तलवै १ करोड ७७ लाख

वित्तीय संस्थामा प्रमुख कार्यकारीको तलव कति हुनुपर्छ ? यसको कुनै मापदण्ड छैन। वाणिज्य बैंकका प्रमुख कार्यकारीले प्रतिमहिना ५ लाखदेखि १५ लाखसम्म तलव सुविधा लिने गरेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुखले वार्षिक १ करोड ७७ लाख ६५ हजार ९ सय ७० रुपैयाँ बुझ्छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुखले बुझ्ने वार्षिक तलव १ करोड २८ लाख १० हजार छ। यसैगरी लक्ष्मी बैंकका प्रमुखले वार्षिक ९९ लाख ९० हजार, सिद्धार्थ बैंकका प्रमुखले ९४ लाख ४५ हजार ४ सय ८९, हिमालयन बैंकका प्रमुखले ८७ लाख ११ हजार ७ सय ७९ रुपैयाँ बुझ्छन्।
त्यसैगरी नबिल बैंकका प्रमुखले बुझ्ने यस्तो रकम ८० लाख छ भने एनआइसीका प्रमुखले बुझ्ने रकम ७८ लाख ६१ हजार, कुमारी बैंकका प्रमुखले बुझ्ने रकम ६७ लाख ७० हजार, बीओकेका प्रमुख ६० हजार, माछापुछ्रे बैंकका प्रमुखको ५१ लाख १२ हजार ८ सय, डिसिबीएलका प्रमुखको ५५ लाख ७९ हजार र सिटिजनका प्रमुखको ५२ लाख १५ हजार ५ सय ३२ रुपैयाँ छ।

पुराना बैंक ब्याज बढाउने तयारीमा


नयाँ खुलेका बैंकले बचतमा ब्याजदर बढाएपछि पुरानालाई पनि वृद्धि गर्नैपर्ने दबाब परेको छ । केही अघिसम्म नयाँ बैंकबीच मात्र रहेको ब्याजदर वृद्धिको प्रतिस्पर्धा अहिले स्थापित भइसकेका बैंकसम्म पुगेको छ ।

नयाँ बैंकले आवश्यक निक्षेप उठाउन पुरानाको तुलनामा धेरै ब्याज दिन थालेपछि पहिल्यै खुलेका बैंक दबाबमाा परेका हुन् । ६० अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ वैशाखबाट एकवर्षे मुद्दती निक्षेपमा पाँच प्रतिशतसम्म ब्याज दिन थालेको छ ।

गत १ कात्तिक, २०६५ मा लागू गरेको ३.२५ देखि ३.५० प्रतिशत ब्याजदरलाई बैंकले एकैपटक ३.२५ देखि ५ प्रतिशत पुर्‍याएको हो । सो बैंकले प्रदान गर्ने हायर पर्चेज कर्जाको ब्याज दरमा समेत वृद्धि गरेको छ । बैंकले सो कर्जाको ब्याज ९ प्रतिशतबाट १० प्रतिशत पुर्‍याएको छ ।

यसैगरी, ३२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको निजी क्षेत्रको हिमालयन बैंकले ९ वैशाखबाट मुद्दतीको ब्याजदर उल्लेख्य बढाएको छ । गत १ वैशाखमा कायम गरेको दरमा बैंकले तुरुन्तै वृद्धि गरेको हो । एकवर्षे निक्षेपमा १ वैशाखमा ६ प्रतिशत ब्याज दिने निर्णय गरेको बैंकले दुई साता नबित्दै ६.५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ ।

त्यस्तै, दुईवर्षे र त्योभन्दा बढी अवधिको निक्षेपको ब्याज ६.५ देखि पौने ९ प्रतिशत पुर्‍याइएको छ । वैशाख १ मा यस्तो ब्याजदर ६.७५ देखि ७ प्रतिशत तोकिएको थियो । सो बैंकले एकमहिने मुद्दतीमा ब्याजदर ३ प्रतिशतबाट ३.२५ प्रतिशत पुर्‍याएको छ भने तीनमहिने निक्षेपको ब्याज ३.५ बाट ३.७५ प्रतिशत पुर्‍याएको छ ।

यसैगरी, ६ महिनाको ब्याजदर ४.२५ बाट ४.५ प्रतिशत पुर्‍याएको छ । हिमालयन बैंकले कर्जा ब्याज भने हालसम्म वृद्धि गरेको छैन । तर, छिट्टै कर्जा ब्याज बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

अहिलेसम्म आनन्दले बसेका पुराना स्थापित बैंक पनि ढुक्क भएर बस्ने समय गुज्रेको उनको विश्लेषण छ । 'अब पुराना बैंकले पनि ब्याजदर बढाउनुपर्ने अवस्था देखिएको छ,' उनले भने । व्यापारिक र औद्योगिक कर्जामा बैंकहरूले ब्याजदर बढाउन सुरु गरिसकेको उल्लखे गर्दै ऋणीले थप मार सहनुपर्ने बेला आउने उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्रअनुसार कर्जादर बढाउन नहुने स्थिति रहे पनि बैंकहरू ब्याजदर बढाउन बाध्य भएको उनले बताए । यसैगरी कुमारी बैकले गत ६ वैशाखमा बचत खातामा समेत ब्याजदर उल्लेख्य वृद्धि गरेको छ ।

बचत खातामा एक वर्षअघि कायम भएको ३ प्रतिशत ब्याजदर ४ प्रतिशत पुर्‍याएको छ भने ३.५ देखि ४.५ प्रतिशत रहेको विशेष बचतको ब्याजदरलाई ४.२५ देखि ६ प्रतिशत पुर्‍याइएको छ । यस्तै, बैंकले ६ महिने मुद्दती ब्याज ३.५ बाट ३.५ देखि ४ प्रतिशत पुर्‍याएको छ ।

एकवर्षे मुद्दती ब्याजदर ५ देखि ५.५ प्रतिशत रहेकामा ५.५ देखि ६.५ प्रतिशत पुर्‍याइएको छ । यस्तै, बैंकले दुई वर्षदेखि माथिको निक्षेपमा ६ बाट ६.५ देखि ७.५ प्रतिशत पुर्‍याएको छ ।

सो बैंकले कर्जा ब्याज भने बढाएको छैन । कम ब्याज दिनेमध्येको स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने कर्जा ब्याजमा हेरफेर गरेको छ । गत १ वैशाखबाट सो बैंकले साढे ६ देखि ११.५ प्रतिशत रहेको निर्यात कर्जा दर ६.५ देखि १० प्रतिशतमा झारेको छ ।

एलसी कर्जा ब्याज भने ७.५ देखि ९ प्रतिशत रहेकामा ८ देखि ९ प्रतिशत पुर्‍याइएको छ । त्यस्तै, सरकारी ऋणपत्र धितोमा प्रदान गर्ने कर्जामा पनि ब्याज बढाइएको छ । साढे ६ देखि ८ प्रतिशतबाट बढाएर सो कर्जादर बैंकले ७ देखि ८ प्रतिशत पुर्‍याएको छ ।

बैंकले औद्योगिक कर्जा पनि १० देखि ११ रहेकामा बढाएर १० देखि ११.५ प्रतिशत पुर्‍याएको छ । अन्य कर्जामा बैंकले ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएको छ । यसअघि बैंकको अधिकतम कर्जादर १३ प्रतिशत थियो ।

प्राइम बैंकको सेयर खुल्यो

प्राइम बैंकको ३० करोड रुपैयाँको साधारण सेयरका लागि आइतबार देखि आवेदन संकलन सूरु भएको छ। चार दिनका लागि बैंकको सेयरमा आवेदन गर्न सकिन्छ।

सेयर बिक्री नभएको अवस्थामा मात्रै समय थपिने छ। ३९ संकलन केन्द्रमा आवेदन दिन सकिने बैंकले जनाएको छ।

एक सय रुपैयाँका ३० लाख साधारण सेयर मध्ये एक लाख २० हजार कर्मचाका लागि छुट्याइएको छ। न्युनतम ५० देखि १ लाख कित्ता सम्म आवेदन दिन सकिन्छ।

२०६४ भदौ ३० देखि बैंक संचालनमा आएको हो। गतवर्ष दुइ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो। चालुवर्षको चैत महिना सम्म नौ करोड ३० लाख खुद नाफा भएको बैंकले जनाएको छ।

चुक्तापूँजी ७० करोड रहेको बैंकको साधारण सेयर बिक्री पछि एक अर्ब हुनेछ। २०६७ सम्म बैंकले दुइ अर्बको चुक्तापूँजी बनाउनमन लागि वोनस र हकप्रद सेयर दिनुपर्ने हुन्छ।

२०६६ मा १ अर्ब ५० करोड र २०६७ मा दुइ अर्ब चुक्तापूँजी बनाउने बैंकले जनाएको छ। बैंकले अहिले सम्म ७ शाखा स्थापना गरेको छ। थप ३ शाखा स्थापनाको तया भैरहेको बैंकले जनाएको छ।

चैत सम्म बैंकले नौ अर्ब २८ करोड निक्षेप परिचालन गरी कर्जा नौ अर्ब १४ करोड कर्जा प्रवाह गरेको जनाएको छ। ३ सय ५९ संस्थापकको लगानीमा बैंक स्थापना भएको हो।

६ वाणिज्य बैंकको खराब कर्जा बढ्यो

२६ वटा वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंकको खराब कर्जाको मात्रामा वृद्धि भएको छ ।

खराब कर्जा उच्च भएका बैंकहरूमा ३ वटा सरकारी स्वामित्वका बैंक र अन्य निजी क्षेत्रबाट सञ्चालित बैंकहरू रहेका छन् । खराब कर्जा बढेका बैंकमध्ये नेपाल बैंक लिमिटेडको भने खराब कर्जा वृद्धि भएको छ ।

बैंकहरूको गत चैतसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार खराब कर्जा उच्च रहेका बैंकहरूमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनबी बैंक, एनसिसी बैंक र लुम्बिनी बैंक छन् ।
खराब कर्जा उच्च भएकामध्ये नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकले सम्हालेको छ । बैंकको अवस्था सुधार गरेर सेयरधनीको जिम्मा दिने राष्ट्र बैंकको नीति भए पनि सोअनुसार अवस्था सुधि्रन नसकेको गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।

नेपाल बैंक लिमिटेडको खराब कर्जा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११.१ प्रतिशत रहेकोमा चालू आवको तेस्रो त्रैमाससम्म १० प्रतिशतमा झरेको छ । प्रतिशतमा खराब कर्जा झरेको देखिए पनि कर्जा असुल भएर घटेको नभई कुल कर्जाको परिमाण बढेकोले घटेको हो ।
गत चैतमा यस बैंकको कुल कर्जा १८ अर्ब ५० करोड रुपैयाँमा खराब कर्जा एक अर्ब ८६ करोड ८७ लाख रहेको छ । २०६४ चैतमा कुल कर्जा १५ अर्ब ६० करोडमा एक अर्ब ५६ करोड रुपैयाँ खराब कर्जा रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले एक वर्षको अन्तरमा खराब कर्जा ६ अर्ब ६१ करोड ७१ लाखबाट पाँच अर्ब १९ करोड ३६ लाखमा झारेको छ ।

यस्तै लुम्बिनी बैंकले ८१ करोड ४८ लाख ६९ हजारबाट खराब कर्जा ५४ करोड ९ लाखमा झारेको छ । कृषि विकास बैंकको खराब कर्जा चार अर्ब ४६ करोडबाट तीन अर्ब २९ करोडमा झरेको छ । नेपाल बंगलादेशले दुई अर्ब ३९ करोड ८६ लाखको खराब कर्जा एक अर्ब ९९ करोड ३७ लाखमा झार्न सफल भएको छ ।

नेपाल बैंकले मुनाफा भने उल्लेख्य वृद्धि गरेको छ । एक वर्षमा खुद मुनाफा एक सय ५८ प्रतिशत वृद्धि भई ५८ करोड पुगेको छ । यस बैंकको ब्याज आम्दानी उच्च दरमा बढेकोले मुनाफा बढेको हो ।
चालू आवको नौ महिनामा ५४ करोड ब्याज खर्च गरी यस बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेको छ । कर्जाको आयतन र कर्जा ब्याजदर बढाइएको कारण ब्याज आम्दानी उच्च भएको बैंकका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताए ।
यस बैंकले ठूला निक्षेपकर्ता लक्षित केही योजनामा थोरै ब्याजदर बढाएको छ भने कर्जामा धेरै ब्याज बढाएको छ । 'हामीले निक्षेपमा खासै ब्याज बढाएनौँ र सर्वसाधारणले लिने कर्जामा पनि ब्याज बढाएनौँ,' डा. आत्रेयले भने, 'तर उद्योगी-व्यापारीका लागि दिने कर्जामा हामीले वृद्धि गरेका छौँ ।'

अरू सरकारी बैंकको ब्याज आम्दानी पनि निजी बैकको तुलनामा उच्च देखिन्छ । सरकारी तथा अर्धसरकारी बैंकले सस्तो ब्याजमा निक्षेप संकलन गर्न सकेका कारण यस्तो अवस्था देखिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ब्याज खर्चको तुलनामा तीन गुणा बढी आम्दानी गरेका छन् । पुराना निजी बैंकले भने ब्याज खर्चको दोब्बर र नयाँले डेढी आम्दानी गरेको देखिन्छ ।

प्राइम बैंकका एउटै नम्बरका थुप्रै सेयर फारम

सन्राइज बैंकको सेयर पाउन सर्वसाधारणले भरेका फारम चनाचटपटेकहाँ भेटिएको साता दिनमा प्राइम बैंकका एउटै नम्बरका विभिन्न फारम भेटिएका छन् । प्राइम बैंकको सेयर आइतबारदेखि खुल्दै छ, तर एउटै नम्बरका विभिन्न फारम शनिबारदेखि नै बजारमा भेटिएका छन् ।

बैंकको सेयरका लागि आवेदन गर्ने सर्वसाधारणको फारमको सिरियल नम्बर फरक-फरक हुनुपर्छ, त्यही नम्बरका आधारमा बैंकले सेयर बाँडफाँड गर्छ । तर, एउटै नम्बरका धेरै फारम सर्वसाधारणलाई बजारमा पठाएर प्राइम बैंकको सेयरमा गोलमाल गरिएको छ । प्राइमको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष हो ।

