के भन्छन् बैंकका रंगले ?

व्यावसायिक प्रतिष्ठानले नामसँगै पहिचानका लागि विशेष रंग प्रयोग गर्दै आएका छन् । व्यवसाय ब्रान्डिङका लागि कुनै विशेष रंगले मद्दत गर्ने उनीहरूको विश्वास छ ।
नेपालमा बैंकहरूले रंगलाई आफ्नो प्रतीक चिन्हका रुपमा प्रयोग गर्ने गरेका छन् । लोगो, नाम, ब्रान्डमा प्रयोग गर्ने विशेष रंग (कर्पारेट कलर) को आफ्नै महत्त्व हुने उनीहरूको भनाइ छ ।
त्यस्ता रंगहरूले मानिसको ध्यान आकषिर्त गर्नसमेत सघाउ पुर्‍याउँदै बैंकको छवि स्थापना गर्ने उनीहरूको विश्वास छ । विशेषगरी नेपालका बैंकहरूले नीलो, हरियो एवं रातो रंगलाई ब्रान्डमा प्रयोग गरेका छन् ।

नेपाल अरब बैंकको नाममा स्थापना भई अहिले नविल बैंकमा परिवर्तन भएको नविल बैंकले हरियो र रातो रंगलाई आफ्नो ब्रान्डमा प्रयोग गर्दै आएको छ । यसैगरी बैंक अफ काठमाण्डुले सुन्तले र नीलो रंग प्रयोग गर्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्रान्डमा हरियो र नीलो रंग पाइन्छ ।
एस विकास बैंकले हल्का नीलो रंग प्रयोग गर्छ । एनआइसी बैंकले रातो र नीलो रंग प्रयोग गर्छ । लक्ष्मी बैंकले सुन्तले रंग र नेपाल इन्भेष्टमेन्ट बैंकले रातो र नीलो रंग प्रयोग गर्छ । प्रतिनिधि बैंक भने यीबाहेक अन्य बैंकहरूले पनि विशेष रंगलाई आफ्नो ब्रान्डमा प्रयोग गर्दै आएका छन् ।

हरियो रंगले हरियालीलाई प्रतिनिधित्व गर्ने एवं रातो रंगले आक्रामक छवि देखाउने भएकाले रातो र हरिया रंग प्रयोग गरिएको बताउँछन् नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ।
'रातो रंगलाई पनि एरोको रुपमा प्रयोग गरिएको छ, जसले सधैं अगाडि बढ्नेलाई संकेत गर्छ', उनले भने, विज्ञापनको दुनियामा हरियो, नीलो रंगलाई क्याची कलरका रुपमा लिइन्छ ।'

स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने नीलो र हरियो अनुभव गर्न सकिने रंग भएकाले ब्रान्ड रंगको रुपमा प्रयोग गरेको बताउँछन् संस्थागत मामिला प्रमुख दिवाकर पौडेल । 'प्रकृतिको रंग हरियो हुन्छ, यसैगरी समुद्र र आकाशे रंग नीलो यी दुवै रंग मानिसले अनुभव गर्नसक्ने भएकाले दुईटै छानिएको हो', उनले भने ।
रातो र नीलो रंगले बैंकका शाखा एबं व्यवहारलाई समेत प्रतिविम्बत गर्ने उनले बताए । 'हामीले प्रकृति संरक्षणका लागि विभिन्न काम गर्दै आएका छौं । यसैगरी पृथ्वीभरि फैलिने हाम्रो ग्रुपको योजना छ,' उनी भन्छन्, 'यी दुवै रंगका विभिन्न आयाम छन् ।
उदाहरणका लागि वातावरण, समुदाय, विज्ञापन, म्याराथुन एवं व्यवसाय ।' दुवै रंगले विभिन्न संस्कृति, भूगोल भाषालाई परिभाषित गर्ने उनको व्याख्या छ ।

सुन्तला रंगलाई ब्रान्डका रुपमा प्रयोग गरेका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन जोशी भन्छन्, 'सुन्तला रंगले सकारात्मक अर्थ जनाउँछ भने यो रंग जीवन्तताको प्रतीक हो ।' लक्ष्मी बैंकको मूल्य-मान्यता पनि यिनै सिद्धान्तमा आधारित भएकाले सुन्तला रंगलाई ब्रान्ड कलरका रुपमा छनोट गरिएको उनको भनाइ छ ।
सुन्तला रंगले परिवर्तित विश्वलाई समेत प्रतिविम्बित गर्ने जनाउँदै उनले भने, 'अहिले विश्वको विज्ञापन बजारमा सुन्तला रंग सबैभन्दा बढी प्रयोग गरिएको रंग पनि हो ।'

