भुटान जाने तयारीमा हिमालय बैंक


नेपालमा बैंक संख्या धेरै भएको चर्चा चलिरहँदा एउटा वाणिज्य बैंकले विदेशमा बैंक खोल्ने प्रयास थालेको छ ।

निजी क्षेत्रको हिमालयन बैंकले भुटानमा वाणिज्य बैंक खोल्न स्थानीय साझेदारसँग सहमति गरी नेपाल सरकारसँग स्वीकृति माग गरेको हो । पाकिस्तानी साझेदारसँगको संयुक्त लगानीमा स्थापित हिमालयन बैंकले भुटानको साम्देन समूहसँग मिलेर वाणिज्य बैंक खोल्ने सहमति गरिसकेको छ ।

'हबिब बैंक र नेपाली लगानीमा हाम्रो बैंक खोलेकै मोडलअनुसार भुटानी साझेदारसँग मिलेर वाणिज्य बैंक स्थापना गर्न सरकारसँग अनुमति मागेका हौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'हामीले ३० प्रतिशत सेयर हिस्सा पाउने सहमति भएको छ ।' अनुमति पाए भुटानमा जनशक्तिसमेत पठाउने उनले बताए । 'बैंक व्यवस्थापनमा दोस्रो दर्जासहित तीन उच्चस्तरीय जनशक्ति पठाउँछौं,' उनले भने, 'जुन अहिले हबिब बैंकले हिमालयन बैंकमा पठाएकै मोडलअन्तर्गत हो ।'
पाकिस्तानी हबिब बैंकको हिमालयन बैंकमा २० प्रतिशत सेयर हिस्सा छ ।

नेपालको कानुनले हालसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छैन । नेपाल राष्ट्र बैंकले नेपालका वाणिज्य बैंकहरूले संयुक्त लगानीमा विदेशमा बैंक खोल्न सक्ने प्रावधानसहित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि २०६४ मै सरकारसँग प्रस्ताव गरेको भए पनि अहिलेसम्म निर्णय आएको छैन ।

'हामीले नेपालका वाणिज्य बैंकहरूलाई विदेशमा संयुक्त लगानीका बैंक खोल्न स्वीकृति दिनुपर्छ भनी दुई वर्षअघि नै ऐन संशोधनका लागि सरकारसमक्ष पठाएका हौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने, 'तर अहिलेसम्म आएको छैन ।'
हिमालयन, एभरेष्टलगायत बैंकमा जुन अनुपातमा विदेशीले पैसा लगानी गरेका छन् त्योभन्दा बढी उनीहरूले लाभांश लगिसकेकाले नेपालीलाई पनि विदेशमा लगानी गर्न दिए बढी फाइदा लिन सकिने उनले बताए ।

रोयल मनिटरी अथोरिटी अफ भुटानले तयार गरेको ऐनमा भुटानमा वाणिज्य बैंक खोल्न ३० करोड भुटानी रुपैयाँ चुक्ता पुँजी आवश्यक हुन्छ । सो पुँजीमध्ये पहिलो किस्तामा २० करोड र तीन वर्षभित्र बाँकी १० करोड रुपैयाँ पुर्‍याउनुपर्ने रोयल मनिटरी अथोरिटीको ऐनमा व्यवस्था छ ।
रोयल मनिटरी अथोरिटी भुटानको केन्द्रीय बैंक हो । त्यसमा हिमालयन बैंकले ३० प्रतिशत र साम्देन समूहले ४० प्रतिशत लगानी गर्ने तथा बाँकी ३० प्रतिशत सर्वसाधारणमा बिक्री गर्ने सहमति भएको प्रमुख कार्यकारी अधिकृत राणाले बताए ।
भुटानी कानुनअनुसार ५१ प्रतिशतभन्दा बढी सेयर विदेशी लगानीकर्ताले लिन पाउँदैनन् भने स्वदेशका एउटै व्यक्ति तथा संस्थाले पनि १० प्रतिशतभन्दा बढी सेयर लिन पाउँदैनन् ।

No comments:

Post a Comment

thanks for comment