प्राइम बैंकको सेयरका लागि बुझाउन तयार पारिएका केही फारम शनिबार नै नयाँ पत्रिकाले फेला पारेको छ जसको सिरियल नम्बर एउटै छ । ३२३४४६ नम्बरको फारम तीनजनालाई वितरण गरिएको छ । त्यस्तै ३२३४४७, ३२३४४८ र ३२३४४९ नम्बरका फारम पनि तीनजनालाई बाँडिएको छ । यसरी एउटै नम्बरमा जथाभावी फारम बाँडेर बैंक र बिक्री प्रबन्धकले नियोजित रूपमा आफन्तलाई मात्र सेयर बाँड्न खोजेको आशंका छ । यसैगरी एउटै सिरियल नम्बरका फारम अनगिन्ती सर्वसाधारणलाई बाँडिएको छ ।

प्राइम बैंकको सेयर फारमहरू बिक्री प्रबन्धक नागरिक लगानी कोषले छापेको हो । यसअघिका सेयर फारमहरू निःशुल्क वितरण हुँदै आए पनि अहिले प्रतिफारम २ रुपैयाँका दरले वितरण हुँदै आएका छन् ।

०६४ साल असोज ७ गतेदेखि कारोबार सुरु गरेको प्राइम बैंकको सेयर बिक्री आइतबारदेखि खुला हुँदै छ । सर्वसाधारणका लागि ३० प्रतिशत सेयर बिक्रीका लागि बैंकले ३० करोड रुपैयाँबराबरका ३० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

सर्वसाधारणको नाममा सार्वजनिक हुने सेयरको पहिले नै मिलेमतोमा बाँडफाँड गरिन्छ र सर्वसाधारणका लागि देखाउन मात्रै सेयर निष्कासनको नाटक गरिन्छ भन्ने कुराको पुष्टि एउटै नम्बरका धेरै फारमहरू छापिएबाट हुन्छ । यसबाट बिक्री प्रबन्धकहरूले तीन महिनासम्म जनताको पैसा उठाएर आफ्नो व्यापार गर्ने गरेको हो कि भन्ने आशंका उब्जिएको छ ।

एउटै नम्बर भएका फारमहरू धेरै व्यक्तिले भरेपछि सेयर बाँडफाँडमा गोलमाल र घोटाला गर्न सजिलो हुने र आफ्नो मान्छे वा पहिले नै निश्चित गरिएका व्यक्तिहरूलाई सेयर दिन सजिलो हुने सेयर विश्लेषक भरत ढकाल बताउँछन् ।

मध्यपश्चिमका बैंकले लगानी गर्न सकेनन्

सशस्त्र द्वन्द्वबाट बढी प्रभावित मध्यपश्चिमका चार जिल्लामा बैंकहरुले लगानी गर्ने ठाउँ पाएका छैनन् ।सर्वसाधारणबाट संकलन गरिए जति निक्षेप लगानी हुन नकसेको बैंकले जनाएका छन् । मध्यपश्चिमका शहरी क्षेत्र मानिने नेपालगन्ज, बर्दिया, दाङ र सुर्खेतमा बैंकसँग ४ अर्व बचत लगानी हुन बाँकी छ ।सरकारी र निजीसहित १० वटा बैंक रहेको दाङमा ३ अर्ब १५ करोड निक्षेप भए पनि १ अर्व १४ करोड मात्र लगानी भएको छ । विभिन्न बैंकका १० वटा शाखाले १ अर्व १५ करोड निक्षेप संकलन गरेको सुर्खेतमा ४७ करोड लगानी गरेका छन् ।'बैंकहरुले जत्ति लगानी गर्नुपर्ने हो त्यत्ति गरेका छैनन्, नेपाल राष्ट्र बैंक, नेपालगन्जका अनुसन्धान अधिकृत वीरेन्द्रदत्त अवस्थीले भने- बैंकहरुले लगानी गरेको क्षेत्र पनि सुरक्षित छैन, धेरैले जग्गा, मोटरसाइकल, गाडी किनबेचमा लगानी गरेका छन् ।बैंकर्सहरुका अनुसार निक्षेपमध्ये कम्तिमा ७० प्रतिशत लगानी र ३० प्रतिशत हुँदा राम्रो मानिन्छ तर यहाँका बैंकले निक्षेपको ४० प्रतिशत पुँजी उपयोग नगरी पुँजीलाई 'होल्ड' गरेका छन् । बैंकले घर कर्जामा बढी पैसा दिएका छन् ।

बैंक अफ काठमान्डूमा राष्ट्र बैंकको हस्तक्षेप

राष्ट्र बैंकले सञ्चालकबीचको विवाद नसुल्झिएपछि बैंक अफ काठमान्डू बिओकेलाई नियन्त्रणमा लिएको छ । मंगलबारको राष्ट्र बैंक सञ्चालक समितिकॊ बैठकले हस्तक्षेपका साथै बैंक व्यवस्थापन निलम्बन गरेको हो । केन्द्रीय बैंकको निर्णयमा तीन महिनाभित्र साधारणसभा गरी नयाँ सञ्चालक समिति बनाउने उल्लेख छ । राष्ट्र बैंकले लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा चार सदस्य बैंक व्यवस्थापन समिति गठनको निर्णयसमेत लिएको छ ।
तत्कालका लागि बिओकेका निमित्त प्रमुख कार्यकारी अधिकृत सविन श्रेष्ठलाई भने यथावत राखिएको छ । 'सर्वसाधारणको बचत र लगानीकर्ताको सुरक्षा र बैंकिङ क्षेत्रमा सुशासन कायम गर्न हस्तक्षेप गरेको हो', राष्ट्र बैंक सञ्चालकले भने- 'सुधारात्मक कदमका लागि यस्तो निर्णय लिनुपरेको हो ।'
बिओकेको एजेन्डामा मात्र छलफल गर्न बुधबार साचालक समिति बैठक डाकिएको थियो । राष्ट्र बैंक सञ्चालक समितिको नियमित बैठक महिनाको दुई दिन मात्र हुन्छ ।
तीन वर्षयता राष्ट्र बैंकले निजी क्षेत्रको बैंक नियन्त्रणमा लिएकॊ पहिलोपटक हो । यसअघि निक्षेपकर्ताले पैसा झिक्न थालेपछि नेपाल बंगलादेश बैंक व्यवस्थापनमा हस्तक्षेप गरेको थियो ।
बिओकेमा प्रबन्ध सञ्चालकबाट राधेश पन्तलाई सञ्चालक समितिको बहुमतले हटाएपछि विवाद सार्वजनिक भएको थियो । हटाउनुअघि पन्तलाई स्पष्टीकरणको मौका दिइएको थिएन ।
राष्ट्र बैंकको अध्ययनले बिओकेको सञ्चालक समितिमा केही परिवारको बाहुल्य रहेको देखाएको छ । बिओकेका केही सञ्चालक एवं कर्मचारीले पनि अन्योल अन्त्य गर्न राष्ट्र बैंकसँग माग गरेका थिए ।
'सञ्चालकमा सुविधा लिन बहुमत पुर् याएर निर्णय गर्ने प्रवृत्ति नबनोस भन्ने उद्देश्यले पनि कठोर हुनु परेको हो'- ती सञ्चालकले भने । बिओकेमा विवाद देखापरेको चौथो पटक हो ।

सञ्चालक समितिलाई चित्त नबुझेर प्रमुख कार्यकारी हटाउँदै जाने हो भने वित्तीय क्षेत्रमा स्थायित्व नआउने हुँदा बिओके विवादमा राष्ट्र बैंकले मिलाउन खोजेको थियो । बैंकमा असारसम्म १७ अर्ब ४७ करोड रुपियाँ बचत छ । बैंकले १४ अर्ब ३० करोड ९४ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्र बैंकले गत मंगलबार पन्तलाई पुनर्बहाली गरेर सहमति गर्न पत्र पठाएको थियो । पत्रमा किन सञ्चालक समिति विघटन नगर्ने भन्ने उल्लेख थियो । पत्रको जवाफ दिन पन्त र शाहसहित करिव २५ संस्थापकको बैठक भएको थियो । शाह र रीता मल्लबाहेकका संस्थापक पुनर्स्थापना गर्न सहमत भएका थिए ।
छलफल गर्दा सहमती जस्तो देखिए पनि राष्ट्रबैंकको स्पष्टिकरणको आधिकारिकतामा प्रश्न उठाउंदै शाहले गत आइतबार जवाफ पठाए । पत्रमा शाहले पन्तलाई हटाउने संचालक समितिको निर्णयमा राष्ट्र बैंकले प्रश्न गर्न नमिल्ने उल्लेख गरेका छन् । शाहले जवाफ बुझाएको केही समयमा पन्तसहितका अरु संस्थापकले राष्ट्र बैंकमा अर्को पत्र पठाए । पन्तको पत्रमा शाहको जवाफप्रति असहमती जनाइएको छ ।

करिव एक महिना अघि बैंकको बोर्डले स्पष्टीकरण विना पन्तलाई प्रबन्ध संचालकबाट हटाएको थियो । यो निर्णय पछि बैंकको बोर्ड भित्र विवाद बढेको थियो । शाहले बहुमत निर्णयबाट पन्तलाई हटाएका थिए । त्यतिबेला शाहको पक्षमा रिता मल्ल, सन्तवरिसंह थापा, बलराम न्यौपाने थिए । पन्तको पक्षमा सिताराम थपलिया र सुदर्शन पौडेल थिए । एक संचालकको पद रिक्त थियो । केही दिनअघि शाहले संचालकमा दिपकनर सिंहलाई मनोनीत गरेका छन् ।
बैंकको ४२ प्रतिशत सेयर संस्थापकसंग छ । त्यसमा १० प्रतिशत शाहको छ । पन्तको १० प्रतिशतकै हाराहारीमा संस्थापक सेयर छ । अधिकांश संचालक अहिले शाहको निर्णयबाट बैंकलाई अप्ठेरोमा पारेको भन्दै रुष्ट भएको बैंकका एक अधिकारीले बताए ।
बैंकका दुई बोर्ड सदस्यले पन्तलाई नियमविपरित हटाएको भन्दै राष्ट्र बैंकमा उजुरी गरेका थिए । एक पक्षीय ढंगले निकालिएको उजुरीमा उल्लेख छ । उजुरी पछि राष्ट्र बैंकले बैंक अफ काठमाण्डुको बोर्ड र पन्तलाई छलफलका लागि सँगै बोलाएको थियो । कुनै पनि निष्कर्ष ननिस्केपछि स्पष्टिकरण सोधेको थियो । बोर्डले राष्ट्रबैंकलाई नै चुनौती दिँदै पत्र पठाएपछि पछिल्लो निर्णय भएको हो ।
सफाईको मौका नदिइ प्रमुख कार्यकारी हटाउँदा अस्थिरता बढ्छ यस्तो समस्या अन्यत्र फैलन नआओस भन्ने उदेश्यले राष्ट्रबैंकले व्यवस्थापन नियन्त्रणमा लिएको हो । प्रमुख कार्यकारीलाई निकाल्नु अघि स्पष्टीकरण र सुनुवाइको मौका दिनु पर्ने पक्षमा राष्ट्र बैंक छ । सर्वसाधारणको पैसा राख्ने बैंकजस्ता संस्थामा यस्तो कमजोरी हुनुहुँदैन राष्ट्र बैंक अधिकारीले भने ।
विवादले बैंकको स्थिति झन बिग्रिएको संस्थापकहरुको दावी छ । विवादपछि निक्षेप घटेको कर्जा बढेकोउस्तै उस्तै बैंकको सेयर बढेको भए पनि बिओकेको घटेको उनीहरुले राष्ट्रबैंकमा बुझाएको पत्रमा उल्लेख छ ।
बीओकेले चैत महिना सम्ममा ३३ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष नौ महिनामा बैंकले २३ करोड ८३ लाख कमाएको थियो ।

बैंक ऋण महंगो भयो

बैंक तथा वित्तीय संस्थाबाट १० प्रतिशतभन्दा कम ब्याजमा ऋण पाउन कठिन भएको छ। धेरै बैंकसँग लगातार लगानी योग्य पूँजी तरलता अभावले कर्जाको ब्याजदर बढेको हो।

अधिकांश वित्तीय संस्थाले १२ प्रतिशतभन्दा कम ब्याजमा पैसा दिन बन्द गरेका छन्।

‘अब हाम्रो बैंकले १२ प्रतिशतभन्दा कममा पैसा दिदैंन' वाणिज्य बैंकका एक प्रमुख कार्यकारीले भने। ‘सर्वसाधारणले राख्ने बचतमा ३ र कर्जामा १ देखि साढे १ प्रतिशतसम्मले ब्याज बढेको छु नेपाल बैकस्र एशोसियशनका अध्यक्ष सशिन जोशीले भने।
केही महिना अघिसम्म ठुलो पूँजी भएका संस्थालाई मात्र वित्तीय कम्पनीले बढी ब्याज दिएका थिए। केही समययता सर्वसाधारणको बचतमा पनि बढी ब्याज दिने वित्तीय संस्थाले सार्वजनिक गरेका छन्।

एक साताअघि वाणिज्य बैंक भएको किष्टले बचतमा १० दशमलब २५ प्रतिशत ब्याज दिने विज्ञापन गरेको छ। धेरै भनसुन गरेर संस्थागत निक्षेप लिनुभन्दा सर्वसाधारणसँग बढी ब्याजमा पैसा लिनु उपयुक्त छ किष्टका प्रमुख कार्यकारी कमल ज्ञवालीले भने ‘बैंकको कारोबार पनि बढ्ने हुँदा १० प्रतिशत बढि ब्याजमा पैसा लिएका हौं।ं
नयाँ खूलेका अन्य बैंकले पैसा राख्न आए ९ प्रतिशतसम्म ब्याज दिने सार्वजनिक गरेका छन्।

केही महिनाअघि निक्षेपको ब्याजदर ४ देखि ६ प्रतिशतसम्म थियो। बैंकले १० प्रतिशतसम्ममा कर्जा दिदैं आएका थिए। स्टाण्डर्ड चार्टर्ड बैंकले केही वर्षअघि साढे ६ प्रतिशतमा कर्जा दिएको थियो।

