरेपछि बैंक तथा वित्तीय संस्थाले गत बर्षको नाफाबाट लाभांस दिन पाउने भएका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि शंशोधन गर्दै अन्तर बैंक सापटी, निक्षेप, कर्जा वा अन्य दावी वापत सुरक्षणमा भएको धितो विक्री गर्न राष्ट्र बैंकले बन्देज लगाएको वा त्यस्तो सम्पत्ति रोक्का राखेको अवस्थामा भने रोक्का बन्देज लगाएको अवधिसम्मका लागि थप नोक्सानी व्यवस्था गर्न नपर्ने व्यवस्था गरेको हो। 
राष्ट्र बैंकले धितो विक्री गर्न बन्देज लगाएको वा त्यस्तो सम्पत्ति रोक्का राखेको अवस्थामा सम्बन्धित संस्थाले विक्री गर्न तथा रोक्का फुकुवा गर्न पहल नगरेमा त्यस्तो धितो रहेको रकम आउँदो असोज मसान्तदेखि नोक्शानी व्यवस्थामा राख्नु पर्ने समेत व्यवस्था गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार असोज मसान्तसम्म कम्तिमा २५ प्रतिशत, पुस मसान्तसम्म कम्तिमा ५० प्रतिशत र २०७१ असार मसान्तसम्म सत् प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्ने हुन्छ। 
गत आर्थिक वर्षमा नोक्सानी व्यवस्था कायम गरिसकेको अवस्थामा त्यस्तो कर्जा असुल नहुन्जेलसम्म नोक्सानी व्यवस्था फिर्ता गर्न नपाईने समेत व्यवस्था गरिएको छ। राष्ट्र बैंकको नयाँ निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांस वितरणमा सहज भएको छ। 

बाणिज्य बैंकले लाभांस घोषणा गर्न थाले

काठमाडौं, भदौ २२
खुद नाफा ४० प्रतिशतभन्दा वढीले बृद्धि गरेका बाणिज्य बैंकहरुले सेयर लगानीकर्ताका लागि उच्च प्रतिफल घोषणा गर्न थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आकर्षक लाभांस घोषणा गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा वढी लाभांस नबिल बैंकले घोषणा गरेको छ। दुई अर्ब २३ करोड रुपैयाँ नाफा गरेको बैंकले ६५ प्रतिशत लाभांस घोषणा गरेको हो। बैंकले यसमध्ये ४० प्रतिशत नगद र २५ प्रतिशत वोनस सेयर वितरण गर्ने भएकोे हो। गत बर्ष बैंकले ६० प्रतिशत लाभांस घोषणा गरेको थियो। यसपछि एभरेष्ट बैंक लिमिटेडले बढी लाभांस घोषणा गरेको छ। बैंकले ५० प्रतिशत नगद र १० प्रतित वोनस सेयर घोषणा गरेको हो।

दसैंमा ३० अर्बको नयाँ नोट वितरण गरिँदै

काठमाडौं, भदौ १९
आउँदो दसैंमा नयाँ नोटको अवाभ हुन नदिन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ। असोज पहिलो साताबाट नयाँ नोट बजारमा ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकले सानो दरका नोट बढी वितरण गर्ने भएको छ।
'दसैंमा नयाँ नोटको अभाव हुन नदिन प्रशस्त मौज्दात राखेका छौं,' राष्ट्र बैंकका प्रबक्ता भास्करमणि ज्ञवालीले बिहीबार नागरिकसँग भने, '३० अर्ब छुट्याएका छौं यसले पनि नपुग्ने देखिए थप नोट वितरण गर्ने छौं।'
राष्ट्र बैंकले नयाँसहित एक पटक प्रयोग भइसकेको सफा तथा सुकिला नोटहरु पनि वितरण गर्ने छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकार अनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने योजना बनाएको छ। 
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउने छन् भने विकास बैंक, फाइनान्स कम्पनीहरुले योभन्दा कम नोट पाउने छन्। गत बर्ष बैंक तथा वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो। गत बर्षको गुनासोलाई पनि शंवोधन गर्ने गरी राष्ट्र बैंकले नोट वितरण गर्ने योजना बनाएको जनाएको छ। 
राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिने ज्ञवालीले जानकारी दिए। राष्ट्र बैंकले थपाथलीमा आधा दर्जनको हाराहारीमा सटही काउन्टरबाट नोट वितरण गर्ने छ। 

