अन्तर बैंक सापटीमा तीन दर

सुदर्शन सापकोटा
काठमाडौं, असोज १२
बैंक तथा वित्तीय संस्थाले एक आपसमा दिने छोटो अवधिको सापटी (अन्तर बैंक) अहिले तीन दरमा चलेको छ। बैंकरहरुले अघोषित रुपमा विभिन्न वित्तीय संस्थालाई विश्वास योग्य, औसत र विश्वास कम भएको गरी तीन रुपबाट वर्गीकरण गरी सापटी दर तोकेका छन्।
केही दिनदेखि यस्तो दरमा कारोबार हुँदै आएको बैंकरहरु बताउँछन्। बैंकिङ क्षेत्रमा २६ अर्ब रुपैयाँ अधिक लगानी योग्य पुँजी (तरलता) भएका बेलामा समेत सापटी माग्ने संस्थाको अवस्था हेरी अन्तर बैंक सापटी दर दिने गरिएको छ। अहिले यो दर १ देखि १४ प्रतिशतसम्ममा चलेको छ। राष्ट्र बैंकले पनि १ प्रतिशत दर सार्वजनिक गरेको छ। विश्वास योग्य कम्पनीबीचको कारोबार पछिल्लो डेढ महिनादेखि १ प्रतिशतमा सीमित छ। राष्ट्र बैंकले बढी कारोबार हुने दरलाई सर्वाजनिक गर्छ। औसत कम्पनीहरुबीचको दर ३ देखि ५ प्रतिशत र विश्वास कम भएका कम्पनी बीचको दर १० देखि १४ प्रतिशतसम्म छ।

पञ्जाव नेसनल बैंकसँग साझेदारी गर्ने किस्टको तयारी

सुदर्शन सापकोटा
काठमाडौं, असोज १०-
किस्ट बैंकले ठूलो कारोबार गर्न भारतको पञ्जाब नेसनल बैंक (पिएनबी) लाई ५१ प्रतिशत सेयर दिएर साझेदार बनाउन तयारी सुरु गरेको छ।पिएनबी अहिले एभरेस्ट बैंकसँग २० प्रतिशत साझेदारी लिएर काम गरिरहेको छ। यसले नेपालमा आफ्नो कारोबार बढाउन चाहेको छ। 'साझेदारीका लागि किस्ट र पिएनबीले एक महिनादेखि राष्ट्र बैंकसँग परामर्श गरिरहेका छन्,' बैंक स्रोतले भन्यो। 
किस्टसँगको साझेदारी दुइटा विकल्पमा गर्न सकिने गरी छलफल भइरहेको छ। अहिलेकै पुँजी अनुसार ५१ प्रतिशत दिने वा ५१ प्रतिशत बराबरको थप पुँजी राखेर बैंकलाई ठूलो बनाउने गरी छलफल चलेको हो। निष्कर्ष आइसकेको छैन। जुन विकल्पमा गए पनि किस्टको व्यावसायिक ख्याति भने बढ्ने छ।
किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले मर्जरका लागि धेरै बैंकहरुसँग छलफल भइरहेको बताए। उनले यसैक्रममा पिएनबीसँग पनि छलफल भइरहेको तर, टुंगो भने नलागेको जानकारी दिए।
राष्ट्र बैंकले साझेदारीभन्दा मर्जरका लागि सुझाव दिइरहेकाले दुवै कम्पनीबीच औपचारिक सम्झौता हुन सकेको छैन। राष्ट्र बैंक स्रोतका अनुसार एउटै कम्पनीलाई दुई बैंकसँग साझेदारी गर्न कानुनी अड्चन भएकाले मर्जरमा जान सुझाव दिइएको हो।
राष्ट्र बैंकले पिएनबीलाई प्रत्यक्ष रणनीतिक साझेदारीका लागि दुवै संस्थामा रहन नमिल्ने भन्दै सेयर खरिद गरेर मर्जरमा जान सहयोग गर्ने बचन दिएको छ। राष्ट्र बैंकले पिएनबीका प्रतिनिधिसँगै एभरेस्ट र किस्ट बैंकका अधिकारीहरुसँग गरेको अनौपचारिक छलफलमा यथासक्य चाँडो मर्जर गर्ने औपचारिक प्रतिबद्धता गरेको अवस्थामा किस्टको केही सेयर खरिदका लागि सहयोग गर्ने आश्वासन दिएको हो।

