राष्ट्र बैंकले दसैंका लागि ३० अर्बका नोट बजारमा पठाउने

माग अनुरुप वितरण हुन्छ : राष्ट्र बैंक 
काठमाडौं, असोज ५ - 
राष्ट्र बैंकले दशैका लागि सुकिला र नयाँ सहित ३० अर्ब रुपैयाँको नोट बजारमा पठाउने भएको छ। यसमा अधिकांश नयाँ र केही सुकिला नोट रहने छन्।  गतवर्ष ७ अर्ब सुकिला सहित २२ अर्ब बराबरका नोट दशैंमा बजारमा पठाएको थियो । 
 'यो वर्ष ३० प्रतिशतले माग बढ्ने अनुमान गरी ८ अर्ब बढी पठाउने व्यवस्था मिलाएको छ,' राष्ट्र बैंक प्रवक्ता भास्कर ज्ञवालीले बुधबार नागरिकसँग भने, 'माग अनुरुप नोट दिने व्यवस्था हुनेछ।' दशैंसहित तिहार र छट पर्वलाई लक्षित गर्दै नयाँ नोटको व्यवस्था गरिएको हो। सरकारको राहत कार्यक्रममा समेत पर्वअघि नयाँ नोट उपलव्ध गराउने व्यवस्था समेटेको छ।

जिल्लास्तरमा आवश्यक पर्ने नोट राष्ट्र बैंकले पठाइसकेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयमा रहेको नोट कोषमार्फत जिस्लास्तरमा नोट वितरण हुनेछ। 'सर्वसाधारणले आफ्नो खाता भएका बैंक र राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट लिन सक्ने छन्,' ज्ञवालीले भने।

बैंक तथा बित्तीय संस्था बाहेक राष्ट्र बैंकको काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, विरगंज पोखरा, भैरहवा, धनगढी, नेपालगंजबाट पनि सर्वसाधारणले नोट सटही गर्न सक्ने छन्। विगतमा बैंक तथा वित्तीय संस्थामा नयाँ नोट पर्याप्त नभएपछि राष्ट्र बैंकका कार्यालयमा नै सटहीका लागि सर्वसाधारण लाममा बस्ने गरेका थिए। यसपटक राष्ट्र बैंकमा मात्रै नोट सटहीको लाम नलाग्ने अनुमान छ।
राष्ट्र बैंकको थापाथली स्थित कार्यालयमा सर्वसाधारणलाई नोट सटही सहज बनाउन तीन काउन्टर राखिएको छ। कुपन लिएर सर्वसाधारणले काउन्टरबाट सटही गर्न सक्नेछन्। यी काउन्टर सोमबारदेखि पूर्ण रुपमा सञ्चालनमा आइसकेका छन्। नोट सटहीमा सर्वसाधारणको भिड बढे अझै काउन्टर थपिने ज्ञवालीले बताए।
बजारमा अहिले १ खर्ब ६० अर्ब नोट छन्। यी मध्येकै अधिकांश पुराना नोट साटिएर बजारमा नयाँ जाने अनुमान छ। राष्ट्र बैंकले समयमा नै व्यवस्थापन गर्न नसक्दा दुई वर्षअघि देशभर नै नोट अभाव भएको थियो। गतवर्ष पनि मागे जति नोट सर्वसाधारणले पाएनन्। बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरणमा सहयोग नगर्ने र सर्वसाधारणले अन्तिम समयमा माग गर्ने अवस्थाले नोट अभाव देखिएको हो। यस्तो प्रवृत्ति नदेखाउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि राष्ट्र बैंकले सर्वसाधारणसँग अनुरोध गरेको छ। सुकिलो नोट प्रयोग गर्ने प्रवृत्ति विकास गरि राष्ट्रको खर्च बचाउनुपर्ने ज्ञवालीले आग्रह गरे। 'जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ' उनले भने-'यसले देशको खर्च बढाउँछ।'
पर्वमा पानीले नोट नभिजाउने, रंग नलगाउने र नपट्याई जतन गर्न उनले अनुरोध गरे। नोट नपट्याए मात्र ८ महिना आयू बढ्ने अनुमान छ।
नोटको वण्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न एक मात्र लगाउने व्यवस्था गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ। 'चाडबाड पछि बैंकमा नोट फर्कदा सफा भए देशलाई नै फाइदा हुनेछ' ज्ञवालीले भने। हजार र पाँच सयको एक नोट छपाईमा दुई रुपैयाँ भन्दा बढि खर्च हुन्छ।
दशैंले बैंकिङ क्षेत्रबाट सर्वसाधारणका हातमा रकम बढाउने छ। यसले बैंकिङ क्षेत्रमा तरलता कम हुनेछ। तर, केही महिनामा बैंकमा फिर्ता हुने भएकाले तरलता अभाव नरहने राष्ट्र बैंकको अनुमान छ। सरकारी ढुकुटिबाट तलब, भत्ताका लागि धेरै रकम बजारमा जाने भएकोले तरलताको अवस्था पर्वपछि अझै सुधार हुने ज्ञवालीले बताए। अहिले बैंकहरुसँग २१ अर्ब पैसा छ। केही दिनअघि यस्तो अधिक तरलता ३२ अर्ब रुपैयाँसम्म थियो।

No comments:

Post a Comment

thanks for comment