पञ्जाव नेसनल बैंकसँग साझेदारी गर्ने किस्टको तयारी

सुदर्शन सापकोटा
काठमाडौं, असोज १०-
किस्ट बैंकले ठूलो कारोबार गर्न भारतको पञ्जाब नेसनल बैंक (पिएनबी) लाई ५१ प्रतिशत सेयर दिएर साझेदार बनाउन तयारी सुरु गरेको छ।पिएनबी अहिले एभरेस्ट बैंकसँग २० प्रतिशत साझेदारी लिएर काम गरिरहेको छ। यसले नेपालमा आफ्नो कारोबार बढाउन चाहेको छ। 'साझेदारीका लागि किस्ट र पिएनबीले एक महिनादेखि राष्ट्र बैंकसँग परामर्श गरिरहेका छन्,' बैंक स्रोतले भन्यो। 
किस्टसँगको साझेदारी दुइटा विकल्पमा गर्न सकिने गरी छलफल भइरहेको छ। अहिलेकै पुँजी अनुसार ५१ प्रतिशत दिने वा ५१ प्रतिशत बराबरको थप पुँजी राखेर बैंकलाई ठूलो बनाउने गरी छलफल चलेको हो। निष्कर्ष आइसकेको छैन। जुन विकल्पमा गए पनि किस्टको व्यावसायिक ख्याति भने बढ्ने छ।
किस्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीले मर्जरका लागि धेरै बैंकहरुसँग छलफल भइरहेको बताए। उनले यसैक्रममा पिएनबीसँग पनि छलफल भइरहेको तर, टुंगो भने नलागेको जानकारी दिए।
राष्ट्र बैंकले साझेदारीभन्दा मर्जरका लागि सुझाव दिइरहेकाले दुवै कम्पनीबीच औपचारिक सम्झौता हुन सकेको छैन। राष्ट्र बैंक स्रोतका अनुसार एउटै कम्पनीलाई दुई बैंकसँग साझेदारी गर्न कानुनी अड्चन भएकाले मर्जरमा जान सुझाव दिइएको हो।
राष्ट्र बैंकले पिएनबीलाई प्रत्यक्ष रणनीतिक साझेदारीका लागि दुवै संस्थामा रहन नमिल्ने भन्दै सेयर खरिद गरेर मर्जरमा जान सहयोग गर्ने बचन दिएको छ। राष्ट्र बैंकले पिएनबीका प्रतिनिधिसँगै एभरेस्ट र किस्ट बैंकका अधिकारीहरुसँग गरेको अनौपचारिक छलफलमा यथासक्य चाँडो मर्जर गर्ने औपचारिक प्रतिबद्धता गरेको अवस्थामा किस्टको केही सेयर खरिदका लागि सहयोग गर्ने आश्वासन दिएको हो।

'पिएनबीले किस्टको केही सेयर किनेर एभरेस्ट बैंकसँग मर्ज गरेर जाने प्रत्याभूति भए सहयोग गर्न सकिन्छ भनेका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'रणनीति साझेदारीका लागि नमिल्ने भएकाले मर्जर नै विकल्प हो। दुवै संस्था सकारात्मक पनि छन्।' मर्जर राष्ट्र बैंकको नीति भएकाले यसमा सम्भव भएसम्म सहयोग गरिने उनले जानकारी दिए।
रणनीतिक साझेदारीका लागि सफल नभएको अवस्थामा एभरेस्ट बैंकसँग मर्जरमा जान पनि बाटो खुला राखिएको छ। किस्ट बैंकले आन्तरिक रुपमा गराएको अध्ययनले पनि साझेदारी सम्भव नभए मर्जरमा जान सुझाव दिएको छ। केही समयअघि भारतको एक्सिस बैंकलाई रणनीति साझेदारका रुपमा भिœयाउन पनि किस्टले पहल थालेको थियो।
तर पछिल्लो समय भने पिएनबीसँग साझेदारीका लागि किस्टनजिक पुगेको हो। किस्ट बैंकले साझेदारी वा मर्जरका लागि अन्तर्राष्ट्रिय अडिट कमिटीसँग लेखा परीक्षण गराउने तयारीसमेत थालिसकेको छ।
पिएनबीले मर्जर तथा साझेदारीका लागि एभरेस्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रसिंह भन्डारीलाई विशेषज्ञ नियुक्त गरिसकेको छ। मर्जर तथा साझेदारीका लागि 'आक्रमक' रुपमा आएको एभरेस्टले पछिल्लो समयमा किस्ट बैंक अधिकांश सर्त मान्ने तयार भएपछि सकारात्मक बनेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।
एभरेस्ट बैंक नेपालको १० औं र किस्ट २६ औं वाणिज्य बैंक हो। किस्ट बैंकलाई राष्ट्र बैंकले फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति गरेको थियो। २ अर्ब चुक्ता पुँजी रहेको किस्टको देशभर ५१ शाखा छन्। देशभरको सञ्जालका लागि पनि पिएनबी किस्टप्रति आकर्षित भएको छ।
पिएनबीले सुरुदेखि नै एभरेस्ट बैंकसँग साझेदारी गर्दै आएको हो। पिएनबी ३ खर्ब ५ करोड कुल पुँजी भएको बैंक हो। भारत सरकारको लगानी रहेको पिएनबी बैंकले खासगरी कर्पोरेट, व्यक्तिगत, कृषि, औद्योगिक, व्यापार तथा अन्तर्राष्ट्रिय बैंकिङमा कर्जा तथा लगानी गर्छ।
एभरेस्ट बैंकले मर्जरका लागि कुमारी, नेपाल इन्भेस्टमेन्ट र माछापुच्छ्रेसँग कुराकानी गरेको थियो। कुमारी र नेपाल इन्भेस्टमेन्ट बैंकसँगको छलफल भने विनानिष्कर्ष टुंगिएको थियो।

No comments:

Post a Comment

thanks for comment