‘बचतमा ९ देखि १० प्रतिशत ब्याज भएपछि एक अंकमा ऋण दिन सक्ने अवस्था रहदैंनु डेभलपमेण्ट क्रेडिट बैंकका प्रमुख कार्यकारी सुधिर खत्रीले भने।
मंगलबार र बुधबार वाणिज्य बैंंकसँग पैसा अभाव भयो। नगद आवश्यक भएका वित्तीय संस्थाले अन्य बैंकबाट पैसा सापटी अन्तरबैंक कारोबार पाउन सकेनन्। छिटो समयका लागि नगद आवश्यक पर्दा वित्तीय संस्थाले आपसमा अन्तरबैैंक कारोबार गर्छन्।
पैसा अभावले बुधबार अन्तर बैंक कारोबारको ब्याज ९ प्रतिशत पूगेको छ। ‘ब्याज बढे पनि पैसा दिन सक्ने थोरै मात्र बैंक छन्' वािणज्य बैंकमा अन्तर बैंक कारोवार हेर्ने वाणिज्य बैंकका एक अधिकृतले भने।

सनराइज बैंकको सेयरको पैसा राष्ट्र बैंकमा जम्मा हुँदैं गएकाले तरलता अभाव भएको हो। यो बैंकको सेयर बिक्रीको जिम्मेवारी दिएको एनएमबी बैंकले काठमाडौमा जम्मा भएको पैसा राष्ट्र बैंकमा पठाएको छ। यो बैंकको सेयरमा करिव १० अर्बको आवेदन परेको थियो।
विद्यमान प्रावधानअनुसार सेयरमा जम्मा भएको पैसा ७ दिन भित्र राष्ट्र बैंकमा राख्नूपर्छ।
‘बैंक तथा वित्तीय संस्थासँग धेरै पैसा पहिले देखि नै थिएनं जोशीले भने ‘- वित्तीय संस्थासँग भएको ७ अर्ब रुपैंयाँ यता उता हुने वित्तिकै तलरता अभाव हुन्छ।ं ्


सनराइज बैंकको सेयरलाई आधार माने भविष्यमा पनि तरलता अभाव हुनेछ। प्राइम बैंकले जेठ दोस्रो साता सर्वसाधारणलाई सेयर बिक्री गर्दैछ। यसपछि चिलिमे जलविद्युत र कृषि विकास बैंक साधारण सेयर बिक्री गर्ने योजनामा छन्।


‘बैंक तथा वित्तीय संस्था कसिलो अवस्थामा छन्' जोशीले भने ‘अन्य वैकल्पिक उपकरण नभएकाले यस्तो भएको हो। वाणिज्य बैंकसँग भएको पैसामध्ये ८२ प्रतिशत लगानी भएको छ। अन्तर्राष्ट्रिय बैंकमा निक्षेप लगानी अनुपात यो बढीमा ७० प्रतिशत हुन्छ।'


‘तरलता ब्यवस्थापन गर्न बैंकलाई आवश्यक परेको बेला तत्काल नगदमा परिणत गर्न सकिने उपकरण चाहिन्छ जोशीले भने ‘यहाँ यो अवसर छैन।


केही ठुला बैंकसँग बढी पैसा छ। तर साना र नयाँ खूलेका बैंक तरलता अभावको दवाबमा परेका छन्।


अहिले ऋण लिन हुन्छ कि हुदैंन जोशी भन्छन् ‘बचतको ब्याजदर बढेअनुसार कर्जाको बढेको छैन नियमित तिर्न सक्ने क्षमता छ भने लिदा हुन्छ।ं पैसा राख्ने र ऋण लिने दूबैलाई फाइदा भएको उनको दावी छ। ‘पैसा हुनेका लागि यो मोलमोलाई गरेर राख्ने समय हों जोशीले भने ‘कर्जाको ब्याज भने अत्याधिक बढेको छैन।'


नेपाल बैकस्र एशोसिएसनका अध्यक्ष सशिन जोशीले राष्ट्र बैंकले मौदि्रक नीतिमा परिमार्जन र बजारमा थप पैसा छाड्नु पर्ने समय आएको बताएका छन्। राष्ट्र बैंकले तत्काल ४-५ अर्ब रुपैयाँ छाड्नु पर्ने जोशीको सुझाव छ।

थप पैसा बजारमा पठाउन अनिवार्य नगद मौज्दात घटाउनु पर्ने र नियमित रुपमा बैंकमा जम्मा हुन आएको विदेशी मुद्रा राष्ट्र बैंकले किन्नु पर्ने अवस्था आएको छ जोशीले भने।
बैंकले नियमित कारोबारका लागि राख्नूपर्ने नगद अनुपात ५ दशमलब ५ प्रतिशत छ। यसलाई घटाएर ४ बनाउनु पर्ने सुझाव जोशीको छ। साढे एक प्रतिशत घटाउँदा बजारमा थप ५ अर्ब पैसा जान्छ।

बैंकले नगद आवश्यकता हुँदा विदेशी मुद्रा बिक्री गर्न नपाएको जोशीले बताए। राष्ट्र बैंकले साताको दूई दिन वाणिज्य बैंकसँग विदेशी मुद्रा किन्दै आएको छ। यसलाई दैनिक बनाउनु पर्छ उनले भने। दैनिक भए पैसा आवश्यक परेको जुनसुकै बेला हामी विदेशी मुद्रा विक्री गर्न सक्छौ जोशीले भने।


बैंकले स्वरोजगार कोषमा पैसा राखे

वाणिज्य बैंकले बुधबार युवा तथा साना स्वरोजगार कोषमा पैसा दिन हस्ताक्षर गरेका छन्। बिहीबारसम्म कोषको खातामा पैसा जम्मा हुनेछ।

बैंकले सरकारलाई ऋणका रुपमा कोषमा पैसा जम्मा गरेका हुन्। यो पैसामा सरकारले वार्षिक ५ प्रतिशत ब्याज दिनेछ।

बैंकले दिनुपर्ने विपन्न वर्ग कर्जा शीर्षक अन्तर्गतको १ प्रतिशत रकम चैतसम्म कोषमा जम्मा गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकले निर्देशन दिएको थियो। कोषको साचालन प्रकृयाप्रति असहमति जनाई बैंकले पैसा दिएका थिएनन्।

राष्ट्र बैंक अर्थ र नेपाल बकस्र एशोसिएसनबीच सहमति भएकाले बैंकले पैसा राख्ने भएका हुन्। विपन्न वर्ग क्षेत्र कर्जाको एक प्रतिशत करिव ४ प्रतिशत हुन्छ। यसमध्ये पहिलो किस्ता एक चौथाई रकम बैंकले दिनेछन्। समीक्षापछि दोस्रो किस्ता दिने नदिने निर्णय हुनेछ।

बजारमा नक्कली नोट

बजारमा ठूला नोट अभाव भइरहेका बेला नक्कली नोट भेटिन थालेका छन् । केही समयदेखि ५ सय र एक हजार रुपैयाँका नक्कली नोट बजार भेटिइरहेका छन् ।

नक्कली नोट बनाउने गिरोहले यस्ता नोट बजारमा ल्याएको आशंका गरिए पनि प्रहरीले त्यस्तो गिरोहलाई पक्राउ गर्न सकेको छैन । हालै राजधानीको गल्फुटारमा पनि यस्तै नोट भेटिएका छन् ।
महाराजगन्ञ्जका एक कम्युनिकेसन सञ्चालकले नयाँ पत्रिकालाई ५ सय रुपैयाँको नक्कली नोट उपलब्ध गराएका छन् । उनका अनुसार, रातको समयमा ट्याक्सी ट्राइभरले फिर्ता दिँदा नक्कली नोट उनले भोलिपल्ट मात्र थाहा पाएका थिए ।

'ट्याक्सीले फिर्ता दिंदा राति थियो यादै भएन, भोलिपल्ट शंका लागी एभरेष्ट बैंकका कर्मचारीलाई देखाउँदा नक्कली भन्ने प्रमाणित भयो,' उनले भने । ख १९-७३९३२२ नम्बरको सो ५ सय रुपैयाँ नोट उनले नयाँ पत्रिकालाई फोनमार्फत जानकारी उपलब्ध गराएका हुन् ।

बैंक कर्मचारीलाई देखाउँदा सो नोट नक्कली नै भएको प्रमाणित भएको छ । बजारमा नक्कली नोट देखिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक कर्मचारी र सरोकारवालालाई जानकारी दिन अन्तर्त्रिया गर्ने गरेको छ । तर, अझै पनि नक्कली नोटबाट ग्राहक ठगिने क्रम भने रोकिएको छैन ।

कमाउँदै, गुमाउँदैछन् बैंक

बैंकिङ प्रणालीमा तरलता समस्या नभए पनि केही बैंकमा निरन्तर तरलता कमी र अधिक तरलता पाइएको छ ।

केही महिनादेखि धेरै तरलता भएका बैंकले अन्तरबैंक कर्जा प्रवाह गरी राम्रो आम्दानी गरिरहेछन् । अन्तरबैंक कर्जा ब्याजदर औसतमा सात प्रतिशतभन्दा माथि छ । बैंकहरूले पाँच दिनका लागि त्यस्तो कर्जा प्रवाह गर्छन् ।
लगातार कर्जा प्रवाह गरिरहेका बैंकले राम्रो आम्दानी गरिरहेछन् । केही बैंकले भने लगातार कर्जा लिई रहनुपरेकाले तिनीहरूलाई निक्षेप संकलनभन्दा महँगो पर्न गएको छ ।


अन्तरबैंक कर्जा कारोबार बढ्नुका साथै बैंकहरूले निक्षेप ब्याजदर पनि बढाइरहेका छन् । यद्यपि बैंकहरूले थोरै रकम बचत गर्नेका लागि ब्याज वृद्धितर्फ ध्यान नदिएको गुनासो बढ्दै गएको छ ।

नेपाल सरकारको खातामा अहिले २५ अर्ब ८४ करोड रुपैयाँ खर्च नभई बसेको छ, जसका कारण तरलता कसिलो राखिराख्न मद्दत पुगेको छ । सो बचत केही साताअघि २८ अर्ब रुपैयाँ पुग्दा तरलता कमी अझ बढेको थियो ।
राष्ट्र बैंकले मूल्यवृद्धि कम गर्न र निक्षेप ब्याजदर वृद्धि गर्न तरलता कसिलो नै राख्ने नीति लिएको अनुसन्धान विभागका कामु कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए । उनले भने, 'तरलता कमी भयो भनी कसैले चिन्ता लिनुपर्दैन । यसले विस्तारै निक्षेपको ब्याज बढाउँदै लगेको छ ।' तरलता हालको भन्दा खुकुलो नपार्ने राष्ट्र बैंकको नीति रहेको उनले स्पष्ट पारे ।

बैंक अफ काठमाण्डुका ट्रेजरी विभाग प्रमुख प्रवेश पन्त बैंकमा तरलता कमी देखिनुको कारण अल्पकालीन भएको बताउँछन् । त्यसैले तत्काल निक्षेप ब्याजमा उल्लेख्य प्रभाव नपर्ने उनको तर्क छ ।
यद्यपि एक महिनाअघि बैंकले पौने नौ प्रतिशतसम्मको ब्याज योजना ल्याइसकेको छ । बैंकहरूले ब्याजदर नै बढाए पनि सर्वसाधारणले पाउने ब्याजदर बढ्ने सम्भावना नरहेको उनले जानकारी दिए । यसका लागि राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनको सुझाव छ ।
अहिलेसम्म धेरै बैंक ठूला संस्थागत निक्षेपकर्तामा निर्भर छन् । उनीहरूले मोलमोलाइ गरेर बढी ब्याज लिन्छन् । बैंकहरूले न्यूनतम मौज्दात तोकेर त्यो सीमा नाघ्ने निक्षेपकर्तालाई मात्र उच्च ब्याज दिने योजना सञ्चालन गरिरहेछन् ।


नबिल बैंकले पनि गत चैतमा साढे आठ प्रतिशतसम्मको ब्याज योजना ल्याएको थियो ।बैंकका ट्रेजरी विभाग प्रमुख नरेन्द्र श्रेष्ठ अहिले अल्पकालीन तरलता कमी देखिएको दाबी गर्दै भन्छन्, 'यो आर्थिक वर्षभरिको बजार नेहेरी थप ब्याज बढाउन आवश्यक छैन ।'

अन्तरकर्जाबाट निरन्तर आर्जन गरिरहेको सिटिजन्स बैंक इन्टरनेसनलकी ट्रेजरी प्रमुख रक्षा ओझा बजारमा अन्तरबैंक कर्जा उच्च माग रहेको बताउँछिन् । आठ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको सो बैंकमा डेढ अर्ब रुपैयाँ तरलता छ । 'अघिल्लो सातासम्म हामीले कर्जा दियौं, यो साता भने माग उच्च भए पनि हामीलाई नै आवश्यक पर्ने देखिएको छ,' उनले भनिन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा नयाँवर्षसँगै तरलता समस्याले छोएको छ । सो बैंकले दुईपटक गरी राष्ट्र बैंकबाट दुई एक अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेको छ । सो बैंकसँग वैशाख महिनामा परिपक्व हुने ट्रेजरी बिल्स नरहेकाले बैंक अन्तरबैंक कर्जामा बढी नै निर्भर रहनुपरेको हो ।
सरकारले कर्मचारी पेन्सनबापत चालू आर्थिक वर्षमा निकासा दिनुपर्ने करिब साढे दुई अर्ब रुपैयाँ निकासा हुन बाँकी रहेकाले पनि तरलतामा चाप परेको ट्रेजरी विभाग प्रमुख केशव लम्सालले बताए । कृषि विकास बैंकले कर्जा प्रवाह मात्र गरेको र कर्जा नलिएको ट्रेजरी प्रमुख मनोहर श्रेष्ठले जानकारी दिए ।


राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक र बैंक अफ काठमाण्डुले पछिल्ला दिनमा तुलनात्मक रुपले अधिक अन्तरबैंक कर्जा लिएका छन् । गत साता नौ वाणिज्य बैंकले कुल ६ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अन्तरबैंक कर्जा लिएका थिए । त्यसमा नबिल बैंकले आधाभन्दा बढी कर्जा लिएको छ । कर्जा लिनेमा बैंक अफ काठमाण्डु दोस्रो छ । अघिल्लो साता नौ बैकले पाँच अर्ब ६० करोड २० लाख रुपैयाँको कर्जा प्रवाह गरेको थियो । सो अवधिमा सबैभन्दा बढी कर्जा लिनेमा बैंक अफ काठमाण्डु रहेको छ । त्यस्तै, दोस्रोमा नविल र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक थियो ।

गत साता सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक, दोस्रोमा प्राइम कमर्सियल बैंक र तेस्रोमा सिटिजन्स बैंक इन्टरनेसनल छन् । यो अवधिमा १३ बैंकले अन्तरबैंक कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै, अघिल्लो साता सर्वाधिक कर्जा प्रवाह गर्नेमा एभरेष्ट बैंक पहिलो, नेपाल बंगलादेश बैंक दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो बैंक रहेका छन् । ती बैंकले सो अवधिमा जम्मा १४ बैंक अन्तरबैंक कर्जा प्रवाह गरेका थिए ।


राष्ट्र बैंकबाट तरलता सुविधा नलिई अन्तरबैंक कर्जाबाट बैंकहरूको तरलता व्यवस्थापन भएको राष्ट्र ऋण व्यवस्थापन विभागका निर्देशक शंकर आचार्यले बताए ।
गत साता राष्ट्र बैंकले आह्वान गरेको ट्रेजरी बिलमा चार गुणा बढी प्रस्ताव परेकाले बैंकहरूमा तरलता समस्या नदेखिएको दाबी उनले गरे । अब सनराइज बैंकको सेयर आवेदनबापतको करिब १० अर्ब रुपैयाँ केही दिन निस्त्रिय रहने भए पनि तरलता समस्या नआउने निष्कर्ष राष्ट्र बैंकले निकालेको छ ।
आचार्यले भने, 'यसअघि सिटिजन्स बैंक र बैंक अफ एसियाको १० अर्ब आवेदन पर्दा राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको रिपो जारी गरेकामा हाल त्यस्तो अवस्था रहेको छैन ।'

विनारोकतोक छन् राष्ट्र बैंक अधिकारी

बैंक तथा वित्तीय संस्थाको नियामक गर्ने अधिकार पाएको नेपाल राष्ट्र बैंकका कर्मचारीदेखि उच्चपदस्थ अधिकारीलाई समेत सेयर किन्न रोक लगाइएको छैन । स्टक एक्सचेन्जमा सूचीकृत ७० प्रतिशतभन्दा बढी कम्पनीको नियामक राष्ट्र बैंकले गर्दै आएको छ ।
राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाको अवस्था र योजनाबारे अगि्रम जानकारी पुग्ने गर्छ । यस्तो योजनाका आधारमा राष्ट्र बैंक कर्मचारीले सेयर बजारलाई प्रभावित बनाउन सक्ने बजार विश्लेषक बताउँछन् ।
उच्च व्यवस्थापक तथा सञ्चालकलाई सम्बन्धित कम्पनीको सेयर खरिद बिक्रीमा कम्पनी ऐनले रोक लगाएको छ । व्यवस्थापक तथा सञ्चालकले कम्पनीको वित्तीय अवस्थालगायत गोप्य विषयमा जानकारी पाउँछन् ।

सेयर बजारमा चलखेल नगरुन् भनी उनीहरूलाई सेयर किन्न रोक लगाइएको सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले बताए । उनले भने, 'उनीहरूलाई भएको जानकारी राष्ट्र बैंकका कर्मचारीलाई पनि हुन्छ । केन्द्रीय बैंक अधिकारीहरूलाई पनि दोस्रो बजारमा सेयर किन्न दिनुहुँदैन ।'

कुनै पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति नलिई महत्वपूर्ण योजना अघि बढाउन नसक्ने सक्दैनन् । राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो पुँजीवृद्धिलगायत सम्पूर्ण गोप्य योजना अगि्रम जानकारी गराई स्वीकृति लिनुपर्छ ।

नेपालको सेयर बजार पछिल्ला तीन वर्षदेखि कम्पनीले दिने हकप्रद तथा बोनस सेयरकै कारण घटबढ हुँदै आएको छ । वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब, विकास बैंकको ६४ करोड र फाइनान्सको २० करोड रुपैयाँ पुर्‍याउनुपर्ने प्रावधान लागू गरेपछि पुँजीवृद्धि योजना कम्पनीले राष्ट्र बैंकमा बुझाइसकेका छन् । राष्ट्र बैंकले स्वीकृत नगरेको वासलात साधारणसभामा लैजान पाइँदैन । हरेक सूचना अगि्रम आउने भएकाले राष्ट्र कर्मचारीले चाहे सेयर बजारमा ठूलो कोलाहल मच्याउन सक्ने लगानीकर्ताको आशंका छ ।

'राष्ट्र कर्मचारीले चाहे भने जे पनि गर्न सक्छन्,' लगानीकर्ता रामकृष्ण तिमल्सिनाले भने, 'त्यसैले आचारसंहिता ल्याएर दोस्रो बजारमा उनीहरूलाई कारोबार गर्न रोक लगाउनुपर्छ ।' राष्ट्र बैंकका कर्मचारी सेयर बजारमा पनि व्यावसायिक रुपले लागेको लगानीकर्ता बताउँछन् ।

कर्मचारीलगायत उच्च अधिकारी सम्मले सेयर खरिद गर्न पाउने भएपछि राष्ट्र बैंक पनि हरेक निर्णयमा विवादित बन्दै आएको छ । राष्ट्र बैंकले पछिल्ला तीन वर्षमा चुक्ता पुँजीसम्बन्धी व्यवस्था दुईपटक परिर्वतन गर्दा केन्द्रीय बैंकका उच्च अधिकारीको नियतमाथि आशंका गरिएको थियो । वाणिज्य बैंकको पुँजी ६० करोड रुपैयाँ हुनुपर्ने व्यवस्थालाई एक अर्ब पुर्‍याएलगत्तै दुई अर्ब रुपैयाँ पुर्‍याइएको थियो । त्यसबखत सेयरमा चलखेल गर्न त्यस्तो गरिएको भन्दै केन्द्रीय बैंकविरुद्ध टीका-टिप्पणी भएका थिए । अहिले पनि हरेक मौदि्रक नीति आउँदा पुँजी बढाउने चर्चा चल्ने गर्छ ।
नेप्सेमा सूचीकृत १ सय ५७ कम्पनीमध्ये १ सय ९ बैंक तथा वित्तीय संस्था छन् । नेप्सेको दैनिक कारोबार ७० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्थाकै हुने गरेको छ । । क वर्गका कम्पनीमा पनि तिनीहरूकै वर्चश्व छ ।

सेयर बजारमा प्रभाव पार्ने अन्य निकाय नेप्से र धितोपत्र बोर्डले भने आचारसंहितामार्फत आफ्ना कर्मचारीलाई दोस्रो बजारमा सेयर किन्न रोक लगाएका छन् । उनीहरूले प्राथमिक निष्कासनमा सेयर पारे कार्यालयलाई जानकारी गराई बिक्री गर्नुपर्छ । तर, नेपालको बजारमा बैंक तथा वित्तीय संस्थाको पहुँचका कारण ती निकायभन्दा पनि राष्ट्र बैंकको भूमिका ठूलो हुने गरेको छ । राष्ट्र बैंकका हरेक निर्णयले सेयर बजार प्रभावित हुने गरेको छ ।

सबैतिरको चासोपछि राष्ट्र बैंक पनि दोस्रो बजारमा कर्मचारीले लगानी गर्न पाउने/नपाउनेबारे आचारसंहिता बनाउने सोचमा पुगेको छ । तर, यस्तै गर्ने भनेर अहिलेसम्म योजना बनाइएको छ । 'हामी पनि सोचमा छौं,' बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सुशील माथेमाले भने, 'दोस्रो बजारमा सेयर किनबेच गर्न पाउने नपाउने विषयमा के गर्ने टुंगो लगाउनुपर्नेछ ।'

सन्राइजको सेयरमा अनियमितताबारे छानबिन

सन्राइज बैंकको सेयर आवेदन फारम बजारमा पुगेको विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ । छानबिन टोलीले मंगलबार प्रतिवेदन दिएपछि बोर्डले कारबाहीको प्रकृति तय गर्ने भएको छ ।

सन्राइजले सेयर आवेदन बन्द गरेको चौथो दिनमा नै आवेदकका फोटोसहितका फारमहरू चनाचटपटेवालाकहाँ पुगेको समाचार नयाँ पत्रिकाले सोमबार छापेको थियो । समाचार प्रकाशित भएलगत्तै बोर्डले सुपरीवेक्षण शाखाका उपनिर्देशक मुक्तिराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
अनियमितता भएमा बैंकको सेयर निष्कासन रद्द गर्ने र बिक्री-प्रबन्धकलाई कारबाही गर्ने निर्णय धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने व्यवस्था छ । ऐनअनुसार सेयर निष्कासन रद्दसम्म गर्नेदेखि बिक्री-प्रबन्धक बैंकलाई सेयर कारोबार गर्ने अधिकार निलम्बन गर्ने र त्यस्तो बैंकको लाइसेन्स नै खारेज हुनेसम्मको व्यवस्था छ ।

छानबिन समितिले सोमबार नै सन्राइजको सेयर बिक्री-प्रबन्धक एनएमबी बैंकमा पुगी हराएको फारमको बारेमा जानकारी लिएको थियो । 'अनुसन्धान सुरु भएको छ, सेयर निष्कासन रद्द गर्ने वा नगर्ने तथा एनएमबीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा अहिले नै भन्न सकिँदैन,' उपनिर्देशक श्रेष्ठले भने । उनले मंगलबार नै प्रतिवेदन पेस गर्दै छन् ।

यसैबीच एनएमबीले सन्राइज बैंकको सेयरका लागि सर्वसाधारणले भरेका ४७ वटा फारम हराएको स्वीकार गरेको छ । सन्राइज बैंकले ३७ करोड ५० लाख रुपैयाँको सेयरका लागि परेको करिब १० अर्ब रुपैयाँको प्रबन्धक एनएमबीले मानवीय कमजोरीबस फारम हराएको बताएको छ ।

'यो कमजोरीप्रति हामी गम्भीर क्षमायाचना गर्छौं र विगतमा नभएको यस्तो गल्ती भविष्यमा हुन नदिने प्रतिबद्धता व्यक्त गर्छौं,' सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकका सिइओ उपेन्द्र पौडेलले भने ।

पौडेलले हराएका फारमहरूको लगत बैंकको सिस्टममा राखिसकिएको दाबी पनि गरे । 'सन्राइज बैंकको सेयरका लागि परेका सबै आवेदनहरूको डाटा कम्प्युटरमा इन्ट्री भइसकेका छन्, त्यसैले सबै आवेदकलाई बाँडफाँड प्रक्रियामा सहभागी गराइनेछ,' उनले भने ।

सेयर फारमहरूबारे एनएमबीले सोमबार बिहान नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र सन्राइज बैंकलाई जानकारी दिएको छ ।

भदौदेखि इ-कमर्स सञ्चालन

नेपाली बैंक तथा वित्तीय संस्थालाई डेबिट कार्ड सुविधा उपलब्ध गराइरहेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) ले विद्युतीय कारोबार सुविधा (इ-कमर्स) उपलब्ध गराउने भएको छ ।
विद्युतीय कारोबार सुरु भएपछि नेपालीले घरमा बसीबसी इन्टरनेट माध्यमबाट विभिन्न उपभोग्य सामान खरिद गर्न र टेलिफोन, खानेपानी, केबुल टिभीलगायत बिलसमेत तिर्न सक्नेछन् ।
विकसित देशका जनताको जीवनशैली नै बनिसकेको विद्युतीय कारोबार तीनदेखि चार महिनाभित्र सुरु गरिने एससिटीका प्रमुख प्रविधि अधिकृत (सिटिओ) समीर बज्राचार्यले जानकारी दिए । 'अहिले हामी अन्तिम परीक्षणका क्रममा छौँ, तीनदेखि चार महिनाभित्रमा इ-कमर्स सुविधा सुरु गर्छाँ,' उनले भने । इ-कमर्स थाल्न विद्युतीय भुक्तानी मार्ग (इ-पेमेन्ट गेटवे) प्राप्त भइसकेकाले सेवा सुरु गर्न कुनै कठिनाइ नभएको उनको भनाइ छ । विद्युतीय कारोबार सुरु गर्न सदस्य बैंक तथा वित्तीय संस्थासमेत इच्छुक भएको उनले बताए ।

'नयाँ सेवा सुरु भएपछि उपभोक्ताले घरमै बसेर एससिटी डेबिट कार्डर्का माध्यमबाट आफूलाई चाहिएको वस्तु खरिद गर्न सक्नेछन् भने नगद भुक्तानी झन्झट व्यहोर्नुपर्ने छैन,' उनले भने । यसका लागि एससिटी नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाको डेबिट कार्ड आवश्यक पर्नेछ । उपभोक्ताले डेबिट कार्डको पिन नम्बर थिचेकै भरमा नेपालभरि छरिएर रहेका एससिटी बिक्री केन्द्र (प्वाइन्ट अफ सेल्स, पिओएस) बाट वस्तु खरिद गर्न सक्नेछन् । नेपालमा एससिटीले पहिलोपटक यस्तो सुविधा ल्याउन लागेको उनले बताए । प्रारम्भमा नेपालभर मात्रै कारोबार गर्न सकिने सुविधा उपलब्ध भए पनि विस्तारै भारतमा समेत कारोबार गर्न सकिने व्यवस्था मिलाउने एससिटीले जनाएको छ । भारतबाहेकका अन्य मुलुकमा कारोबार विस्तारका लागि विद्यमान ऐन कानुनमा आवश्यक व्यवस्था नभएकाले कारोबार गर्न नसकिने बज्राचार्यले बताए ।