बैंक किनबेचमा राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं, असोज १०- 
कानुनी व्यवस्था नहुन्जेल एकले अर्को बैंक तथा वित्तीय संस्था खरिद गर्न (एक्विजिसन) चाहे राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ।एक्विजिसनमा जान चाहने संस्थाका लागि स्पष्ट कानुनी व्यवस्था नभए पनि बैंकले मर्जरकै रुपमा संस्था खरिद गर्ने नीति लिएको छ। 
 बैंक तथा वित्तीय संस्थाको संशोधनसहित संसदमा पुगेको विधेयकमा एक्विजिसनको कानुनी व्यवस्था छ। 'यो कानुन पारित नहुन्जेलका लागि राष्ट्र बैंकले एक्विजिसनमा जान चाहनेलाई मर्जरकै नीतिबाट सहयोग गर्नेछ,' राष्ट्र बैंक प्रवक्ता भाष्कर ज्ञवालीले सोमबार नागरिकसँग भने।
एक्विजिसनमा जान चाहने संस्थाले औपचारिक प्रस्ताव राष्ट्र बैंकमा लगेका छैनन्। 'कुनै संस्था बिक्री र खरिद गर्न तयार भएको सुनिएको छैन,' ज्ञवालीले भने, 'कोही इच्छुक भए मर्जरको प्रक्रियामा एक्विजिसन अगाडि बढ्छ।'

थप नोक्सानी व्यवस्था गर्न दिएको निर्देशनले वाणिज्य बैंकहरुको नाफा १ अर्बले घट्ने

सुदर्शन सापकोटा
काठमाडौं असोज ७
राष्ट्र बैंकले एक दर्जन बैंक तथा वित्तीय संस्थालाई हरहिसाब विवरण सच्याउन निर्देशन दिएको छ । वित्तीय संस्थाले राष्ट्र बैंकमा पठाएको गत आर्थिक वर्षको हरहिसाब विवरणमा ६१ जना ऋणीको कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै यस्तो निर्देशन दिएको हो ।
यो निर्देशनले ती वित्तीय संस्थाको नाफा घट्ने छ । यसबाट सेयरधनीले पाउने लाभांश पनि कम हुन सक्छ । यसबाट वित्तीय संस्थाको दीर्घकालिन स्वास्थ्यलाई राम्रो बनाउँछ । नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सयल इ_िन्स्टच्युट गोर्खा विकास बैंक पिपल्स फाइनान्स क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न ६१ जना ऋणीको कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको हो । राष्ट्र बैंकका अनुसार सेयरधितो कर्जा घरजग्गा कर्जा अन्तर बैंक सापटीमा गएको कर्जाको सम्भावित नोक्सानी व्यवस्था गर्न लगाइएको छ ।

राष्ट्र बैंकले दसैंका लागि ३० अर्बका नोट बजारमा पठाउने

माग अनुरुप वितरण हुन्छ : राष्ट्र बैंक 
काठमाडौं, असोज ५ - 
राष्ट्र बैंकले दशैका लागि सुकिला र नयाँ सहित ३० अर्ब रुपैयाँको नोट बजारमा पठाउने भएको छ। यसमा अधिकांश नयाँ र केही सुकिला नोट रहने छन्।  गतवर्ष ७ अर्ब सुकिला सहित २२ अर्ब बराबरका नोट दशैंमा बजारमा पठाएको थियो । 
 'यो वर्ष ३० प्रतिशतले माग बढ्ने अनुमान गरी ८ अर्ब बढी पठाउने व्यवस्था मिलाएको छ,' राष्ट्र बैंक प्रवक्ता भास्कर ज्ञवालीले बुधबार नागरिकसँग भने, 'माग अनुरुप नोट दिने व्यवस्था हुनेछ।' दशैंसहित तिहार र छट पर्वलाई लक्षित गर्दै नयाँ नोटको व्यवस्था गरिएको हो। सरकारको राहत कार्यक्रममा समेत पर्वअघि नयाँ नोट उपलव्ध गराउने व्यवस्था समेटेको छ।

