कमाउँदै, गुमाउँदैछन् बैंक

बैंकिङ प्रणालीमा तरलता समस्या नभए पनि केही बैंकमा निरन्तर तरलता कमी र अधिक तरलता पाइएको छ ।

केही महिनादेखि धेरै तरलता भएका बैंकले अन्तरबैंक कर्जा प्रवाह गरी राम्रो आम्दानी गरिरहेछन् । अन्तरबैंक कर्जा ब्याजदर औसतमा सात प्रतिशतभन्दा माथि छ । बैंकहरूले पाँच दिनका लागि त्यस्तो कर्जा प्रवाह गर्छन् ।
लगातार कर्जा प्रवाह गरिरहेका बैंकले राम्रो आम्दानी गरिरहेछन् । केही बैंकले भने लगातार कर्जा लिई रहनुपरेकाले तिनीहरूलाई निक्षेप संकलनभन्दा महँगो पर्न गएको छ ।


अन्तरबैंक कर्जा कारोबार बढ्नुका साथै बैंकहरूले निक्षेप ब्याजदर पनि बढाइरहेका छन् । यद्यपि बैंकहरूले थोरै रकम बचत गर्नेका लागि ब्याज वृद्धितर्फ ध्यान नदिएको गुनासो बढ्दै गएको छ ।

नेपाल सरकारको खातामा अहिले २५ अर्ब ८४ करोड रुपैयाँ खर्च नभई बसेको छ, जसका कारण तरलता कसिलो राखिराख्न मद्दत पुगेको छ । सो बचत केही साताअघि २८ अर्ब रुपैयाँ पुग्दा तरलता कमी अझ बढेको थियो ।
राष्ट्र बैंकले मूल्यवृद्धि कम गर्न र निक्षेप ब्याजदर वृद्धि गर्न तरलता कसिलो नै राख्ने नीति लिएको अनुसन्धान विभागका कामु कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए । उनले भने, 'तरलता कमी भयो भनी कसैले चिन्ता लिनुपर्दैन । यसले विस्तारै निक्षेपको ब्याज बढाउँदै लगेको छ ।' तरलता हालको भन्दा खुकुलो नपार्ने राष्ट्र बैंकको नीति रहेको उनले स्पष्ट पारे ।

बैंक अफ काठमाण्डुका ट्रेजरी विभाग प्रमुख प्रवेश पन्त बैंकमा तरलता कमी देखिनुको कारण अल्पकालीन भएको बताउँछन् । त्यसैले तत्काल निक्षेप ब्याजमा उल्लेख्य प्रभाव नपर्ने उनको तर्क छ ।
यद्यपि एक महिनाअघि बैंकले पौने नौ प्रतिशतसम्मको ब्याज योजना ल्याइसकेको छ । बैंकहरूले ब्याजदर नै बढाए पनि सर्वसाधारणले पाउने ब्याजदर बढ्ने सम्भावना नरहेको उनले जानकारी दिए । यसका लागि राष्ट्र बैंकले थप नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनको सुझाव छ ।
अहिलेसम्म धेरै बैंक ठूला संस्थागत निक्षेपकर्तामा निर्भर छन् । उनीहरूले मोलमोलाइ गरेर बढी ब्याज लिन्छन् । बैंकहरूले न्यूनतम मौज्दात तोकेर त्यो सीमा नाघ्ने निक्षेपकर्तालाई मात्र उच्च ब्याज दिने योजना सञ्चालन गरिरहेछन् ।


नबिल बैंकले पनि गत चैतमा साढे आठ प्रतिशतसम्मको ब्याज योजना ल्याएको थियो ।बैंकका ट्रेजरी विभाग प्रमुख नरेन्द्र श्रेष्ठ अहिले अल्पकालीन तरलता कमी देखिएको दाबी गर्दै भन्छन्, 'यो आर्थिक वर्षभरिको बजार नेहेरी थप ब्याज बढाउन आवश्यक छैन ।'