'सुरुमा हामी वस्तु खरिद तथा सेवा शुल्क भुक्तानीका लागि सेवा प्रदान गर्छाँ,' उनले भने, 'त्यसपछि विद्युतीय माध्यमबाट नै सबै आर्थिक कारोबार गर्न सकिने व्यवस्था मिलाउने योजना छ ।' सेवाको दायरा फराकिलो पार्दै पछि फन्ड ट्रान्सर्फर, एयरलाइन्स टिकेटिङजस्ता सेवासमेत उपलब्ध गराइने उनको भनाइ छ । सरकारले पनि विद्युतीय शासन (इ-गभर्नेन्स) को नीति लिएकाले आफूहरूले यस्तो सेवा सुरु गर्न लागेको उनले बताए ।
नगदमा गरिने कारोबार विद्युतीय माध्यमबाट हुन थालेपछि जोखिम न्यूनीकरण हुने उनको विश्वास छ । 'नगद कारोबार गर्नुपर्दा ठूलो रकम बोक्न झन्झट हुने, लुटिने डर हुन्छ,' उनले भने, 'सबै कारोबार अनलाइनबाट हुने भएपछि यस्तो जोखिम हुँदैन ।'

अनलाइन कारोबारमा जोखिम
अनलाइन कारोबारमा केही हदसम्म जोखिम भए पनि जोखिम व्यवस्थापनका लागि उच्च स्तरीय प्रविधि प्रयोग गरिने बज्राचार्यले बताए । सेवा प्रदायको जस्तै नक्कली (पिसिङ) साइट बनाएर उपभोक्ताको पिन नम्बरलगायत गोप्य सूचना प्राप्त गरी अवैधानिक कारोबार गर्ने जोखिम हुन्छ ।
उनले भने, 'तर, यसबाट बँच्न हामीले बलियो इन्त्रिप्सन सिस्टम राखेका छौँ, जसले गर्दा यस्ता पिसिङ साइटबाट सहजै मुक्त हुन सकिन्छ ।' मजबुत इन्त्रिप्सनसँगै पिन नम्बरलगायत उपभोक्ताका गोप्य सूचना प्रवाहका लागि वेबसाइटमै भर्चुअल कि-बोर्ड राखिनेसमेत उनले बताए ।
'भर्चुअल की-बोर्ड भएपछि कीमा प्वाइन्टरले थिचेर सूचना प्रवाह गर्न सकिन्छ, जसले कारोबारलाई थप सुरक्षित बनाउँछ,' उनले भने ।

जोखिम न्यूनीकरणका लागि उच्च व्यवस्था गरिए पनि सोसियल इन्जिनियरिङ (फेसबुक, माइस्पेस, हाई फाइफजस्ता सामाजिक साइटमार्फत कुरै कुरामा गोप्य सूचना लिने) को जोखिम भने अझै रहेको उनले बताए ।
'कतिपय मानिस च्याटमा कुरा गर्दागर्दै गोप्य सूचना पाउन सिपालु हुन्छन्,' उनले भने, 'यस्तो जोखिम भने कम्पनीले व्यहोर्न सक्दैन । त्यसका लागि उपभोक्ता नै जिम्मेवार हुनुपर्छ ।' नेपालमा केही सीमित कारोबार विद्युतीय माध्यमबाट भइरहेका छन् । केही बैंकहरूले इन्टरनेट बैंकिङका माध्यमबाट वस्तु खरिद, एंव सुविधाबापतको भुक्तानी तथा मोबाइल रिचार्ज गर्ने सुविधा उपलब्ध गराइरहेका छन् ।
यसैगरी केही व्यापारिक संस्थाहरूले इन्टरनेटमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाए पनि भुक्तानी भने नगदमा हुँदै आएको छ । केही व्यापारिक संस्थामा सीमित विद्युतीय कारोबारलाई एससिटीले बृहत् रुपमा सञ्चालन गर्न लागेको हो । एससिटीले उपलब्ध गराउने सेवा पूर्ण विद्युतीय हुने बज्राचार्यले बताए ।

बैंकले बैंक अफ काठमाण्डुसँग स्पष्टीकरण माग

पाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डु (बिओके) को सञ्चालक समितिले प्रबन्ध सञ्चालक राधेश पन्तलाई हटाउनुको कारणबारे सोमबार सञ्चालक समितिसँग स्पष्टीकरण मागेको छ ।

राष्ट्र बैंकले सोमबार बिओके सञ्चालक समितिलाई पत्र पठाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । 'हामीले सात दिनभित्र सञ्चालक पन्तलाई हटाउनुको कारण स्पष्ट रुपमा पेस निर्देशन दिएका छौं,' राष्ट्र बैंक स्रोतले बतायो ।
स्रोतले बिओकेको सञ्चालक समितिले चित्तबुझ्दो जवाफ नदिए राष्ट्र बैंकले बिओकेको व्यवस्थापन खारेज गरी आफ्नो नियन्त्रणमा लिन सक्ने बतायो ।

बिओकेको सञ्चालक समितिको २०६५, ९ चैतमा बसेको बैठकले प्रबन्ध सञ्चालक राधेश पन्तलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सञ्चालक समितिको बैठकमा पन्तको पक्ष र विपक्षमा मत बाझिएपछि बहुमतले पन्तलाई फिर्ता बोलाउने निर्णय पारित भएको थियो । पन्तलाई हटाउने सञ्चालक समितिको निर्णयविरुद्ध अल्पमतमा परेका सञ्चालक समितिका सदस्यहरू, बैंक कर्मचारी, सेयर होल्डर १४ चैतमा राष्ट्र बैंकसमक्ष निवेदन दिई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

राष्ट्र बैंकमा सञ्चालक समितिका केही सदस्यहरूले आवेदन दिएपछि राष्ट्र बैंकले एक समिति बनाई अनुसन्धान गरेको थियो ।
अनुसन्धान समितिले दिएको प्रतिवेदनमा सञ्चालक समितिले प्रबन्ध सञ्चालक पन्तलाई सफाइको मौकासमेत नदिई फिर्ता बोलाउने निर्णय गरेको बैंकमा अहिले दुई पक्षबीचको विवाद बढ्दै गएको छ ।
लामो समयसम्म बैंकमा विवाद भइरहे सर्वसाधारण लगानीकर्ताको पैसा जोखिममा पर्ने भएकाले राष्ट्र बैंकले छिटो निर्णय गर्नुपर्ने सुझाव दिएको थियो ।

कवाडीमा भेटिए सन्राइज बैंकका सेयरफारम


तपाईंले सन्राइज बैंकको सेयरका लागि आवेदन भर्नुभएको छ ? सेयर पाउने आशा पनि गर्नुभएको होला । तर, तपाईंको फारम चटपटेवालाले सोली बनाउँदै होलान्, मुमफलीवालाले बदाम पोको पार्दै होलान् ।
सन्राइजले नेपालमै सबैभन्दा धेरै ३७ करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गरेको थियो । सेयर पाउन करिब १० अर्ब रुपैयाँको आवेदन परेको छ । तर, बैंक र बिक्री-प्रबन्धक एनएमबीको चरम लापरबाहीका कारण आवेदकले भरेका फारम एक साता नबित्दै चटपटेवालाकहाँ पुगेका छन् ।

सेयर बाँडफाँडमा लापरबाहीको गुनासो बढेपछि नेपाल धितोपत्र बोर्डले सन्राइजका पालादेखि नै आवेदन फारममा फोटो टाँस्नैपर्ने बाध्यकारी नियम ल्याएको हो । तर, फोटो टाँसिएका फारम कवाडीका रूपमा फालिएपछि सेयर पाउने आशामा रहेका चार लाख आवेदकको सपनामा गम्भीर धक्का लागेको छ ।

सन्राइजको सेयर आवेदन गत आइतबार खुलेर बुधबार बन्द भएको हो । आवेदन बन्द भएको चौथो दिनमा नयाँ पत्रिकाले बानेश्वरको सडकमा चटपटेवालासँग थानका थान फारम फेला पार्‍यो । वटुवा सेयरको फारमले बनेको सोलीमा चटपटे राखेर आवेदकको फोटोको चम्चाले धमाधम खाँदै थिए ।

'मैले त कवाडीमा किनेको हुँ, यो के कागज हो, कहाँबाट आयो थाहा भएन,' चटपटे व्यापारीले भने ।

चटपटेवालाले सेयरको आवेदन फारम अनामनगरमा कवाडीवालाबाट किनेको बताए । सन्राइजको सेयरको बिक्री-प्रबन्धक एनएमबीको कार्यालय बबरमहलमा छ ।

चटपटेवालाबाट नयाँ पत्रिकाले केही फारम मात्र लिएको छ जसमा लक्ष्मी श्रेष्ठको ६००२५५ नम्बर, ईश्वर श्रेष्ठको ६००२६१ नम्बर, राजेन्द्रकुमार श्रेष्ठको ६००२५१ नम्बरलगायतका छन् । उनीहरूले क्रमशः ६० कित्ता, १२० कित्ता र ६० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

यी आवेदकले बबरमहलमा रहेको एनएमबीको केन्द्रीय कार्यालयमा फारम बुझाएका थिए । 'मसँग पैसा थिएन, तर सेयर पर्ला भन्ने आशामा ऋण खोजेर र दिनभरि घाममा बसेर फारम बुझाएको हुँ,' आवेदक ईश्वरले भने, 'तर उनीहरूले आफ्ना मान्छेको फारम राखेर अरू सर्वसाधारणको फारम कवाडीमा बेचिसकेछन् ।' नाफा होला भनेर महिनौंसम्म पर्खने सर्वसाधारण यसरी ठगिएपछि हर्जाना कसले तिर्ने हो ? नेपाल राष्ट्र बैंक वा धितोपत्र बोर्डले ? स्पष्ट पार्नुपर्ने उनको माग छ ।
सन्राइज बैंकले सेयर निकाल्ने जिम्मा एनएमबीलाई दिएको थियो । बिक्री-प्रबन्धकको रूपमा फारमको सुरक्षा गर्ने जिम्मेवारी पनि आफ्नो भएको एनएमबीका लगानी शाखाप्रमुख प्रवीणरमण पराजुलीले बताए । 'फारमको जिम्मा हाम्रो हो, तर सन्राइज बैंकका केही सेयर फारम हराएका छन्,' उनले नयाँ पत्रिकासित भने । तर, सबै फारम आफ्नो सिस्टममा रजिस्टर भएकाले सबै सेयर प्रतिस्पर्धामा हालिने पनि उनले बताए ।

सन्राइज बैंकका महाप्रबन्धक सुमन न्यौपानेले सेयर आवेदन फारम सडकमा पुगेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन् । 'सेयर बाँडफाँड नभएसम्म फारम अति गोप्य र सुरक्षित हुनुपर्ने हो,' उनले भने, 'तर फारम बजारमा पुगेकै हो भने बैंकको शाखमा गम्भीर धक्का पुग्नेछ ।'

धितोपत्र बोर्डले आवेदन फारम बाहिर गएको पुष्टि भएमा सेयर प्रक्रिया रद्द पनि गर्न सक्ने बताएको छ । 'सेयर पाउने आशामा बसेका सर्वसाधारणको फारम बाहिर जानु गम्भीर लापरबाही हो, यसबारे अनुसन्धान हुन्छ,' बोर्डका निर्देशक नीरज गिरीले भने, 'यस्तो लापरबाही पुष्टि भएमा सेयर प्रक्रिया रद्द पनि गर्न सकिनेछ ।'

सेयर बाँडफाँडमा यस्तो लापरबाही पहिलोपटक भएको होइन । नेपालको सेयर बजारमा हरेकपटकको सेयर निष्कासनमा केही न केही समस्या आउने गरेका छन् । यसअघि दलालहरूले नक्कली मान्छे खडा गरेर सेयर हात पार्ने प्रवृत्ति बढेको थियो ।

स्टयाण्डर्ड चाटर्डको नाफा ७१ करोड

स्टयाण्डर्ड चाटर्ड बैंकले गतचैत मसान्त सम्म ७१ करोड नाफा गरेको छ । बैंकको संचितकोषमा २ अर्ब २७ करोड रुपैयाँ छ ।

३३ अर्ब ६३ करोड निक्षेप संकलन ग बैंकले १४ अर्ब १५ करोड कर्जा दिएको छ । ऋणपत्रमा लगानी १८ अर्ब ९३ करोड छ । विदेशी मुद्राको व्यवस्थापनबाट बैंकले ३१ करोड कमाएको छ। बैंकको खराब कर्जा ० दशमलव ७० प्रतिशत छ।

भुटान जाने तयारीमा हिमालय बैंक


नेपालमा बैंक संख्या धेरै भएको चर्चा चलिरहँदा एउटा वाणिज्य बैंकले विदेशमा बैंक खोल्ने प्रयास थालेको छ ।

निजी क्षेत्रको हिमालयन बैंकले भुटानमा वाणिज्य बैंक खोल्न स्थानीय साझेदारसँग सहमति गरी नेपाल सरकारसँग स्वीकृति माग गरेको हो । पाकिस्तानी साझेदारसँगको संयुक्त लगानीमा स्थापित हिमालयन बैंकले भुटानको साम्देन समूहसँग मिलेर वाणिज्य बैंक खोल्ने सहमति गरिसकेको छ ।

'हबिब बैंक र नेपाली लगानीमा हाम्रो बैंक खोलेकै मोडलअनुसार भुटानी साझेदारसँग मिलेर वाणिज्य बैंक स्थापना गर्न सरकारसँग अनुमति मागेका हौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'हामीले ३० प्रतिशत सेयर हिस्सा पाउने सहमति भएको छ ।' अनुमति पाए भुटानमा जनशक्तिसमेत पठाउने उनले बताए । 'बैंक व्यवस्थापनमा दोस्रो दर्जासहित तीन उच्चस्तरीय जनशक्ति पठाउँछौं,' उनले भने, 'जुन अहिले हबिब बैंकले हिमालयन बैंकमा पठाएकै मोडलअन्तर्गत हो ।'
पाकिस्तानी हबिब बैंकको हिमालयन बैंकमा २० प्रतिशत सेयर हिस्सा छ ।

नेपालको कानुनले हालसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छैन । नेपाल राष्ट्र बैंकले नेपालका वाणिज्य बैंकहरूले संयुक्त लगानीमा विदेशमा बैंक खोल्न सक्ने प्रावधानसहित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि २०६४ मै सरकारसँग प्रस्ताव गरेको भए पनि अहिलेसम्म निर्णय आएको छैन ।