जिल्लास्तरमा आवश्यक पर्ने नोट राष्ट्र बैंकले पठाइसकेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयमा रहेको नोट कोषमार्फत जिस्लास्तरमा नोट वितरण हुनेछ। 'सर्वसाधारणले आफ्नो खाता भएका बैंक र राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट लिन सक्ने छन्,' ज्ञवालीले भने।

५ लाखको निक्षेप सुरक्षण अनिवार्य

काठमाडौं असोज ३
राष्ट्र बैंकले ५ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्न सबै बैंक तथा वित्तीय संस्थालाइ निर्देशन दिएको छ । यसअघि २ लाखसम्मको व्यवस्था थियो । २ लाखको निक्षेप सुरक्षण गर्नुपर्ने संस्थाले पनि बढाएर पाँचै लाख पुर् याउनुपर्ने भएको छ ।
अहिले 'ख' 'ग' र 'घ' वर्गका अधिकांश वित्तीय संस्थाले २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गरिसकेका छन् । यो निर्देशनले वाणिज्य बैंकहरुमा पनि ५ लाखको निक्षेप सुरक्षण अनिवार्य गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण निगमसँग बैंक तथा वित्तीय संस्थाले बचत तथा मुद्दती खाताको निक्षेप सुरक्षण गर्नेछन् । निगमको पुँजी न्यून भएकाले ठूलो रकमको सुरक्षण गर्न नसक्ने बैंकरले बताउँदै आएका छन् । निगमको पुँजी बढाउँदै साना निक्षेपकर्ताको रकम सुरक्षण गर्ने व्यवस्था गरिएको हो ।

बैंकिङ क्षेत्रका राहत कार्यक्रम तयार


वादी दलित अपांग पिछडिएका वर्ग र ज्येष्ठ नागरिकलाई चल्तीको भन्दा १ प्रतिशत कम ब्याज दरमा कर्जा दिने

काठमाडौं असोज २-
राष्ट्र बैंकले सरकारको राहत कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट कार्यान्वयन गर्नुपर्ने कार्यक्रमका लागि निर्देशन तयार पारेको छ । 'बैंक तथा वित्तीय संस्थाबाट कार्यान्वयन गर्नुपर्ने राहत कार्यक्रमका लागि निर्देशन तयार भएको छ,' राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले सोमबार नागरिकसँग भने, 'एक दुई दिनमा जारी हुनेछ ।'
सरकारले केही दिनअघि राहतका कार्यक्रम घोषणा गरेको थियो । त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग कार्यक्रम कार्यान्वयनका लागि छलफल गरेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वभित्र रहेर बैंक तथा वित्तीय संस्थालाई बजार दरभन्दा कम ब्याजमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने निर्देशन तयार पारेको ज्ञवालीले बताए । वादी दलित अपांग पिछडिएका वर्ग र ज्येष्ठ नागरिकलाई बजार दरभन्दा १ प्रतिशत कममा ब्याज दरमा कर्जा उपलब्ध गराउने घोषणा राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ ।

साना सडकको पैसा जिविसलाई

प्रत्येक जिल्लाले ६ लाख ६६ हजार रुपैयाँका दरले प्राप्त गर्छन् । हरेक जिल्लामा औसत ४४ वटा सडक निर्माण गर्नुपर्ने छ