सानिमा माइलाई सर्वसाधारणमा २१ करोडको सेयर जारी गर्न स्वीकृति

काठमाडौं, भदौ १९ 
नेपाल धितो पत्र वोर्डले सानिमा माइ हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका नौं वटा गाविसका वासिन्दालाई सेयर जारी गरेको थियो। 
सानिमाइ माइसँगै कालिका माइक्रो त्रे्कडिट र मुक्तिनाथ लघुवित्त विकास बैंकले पनि सेयर जारी गर्न स्वीकृति पाएका छन्। कालिकाले प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको हो भने मुक्तिनाथले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो। सेयर जारी गर्न स्वीकृति पाएका तीन वटै कम्पनीले दुई महिनाभित्र निस्कासन गरिसक्नु पर्ने प्रावधान छ। 
वोर्डका अनुसार, सानिमा माइले २१ करोड १० लाख रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको छ। कालिका माइले २ करोड रुपैयाँ र मुक्तिनाथले प्रति सेयर १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएका छन्। 

पाँच अर्बको रिभर्स रिपोमा ३० अर्बको आवेदन

काठमाडौं, भदौ १९ 
नेपाल राष्ट्र बैंकले जारी गरेको पाँच अर्बको रिभर्स रिपोका लागि ३० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। बैंकिङ प्रणालीमा अत्याधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएर निक्षेपको ब्याज दर घट्न थालेपछि नेपाल राष्ट्र बैंकले तरलता आफूसँग तान्न बुधबार रिभर्स रिपो जारी गरेको थियो। बिहीबार रिभर्स रिपो वाँडफाँड गरिएको छ।
राष्ट्र बैंकको प्रवक्ता भास्करमणि ज्ञवालीले रिभर्स रिपोका लागि २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाएको जानकारी दिए। 'रिभर्स रिपोको औषत भारित ब्याज दर ०.०७५ प्रतिशत निर्धारण भएको छ,' उनले भने। 
पहिले नै जारी भइसकेको टे्रजरी विल (सरकारी ऋणपत्र) लाई राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई रिभर्स रिपो नाम दिएर विक्री गर्छ। बजारमा पर्याप्त तरलता भएका बेला रिभर्स रिपो जारि गरिन्छ। यसअघि दुई बर्ष पहिले रिभर्स रिपो जारी गरिएको थियो।
बाणिज्य बैंकहरुसँग निक्षेप बढेको अनुपातमा ऋण लगानी हुन नसकेपछि बजारमा तरलता बृद्धि भएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) घटाएपछि त्यो रकम पनि बजारमा आएको छ। डलरको बृद्धिसँगै दसैं तिहार नजिकिएकाले रेमिटेन्स् पठाउने क्रम बढेर तरलतामा बृद्धि भएको छ। 

एभरेष्ट इन्स्योरेन्स युनियनद्वारा आफै प्रमुख कार्यकारी सिफारिस

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १८ 
सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा बसेका एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सहायक महाप्रबन्धकलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सञ्चालक समितिमा सिफारिस गरेका छन्। वर्तमान प्रमुख कार्यकारी अधिकृतले समस्या सुल्झाउन पहल नगरेको भन्दै कर्मचारी युनियनको अगुवाइमा नयाँ प्रमुख कार्यकारी अधिकृतको सिफारिस गरिएको हो। 
युनियनले नयाँ प्रमुख कार्यकारीमा वित्त विभाग प्रमुख तथा सहायक महाप्रबन्धक अनिल ढुङगेललाई नियुक्तीका लागि सिफारिस गरेको छ। बर्तमान प्रमुख कार्यकारी केवलकृष्ण श्रेष्ठले नियामक निकाय बिमा समितिसँगको सम्वन्ध विगारेका कारण समस्या सुल्झनुको साटो बिग्रिएको भन्दै कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरेको बताएका छन्। केही दिनमै बस्ने कम्पनीको सञ्चालक समितिको वैठककमा नयाँ प्रमुख कार्यकारीको नाम अनुमोदन गराउन दवाव दिने पक्षमा युनियन छ। 
'कम्पनी सञ्चालन हुनु पर्छ भन्ने मान्यताले अहिले सबै कर्मचारी एक भएका छन्। बर्तमान प्रमुख कार्यकारी श्रेष्ठ एकातिर छन् बाँकी कर्मचारी अर्कातिर भएको अवस्था छ,' युनियनका अध्यक्ष शम्शेर रोकाले मंगलबार नागरिकसँग भने, 'त्यही भएर संस्था चलाउनका लागि नयाँ प्रमुख कार्यकारीको नाम सिफारिस गरेका हौं।'
कम्पनीमा समस्या हुनु पूर्व एभरेष्टमा ढुङगेलसहित तीन जना सहायक महाप्रबन्धक छन्। कम्पनी बन्दतर्फ लागेपछि यसमध्ये रमा दाहालले राजिनामा गरिसकेकी छन् । 