'हामीले नेपालका वाणिज्य बैंकहरूलाई विदेशमा संयुक्त लगानीका बैंक खोल्न स्वीकृति दिनुपर्छ भनी दुई वर्षअघि नै ऐन संशोधनका लागि सरकारसमक्ष पठाएका हौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने, 'तर अहिलेसम्म आएको छैन ।'
हिमालयन, एभरेष्टलगायत बैंकमा जुन अनुपातमा विदेशीले पैसा लगानी गरेका छन् त्योभन्दा बढी उनीहरूले लाभांश लगिसकेकाले नेपालीलाई पनि विदेशमा लगानी गर्न दिए बढी फाइदा लिन सकिने उनले बताए ।

रोयल मनिटरी अथोरिटी अफ भुटानले तयार गरेको ऐनमा भुटानमा वाणिज्य बैंक खोल्न ३० करोड भुटानी रुपैयाँ चुक्ता पुँजी आवश्यक हुन्छ । सो पुँजीमध्ये पहिलो किस्तामा २० करोड र तीन वर्षभित्र बाँकी १० करोड रुपैयाँ पुर्‍याउनुपर्ने रोयल मनिटरी अथोरिटीको ऐनमा व्यवस्था छ ।
रोयल मनिटरी अथोरिटी भुटानको केन्द्रीय बैंक हो । त्यसमा हिमालयन बैंकले ३० प्रतिशत र साम्देन समूहले ४० प्रतिशत लगानी गर्ने तथा बाँकी ३० प्रतिशत सर्वसाधारणमा बिक्री गर्ने सहमति भएको प्रमुख कार्यकारी अधिकृत राणाले बताए ।
भुटानी कानुनअनुसार ५१ प्रतिशतभन्दा बढी सेयर विदेशी लगानीकर्ताले लिन पाउँदैनन् भने स्वदेशका एउटै व्यक्ति तथा संस्थाले पनि १० प्रतिशतभन्दा बढी सेयर लिन पाउँदैनन् ।

किष्टले थाल्यो बैंक कारोबार

ग' वर्गको वित्तीय संस्थाबाट 'क' वर्गमा स्तरोन्नति भएको किष्ट बैंकले बिहीबारदेखि औपचारिक रूपमा बैंकको कारोबार सुरु गरेको छ ।
वित्तीय संस्थाको रूपमा ६ वर्षअघि सुरु भएको किष्ट बैंकको डेपुटी गभर्नर वीरविक्रम रायमाझीले उद्घाटन गरे । निजी क्ष्ाेत्रका बैंकमध्ये सबैभन्दा बढी चुक्ता पुँजी पुर्‍याएर किष्ट स्तरोन्नति भएको हो ।
तीन करोड पुँजीबाट सुरु भएको कम्पनीले हाल दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएको छ । 'पुँजी र सन्जालमा हामी अरूभन्दा कम नहुने लक्ष्यसाथ हिँडेका छौं,' प्रबन्ध-निर्देशक कमलप्रसाद ज्ञवालीले भने ।
बैंकले आउँदो वर्षभित्र शाखा सन्जाल ५० र पाँच अर्ब रुपैयाँ पुँजी पुर्‍याउने लक्ष्य लिएको छ । हाल बैंकका २४ शाखा छन् ।

'हामी व्यापार र नाफामुखी मात्र छैनौँ,' अध्यक्ष राजेन्द्र शाक्यले भने, 'त्यसैले ग्रामीण र दुर्गम क्ष्ाेत्रमा पनि शाखा खोलेर जनतालाई बैंकिङ सेवा दिन्छौँ ।' स्थापनाकालमा सात कर्मचारी रहेको बैंकमा अहिले करिब तीन सयले रोजगारी पाएका छन् ।
६ अर्ब निक्ष्ाेप तथा साढे ६ अर्ब रुपैयाँभन्दा बढी कर्जा बैंकले प्रवाह गरेको छ भने २२ वटा एटिएम मेसिन जडान गरेको छ । डेपुटी गभर्नर वीरविक्रम रायमाझीले भने फाइनान्स कम्पनी छँदै दीर्घकालीन सोच राखेर अघि बढेकाले किष्ट परिवारले अहिले प्रगति गरेको भन्दै सन्तोष व्यक्त गरे ।
'ग वर्गको वित्तीय संस्थाको रुपमा वासेल १ बाट कारोबार गरिरहेको संस्थाले अब वासेल-२ अनुसार आफ्ना विवरण अध्यावधिक गर्नुपर्छ,' उनले भने, 'त्यसैले सुरुका वर्ष केही अप्ठ्यारो पर्न सक्छ तर यत्तिको दिगो सोच राखेर हिँड्ने व्यवस्थापनलाई त्यो चुनौती झेल्न गाह्रो हुन्न भन्ने मेरो विश्वास हो ।'
स्थापना कालदेखि नै किष्टले नाफा कमाउँदै आएको छ । स्तरोन्नति कारण खर्च बढे पनि यो वर्षसमेत नाफा कमाउने लाभांश खुवाउने प्रबन्ध सञ्चालक ज्ञवालीको दाबी छ ।

सनराइजको सेयरका लागि करिब १० अर्ब

सनराइज बैंकको साधारण सेयरका लागि करिब १० अर्बको आवेदन परेको छ। '३७ करोड ५० लाख रुपैयाँको सेयरका लागि ४ लाख आवेदन र १० अर्ब रुपैयाँको आवेदन संकलन भएको अनुमान छ'- बिक्री प्रबन्धक एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने।

सनराइजको सेयर वैशाख २० मा बिक्री खुला भै २३ मा बन्द भएको थियो। आवश्यकता भन्दा बढी रकम जम्मा भएकोले ४ दिनमा नै बिक्री बन्द भएको हो। 'संकलन भएको रकमको वास्तविक तथ्यांक सोमबार सम्म आउने छ' पौडेलले भने।

बैंकले संकलन केन्द्रलाई चाँडै फारम बुझाउन अनुरोध गरेको छ। ७० दिन भित्र सेयरको बाँडफाँट गरिने बैंकले जनाएको छ। बैंकले आगामी साता संकलित रकम राष्ट्रबैंकको खातामा जम्मा गर्ने जनाएको छ।

एकसाता सम्म राष्ट्रबैंकमा पैसा राख्दा बैकिङ क्षेत्रमा अझै नगदको अभाव हुने अनुमान छ। 'नगदको अभाव भैराखेको अवस्थामा फेरि १० अर्ब राष्ट्रबैंकमा जम्मा गर्दा समस्या पर्न सक्छ'- एक बैंकरले भने।

यसअघि सिटिजन्स बैंक र बैंक अफ एशियाको साधारण सेयरका लागि ११ अर्ब रुपैयाँको आवेदन पर्दा बैंकिङ क्षेत्रमा नगदको कमी भएको थियो।

समान ब्याज दिने घोषणा गरेका हौं

सुमन न्यौपाने
जनरल म्यानेजर
सनराइज बैंक लिमिटेड



सनराइज बैंकले अहिले सबैभन्दा ठूलो सेयर निष्कासन गरेको छ, कति रकम संकलन हुने अपेक्षा छ ?
हामीले ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हौं । यसबाट ३७ करोड ५० लाख रुपैयाँ जम्मा अपेक्षा गरिए पनि बजारमा लगानीकर्ताको लाइन हेर्दा ८ अर्ब रुपैयाँ जतिको माग हुने देखिएको छ ।

एकै समयमा सबैभन्दा बढी ब्याजदर दिने र सेयर निष्कासन गर्ने काम सुरु गरेर बजारमा आक्रामक रुपमा प्रस्तुत हुनुको कारण ?
हामी आक्रामक रुपमा बजारमा प्रस्तुत भएका होइनौं । यो अहिलेको बजार आवश्यकता हो । जहाँसम्म सबैभन्दा बढी ब्याज दिने घोषणाको कुरा छ, हिजो सबै बैंकहरूले ठूला र संस्थागत निक्षेपकर्तालाई हामीले घोषणा गरेको ब्याज दिएका थिए । उनीहरूले ठूलालाई मात्र दिए, हामीले सबैलाई दिने घोषणा मात्र गरेका हौं । हाम्रो मान्यता बैंकले कसैलाई पनि ब्याजमा भेदभाव गर्नुहुँदैन भन्ने हो ।

त्यसो भए हिजो धेरै बैंकहरूले ब्याजदरमा भेदभाव गर्दथे ?
हो, हिजो सबै बैंकहरूले ब्याजदरमा ठूला-साना भनी भेदभाव गर्दथे । मेले हिजो जहाँ जहाँ काम गरँ त्यहाँ पनि त्यसो भयो । त्यतिबेला भन्दा बैंकहरूले मानेनन् । अहिले आफू कार्यान्वयन गर्ने स्थानमा आए पनि त्यसलाई भेदभाव नगरी सबैका लागि समान गर्न ब्याजदर बढाएका हौं ।
सनराइज बैंक नववर्ष मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याजका अलवा अन्य सुविधा के छन् ?
यसमा बचतकर्ताले ऋण लिंदा प्रोसेसिङ चार्जमा छुट, ओभर ड्राफ्ट सुविधालगायत व्यवस्था छ ।

यो योजना कहिलेसम्म रहन्छ ?
सनराइजले नववर्ष मुद्दती निक्षेप योजना २ वैशाखदेखि सुरु गरेको हो, जुन जेठ मसान्तसम्म मात्र सञ्चालन गर्ने योजना बनाएको छ ।

अहिले बजारमा तरलता अभाव भएर पैसा संकलन गर्न आक्रामक भएको होइन ?
होइन, यतिखेर बैंकहरूमा पैसाको अभाव छैन ।

के त्यसो भए कुनै ठूलो परियोजना टार्गेट गरेर रकम संकलन थाल्नुभएको हो ?
अहिले ठूलो परियोजना भन्नेबित्तिकै जलविद्युत् भन्ने नै हो । हामीसँग अहिले त्यस्तो कुनै ठूलो परियोजनामा लगानी गर्ने योजना बनाएका छैनौं । अन्य नियमित लगानीका काम भइनैरहन्छन् ।

अहिले लगानी वातावरण नभएको अवस्थामा बजारबाट निक्षेप संकलन गर्दा बैंक घाटामा गएर टाट उल्टिँदैन ?
बैंकहरूले नाफा कमाउन नसकेकर टाट उल्टने होइन । नाफा कमाउन नसकेर टाट उल्टने भए त नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक उहिल्यै टाट उल्टिसक्थे । उनीहरू अहिले पनि घाटामै सञ्चालित छन् । बैंकहरूले भनेका बेला निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसके टाट उल्टिने हो । नाफा गर्न नसक्नु बैंकहरूको जोखिम होइन ।

त्यसो भए बैंकहरूको जोखिम के हो ?
मेरो विचारमा बैंकहरूको मुख्य जोखिम भनेको ग्राहकले जम्मा गरेको पैसा मागेका बेला फिर्ता गर्न नसक्नु हो । तर, नेपालमा अहिलेसम्म त्यसलाई हेरिएको छैन । खाली धितो कस्तो छ, त्यसलाई ऋण दिंदा उठ्छ-उठ्दैन भनेर मात्र हेर्ने गरिन्छ । ग्राहकले मागेका बेला पैसा फिर्ता गर्न सक्षम छु वा छैन भनेर पनि आफूलाई हेर्नुपर्छ ।

नेपालको बैंकिङ क्षेत्रमा विश्व आर्थिक मन्दीको असर कत्तिको परेको छ ?
अहिलेसम्म नेपाली बैंकिङ क्षेत्रले विश्व आर्थिक मन्दीको असर अनुभव गरेजस्तो मलाई लाग्दैन । हाम्रो निर्यात पहिलेदेखि नै घटेकाले त्यसमा असर परेको भन्न मिलेन । कामदार पनि सुरुमा हल्ला गरेजस्तो फर्केको पाइँदैन । पर्यटक पनि घटेको देखिंदैन भने विश्व आर्थिक मन्दीको असर कहाँ पर्‍यो भन्ने ?

सन् २०१० देखि नेपालमा विदेशी बैंकहरू आउन पाउने व्यवस्था छ । अहिलेको अवस्थामा नेपालमा विदेशी बैंकहरूले आफ्नो शाखा खोल्छन् जस्तो लाग्छ ?
मलाई नेपालको व्यापारको भोल्युम र बजार हेरेर विदेशी बैंकहरू आउलान्जस्तो लाग्दैन । नेपालको एउटा बैंक नै सञ्चालन गर्दा भन्दा भारतको दिल्लीमा एउटा शाखा खोल्दा त्यसले बढी नाफा गर्छ । त्यस्तो अवस्थामा विदेशी बैंकहरू आउँछन् जस्तो मलाई लाग्दैन ।

आए भने प्रतिस्पर्धा गर्न सकिन्छ ?
प्रतिस्पर्धा गर्न नसकिने भन्ने कुरै छैन । के अहिले बैंकहरूबीच प्रतिस्पर्धा छैन । हामी अहिलेसम्म प्रतिस्पर्धामै काम गरिरहेछौं । अहिलेसम्म प्रतिस्पर्धामा नै काम गरेकाले भविष्यमा गर्न नसक्ने भन्ने कुरै आउँदैन । तर, प्रतिस्पर्धा स्वस्थ र मूल्य-मान्यताभित्रको हुनुपर्दछ ।

के भन्छन् बैंकका रंगले ?