सुदर्शन सापकोटा
काठमाडौं भदौ ३१
देशभरका साना सडक निर्माण गर्न छुट्याएको रकम थोरै भएपछि राष्ट्रिय योजना आयोगले उक्त रकम सम्बन्धित जिल्ला विकास समितिलाई दामासाहीले भाग लगाएर पठाउने भएको छ ।
विभिन्न जिल्लाका लागि सडक निर्माण गर्न बढी रकम माग भएको तर बजेटमा विनियोजित रकम एकदमै अपर्याप्त भएकाले विवादमा नपर्न आयोगले यस्तो उपाय रचेको हो ।
'पैसा थोरै छ बनाउनुपर्ने सडक धेरै छन्,' आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नागरिकसँग भने, 'बजेटमा रकम छुट्याइसकिएकाले त्यत्तिकै राख्न पनि नमिल्ने भयो । भाग लगाएर जतिजति पुग्छ जिविसहरुलाई पठाउने भएका छौं ।' सरकारले मुलुकभरका करिब ३ हजार ७ सय साना सडक निर्माण गर्न बजेटमा ५ करोड रुपैयाँ छुट्याएको छ ।

वाणिज्य बैंकमा निक्षेप २१ अर्ब वढ्यो


  • अन्तर बैंक सापटी डेढ महिनादेखि १ प्रतिशत
  • कर्जा-निक्षेप अनुपात वढ्ने भएकाले कर्जा लगानी भएन
  • दुई महिनामा ५ अर्ब लगानी
सुदर्शन सापकोटा
काठमाडौं असोज २
समयमा वजेट आएसँगै वाणिज्य बैंकहरुमा तरलता लगानी योग्य पुँजी वढेको छ । चालु वर्षको दुई महिनामा बैंकहरुको तरलता २१ अर्बले वढेको हो । असार मसान्तमा ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कुल निक्षेप भदौ मसान्तसम्म आइपुग्दा ६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो ।
'बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास वढेको र दसैंले गर्दा विदेशमा काम गर्ने नेपालीले धमाधम पैसा रेमिट्यान्स पठाइरहेकाले निक्षेप वढेको हो,' राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले सोमबार नागरिकसँग भने, 'अहिले बैंकिङ क्षेत्रमा आवश्यकभन्दा अधिक तरलताको अवस्था छ ।'
बैंकरहरु निक्षेप सम्पति सुद्धीकरणको त्रास हटेकाले वढेको बताउँछन् । '१० लाख रुपैयाँभन्दा माथिको निक्षेपको स्रोत देखाउनु पर्ने व्यवस्थामा लचकता अपनाइएकाले बैंकमा पैसा वढेको हो,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सोमबार नागरिकसँग भने, 'अहिले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वाससमेत वढेको छ ।'

तरलता समस्या वजेटमा निर्भर : गभर्नर

काठमाडौं असोज १
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले वैदेशिक सहायता परिचालन भएमा तरलता अभाव हट्ने बताएका छन् । उनले सरकारी पुँजीगत खर्च वढेर वैदेशिक सहायता परिचालन हुँदा भुक्तानी सन्तुलनलाई पनि सकारात्मक प्रभाव पार्ने बताए ।
'तरलता अभाव समाधान र भुक्तानी सन्तुलन सकारात्मक वैदेशिक सहायता परिचालनपछि हुन्छ,' आर्थिक पत्रकार समाज सॆजन को नयाँ कार्यसमितिसँग आइतबार भेट गर्दै उनले भने, 'विकास तथा पूर्वाधारको क्षेत्रमा हुने लगानीबाट आन्तरिक रुपमा आर्थिक कृयाकलाप वढ्ने छ ।' उनले तरलता अभावको समाधान बजेट खर्चमा निर्भर रहनेसमेत बताए ।
गभर्नरले समयमा बजेट खर्च भएपछि यसबाट दात्री निकायको सकारात्मक सोचाइ वढ्नुका साथै सर्वसाधारणमा मनोवैज्ञानिक प्रभावसमेत पार्ने बताए । गभर्नर खतिवडाले बजेट समयमा खर्च हुँदा मर्मत-संभार सानातिना खर्चलगायत वढेर जनताले प्रत्यक्ष राहत पाउने बताए ।

