बैंक अफ काठमान्डूमा राष्ट्र बैंकको हस्तक्षेप

राष्ट्र बैंकले सञ्चालकबीचको विवाद नसुल्झिएपछि बैंक अफ काठमान्डू बिओकेलाई नियन्त्रणमा लिएको छ । मंगलबारको राष्ट्र बैंक सञ्चालक समितिकॊ बैठकले हस्तक्षेपका साथै बैंक व्यवस्थापन निलम्बन गरेको हो । केन्द्रीय बैंकको निर्णयमा तीन महिनाभित्र साधारणसभा गरी नयाँ सञ्चालक समिति बनाउने उल्लेख छ । राष्ट्र बैंकले लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा चार सदस्य बैंक व्यवस्थापन समिति गठनको निर्णयसमेत लिएको छ ।
तत्कालका लागि बिओकेका निमित्त प्रमुख कार्यकारी अधिकृत सविन श्रेष्ठलाई भने यथावत राखिएको छ । 'सर्वसाधारणको बचत र लगानीकर्ताको सुरक्षा र बैंकिङ क्षेत्रमा सुशासन कायम गर्न हस्तक्षेप गरेको हो', राष्ट्र बैंक सञ्चालकले भने- 'सुधारात्मक कदमका लागि यस्तो निर्णय लिनुपरेको हो ।'
बिओकेको एजेन्डामा मात्र छलफल गर्न बुधबार साचालक समिति बैठक डाकिएको थियो । राष्ट्र बैंक सञ्चालक समितिको नियमित बैठक महिनाको दुई दिन मात्र हुन्छ ।
तीन वर्षयता राष्ट्र बैंकले निजी क्षेत्रको बैंक नियन्त्रणमा लिएकॊ पहिलोपटक हो । यसअघि निक्षेपकर्ताले पैसा झिक्न थालेपछि नेपाल बंगलादेश बैंक व्यवस्थापनमा हस्तक्षेप गरेको थियो ।
बिओकेमा प्रबन्ध सञ्चालकबाट राधेश पन्तलाई सञ्चालक समितिको बहुमतले हटाएपछि विवाद सार्वजनिक भएको थियो । हटाउनुअघि पन्तलाई स्पष्टीकरणको मौका दिइएको थिएन ।
राष्ट्र बैंकको अध्ययनले बिओकेको सञ्चालक समितिमा केही परिवारको बाहुल्य रहेको देखाएको छ । बिओकेका केही सञ्चालक एवं कर्मचारीले पनि अन्योल अन्त्य गर्न राष्ट्र बैंकसँग माग गरेका थिए ।
'सञ्चालकमा सुविधा लिन बहुमत पुर् याएर निर्णय गर्ने प्रवृत्ति नबनोस भन्ने उद्देश्यले पनि कठोर हुनु परेको हो'- ती सञ्चालकले भने । बिओकेमा विवाद देखापरेको चौथो पटक हो ।

सञ्चालक समितिलाई चित्त नबुझेर प्रमुख कार्यकारी हटाउँदै जाने हो भने वित्तीय क्षेत्रमा स्थायित्व नआउने हुँदा बिओके विवादमा राष्ट्र बैंकले मिलाउन खोजेको थियो । बैंकमा असारसम्म १७ अर्ब ४७ करोड रुपियाँ बचत छ । बैंकले १४ अर्ब ३० करोड ९४ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्र बैंकले गत मंगलबार पन्तलाई पुनर्बहाली गरेर सहमति गर्न पत्र पठाएको थियो । पत्रमा किन सञ्चालक समिति विघटन नगर्ने भन्ने उल्लेख थियो । पत्रको जवाफ दिन पन्त र शाहसहित करिव २५ संस्थापकको बैठक भएको थियो । शाह र रीता मल्लबाहेकका संस्थापक पुनर्स्थापना गर्न सहमत भएका थिए ।
छलफल गर्दा सहमती जस्तो देखिए पनि राष्ट्रबैंकको स्पष्टिकरणको आधिकारिकतामा प्रश्न उठाउंदै शाहले गत आइतबार जवाफ पठाए । पत्रमा शाहले पन्तलाई हटाउने संचालक समितिको निर्णयमा राष्ट्र बैंकले प्रश्न गर्न नमिल्ने उल्लेख गरेका छन् । शाहले जवाफ बुझाएको केही समयमा पन्तसहितका अरु संस्थापकले राष्ट्र बैंकमा अर्को पत्र पठाए । पन्तको पत्रमा शाहको जवाफप्रति असहमती जनाइएको छ ।

करिव एक महिना अघि बैंकको बोर्डले स्पष्टीकरण विना पन्तलाई प्रबन्ध संचालकबाट हटाएको थियो । यो निर्णय पछि बैंकको बोर्ड भित्र विवाद बढेको थियो । शाहले बहुमत निर्णयबाट पन्तलाई हटाएका थिए । त्यतिबेला शाहको पक्षमा रिता मल्ल, सन्तवरिसंह थापा, बलराम न्यौपाने थिए । पन्तको पक्षमा सिताराम थपलिया र सुदर्शन पौडेल थिए । एक संचालकको पद रिक्त थियो । केही दिनअघि शाहले संचालकमा दिपकनर सिंहलाई मनोनीत गरेका छन् ।
बैंकको ४२ प्रतिशत सेयर संस्थापकसंग छ । त्यसमा १० प्रतिशत शाहको छ । पन्तको १० प्रतिशतकै हाराहारीमा संस्थापक सेयर छ । अधिकांश संचालक अहिले शाहको निर्णयबाट बैंकलाई अप्ठेरोमा पारेको भन्दै रुष्ट भएको बैंकका एक अधिकारीले बताए ।
बैंकका दुई बोर्ड सदस्यले पन्तलाई नियमविपरित हटाएको भन्दै राष्ट्र बैंकमा उजुरी गरेका थिए । एक पक्षीय ढंगले निकालिएको उजुरीमा उल्लेख छ । उजुरी पछि राष्ट्र बैंकले बैंक अफ काठमाण्डुको बोर्ड र पन्तलाई छलफलका लागि सँगै बोलाएको थियो । कुनै पनि निष्कर्ष ननिस्केपछि स्पष्टिकरण सोधेको थियो । बोर्डले राष्ट्रबैंकलाई नै चुनौती दिँदै पत्र पठाएपछि पछिल्लो निर्णय भएको हो ।
सफाईको मौका नदिइ प्रमुख कार्यकारी हटाउँदा अस्थिरता बढ्छ यस्तो समस्या अन्यत्र फैलन नआओस भन्ने उदेश्यले राष्ट्रबैंकले व्यवस्थापन नियन्त्रणमा लिएको हो । प्रमुख कार्यकारीलाई निकाल्नु अघि स्पष्टीकरण र सुनुवाइको मौका दिनु पर्ने पक्षमा राष्ट्र बैंक छ । सर्वसाधारणको पैसा राख्ने बैंकजस्ता संस्थामा यस्तो कमजोरी हुनुहुँदैन राष्ट्र बैंक अधिकारीले भने ।
विवादले बैंकको स्थिति झन बिग्रिएको संस्थापकहरुको दावी छ । विवादपछि निक्षेप घटेको कर्जा बढेकोउस्तै उस्तै बैंकको सेयर बढेको भए पनि बिओकेको घटेको उनीहरुले राष्ट्रबैंकमा बुझाएको पत्रमा उल्लेख छ ।
बीओकेले चैत महिना सम्ममा ३३ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष नौ महिनामा बैंकले २३ करोड ८३ लाख कमाएको थियो ।

No comments:

Post a Comment

thanks for comment