दुई वर्षदेखि मूल्यवृद्धि स्थिर

काठमाडौं भदौ १९
राष्ट्र बैंकले दुई वर्षदेखि मूल्यवृद्धि स्थिर रहेको तथ्यांक सोमबार सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र कर्मचारी तथा मजदुरको तलब वृद्धि भए पनि अघिल्लोजस्तै गत आवमा पनि मूल्यवृद्धि ९.६ प्रतिशत रहेको तथ्यांक उसले सार्वजनिक गरेको हो ।
मूल्यवृद्धि स्थिर रहनुमा गैरखाद्य र सेवा क्षेत्रको मूल्य उल्लेख्य नबढेको तर्क राष्ट्र बैंकले गरेको छ । अघिल्लो वर्षझैं खाद्य तथा पेय पदार्थ समूहको मूल्य १४.७ प्रतिशतको बढे पनि गैरखाद्य तथा सेवा समूहको मूल्य ५.४ प्रतिशतले मात्र बढेकाले समग्र मूल्यवृद्धि नबढेको राष्ट्र बैंकले जनाएको छ ।
तरकारीको वार्षिक औसत मूल्यवृद्धि सबैभन्दा उच्च छ । यसको वृद्धि ३५ प्रतिशतले बढेको हो । मसला चिनी तथा मिठाइ र फलफूलको मूल्य वृद्धि क्रमसः २३.२ प्रतिशत १९.५ प्रतिशत र १९.४ प्रतिशत छ । अघिल्लो वर्ष यो क्रमशः २७.४ प्रतिशत ४५.३ प्रतिशत र २०.५ प्रतिशत थियो ।
अर्थतन्त्र सुधारतर्फ
दुई वर्षदेखि समस्या देखिएको अर्थतन्त्रमा जेठबाट सुधारको संकेत देखिएको छ । दुई वर्षदेखि निरन्तर शोधनान्तर घाटामा रहेको देश असार मसान्तबाट २ अर्ब ९३ करोड रुपैयाँ बचतमा आएको छ ।

९ अर्ब बचतमा राख्ने मौदि्रक नीतिको उद्देश्य भने पूरा हुन सकेन । जेठबाट सुधार देखिएको शोधनान्तर त्यो महिना २४ करोड ९१ लाख रुपैयाँले बचतमा थियो । अघिल्लो वर्ष घाटा १४ अर्ब ७९ करोड रुपैयाँ थियो । चालु वर्ष ५ अर्ब बचतमा राख्ने लक्ष्य लिइएको छ ।

 
 
 निर्यात आयात व्यापार
निर्यात व्यापारमा सुधार आएको संकेत राष्ट्र बैंकले गरेको छ । आयातको वृद्धिदरमा निकै कमी आएकाले विगत १० वर्षमा पहिलोपटक निर्यातको वृद्धिदरले आयातको वृद्धिदरलाई उछिनेको छ । यसले व्यापार घाटाको वृद्धिदरमा उल्लेख्य कमी आएको छ ।
१०.२ प्रतिशतले घटेको निर्यात ६.१ प्रतिशतले वृद्धि भएको छ । निर्यात बढेर ६४ अर्ब ५६ करोड पुगेको हो । अघिल्लो वर्ष निर्यात ६० अर्ब ८२ करोड भएको थियो ।
वैदेशिक लगानी
देशमा लगानीको वातावरणमा क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ । जसले गर्दा वैदेशिक लगानीको प्रतिबद्धता बढ्दै गएकॊ छ । उद्योग विभागले १० अर्ब ५ करोड वैदेशिक लगानीको प्रतिबद्धता भएका कुल २०९ वटा विदेशी संयुक्त लगानीका कम्पनीहरु स्थापना गर्न स्वीकृति दिइसकेको छ ।
गार्हस्थ उत्पादन
देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ३.४७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष यो ३.९७ प्रतिशत थियो । उत्पादकको मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.४८ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष यो ४.५५ प्रतिशत थियो ।
वाणिज्य बैंकको निक्षेप र कर्जा
वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेप र प्रवाह गरेको कर्जाबीच असन्तुलन देखिएको छ । निक्षेप ५९ अर्ब ६२ करोडले बढेको अवस्थामा बैंकहरुले कर्जा भने ७९ अर्ब ८० करोडले विस्तार गरेका छन् । बैंकहरुको पुँजी बढेकाले पनि कर्जाको वृद्धि उच्च देखिएको हो ।

No comments:

Post a Comment

thanks for comment