क्यापिटल मर्चेन्टका निक्षेपकर्ताले दसैंअघि पैसा पाउने

साढे २० हजार निक्षेपकर्तामध्ये 
१७ हजारको पुरै पैसा फिर्ता हुने
सुदर्शन सापकोटा
काठमाडौं असोज १
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका साना निक्षेपकर्ताले दसैंअघि पैसा फिर्ता पाउने भएका छन् । गत असार १० गतेदेखि कारोबार बन्द गरेर पैसा फिर्ता गर्न छाडेको कम्पनीले राष्ट्र बैंकको दवाव र निर्देशनपछि निक्षेप फिर्ता गर्ने भएको हो ।

अन्नपूर्ण-सूर्यदर्शन गाभिने

गाभिएपछि चुक्ता पुँजी ७७ करोड
काठमाडौं भदौ २२
अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स आपसमा गाभिने मर्ज हुने भएको छ । १० जिल्ले कार्यक्षेत्र रहेको अन्नपूर्ण र सूर्यदर्शन राष्ट्रिय स्तरको विकास बैंक बन्नका लागि गाभिन लागेका हुन् ।
मर्जरका लागि सम्झौता गरिसकेका यि संस्थाले बिहीबार राष्ट्र बैंकमा सम्झौता पत्र वुझाएका छन् । राष्ट्र बैंकले आवश्यक अध्ययन गरी सैद्धान्तिक सहमति दिएपछि मात्रै दुवै संस्थाले मर्जरको औपचारिक थालनी गर्न पाउँछन् ।
'सैद्धान्तिक सहमति दिने/नदिने बारे आवश्क अध्ययन भइरहको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, 'मर्जर राष्ट्र बैंकको प्रमुख उद्देश्य रहेकाले सकारात्मक रुपमा हेरिएको छ ।' 
 राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि एक महिनाभित्र दुवै संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंकका रुपमा कारोबार सुरु हुने छ ।

बैंकका सेयरधनीको कमाइ कम

सुदर्शन सापकोटा
काठमाडौं भदौ २०
वाणिज्य बैंकहरुको नाफामा खासै सुधार नभएकाले उनीहरुले सेयरधनीलाई कमाइ दिने प्रति सेयर आम्दानी इपिएस ले निरास बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा सूचीकृत २४ वाणिज्य बैंकमध्ये १६ वटाको प्रति सेयर आम्दानी घटेको छ ।
 सबैभन्दा बढी इपिएस सरकारी स्वामित्वको कृषि विकास बैंकको घटेको छ । आर्थिक वर्ष २०६६/६७ मा ६२.३ रुपैयाँ रहेको बैंकको इपिएस गत वर्ष २१.६६ मा झरेको छ । त्यसपछि नेपाल बैंगलादेश एभरेस्ट नबिल प्राइम लुम्बिनी सिटिजन्स् र सनराइज बैंकको घटेको छ । विगतभन्दा आम्दानी घटेपछि सेयरधनीले बैंकबाट पाउने प्रतिफलसमेत घट्छ ।

'प्रति सेयर आम्दानी घटेर सेयरधनीलाई निरास बनाएको छ,' सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष अन्जन पौडेलले मंगलबार नागरिकसँग भने, 'कम्पनीहरुको नाफा वृद्धि नभएका बेला बोनस र हकप्रद सेयर आएर प्रति सेयर आम्दानी घटेको हो ।' उनले बजार बढ्ने संकेत नदेखिएको अवस्थामा प्रति सेयर आम्दानी घट्दा यसले सकारात्मक सन्देश नदिने बताए ।