अन्तरकर्जाबाट निरन्तर आर्जन गरिरहेको सिटिजन्स बैंक इन्टरनेसनलकी ट्रेजरी प्रमुख रक्षा ओझा बजारमा अन्तरबैंक कर्जा उच्च माग रहेको बताउँछिन् । आठ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको सो बैंकमा डेढ अर्ब रुपैयाँ तरलता छ । 'अघिल्लो सातासम्म हामीले कर्जा दियौं, यो साता भने माग उच्च भए पनि हामीलाई नै आवश्यक पर्ने देखिएको छ,' उनले भनिन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा नयाँवर्षसँगै तरलता समस्याले छोएको छ । सो बैंकले दुईपटक गरी राष्ट्र बैंकबाट दुई एक अर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेको छ । सो बैंकसँग वैशाख महिनामा परिपक्व हुने ट्रेजरी बिल्स नरहेकाले बैंक अन्तरबैंक कर्जामा बढी नै निर्भर रहनुपरेको हो ।
सरकारले कर्मचारी पेन्सनबापत चालू आर्थिक वर्षमा निकासा दिनुपर्ने करिब साढे दुई अर्ब रुपैयाँ निकासा हुन बाँकी रहेकाले पनि तरलतामा चाप परेको ट्रेजरी विभाग प्रमुख केशव लम्सालले बताए । कृषि विकास बैंकले कर्जा प्रवाह मात्र गरेको र कर्जा नलिएको ट्रेजरी प्रमुख मनोहर श्रेष्ठले जानकारी दिए ।


राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक र बैंक अफ काठमाण्डुले पछिल्ला दिनमा तुलनात्मक रुपले अधिक अन्तरबैंक कर्जा लिएका छन् । गत साता नौ वाणिज्य बैंकले कुल ६ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अन्तरबैंक कर्जा लिएका थिए । त्यसमा नबिल बैंकले आधाभन्दा बढी कर्जा लिएको छ । कर्जा लिनेमा बैंक अफ काठमाण्डु दोस्रो छ । अघिल्लो साता नौ बैकले पाँच अर्ब ६० करोड २० लाख रुपैयाँको कर्जा प्रवाह गरेको थियो । सो अवधिमा सबैभन्दा बढी कर्जा लिनेमा बैंक अफ काठमाण्डु रहेको छ । त्यस्तै, दोस्रोमा नविल र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक थियो ।

गत साता सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा कृषि विकास बैंक, दोस्रोमा प्राइम कमर्सियल बैंक र तेस्रोमा सिटिजन्स बैंक इन्टरनेसनल छन् । यो अवधिमा १३ बैंकले अन्तरबैंक कर्जा प्रवाह गरेका थिए ।
त्यस्तै, अघिल्लो साता सर्वाधिक कर्जा प्रवाह गर्नेमा एभरेष्ट बैंक पहिलो, नेपाल बंगलादेश बैंक दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो बैंक रहेका छन् । ती बैंकले सो अवधिमा जम्मा १४ बैंक अन्तरबैंक कर्जा प्रवाह गरेका थिए ।


राष्ट्र बैंकबाट तरलता सुविधा नलिई अन्तरबैंक कर्जाबाट बैंकहरूको तरलता व्यवस्थापन भएको राष्ट्र ऋण व्यवस्थापन विभागका निर्देशक शंकर आचार्यले बताए ।
गत साता राष्ट्र बैंकले आह्वान गरेको ट्रेजरी बिलमा चार गुणा बढी प्रस्ताव परेकाले बैंकहरूमा तरलता समस्या नदेखिएको दाबी उनले गरे । अब सनराइज बैंकको सेयर आवेदनबापतको करिब १० अर्ब रुपैयाँ केही दिन निस्त्रिय रहने भए पनि तरलता समस्या नआउने निष्कर्ष राष्ट्र बैंकले निकालेको छ ।
आचार्यले भने, 'यसअघि सिटिजन्स बैंक र बैंक अफ एसियाको १० अर्ब आवेदन पर्दा राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको रिपो जारी गरेकामा हाल त्यस्तो अवस्था रहेको छैन ।'

No comments:

Post a Comment

thanks for comment