बैंक किनबेचमा राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं, असोज १०- 
कानुनी व्यवस्था नहुन्जेल एकले अर्को बैंक तथा वित्तीय संस्था खरिद गर्न (एक्विजिसन) चाहे राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ।एक्विजिसनमा जान चाहने संस्थाका लागि स्पष्ट कानुनी व्यवस्था नभए पनि बैंकले मर्जरकै रुपमा संस्था खरिद गर्ने नीति लिएको छ। 
 बैंक तथा वित्तीय संस्थाको संशोधनसहित संसदमा पुगेको विधेयकमा एक्विजिसनको कानुनी व्यवस्था छ। 'यो कानुन पारित नहुन्जेलका लागि राष्ट्र बैंकले एक्विजिसनमा जान चाहनेलाई मर्जरकै नीतिबाट सहयोग गर्नेछ,' राष्ट्र बैंक प्रवक्ता भाष्कर ज्ञवालीले सोमबार नागरिकसँग भने।
एक्विजिसनमा जान चाहने संस्थाले औपचारिक प्रस्ताव राष्ट्र बैंकमा लगेका छैनन्। 'कुनै संस्था बिक्री र खरिद गर्न तयार भएको सुनिएको छैन,' ज्ञवालीले भने, 'कोही इच्छुक भए मर्जरको प्रक्रियामा एक्विजिसन अगाडि बढ्छ।'

केही बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिसनका विषयमा छलफल थाले पनि सार्वजनिक गरेका छैनन्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबीच केहीले एक्विजिसनका विषयमा छलफल गरे पनि कानुनी व्यवस्था नभएको गुनासो हुने गरेको छ। 'एक्विजिसनका लागि संस्थापक सेयर बिक्री गर्न नपाउने व्यवस्था बाधक छ,' बैंकर्स संघका अध्यक्ष अशोक राणाले भने, 'संस्थापक सेयर बिक्री गर्न सहज अवस्था नभएकाले एक संस्था अर्को खरिद गर्ने वातावरण नबनेको हो।'
संस्थापकले पाँच वर्षसम्म उसको सेयर बिक्री गर्न सक्दैनन्। सञ्चालक, कम्पनी सचिव, प्रमुख कार्यकारी अधिकृतले पद छोडेको एक वर्ष नभई सेयर बिक्री गर्न सक्दैनन्। धितो राख्न समेत नपाउने व्यवस्था छ। 'कानुनी व्यवस्थाको अभावमा संस्थापक सेयर बजार मूल्यभन्दा घटीमा बेच्न सकिँदैन,' राणाले भने।
बैंकरले मर्जरकै रुपमा साना संस्था ठूलोमा विलय हुने गरी कुराकानी सुरु गरेका छन्। 'केही संस्थाले मर्जरको हिसाबमा एक्विजिसन प्रक्रिया अगाडि बढाउन खोजेको देखिन्छ,' विकास बैंक संघका अध्यक्ष मनोज गोयलले भने, 'अहिलेसम्म रुप लिइसकेको छैन।'
एक्विजिसनमा जान स्पस्ट व्यवस्था नभए पनि अवरोध नभएको बैंकका संस्थापकले बताएका छन्। 'होल्डिङ कम्पनीमार्फत अर्को कम्पनीको पूरै सेयर किन्न सकिन्छ,' लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले भने, 'यसको जानकारी राष्ट्र बैंकलाई दिएपछि उसले बाटो खुला गरिदिने विश्वास दिलाएको छ।'
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थामा एकाघर परिवारको १५ प्रतिशतभन्दा बढी सेयर रहन नपाउने व्यवस्था छ। अर्को संस्थामा १ प्रतिशतभन्दा बढी सेयर उही व्यत्तिको राख्न पाइँदैन।
'यो प्रावधानलाई राष्ट्र बैंकले सहज बनाउने छ,' खेतानले भने, 'साधारण सभा सञ्चालक समितिबाट पारित गरेर एक्विजिसनमा जान चाहेको जानकारी राष्ट्र बैंकलाई दिएपछि अहिलेको संस्थापक सेयरको प्रावधानले अवरोध गर्दैन।'
अरु बैंक तथा वित्तीय संस्था लक्ष्मीमा गाभ्न टुबोर्ग र कोककोलाको सेयर बिक्री गरी खेतान ३ अर्ब ५० करोड नगद लिएर बसेका छन्। 'नगद जम्मा पारेको लक्ष्मी बैंकलाई ठूलो बनाउनै हो,' खेतानले भने।
लक्ष्मीले केही बैंक तथा वित्तीय संस्थालाई मर्जर वा एक्विजिसनबाट एउटै बनाउन छलफल गरिरहेको छ। ती संस्थाका नाम खेतान बताउन चाहँदैनन्। 'केही संस्थाका अध्यक्ष, सञ्चालक, उच्चतम व्यवस्थापनका व्यक्ति पद जोगाउन मर्जर र एक्विजिसन सजिलै हुन दिँदैनन्,' उनले भने। सात/आठ बैंक अरु संस्था खरिद गर्न तयार रहेको जानकारी खेतानले दिए।
मर्जर दुई संस्था आपसमा गाभिएर नयाँ संस्था बन्ने प्रक्रिया हो। यसमा पहिलो र दोस्रो गाभिएर नयाँ संस्था बन्छ। मर्जरका लागि आवश्यक एक्जिजिसनमा एक संस्था अर्कोले खरिद गर्छ। एक संस्थाको अस्तित्व हराउँछ।

No comments:

Post a Comment

thanks for comment