मुद्रा र पुँजी बजार सुधार्न एडिबीको सहयोगमा तीन प्रोजेक्ट

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १७
नेपालको पुँजी तथा मुद्रा बजारलाई व्यवस्थित गर्दै सार्वजनिक निजी साझेदारी सेल गठन गर्न सरकारले अध्ययन सुरु गरेको छ। पुँजी बजार तथा भौतिक पूर्वाधार क्षमता सहायता योजना (क्यापिटल मार्केट एन्ड इन्फ्रास्ट्रक्चर क्यापसिटी सर्पोट प्रोजेक्ट) अन्तर्गत तीन वटा योजनाको काम अगाडि बढेको हो।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सरकारले अध्ययन अगाडि बढाएको छ। २०१५ नोभेम्बरसम्म पुरा हुने लक्ष्य राखिएको यो योजनामा एडिबी र सरकारले ६ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ लगानी गर्ने छन्।
एडिबीले पाँच करोड डलर (सोमबारको बिनिमय दर अनुसार, पाँच अर्ब २७ करोड १५ लाख रुपैयाँ) सहयोग गरेको छ। सरकारले आफ्नो तर्फबाट एक करोड २५ लाख डलर (एक अर्ब ३१ करोड ७८ लाख ७५ हजार रुपैयाँ) लगानी गर्ने छ। 
'नेपालको ऋणपत्र बजार व्यवस्थित नभएकाले यसलाई सुधार गर्नका लागि रकम खर्च हुने छ,' अर्थमन्त्रालयका सहसचिव नवराज भन्डारीले नागरिकसँग भने, 'यस बाहेक सार्वजनिक निजी साझेदारी सेलको गठन लगायतका कार्यहरु हुने छन्।'

नेप्सेमा अर्बको सेयर कारोबार : एनबी समूहको साढे ७५ करोडको सेयर आइएफआइसीको स्वामित्वमा

काठमाडौं, भदौ १६
एनबी समूहअन्तर्गतको नेपाल बंगलादेश (एनबी) बैंकको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारको नाममा नामसारी भएको छ। आइतबार एनबी समूहअन्तर्गत रहेको २९ लाख १४ हजार १२ कित्ता सेयर बंगलादेशी आइएफआइसी बैंकको स्वामित्वमा गएको हो।
प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर नामसारी भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित कारोबार समय (दिउँसो १२ बजेदेखि ३ बजेसम्म) पछाडि भएको नामसारीपछि एनबी समूहको स्वामित्व एनबी बैंकबाट लगभग सकिएको छ। 
'बिहान १० बजेदेखि आफूसहित बैंकको टिम लागेर सेयर नामसारी गराइएको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगानाले आइतबार साँझ नागरिकसँग भने, 'अब  वाँकी सेयर नामसारी गर्न पनि बाटो खुलेको छ।' एनबी समूहका सदस्यहरु सञ्चालक रहेको सेयर र अर्को साझेदार बैंक एसियाको प्रबर्द्धक सेयर नामसारीपछि एनबी बैंकमा आइएफआइसीको स्वामित्व ५१ प्रतिशत पुग्ने छ।
नेप्सेमा २६० रुपैयाँका दरले एनबी बैंकको २९ लाख कित्ताभन्दा वढी सेयर नामसारी भएपछि कुल कारोबार रकम एक अर्ब तीन करोड ४१ लाख रुपैयाँ नाघेको छ। एनबी बैंकको ७५ करोड ७६ लाख ४३ हजार रुपैयाँभन्दा बढीको प्रबर्द्धक सेयर कारोबार भएको छ। बाँकी नियमित कारोबार अन्तर्गत २७ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

स्थानीय मुद्रामा ऋणपत्र : आइएफसी र एडिबीलाई ऋणपत्र जारी गर्न दिन निर्देशिका बनाइँदै

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १६ 
दातृ निकायहरुलाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न खुला गरेको सरकारले आवश्यक पुर्वाधार, प्रकृया र सर्तहरुका बारेमा वेग्लै निर्देशिका तयार गर्न सुरु गरेको छ। नेपाल धितोपत्र ऐनमा टेकेर सरकारले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न दिने निर्देशिका तयार पार्न लागेको हो।
'नेपाली मुद्रामा विदेशी निकायहरुले ऋणपत्र जारी गर्न इच्छा देखाएकाले उनीहरुलाई सहजीकरण गर्न निर्देशिका बनाउने काम सुरु भएको छ,' अर्थमन्त्रालयका सहसचिव नवराज भन्डारीले आइतबार नागरिकसँग भने,'उनीहरुले कानुनी पाटो चाँडो सकेर बाटो खोलिदिन आग्रह गरिरहेका छन्। हामी चाँडै व्यवस्था मिलाउँदैछौं।' 
नेपाली मुद्रामा ऋणपत्र जारी गर्न विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएका हुन्। उनीहरुले नेपाली मुद्रामा ऋणपत्र जारी गरी पुँजी संकलन गर्ने छन्। यो रकम नेपालकै आन्तरिक विकासमा खर्च हुने छ। 