व्यावसायिक प्रतिष्ठानले नामसँगै पहिचानका लागि विशेष रंग प्रयोग गर्दै आएका छन् । व्यवसाय ब्रान्डिङका लागि कुनै विशेष रंगले मद्दत गर्ने उनीहरूको विश्वास छ ।
नेपालमा बैंकहरूले रंगलाई आफ्नो प्रतीक चिन्हका रुपमा प्रयोग गर्ने गरेका छन् । लोगो, नाम, ब्रान्डमा प्रयोग गर्ने विशेष रंग (कर्पारेट कलर) को आफ्नै महत्त्व हुने उनीहरूको भनाइ छ ।
त्यस्ता रंगहरूले मानिसको ध्यान आकषिर्त गर्नसमेत सघाउ पुर्‍याउँदै बैंकको छवि स्थापना गर्ने उनीहरूको विश्वास छ । विशेषगरी नेपालका बैंकहरूले नीलो, हरियो एवं रातो रंगलाई ब्रान्डमा प्रयोग गरेका छन् ।

नेपाल अरब बैंकको नाममा स्थापना भई अहिले नविल बैंकमा परिवर्तन भएको नविल बैंकले हरियो र रातो रंगलाई आफ्नो ब्रान्डमा प्रयोग गर्दै आएको छ । यसैगरी बैंक अफ काठमाण्डुले सुन्तले र नीलो रंग प्रयोग गर्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्रान्डमा हरियो र नीलो रंग पाइन्छ ।
एस विकास बैंकले हल्का नीलो रंग प्रयोग गर्छ । एनआइसी बैंकले रातो र नीलो रंग प्रयोग गर्छ । लक्ष्मी बैंकले सुन्तले रंग र नेपाल इन्भेष्टमेन्ट बैंकले रातो र नीलो रंग प्रयोग गर्छ । प्रतिनिधि बैंक भने यीबाहेक अन्य बैंकहरूले पनि विशेष रंगलाई आफ्नो ब्रान्डमा प्रयोग गर्दै आएका छन् ।

हरियो रंगले हरियालीलाई प्रतिनिधित्व गर्ने एवं रातो रंगले आक्रामक छवि देखाउने भएकाले रातो र हरिया रंग प्रयोग गरिएको बताउँछन् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ।
'रातो रंगलाई पनि एरोको रुपमा प्रयोग गरिएको छ, जसले सधैं अगाडि बढ्नेलाई संकेत गर्छ', उनले भने, विज्ञापनको दुनियामा हरियो, नीलो रंगलाई क्याची कलरका रुपमा लिइन्छ ।'

स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने नीलो र हरियो अनुभव गर्न सकिने रंग भएकाले ब्रान्ड रंगको रुपमा प्रयोग गरेको बताउँछन् संस्थागत मामिला प्रमुख दिवाकर पौडेल । 'प्रकृतिको रंग हरियो हुन्छ, यसैगरी समुद्र र आकाशे रंग नीलो यी दुवै रंग मानिसले अनुभव गर्नसक्ने भएकाले दुईटै छानिएको हो', उनले भने ।
रातो र नीलो रंगले बैंकका शाखा एबं व्यवहारलाई समेत प्रतिविम्बत गर्ने उनले बताए । 'हामीले प्रकृति संरक्षणका लागि विभिन्न काम गर्दै आएका छौं । यसैगरी पृथ्वीभरि फैलिने हाम्रो ग्रुपको योजना छ,' उनी भन्छन्, 'यी दुवै रंगका विभिन्न आयाम छन् ।
उदाहरणका लागि वातावरण, समुदाय, विज्ञापन, म्याराथुन एवं व्यवसाय ।' दुवै रंगले विभिन्न संस्कृति, भूगोल भाषालाई परिभाषित गर्ने उनको व्याख्या छ ।

सुन्तला रंगलाई ब्रान्डका रुपमा प्रयोग गरेका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशी भन्छन्, 'सुन्तला रंगले सकारात्मक अर्थ जनाउँछ भने यो रंग जीवन्तताको प्रतीक हो ।' लक्ष्मी बैंकको मूल्य-मान्यता पनि यिनै सिद्धान्तमा आधारित भएकाले सुन्तला रंगलाई ब्रान्ड कलरका रुपमा छनोट गरिएको उनको भनाइ छ ।
सुन्तला रंगले परिवर्तित विश्वलाई समेत प्रतिविम्बित गर्ने जनाउँदै उनले भने, 'अहिले विश्वको विज्ञापन बजारमा सुन्तला रंग सबैभन्दा बढी प्रयोग गरिएको रंग पनि हो ।'

एस बैंकले आफ्नो प्रकृतिलाई हल्का नीलो रंगले प्रतिनिधित्व गर्ने भएकाले सो रंग छानेको प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले बताए । 'हामी स्थापनाकालदेखि नै इन्नोभेसन र इन्टेग्रेटमा अघि बढिरहेछौं,' उनले भने, 'हल्का नीलो रंगले यी दुवैलाई प्रतिनिधित्व गर्ने भएकाले यसलाई प्रयोग गरियो ।'
कुनै पनि व्यवसायको प्रकृति एवं गुणबारे उसले छानेका रंगले धेरै कुरा बताउने उनको धारणा छ । सफा मौसममा आकाशमा हेर्दा देखिने हल्का नीलो रंगले स्वच्छताको प्रतीक भएकाले पनि एसले यो रंग प्रयोग गरेको पाण्डेले बताए ।

नेपाल इन्डस्टि्रयल बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सघंका अध्यक्ष शशिन जोशी भने रंगको महत्त्व पहिचानका लागि हुने बताउँछन् । 'रंगको प्रयोग ब्रान्डिङ र चिनारीका लागि मात्रै हो,' उनले भने, 'आखिर बैंकको पहिचान सेवामा भर पर्छ ।'

सनराइज बैंकले भने नामअनुसारको नै रंग छनोट गरेको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको भनाइ छ । बैंकले सूर्यादय हुँदाको रंग सुनौलो र अस्त हुँदाको रंग रातो प्रयोग गर्ने गरेको छ ।
'नामअनुसार नै सूर्यादय हुँदा देखिने रंग र सूर्यास्त हुँदाको रंग प्रयोग गरेका छौं,' उनले भने, 'यसले बैंकको नामअनुसारको पहिचान कायम गरेको छ ।'

नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रयोग गरिएको रातो र नीलो रंगको कुनै व्यावसायिक अर्थ नभएको प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डे बताउँछन् । उनी भन्छन्, 'पहिले हामीले प्रयोग गरेको रंग अलि म्याचिङ नभएजस्तो लागेर नीलो र रातो छानेका हौं । नेपालको राष्ट्रिय झन्डाको रंगसँग मिल्दोजुल्दो भएकाले पनि यी रंग प्रयोग गरेका हौं ।' झन्डाको रंगले राष्ट्रियता झल्कने उनको भनाइ छ ।

प्राइम बैंकका महाप्रबन्धक भाइराजा तुलाधरले आन्तरिक सजावट गर्ने संस्थाको सल्लाहमा रंग छनोट गरिएको बताए । 'इन्टेरियर डिजाइनरले पर्पल रंग प्रयोग गर्ने सल्लाह दिए', उनले भने, 'सौम्य रंग भएकाले ग्राहकले राम्रै लाग्ने ठानेर पर्पल छानेका हौं ।'

भर्खरै मात्र वाणिज्य बैंकका रुपमा स्तरोन्नति भएको किष्ट बैंकले रातो रंगलाई आफ्नो लोगोमा प्रयोग गरेको छ । आफ्नो ब्रान्ड रंग नै रातो भएको बैंकका प्रबन्ध संचालक कमलप्रसाद ज्ञवालीले बताए ।
रातो रंग पहिलेदेखि नै हाम्रो ब्रान्डको रंगका रुपमा रहेको छ, त्यसैले परिमार्जित लोगोमा रातो रंग प्रयोग गरेका हौं', उनले भने, 'रातो रंग हिन्दु संस्कृतिमा शुभ- रंगका रुपमा समेत रहेको छ ।'

विश्वमा रहेका व्यावसायिक प्रतिष्ठानले आफ्नो पहिचानका लागि विशेष रंग छानेका छन्, जुन रंग देख्ने वित्तीय सर्वसाधारणको दिमागमा व्यवसायी प्रतिष्ठानको प्रतीक आउँछ । यसले उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्नुका साथै व्यसायको प्रवर्द्धनसमेत गर्छ ।

विनोदबहादुर श्रेष्ठको बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठलाई कालोसूचीमा राखी बैंक खाता रोक्का तथा बैंकमा रहेको संस्थापक सेयर बिक्री रोक्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ तथा अर्थ मन्त्रालयको २०६६, १४ वैशाखको सचिवस्तरीय निर्णयबाट श्रेष्ठ र उनको परिवारको नाममा रहेको बैंक खाता संस्थापक सेयर जफतको निर्णय गरेको जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा श्रेष्ठले हाल बन्द नेकोन एयरलाइन्सको नाममा नविल बैंकबाट लिएको ऋण नतिरेकाले ऋण उठाउन बैंक खाता तथा संस्थापक सेयर जफत निर्णय गरेको उल्लेख छ ।
राष्ट्र बैंकले नेकोन एयरकै अर्का सेयर होल्डर मुकुन्दभक्त श्रेष्ठलाई पनि कालोसूचीमा राखी बैंक तथा वित्तीय संस्थामा रहेको खाता तथा सेयर बिक्री रोक्काको निर्देशन दिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले नेपाल एसबिआई बैंकबाट ऋण लिएका गंगाराम कटन एन्ड टेरी फेबि्रक प्रालिका सञ्चालक बैकुण्ठ लामिछानेको बैंक खाता रोक्का र बैंक तथा वित्तीय संस्थामा रहेको संस्थापक सेयर बिक्री रोक्न सबैलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले श्रेष्ठद्वय र लामिछानेको नाममा बैंक तथा वित्तीय संस्थाबाट जारी डेबिट कार्ड, क्रेडिट कार्डलगायत सुविधासमेत तत्काल रोक्का राख्न निर्देशन दिएको छ ।

'ऋणी र ऋणसँग सम्बन्धित व्यक्तिलाई सबै किसिमका -स्वदेशी तथा विदेशी निक्षेप भुक्तानीमा रोक लगाई त्यस्तो निक्षेप रकम बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता प्रयोजनका लागि उपयोग गर्ने र बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई प्रदान गरेको लकर सुविधाअनुसार लकरमा राखिएका सबै सम्पत्ति रोक्का राख्न अनुरोघ गर्दछ,' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
निर्देशन राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा कारबाहीमा परेका व्यक्ति र निजका एकाघर परिवारले लगानी गरेको अवस्थामा त्यस्ता संस्थापक सेयर जफत गरेर लिलाम गरी कर्जा चुक्ता प्रयोजनका लागि उपयोग गर्नसमेत निर्देशन दिएको छ । ।
राष्ट्र बैंकको निर्देशनमा श्रेष्ठद्वय र लामिछाने तथा उनीहरूका एकाघर परिवारले सरकारी सुरक्षणपत्रमा गरेको लगानी जफत गरी लिलाममार्फत कर्जा असुल्न भनेको छ ।

१९९२ मा स्थापना गरिएको नेकोन एयरमा श्रेष्ठ सेयर होल्डर थिए । नेपालबाट निजी क्षेत्रको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको नेकोन एयर व्यवस्थापकीय अक्षमताले सन् २००४ देखि बन्द भएको थियो ।
साधारण सेयरसमेत निष्काशन गरेको नेकोन एयर बन्दबाट थुप्रै सर्वसाधारण सेयर होल्डर तथा बैंकहरूको लगानी डुबेको थियो ।

अन्तर्राष्ट्रिय उडानमा भारतको पटना र बनारस तथा राष्ट्रिय उडानमा काठमाडौं, पोखरा, भद्रपुर, नेपालगन्ज, भैरहवा, जनकपुरलगायत सबै क्षेत्रमा उडान गरेको नेकोन एयरले अन्तिम समय विदेशबाट भाडामा ल्याएको जहाजको भाडा नतिरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो साख गुमाउन पुगेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पार्किङ शुल्क र नेपाल आयल निगमले इन्धन शुल्क असुल्न बाँकी नै छ ।

बैंकको कमिसन आम्दानी बढ्यो

आर्थिक बर्ष २०६५-६६ को पहिलो नौ महिनामा वाणिज्य बैंकहरुको कमिसन शुल्क र छुट वापतको आम्दानी बढेको छ।
विश्व आर्थिक मन्दीका कारण एलसी प्रतितपत्र लगायत विभिन्न बैंकिङ सेवा प्रभावित भइ नेपाली बैंकको पनि आम्दानी घट्ने आँकलन भइरहेको बेला बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा आम्दानी घटेको छैन ।
२५ मध्ये वित्तीय विवरण प्रकाशित गर्ने १६ वाणिज्य बैंकमा नेपाल एसविआइ बैंकको आम्दानी मात्र घटेको छ । स्टेट बैंक अफ इन्डियाको समेत लगानी रहेको सो बैंकको आम्दानी १.३३ प्रतिशतले घटेको हो ।

अन्य १५ वाणिज्य बैंकको आम्दानी भने उल्लेख्य वढेको छ । एनएमवी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले डलरको मूल्यमा आएको वृद्धि एलसीमा आएको सुधार तथा जग्गाको मूल्य वढेका कारण बैंकको आम्दानी वढेको बताए ।

उनले पश्मिना गार्मेन्ट तथा कार्पेटका लागि खोलिने एलसीमा केही कमी आएपनि अन्यमा विस्तारै वढेका कारण पनि शुल्क कमिसन र छुट वापत हुने आम्दानी वढेको जानकारी दिए । उनको बैंकले अन्य बैंकको तुलनामा सबैभन्दा वढी तीन सय ३३ प्रतिशतभन्दा वढीले त्यस्तो आम्दानी गरेको छ ।

एक सय प्रतिशतभन्दा वढी शुल्क कमिसन र छुट वापत एनएमवी बैंकका साथै डिसिविल बैंक र ग्लोवल बैंकले गरेका छन् ।
विकास बैंकबाट स्तरोन्नती गरी वाणिज्य बैंक वनेको डिसिवीएलले एक सय ३३ दशमलव ६४ प्रतिशतले त्यस्तो आम्दानी गरेको छ । साथै ग्लोवलले एक सय २७ दशमलव ३० प्रतिशतले आम्दानी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट लक्ष्मी कुमारी लुम्विनी नविल नेपाल क्रेडिट एण्ड कमर्श एनसिसी र नेपाल इनड्रष्ट्रियल एण्ड कमर्शियल एनआइसी बैंकको पनि शुल्क कमिशन र छुट वापतको आम्दानी वढेको छ ।
साथै एभरेष्ट सिद्धार्थ हिमालयन बैंक अफ काठमाण्डौ विओके र सिटिजन्स् इनटरनेसनल बैंकको पनि त्यस्तो आम्दानी उल्लेख्य वढेको छ ।