एस बैंकले आफ्नो प्रकृतिलाई हल्का नीलो रंगले प्रतिनिधित्व गर्ने भएकाले सो रंग छानेको प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले बताए । 'हामी स्थापनाकालदेखि नै इन्नोभेसन र इन्टेग्रेटमा अघि बढिरहेछौं,' उनले भने, 'हल्का नीलो रंगले यी दुवैलाई प्रतिनिधित्व गर्ने भएकाले यसलाई प्रयोग गरियो ।'
कुनै पनि व्यवसायको प्रकृति एवं गुणबारे उसले छानेका रंगले धेरै कुरा बताउने उनको धारणा छ । सफा मौसममा आकाशमा हेर्दा देखिने हल्का नीलो रंगले स्वच्छताको प्रतीक भएकाले पनि एसले यो रंग प्रयोग गरेको पाण्डेले बताए ।

नेपाल इन्डस्टि्रयल बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सघंका अध्यक्ष शशिन जोशी भने रंगको महत्त्व पहिचानका लागि हुने बताउँछन् । 'रंगको प्रयोग ब्रान्डिङ र चिनारीका लागि मात्रै हो,' उनले भने, 'आखिर बैंकको पहिचान सेवामा भर पर्छ ।'

सनराइज बैंकले भने नामअनुसारको नै रंग छनोट गरेको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको भनाइ छ । बैंकले सूर्यादय हुँदाको रंग सुनौलो र अस्त हुँदाको रंग रातो प्रयोग गर्ने गरेको छ ।
'नामअनुसार नै सूर्यादय हुँदा देखिने रंग र सूर्यास्त हुँदाको रंग प्रयोग गरेका छौं,' उनले भने, 'यसले बैंकको नामअनुसारको पहिचान कायम गरेको छ ।'

नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रयोग गरिएको रातो र नीलो रंगको कुनै व्यावसायिक अर्थ नभएको प्रमुख कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डे बताउँछन् । उनी भन्छन्, 'पहिले हामीले प्रयोग गरेको रंग अलि म्याचिङ नभएजस्तो लागेर नीलो र रातो छानेका हौं । नेपालको राष्ट्रिय झन्डाको रंगसँग मिल्दोजुल्दो भएकाले पनि यी रंग प्रयोग गरेका हौं ।' झन्डाको रंगले राष्ट्रियता झल्कने उनको भनाइ छ ।

प्राइम बैंकका महाप्रबन्धक भाइराजा तुलाधरले आन्तरिक सजावट गर्ने संस्थाको सल्लाहमा रंग छनोट गरिएको बताए । 'इन्टेरियर डिजाइनरले पर्पल रंग प्रयोग गर्ने सल्लाह दिए', उनले भने, 'सौम्य रंग भएकाले ग्राहकले राम्रै लाग्ने ठानेर पर्पल छानेका हौं ।'

भर्खरै मात्र वाणिज्य बैंकका रुपमा स्तरोन्नति भएको किष्ट बैंकले रातो रंगलाई आफ्नो लोगोमा प्रयोग गरेको छ । आफ्नो ब्रान्ड रंग नै रातो भएको बैंकका प्रबन्ध संचालक कमलप्रसाद ज्ञवालीले बताए ।
रातो रंग पहिलेदेखि नै हाम्रो ब्रान्डको रंगका रुपमा रहेको छ, त्यसैले परिमार्जित लोगोमा रातो रंग प्रयोग गरेका हौं', उनले भने, 'रातो रंग हिन्दु संस्कृतिमा शुभ- रंगका रुपमा समेत रहेको छ ।'

विश्वमा रहेका व्यावसायिक प्रतिष्ठानले आफ्नो पहिचानका लागि विशेष रंग छानेका छन्, जुन रंग देख्ने वित्तीय सर्वसाधारणको दिमागमा व्यवसायी प्रतिष्ठानको प्रतीक आउँछ । यसले उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न सहयोग पुग्नुका साथै व्यसायको प्रवर्द्धनसमेत गर्छ ।

No comments:

Post a Comment

thanks for comment