अन्तर बैंकमा विकास बैंक र फाइनान्स कम्पनीलाई अविश्वास

  • सुरक्षण लिएर मात्र सापटी
  • सापटी दर डेढ प्रतिशतसम्म

काठमाडौं भदौ १४
अन्तर बैंकमा लगाइएको रकममा जोखिम हुन सक्ने भन्दै बैंकहरुले सुरक्षण धितो लिएर मात्रै सापटी दिन थालेका छन् । वाणिज्य बैंकहरुबीच बिना धितो कारोबार भए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुमा धितो लिएर मात्रै पैसा दिने काम भइरहेको छ ।

गत वर्षको दशैं लगत्तै तरलता अभाव वढेर केही संस्थालाई दिइएको अन्तर बंैक सापटी डुवेपछि धितो लिएर मात्रै सापटी दिन थालिएको हो । राष्ट्र बैंकले पनि केही समयअघि धितोमा अन्तर बैंक कारोबार गर्न सकिने नीति लिएर बैंक तथा वित्तीय संस्थालाई सजिलो बनाइ दिएको छ ।
तरलता तथा संस्थागन सुशासनको कमीले नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सय इन्टिच्युट पिपल्स फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई विभिन्न बैंक तथा वित्तीय संस्थाले दिइएको अन्तर बैंक सापटी डुवेको छ । यसपछि बैंक तथा वित्तीय संस्थाले सुरक्षण लिएर मात्र सापटी दिन थालेका हुन् ।
'वाणिज्य बैंकहरुमा सापटी दिनका लागि समस्या छैन,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'विकास बैंक र फाइनान्स कम्पनीहरुलाई सापटी दिँदा भने धितो लिने गरिएको छ ।' बैंक तथा वित्तीय संस्थाहरुले टे्रजरी विल्स डिभेन्चर वोन्डलगायतका सुरक्षण लिएर अन्तर बैंक सापटी दिएका हुन् ।
वाणिज्य बैंकहरुले विश्वास लागेका विकास बैंक र फाइनान्स कम्पनीलाई एक सय रुपैयाँ बराबरको सुरक्षण लिएर १ सय २० रुपैयाँसम्म दिइरहेका छन् । तर आफूलाई शंका लागेका संस्थालाई भने एक सय रुपैयाँको धितोमा ८० देखि ९० रुपैयाँसम्म दिइरहेका छन् ।
राष्ट्र बैंकले धितो लिएर सापटी दिन खुला गरिदिए पनि त्यति ठूलो कारोबार धितोबाट हुने गरेको थिएन । तर दसैं नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थामा यसको प्रयोग वढ्न थालेको छ । 'विगतमा झैं दसैंपछि तरलता अभाव वढ्ने प्रवृत्तिले गर्दा धितोको कारोबार पनि वढेको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'दसैंमा बैंक तथा वित्तीय संस्थाबाट वाहिरिएको पैसा पुनः फर्किदा त्यो वाणिज्य बैंकमा वढी आउने सम्भावना भएकाले पनि धितो खोजिएको हो ।'
उनका अनुसार दसैं मान्नका लागि बैंक तथा वित्तीय संस्थाबाट झिकिएको पैसा तिहारपछि वाणिज्य बैंकमा फर्किन्छ । खासगरी विगतमा विकास बैंक र फाइनान्स कम्पनीमा समस्या देखिएकाले सर्वसाधारणको पैसा वाणिज्य बैंकमा आउने देखिएको उनले दावी गरे ।
'राष्ट्र बैंकले नै धितो लिएर कारोबार गर्न बाटो खुला गरिदिएकाले मौखिक प्रतिवद्धतामा पैसा दिन छाडिएको हो,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'यसबाट पैसा दिने र लिने दुवैलाई समस्या हुँदैन ।' ६ वटा वित्तीय संस्थामा समस्या आउनुअघि बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार मौखिक प्रतिवद्धतामा चल्थ्यो ।
अन्तर बैंक सापटीमा विकास बैंक र फाइनान्स कम्पनीलाई अविश्वास गरिए पनि यसको व्याज दर भने महँगिएको छैन । अहिले अन्तर बैंक सापटीको दर एक देखि डेढ प्रतिशतको हाराहारीमा छ । दसैंका लागि निक्षेप झिकिन थालेपछि भने व्याज महँगिने बैंकरहरु बताउँछन् ।



No comments:

Post a Comment

thanks for comment