आजदेखि सनराइजको सेयर

सनराइज बैंकको ३७ लाख ५० हजार कित्ता साधारण सेयर आजदेखि बिक्री खुल्ला हुँदैछ । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी बैंकले निष्कासन गर्ने सेयर १०० रुपैयाँ दरको छ ।
नयाँ वर्ष २०६६ पछिको यो सर्वाधिक ठूलो निष्कासन हो भने चालू आर्थिक वर्षको तेस्रो । बैंक अफ एसिया र सिटिजन्स बैंक इन्टरनेशनलले यसअघि सँगसँगै ३०/३० लाख कित्ता सेयर जारी गरेका थिए ।
तिनमा क्रमशः साढे पाँच अर्ब र ६ अर्ब रुपैयाँको आवेदन परेको थियो ।
दुई बैंकबाट गरी करिब ११ अर्ब रुपैयाँ अहिले लगानीकर्तालाई फिर्ता भइरहेको छ । सो रकम जाने भएकाले सनराइजको निष्कासनमा पनि ठूलो संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको छ ।
सनराइजकै पालादेखि आवेदन र्फममा आवेदकको फोटो टाँस्ने व्यवस्था गरिएकाले फर्जी आवेदन कम हुने अपेक्षा गरिएको छ ।
यसअघि आवेदकको बैंक खाता अनिवार्य गरिएको थियो ।ठूलो आवेदन हुनसक्ने भएकाले भीड सहज गर्न सनराइज बैंकले दशरथ रंगशालामा समेत संकलन काउन्टर राख्ने भएको छ । यसअघि कुनै पनि निष्कासनमा दशरथ रंगशालाबाट आवेदन लिइएको थिएन ।
तीन वर्षअघि साधारण सेयर निष्कासन गरेको गोर्खा विकास बैंकबाट प्राथमिक निष्कासनप्रति सर्वसाधारणको चासो धेरै बढेको हो ।
९ करोड ६० लाखको सो निष्कासनमा १० अर्बभन्दा बढीको सेयर माग भएको थियो ।२३ वैशाखसम्म बिक्री खुला हुने सनराइजको सेयर इन्टरनेटबाट समेत भर्न सकिनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी बैंकले आफ्ना खाता भएका लगानीकर्ताका लागि सो मौका दिएको छ ।
एनएमबी बैंकको वेवसाइट लग अन गरी अनलाइन आवेदन र्फम भरी एउटा परिचय नम्बर पाइने र त्यसैका आधारमा संकलन केन्द्रमा रकम वा चेक बुझाउनुपर्ने बैंकले जनाएको छ ।
सेयर आवेदकलाई नै लक्षित गरी सुरु गरिएको इन्भेष्टर्स सेभिङ एकाउन्टमा खाता खोल्नेहरूको पैसा भने खाताबाट स्वतः जाने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

मुद्दती ब्याज पौने ८ प्रतिशतसम्म

गत वर्ष अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत चैतसम्मको ब्याजदर तथ्यांकअनुसार वाणिज्य बैंकले एक वर्षे मुद्दती निक्षेपमा पाँचदेखि साढे सात प्रतिशत ब्याज दिएका छन् ।
तर, एक बर्षभन्दा बढी समयको निक्षेपमा बैंकहरूले पौने आठ प्रतिशतसम्म ब्याज दिएका राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।नयाँवर्ष लागेपछि बैंकहरूले ब्याजदर बढाउने क्रम झनै तीव्र भएको छ । हालै सनराइज बैंकले साढे नौ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।
सो योजनमा न्यूनतम पाँच लाख रुपैयाँ जम्मा गर्नुपर्छ । यसैगरी ६ महिनाअघि एनआईसी बैंकले पनि न्यूनतम निक्षेप रकम तोकी नौ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो ।बैंकहरूबीच ब्याजदर बढाउने होडबाजीले बैंकिङ प्रणालीमा पर्याप्त तरलता अपुग भएको संकेत गरेको छ ।
ठूला निक्षेपकर्ता कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष र राष्ट्रिय बीमा संस्थानले जलविद्युत् परियोजनामा लगानी गर्ने घोषणा गरेलगत्तै ब्याजदरमा वृद्धि गरेका हुन् । यी संस्थाले नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो तामाकोसी परियोजनामा लगानी गर्न लागेका हुन् ।
गत वर्ष कृषि विकास बैंकले सबैभन्दा उच्च दरमा ब्याज बढाएको थियो । गत माघमा बैंकले एकवर्षे मुद्दती निक्षेपको ब्याजदर सात प्रतिशत पुर्‍याएको थियो ।
त्यसअघि ब्याजदर साढे तीन प्रतिशत थियो । गत असारसम्म ब्याजदर साढे चार प्रतिशत रहेको सिद्धार्थ बैंकले ६ प्रतिशत पुर्‍याएको छ । यसैगरी पौने पाँच प्रतिशत ब्याज दिइरहेको सिटिजन्स बैंकले गत साउनमा एक वर्षे मुद्दती ब्याजदर ६ प्रतिशत पुर्‍याएको थियो । त्यस्तै बैंक अफ एसियाले पनि गत साउनमै सवा ६ देखि सवा सात प्रतिशतसम्म ब्याज दिन थालेको हो ।
त्यसपूर्व सो बैंकले पौने ६ प्रतिशत ब्याज दिने गरेको थियो ।सवा चार प्रतिशत ब्याज दिइरहेको सनराइज बैंकले गत फागुनमा पौने पाँच प्रतिशत ब्याज दिन थालेको छ । माछापुच्छ्रे बैंकले गत कात्तिकसम्म दिएको सवा पाँच प्रतिशत ब्याजलाई ६ प्रतिशत पुर्‍याएको थियो ।कुमारी बैंकले पनि गत साउनमा ब्याजदर पाँच प्रतिशतबाट पाँचदेखि साढे पाँच प्रतिशत पुर्‍याएको थियो । लक्ष्मी बैंकले गत चैतमा ब्याजदर पौने ६ देखि साढे सात प्रतिशतसम्म पुर्‍याएको छ ।
त्यसअघि सो बैंकले सवा ६ देखि पौने सात प्रतिशत ब्याज दिने गरेको थियो । यसैगरी नेपाल एसबिआई बैंकले गत मंसिरमा ब्याजदर पाँच प्रतिशतबाट साढे पाँच प्रतिशत पुर्‍याएको थियो । प्राइम कमर्सियल बैंकले गत कात्तिकमा ब्याजदर साढे ६ बाट पौने सात प्रतिशत पुर्‍याएको छ ।दस बैंकले औद्योगिक कर्जा दिने२५ वटा वाणिज्य बैंकमध्ये दशवटा बैंकले मात्र औद्योगिक कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकको ब्याजदर संरचना तथ्यांकअनुसार बैंकहरूले सातदेखि १३ प्रतिशत ब्याज लिएका छन् ।
सबैभन्दा कम ब्याजमा ग्लोबल बैंक र सबैभन्दा बढी ब्याजमा बैंक अफ काठमाण्डुले औद्योगिक कर्जा प्रवाह गरेका छन् । ग्लोबल बैंकले सातदेखि सवा ११ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेको छ भने बैंक अफ काठमाण्डुले १२ देखि १३ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरेको छ ।गत वर्ष औद्योगिक कर्जाको ब्याजदर कृषि विकास बैंकले मात्र वृद्धि गरेको छ । गत माघमा बैंकले ब्याजदर साढे नौदेखि १० प्रतिशतबाट बढाएर दशदेखि साढे १० प्रतिशत पुर्‍याएको थियो । गत माघमै स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाएको थियो ।
उसले ब्याजदर दशदेखि साढे ११ प्रतिशतबाट दशदेखि ११ प्रतिशत कायम गरेको छ । लुम्बिनी बैंकले यस्तो कर्जा आठदेखि साढे ११, कुमारी बैंकले दशदेखि १२ र सिद्धार्थ बैंकले आठदेखि साढे दश प्रतिशत ब्याजमा प्रवाह गरेका छन् ।
यसैगरी औद्योगिक कर्जामा नेपाल एसबिआई बैंकले साढे नौदेखि ११, नेपाल बंगलादेश बैंकले १० देखि साढे १० र एभरेष्ट बैंकले आठदेखि ११ प्रतिशत ब्याजदर तोकेका छन् ।

वाणिज्य बैंकहरू कोषमा पैसा राख्न सहमत

बैंक तथा वित्तीय संस्थाहरूले स्वरोजगार कोषमा जम्मा गर्ने रकम ऋणका रुपमा स्वीकार गर्न सरकार तयार भएको छ ।
सरकार र निजी क्षेत्रका बैंकहरूबीच केही समयदेखि कोषमा जम्म् हुने रकमबारे रहेको विवाद अन्त्य भएपछि स्वरोजगार कर्यक्रम अघि बढाउन सजिलो हुनेछ ।
सरकारले बजेट वक्तव्यमार्फत ल्याएको स्वरोजगार कार्यक्रममा विभिन्न जिल्लाका ५ लाख युवाले फाराम भरेका थिए ।

नेपाल राष्ट्र बैंकले स्वरोजगार कोषमा रकम जम्मा गर्न गत १२ चैतमा बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको थियो । तर, निजी क्षेत्रका बैंक तथा वित्त कम्पनीले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग कर्जा सम्झौता गरेर मात्र रकम जम्मा गर्ने व्यवस्था माग गरेका थिए । रा
ष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरी कोषमा जम्मा हुने रकमको कर्जा सम्झौता हुने जानकारी गराएको छ । राष्ट्र बैंकले पुरानो निर्देशन खारेज गरी नयाँ निर्देशन जारी गरेको हो ।
सरकार, नेपाल राष्ट्र बैंक र निजी बैंकहरूबीचको सहमतिअनुसार युवालाई कर्जा दिने वा नदिने सम्पूर्ण अधिकार बैंक तथा वित्तीय संस्थामा रहने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट वाषिर्क ७ प्रतिशत व्याजमा पुनर्कर्जा लिने र बैंकहरूले ऋणीलाई १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्था छ ।

कर्जा अवधि बढीमा पाँच वर्षको हुने र बैंक तथा वित्तीय संस्थाको नियमानुसार तोकेको किस्तामा बुझाउनुपर्ने गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले किस्ता तोक्ने ब्यवस्था गरिएको छ ।
साँवा व्याज भुक्तानी छुटअवधि कोषले तोकेअनुसार हुनेछ । सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगारमूलक व्यवसायसँग सम्बन्धित चलअचल सम्पत्ति नै सम्पूर्ण साँवाव्याज भुक्तानी नहुन्जेलसम्म बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जाको धितो हुने व्यवस्था छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी नीतिमा बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गको वाणिज्य बैंकले तीन प्रतिशत, विकास बैंकले डेढ प्रतिशत र फाइनान्स कम्पनीले एक प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।
वाणिज्य बैंक तथा वित्त कम्पनीहरूले विपन्न वर्गमा जाने कर्जाको कम्तीमा एक तिहाइ बराबर रकम स्वरोजगार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशनमा वाणिज्य बैंकहरूले स्वरोजगार कोषमा जम्मा गर्ने रकम आउँदो पुस मसान्तसम्म जम्मा गरिसक्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्त कम्पनीले सो रकम अर्थ मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको नाममा आफ्नै संस्थामा खाता खोली जम्मा गर्नुपर्ने व्यवस्था छ ।
निर्देशिकामा कोषमा जम्मा भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले कोषलाई प्रवाह गरिएको कर्जा मानिने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ ।
बैंकले यसरी प्रवाह गरेको कर्जा जुनसुकै अवस्थामा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि असल कर्जामा समावेश गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ । यसैगरी वाणिज्य बैंकले कर्जा पुँजी पर्याप्तअन्तर्गत शीर्षकमा राख्न सक्ने र विकास बैंक तथा फाइनान्स कम्पनीले त्यस्ता कर्जामा शून्य जोखिम भार प्रदान गर्नसक्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कोषलाई प्रवाह गरिएको रकम चुक्ता गर्ने दायित्व कोषको हुने राष्ट्र बैंकले प्रष्ट पारको छ । बैंक तथा वित्तीय संस्थाले आवेदकलाई परियोजना मात्र धितो लिई दुई लाख रुपैयाँसम्मको कर्जा लगानी गरे त्यस्तो कर्जा विपन्न वर्गमा गणना गरिए पनि कोषमा जम्मा गरिने रकममा कट्टा गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ऋण दिने वा नदिने भनेर निर्णय गर्ने अधिकार बैंक स्वयम् भएकाले कर्जा जोखिम तथा ऋण असुलउपर गर्नुपर्ने दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुने स्पष्ट गरेको छ । सम्झौता अवधिभर कुनै पनि बेला कोष विघट भएमा अविलम्ब कोषले तिर्नुपर्ने सम्पूर्ण साँवाब्याज रकम कोषले बैंक/वित्तीय संस्थालाई बुझाउनुपर्ने व्यवस्था छ ।

प्राइम बैंकको सेयर जेठमा

धितोपत्र बोर्डले प्राइम बैंकलाई साधारण शेयर बिक्री गर्ने स्वीकृत दिएको छ। बैंकले ३० करोड रुपैयाँको सेयर बिक्रीका लागि बोर्डसँग अनुमति मागेको थियो। जेठमा सेयर बिक्रीको तया गरेको बैंकका प्रमुख कार्यका अधिकृत नारायणदास मानन्धरले जानका दिए।

शेयर बिक्री पनि बैंकको शेयरको चुक्ता पूजीं एक अर्ब छ। यो बैंकले गत बर्ष दुइ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ। चालू वर्षको चैत महिनासम्म नौ करोड ३० लाख खुद नाफा भएको बैंकले जनाएको छ। चुक्तापूँजी ७० करोड रहेको बैंकको साधारण सेयर बिक्री पछि एक अर्ब हुनेछ।

२०६७ सम्म बैंकले दुई अर्बको चुक्तापूँजी बनाउनुपर्नेछ। यसका लागि वोनस र हकप्रद सेयर बिक्री गर्ने योजनामा बैंक छ। बैंकले अहिले सम्म ६ शाखा स्थापना गरेको छ। चैत सम्म बैंकले नौ अर्ब २८ करोड निक्षेप परिचालन गरी कर्जा नौ अर्ब १४ करोड कर्जा दिएको छ ।