पाँच अर्बको रिभर्स रिपोमा ३० अर्बको आवेदन

काठमाडौं, भदौ १९ 
नेपाल राष्ट्र बैंकले जारी गरेको पाँच अर्बको रिभर्स रिपोका लागि ३० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। बैंकिङ प्रणालीमा अत्याधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएर निक्षेपको ब्याज दर घट्न थालेपछि नेपाल राष्ट्र बैंकले तरलता आफूसँग तान्न बुधबार रिभर्स रिपो जारी गरेको थियो। बिहीबार रिभर्स रिपो वाँडफाँड गरिएको छ।
राष्ट्र बैंकको प्रवक्ता भास्करमणि ज्ञवालीले रिभर्स रिपोका लागि २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाएको जानकारी दिए। 'रिभर्स रिपोको औषत भारित ब्याज दर ०.०७५ प्रतिशत निर्धारण भएको छ,' उनले भने। 
पहिले नै जारी भइसकेको टे्रजरी विल (सरकारी ऋणपत्र) लाई राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई रिभर्स रिपो नाम दिएर विक्री गर्छ। बजारमा पर्याप्त तरलता भएका बेला रिभर्स रिपो जारि गरिन्छ। यसअघि दुई बर्ष पहिले रिभर्स रिपो जारी गरिएको थियो।
बाणिज्य बैंकहरुसँग निक्षेप बढेको अनुपातमा ऋण लगानी हुन नसकेपछि बजारमा तरलता बृद्धि भएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) घटाएपछि त्यो रकम पनि बजारमा आएको छ। डलरको बृद्धिसँगै दसैं तिहार नजिकिएकाले रेमिटेन्स् पठाउने क्रम बढेर तरलतामा बृद्धि भएको छ। 

'बजारमा तरलता अत्याधिक भएपछि बैंकहरुले निक्षेपमा दिने ब्याज धमाधम घटाउन थालेका छन्,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'ब्याज दर निकै तल गएमा बचत घट्न सक्ने तथा पुँजी पलायत बढ्न सक्ने हुन्छ। यसलाई रोकथाम गर्न मौद्रिक औजार प्रयोग गरिएको हो।' 
बाणिज्य बैंकहरुसँग पछिल्लो सातासम्मा १० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भइसकेको छ। बैंकहरुले सात खर्ब ५७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। मौद्रिक नीतिमार्फत एक सय रुपैयाँ निक्षेप उठाउँदा ६ रुपैयाँ राष्ट्र बैंकमा राख्ने व्यवस्थालाई शंसोधन गर्दै ५ रुपैयाँ राख्नु पर्ने  व्यवस्था गरिएको छ। सिआरआर एक प्रतिशत विन्दुले घटेपछि बैंकिङ क्षेत्रमा तरलता थप बढेको छ। 
राष्ट्र बैंकले सात दिनका लागि रिभर्स रिपो जारी गरेको हो। राष्ट्र बैंकले सरकारलाई ऋण उठाइदिन टे्रजरी विल जारी गर्छ। बैंकहरुले तरलता कम भएका बेला टे्रजरी विल धितो राखेर राष्ट्र बैंकबाट ऋण निकाल्छन्। यसलाई रिपो भनिन्छ। पहिले नै जारी भइसकेको ऋणपत्रहरु फेरी विक्रीमा राखेर पैसा उठाउने औजारलाई रिभर्स रिपो भनिन्छ। 
बाणिज्य बैंकहरुले पछिल्लो समय निक्षेपको ब्याज घटाउन थालेका छन्। बैशाख तेस्रो साताबाट सरकारी खर्च बढ्न थालेपछि बैंकिङ प्रणालीमा तरलता बृद्धि हुन थालेको थियो। पछिल्लो समय लगानीका लागि ऋणको माग नभएका कारण बैंकहरुसँग पैसा तिरेर ल्याएको निक्षेप बढ्न थालेको छ। 
महँगोमा लिएको निक्षेप लगानी गर्न नसकेपछि बैंकहरुले यसको ब्याज घटाउन थालेका हुन्। निक्षेपको ब्याज घट्न थालेपछि सर्वसाधारणले आफ्नो बचत बैंकिङ प्रणालीबाट झिक्छन्। यस्तो रकम उपभोग तथा अनुत्पादकमूलक क्षेत्रमा खर्च हुने सम्भावना रहन्छ। उपभोगमा खर्च बढ्न थालेपछि यसले मूल्य बृद्धि बढाउँछ। 
…राष्ट्र बैंकले मौद्रिक औजारमार्फत मूल्य बृद्धि नियन्त्रण गर्नु पर्ने भएकाले पनि वेलाबेला अधिक तरलता आफूतिर खिँच्न मौद्रिक औजारहरु प्रयोग गर्छ,' केन्द्रीय बैंक स्रोतले भन्यो, …अहिले तरलताले मूल्य बृद्धिलाई पनि दवाव दिन थालेको छ। यसलाई रोक्न रिभर्स रिपोज जारी गरिएको हो।'

No comments:

Post a Comment

thanks for comment