तरलता समस्या वजेटमा निर्भर : गभर्नर

काठमाडौं असोज १
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले वैदेशिक सहायता परिचालन भएमा तरलता अभाव हट्ने बताएका छन् । उनले सरकारी पुँजीगत खर्च वढेर वैदेशिक सहायता परिचालन हुँदा भुक्तानी सन्तुलनलाई पनि सकारात्मक प्रभाव पार्ने बताए ।
'तरलता अभाव समाधान र भुक्तानी सन्तुलन सकारात्मक वैदेशिक सहायता परिचालनपछि हुन्छ,' आर्थिक पत्रकार समाज सॆजन को नयाँ कार्यसमितिसँग आइतबार भेट गर्दै उनले भने, 'विकास तथा पूर्वाधारको क्षेत्रमा हुने लगानीबाट आन्तरिक रुपमा आर्थिक कृयाकलाप वढ्ने छ ।' उनले तरलता अभावको समाधान बजेट खर्चमा निर्भर रहनेसमेत बताए ।
गभर्नरले समयमा बजेट खर्च भएपछि यसबाट दात्री निकायको सकारात्मक सोचाइ वढ्नुका साथै सर्वसाधारणमा मनोवैज्ञानिक प्रभावसमेत पार्ने बताए । गभर्नर खतिवडाले बजेट समयमा खर्च हुँदा मर्मत-संभार सानातिना खर्चलगायत वढेर जनताले प्रत्यक्ष राहत पाउने बताए ।
गभर्नरले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न खासै समस्या नभएको भन्दै सेवा क्षेत्रको विस्तार र विकास गर्न सके दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने आधार तयार हुने बताए । उनले ४ प्रतिशतभन्दा अलिकति माथि वृद्धि दर हासिल गर्न कृषिमा लगानी गरे पुग्ने बताए । उनले ऊर्जा र श्रम मात्र समस्या नभएको भन्दै सेवा क्षेत्रमा केन्द्रित हुन नसक्दा आर्थिक विकासमा असर परेको बताए । उनले लगानी प्रवद्र्धनका लागि लगानी वोर्ड गठन गर्नु पर्ने बताए । ऊर्जा समस्या करिव साढ चार वर्षमा समाधान हुने गरी कारवाही अघि वढेको भन्दै श्रम समस्या हटाउन पनि दुवै पक्षले मिलन विन्दु खोज्नु पर्ने बताए । श्रम र ऊर्जा समस्या समाधानसँगै नयाँ लगानी तयार पार्नु पर्ने उनले बताए ।
उनले कुनै वस्तु उत्पादन गर्न समय लाग्ने भन्दै सेवा क्षेत्रमा केन्द्रित हुनु पर्ने बताए । सिमेन्ट छडलगायत जुनसुकै उत्पादनमूलक उद्योगमा लगानी गर्दा उत्पादनका लागि समय लाग्ने जानकारी दिए । 'वस्तु निर्यातमा समस्या लाग्छ,' गभर्नर खतिवडाले भने, 'सेवा निर्यात गर्न समय एकदमै कम लाग्छ ।' गभर्नरले सेवा क्षेत्रमा पर्यटनमा मात्रै लक्षित हुन नहुने भन्दै अन्य क्षेत्रमा पनि सम्भावना रहेको बताए । उनले पर्यटन वाहेक शिक्षा स्वास्थ्य यातायात बैंक तथा बिमा क्षेत्रमा लागनी वढाउनु पर्ने बताए ।
अर्थतन्त्रको वृद्धि तथा अवस्था राष्ट्रिय खाता राख्ने परिपाटीमा सुधार नगरेसम्म थाहा नहुने बताए । उनले अहिले ६/७ महिनाको खाता हेरेर एक वर्षको अनुमान गर्ने गरिएको भन्दै यसले गर्दा वास्तविक लक्ष्य पुरा नभएको बताए । 'खाता राख्ने परिपाटीमा धेरै सुधार गर्नु पर्छ । धेरैजसो विषयलाई हामीले समेट्न सकेको छैन,' उनले भने, 'कम्तिमा पनि ९ महिनाको तथ्यांक नभइ वास्तविक प्रक्षेपण गर्न सकिन्न ।'
गभर्नरले यथार्थ रिपोर्टिङभन्दा वढीको कारोबार हुने भएकाले वास्तविक तथ्यांक पाउन मुस्किल हुने दावी गरे । 'जति कारोबार हुन्छ त्यही अनुसार रिपोर्टिङ हुँदा समस्या हुन्न,' उनले भने, 'यसले गर्दा समस्या भएको छ ।'
गभर्नरले नक्कली प्रज्ञापन पत्र बनाएर भारु अपचलन भएको पुस्टी भए कारवाही गरिने बताएका छन् । 'को को दोशी छन् भनेर अनुसन्धान भइरहेको छ,' उनले भने, 'दोशी पाइए कारवाही हुन्छ ।'


No comments:

Post a Comment

thanks for comment