प्राइम बैंकका एउटै नम्बरका थुप्रै सेयर फारम

सन्राइज बैंकको सेयर पाउन सर्वसाधारणले भरेका फारम चनाचटपटेकहाँ भेटिएको साता दिनमा प्राइम बैंकका एउटै नम्बरका विभिन्न फारम भेटिएका छन् । प्राइम बैंकको सेयर आइतबारदेखि खुल्दै छ, तर एउटै नम्बरका विभिन्न फारम शनिबारदेखि नै बजारमा भेटिएका छन् ।

बैंकको सेयरका लागि आवेदन गर्ने सर्वसाधारणको फारमको सिरियल नम्बर फरक-फरक हुनुपर्छ, त्यही नम्बरका आधारमा बैंकले सेयर बाँडफाँड गर्छ । तर, एउटै नम्बरका धेरै फारम सर्वसाधारणलाई बजारमा पठाएर प्राइम बैंकको सेयरमा गोलमाल गरिएको छ । प्राइमको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष हो ।

प्राइम बैंकको सेयरका लागि बुझाउन तयार पारिएका केही फारम शनिबार नै नयाँ पत्रिकाले फेला पारेको छ जसको सिरियल नम्बर एउटै छ । ३२३४४६ नम्बरको फारम तीनजनालाई वितरण गरिएको छ । त्यस्तै ३२३४४७, ३२३४४८ र ३२३४४९ नम्बरका फारम पनि तीनजनालाई बाँडिएको छ । यसरी एउटै नम्बरमा जथाभावी फारम बाँडेर बैंक र बिक्री प्रबन्धकले नियोजित रूपमा आफन्तलाई मात्र सेयर बाँड्न खोजेको आशंका छ । यसैगरी एउटै सिरियल नम्बरका फारम अनगिन्ती सर्वसाधारणलाई बाँडिएको छ ।

प्राइम बैंकको सेयर फारमहरू बिक्री प्रबन्धक नागरिक लगानी कोषले छापेको हो । यसअघिका सेयर फारमहरू निःशुल्क वितरण हुँदै आए पनि अहिले प्रतिफारम २ रुपैयाँका दरले वितरण हुँदै आएका छन् ।

०६४ साल असोज ७ गतेदेखि कारोबार सुरु गरेको प्राइम बैंकको सेयर बिक्री आइतबारदेखि खुला हुँदै छ । सर्वसाधारणका लागि ३० प्रतिशत सेयर बिक्रीका लागि बैंकले ३० करोड रुपैयाँबराबरका ३० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

सर्वसाधारणको नाममा सार्वजनिक हुने सेयरको पहिले नै मिलेमतोमा बाँडफाँड गरिन्छ र सर्वसाधारणका लागि देखाउन मात्रै सेयर निष्कासनको नाटक गरिन्छ भन्ने कुराको पुष्टि एउटै नम्बरका धेरै फारमहरू छापिएबाट हुन्छ । यसबाट बिक्री प्रबन्धकहरूले तीन महिनासम्म जनताको पैसा उठाएर आफ्नो व्यापार गर्ने गरेको हो कि भन्ने आशंका उब्जिएको छ ।

एउटै नम्बर भएका फारमहरू धेरै व्यक्तिले भरेपछि सेयर बाँडफाँडमा गोलमाल र घोटाला गर्न सजिलो हुने र आफ्नो मान्छे वा पहिले नै निश्चित गरिएका व्यक्तिहरूलाई सेयर दिन सजिलो हुने सेयर विश्लेषक भरत ढकाल बताउँछन् ।

No comments:

Post a Comment

thanks for comment