डलरको मूल्य अहिलेसम्मकै महँगो, मूल्य १०८.९० रुपैयाँ पुग्यो

काठमाडौं, भदौ १३
अमेरिकी डलरको मूल्य बिहीबार एकैदिन तीन रुपैयाँ ५५ पैसाले बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार भारतीय मुद्रा तिब्र रुपमा कमजोर भएपनि मूल्य समायोजन गरेको थिएन। सात दिनमा एक डलरको मूल्य सात रुपैयाँ ४३ पैसाले बढिसकेको छ।
बिहीबार विहानै तीन रुपैयाँ ५५ पैसा बढाएर मूल्य समायोजन गरेको हो। बाणिज्य बैंकहरुले बिहान एक सय १० रुपैयाँसम्म कारोबार गरेपनि दिउँसो १०८ रुपैयाँको हाराहारीमा कारोबार थालेका थिए। 
राष्ट्र बैंकले बिहीबार कार्यालय नखुल्दै आकस्मिक विज्ञप्ति जारी गर्दै मूल्य बढाएको सार्वजनिक गरेको थियो। राष्ट्र बैंकले एक अमेरिकी डलरको मूल्य एक सय आठ रुपैयाँ ९० पैसा तोकेको छ। बुधबार बेलुका राष्ट्र बैंकले अघिल्लो दिनकोभन्दा चार पैसाले मूल्य बढाएर १०५ रुपैयाँ ३५ पैसा तोकेको थियो। बढेको मूल्य अहिलेसम्मकै महँगो हो। 
भारतीय सञ्चार माध्यमहरुले डलरको बृद्धिलाई तत्काल रोक्न नसकिने जनाएका छन्। भारतसँगको स्थिर बिनिमय दरका कारण नेपाली मुद्रा थप कमजोर हुँदै जाने छ। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ। 

घर र गाडी कर्जाको ब्याज घट्न थाल्यो

काठमाडौं, भदौ ११
बैंकबाट ऋण लिएर घर र गाडी जोड्न खोज्नेहरुले सस्तो ब्याजमै पैसा पाउन थालेका छन्। बैंकहरुले अन्य ऋणको तुलनामा घर र गाडीको ब्याज घटाएका कारण उपभोक्ताले सस्तो ब्याजमा पैसा पाउने भएका हुन्। 
बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकलाई …स्किम' मार्फत सस्तोमा कर्जा दिन थालेका हुन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप बढिरहँदा त्यस अनुपातमा लगानी नभएपछि उनीहरुले सजिलै घर र गाडीमा ऋण बढाउन थालेका हुन्। 
'बैंकहरुसँग तरलता बढेका कारण ब्याज दर घट्दै गएको छ। दसैंपछि यो अझ घट्छ,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'घर, गाडीका साथै कर्पोरेट ऋणको ब्याज पनि घटेको छ।'
बैंकले एक करोडभन्दा कम मूल्यको घर तथा जग्गा किन्न ऋण दिन थालेका हुन्। यस्तो ऋणमा जोखिम कम हुने भएकाले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंकहरुले सानो–सानो आकारमा ऋण विस्तार गर्न ब्याज घटाएका हुन्। 
'दसैंमा अल्पकालिन ऋणको माग वढ्छ, यसले गर्दा ब्याज दर दुई महिना सामान्य मात्र घट्छ,' भट्टराईले भने, 'अल्पकालिन माग सकिएपछि बैंकसँग लगानी गर्ने सीमित ठाउँ हुने भएकाले घर, गाडी, अपार्टमेन्टमा जाने कर्जाको ब्याज अझ घट्ने छ।'

गैरसरकारी संस्थालाई लघुवित्त बैंकमा परिणत गरिँदै

काठमाडौं, भदौ १०
नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाहरुलाई लघुवित्त विकास बैंकमा परिणत गर्ने भएको छ। लघु कर्जा प्रवाह गर्दै आएका २२ वटा संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो। 
२२ वटा लघुवित्त संस्थाहरुले विपन्न वर्गमा लगानी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृति लिएका थिए। २०५७ देखि २०६० को बीचमा अनुमति लिएका यि संस्थाहरुले विपन्न क्षेत्रमा नै लगानी गर्ने भएकाले राष्ट्र बैंकले 'घ' वर्गमा स्तरोन्नति प्रकृया अगाडि बढाएको हो। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा पनि यि संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्ने उल्लेख गरेको छ।
'एउटै प्रकृतिको काम गर्ने भएकाले लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो,' राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग स्रोतले भन्यो, 'आवश्यक प्रकृया पुर्‍याएर लघुवित्त विकास बैंक बन्न लगाइने छ।' राष्ट्र बैंकले आगामी असार मसान्तभित्र 'घ' वर्गमा परिणत गरिसक्ने लक्ष्य लिएको छ।