सन्राइजको सेयरमा अनियमितताबारे छानबिन

सन्राइज बैंकको सेयर आवेदन फारम बजारमा पुगेको विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ । छानबिन टोलीले मंगलबार प्रतिवेदन दिएपछि बोर्डले कारबाहीको प्रकृति तय गर्ने भएको छ ।

सन्राइजले सेयर आवेदन बन्द गरेको चौथो दिनमा नै आवेदकका फोटोसहितका फारमहरू चनाचटपटेवालाकहाँ पुगेको समाचार नयाँ पत्रिकाले सोमबार छापेको थियो । समाचार प्रकाशित भएलगत्तै बोर्डले सुपरीवेक्षण शाखाका उपनिर्देशक मुक्तिराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
अनियमितता भएमा बैंकको सेयर निष्कासन रद्द गर्ने र बिक्री-प्रबन्धकलाई कारबाही गर्ने निर्णय धितोपत्र बोर्डको सञ्चालक समितिले गर्ने व्यवस्था छ । ऐनअनुसार सेयर निष्कासन रद्दसम्म गर्नेदेखि बिक्री-प्रबन्धक बैंकलाई सेयर कारोबार गर्ने अधिकार निलम्बन गर्ने र त्यस्तो बैंकको लाइसेन्स नै खारेज हुनेसम्मको व्यवस्था छ ।

छानबिन समितिले सोमबार नै सन्राइजको सेयर बिक्री-प्रबन्धक एनएमबी बैंकमा पुगी हराएको फारमको बारेमा जानकारी लिएको थियो । 'अनुसन्धान सुरु भएको छ, सेयर निष्कासन रद्द गर्ने वा नगर्ने तथा एनएमबीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा अहिले नै भन्न सकिँदैन,' उपनिर्देशक श्रेष्ठले भने । उनले मंगलबार नै प्रतिवेदन पेस गर्दै छन् ।

यसैबीच एनएमबीले सन्राइज बैंकको सेयरका लागि सर्वसाधारणले भरेका ४७ वटा फारम हराएको स्वीकार गरेको छ । सन्राइज बैंकले ३७ करोड ५० लाख रुपैयाँको सेयरका लागि परेको करिब १० अर्ब रुपैयाँको प्रबन्धक एनएमबीले मानवीय कमजोरीबस फारम हराएको बताएको छ ।

'यो कमजोरीप्रति हामी गम्भीर क्षमायाचना गर्छौं र विगतमा नभएको यस्तो गल्ती भविष्यमा हुन नदिने प्रतिबद्धता व्यक्त गर्छौं,' सोमबार आयोजित पत्रकार सम्मेलनमा बैंकका सिइओ उपेन्द्र पौडेलले भने ।

पौडेलले हराएका फारमहरूको लगत बैंकको सिस्टममा राखिसकिएको दाबी पनि गरे । 'सन्राइज बैंकको सेयरका लागि परेका सबै आवेदनहरूको डाटा कम्प्युटरमा इन्ट्री भइसकेका छन्, त्यसैले सबै आवेदकलाई बाँडफाँड प्रक्रियामा सहभागी गराइनेछ,' उनले भने ।

सेयर फारमहरूबारे एनएमबीले सोमबार बिहान नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र सन्राइज बैंकलाई जानकारी दिएको छ ।

No comments:

Post a Comment

thanks for comment