दुई वर्षदेखि मूल्यवृद्धि स्थिर

काठमाडौं भदौ १९
राष्ट्र बैंकले दुई वर्षदेखि मूल्यवृद्धि स्थिर रहेको तथ्यांक सोमबार सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र कर्मचारी तथा मजदुरको तलब वृद्धि भए पनि अघिल्लोजस्तै गत आवमा पनि मूल्यवृद्धि ९.६ प्रतिशत रहेको तथ्यांक उसले सार्वजनिक गरेको हो ।
मूल्यवृद्धि स्थिर रहनुमा गैरखाद्य र सेवा क्षेत्रको मूल्य उल्लेख्य नबढेको तर्क राष्ट्र बैंकले गरेको छ । अघिल्लो वर्षझैं खाद्य तथा पेय पदार्थ समूहको मूल्य १४.७ प्रतिशतको बढे पनि गैरखाद्य तथा सेवा समूहको मूल्य ५.४ प्रतिशतले मात्र बढेकाले समग्र मूल्यवृद्धि नबढेको राष्ट्र बैंकले जनाएको छ ।
तरकारीको वार्षिक औसत मूल्यवृद्धि सबैभन्दा उच्च छ । यसको वृद्धि ३५ प्रतिशतले बढेको हो । मसला चिनी तथा मिठाइ र फलफूलको मूल्य वृद्धि क्रमसः २३.२ प्रतिशत १९.५ प्रतिशत र १९.४ प्रतिशत छ । अघिल्लो वर्ष यो क्रमशः २७.४ प्रतिशत ४५.३ प्रतिशत र २०.५ प्रतिशत थियो ।

क्यापिटल मर्चेन्ट खारेज नगरी पैसा फिर्ता नहुने

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २०-
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई खारेजी (लिक्विडेसन) मा पठाएपछि मात्र निक्षेपकर्ताले पैसा पाउने भएका छन्। गत असार १० गतेदेखि नै कारोबार बन्द गरेर पैसा फिर्ता गर्न छाडेको कम्पनीले दसैंमा सर्वसाधारणको पैसा फर्काउन सक्ने अवस्थाबारे राष्ट्र बैंकले मूल्यांकन गर्दा सम्पति विक्रीबाट मात्र सर्वसाधारणले पाउने देखिएको हो।
 दसैं नजिकिँदै गर्दा सर्वसाधारणले पैसा फिर्ता गराइदिन दबाब दिन थालेकाले राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले फिर्ता गर्न सक्ने अवस्थाका बारेमा मूल्यांकन गरेको हो। फाइनान्समा कुल ३ अर्ब ४ करोड निक्षेपमध्ये साधारण निक्षेपकर्ताको ९० करोड रुपैयाँ छ। बाँकी ठूला र संस्थापक निक्षेपकर्ताको छ।
'कम्पनीमा सुधारको एउटै संकेत पनि देखिएको छैन,' राष्ट्र बैंकका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'समस्या भएदेखि अहिलेसम्म कर्जा उठाउन सकेको छैन। सम्पति विक्री नगरी फिर्ता हुने अवस्था छैन।' ती अधिकारीका अनुसार, संस्थालाई सञ्चालन गर्नका लागि उच्च व्यवस्थापन र सञ्चालक समितिबाट कुनै पहल भएको छैन। यसले गर्दा निक्षेप भुक्तानी र कर्जा उठाउन समस्या भएको हो।

अन्तर बैंकमा विकास बैंक र फाइनान्स कम्पनीलाई अविश्वास

  • सुरक्षण लिएर मात्र सापटी
  • सापटी दर डेढ प्रतिशतसम्म

काठमाडौं भदौ १४
अन्तर बैंकमा लगाइएको रकममा जोखिम हुन सक्ने भन्दै बैंकहरुले सुरक्षण धितो लिएर मात्रै सापटी दिन थालेका छन् । वाणिज्य बैंकहरुबीच बिना धितो कारोबार भए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुमा धितो लिएर मात्रै पैसा दिने काम भइरहेको छ ।

गत वर्षको दशैं लगत्तै तरलता अभाव वढेर केही संस्थालाई दिइएको अन्तर बंैक सापटी डुवेपछि धितो लिएर मात्रै सापटी दिन थालिएको हो । राष्ट्र बैंकले पनि केही समयअघि धितोमा अन्तर बैंक कारोबार गर्न सकिने नीति लिएर बैंक तथा वित्तीय संस्थालाई सजिलो बनाइ दिएको छ ।
तरलता तथा संस्थागन सुशासनको कमीले नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सय इन्टिच्युट पिपल्स फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले दिइएको अन्तर बैंक सापटी डुवेको छ । यसपछि बैंक तथा वित्तीय संस्थाले सुरक्षण लिएर मात्र सापटी दिन थालेका हुन् ।