कुमार लम्साल भन्छन् सम्पत्ति व्यवस्थापन कम्पनी आवश्यक

वाणिज्य बैंकका रुपमा कहिलेबाट कारोबार थाल्नु हुन्छ ?
कुमार लम्साल
प्रमुख कार्यकारी अधिकृत
सानिमा विकास बैंक
मंसिरभित्र सबै प्रकि्रया सकेर राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिइसक्छौं । कम्पनी रजिस्ट्रारमा केही काम पुरा गर्नु पर्ने छ । राष्ट्र बैंकले स्वीकृति दिएको भोलिपल्टैबाट वाणिज्य बैंकका रुपमा कारोबार गर्ने आन्तरिक तयारी भने पुरा भइसकेको छ । वाणिज्य बैंकका लागि आफ्नै नयाँ भवनबाट कारोबार सुरु गछौ ।
आन्तरिक तयारी कस्तो हुँदैछ ?
बैंकिङ सेवा उद्योग भएकाले दक्ष कर्मचारी आवश्यक पर्छ । हामीसँग अपुग भएका कर्मचारी अहिले धमाधम लिन थालेका छौं । प्रविधिमा हामीलाई समस्या छैन । वाणिज्य बैंकहरुले चलाउने नै सफ्टवेयर पुमरी-४ हामीले चलाइरहेकाले यसमा समस्या छैन । वाणिज्य बैंकका रुपमा कसरी जाने भनेर संगठनको संरचनात्मक ढाँचा तयार पारिसकेका छौं । ४० हजार वर्गफिटको नयाँ भवन तयार छ । हामी पूर्ण तयारी अवस्थामा छौं ।

सस्तो घर बनाउनेलाई राष्ट्र बैंकको राहत

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ११
डेढ वर्षदेखि ओरालो लाग्दै आएको हाउजिङ र अर्पाटमेन्ट व्यवसायलाई उकास्न राष्ट्र बैंकले नयाँ नीति ल्याउने संकेत गरेकोछ । बैंकले सस्तो मूल्यका घर बनाउने व्यवसायीलाई प्रोत्साहन दिने नीति ल्याउने संकेत गरेको हो।

राष्ट्र बैंकले व्यवसायीबाट माग भए सस्तो मूल्यका हाउजिङ र अपार्टमेन्टलाई सहयोग हुने नीति लिन सक्ने सम्बद्ध अधिकारीले जानकारी दिए। मध्यम वर्गीय परिवार र पेसाकर्मीले किन्न सक्ने गरी बन्ने हाउजिङ र अपार्टमेन्टलाई प्रोत्साहन गर्ने पक्षमा राष्ट्र बैंक लागेको छ।
'सर्वसाधारणलाई लक्ष्य गरी सस्तो मूल्यका घर र अपार्टमेन्ट उपलब्ध गराउने व्यवसायीलाई सहजीकरण गर्न तयार छौं,' राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले शनिबार नागरिकसँग भने।

आइएफसीले आरएमडिसीको सेयर पि्रमियममा किन्यो

मंसिर ८
विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी ले रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर आरएमडिसी को सेयर पि्रमियममा किनेको छ । आइएफसीले आरएमडिसीको चुक्ता पुँजी ३२ करोडको ८.२५ प्रतिशत सेयर पि्रमियमा किनेको हो ।

एक सय रुपैयाँ दरको सेयर आइएफसीले १ सय ८० का दरले किनेको हो । आइएफसीको ३ करोडको सेयर थपिएपछि आरएमडिसीको चुक्ता पुँजी ३५ करोड रुपैयाँ पुगेको छ । आइएफसीले कुल ५ करोड ७४ लाख रुपैयाँ खर्चिएर सेयर किनेकेा हो ।
सेयर स्वामित्व दिने सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा वोल्दै आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत शंकरमान श्रेष्ठले आइएफसीसँगै अन्य बैंकहरुलाई पनि सेयर दिएपछि सर्वसाधारणमा जाने जानकारी दिए ।
आरएमडिसीले अहिले संस्थापक सेयर सदस्य नभएका वाणिज्य बैंकका लागि सेयर आवेदन मागेको छ । '६ वटा बैंकले सेयर खरीदका लागि चासो देखाएका छन्,' उनले भने, 'प्राप्त प्रस्तावमध्ये जसले वढिमा किन्नका लागि आवेदन दिएको छ उसलाई विक्री गर्ने छौं ।'
उनले ४ करोड ४० लाख बरारबको सेयर बैंकहरुलाइै छुट्याइएको जानकारी दिए । आरएमडिसीले सर्वसाधारणका लागि १५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने तयारी गरिरहेको छ । यसका लागि उसले एस क्यापिटलाई सेयर निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 'सवै प्रकृया सकेर चालु वर्षभित्र सर्वसाधारणमा गइसक्छौं,' श्रेष्ठले भने । उनले सर्वसाधारणका लागि पि्रमियममा प्रति किक्ता १ सय ८० का दरले सेयर निस्कासन गरिने जानकारी दिए ।

१८ बैंकको व्याज आम्दानी घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १०
लामो समयदेखि घरजग्गा किनबेचमा आएको मन्दीले बैंकले दिएको कर्जाको ब्याज र किस्ता उठ्न कम भएको छ। असोज मसान्तसम्म मात्रै १८ वटा वाणिज्य बैंकको व्याज आम्दानी अघिल्लो वर्षको भन्दा घटेको छ।
 असोजसम्म कुल ५ खर्ब २३ अर्ब रुयैयाँ ऋण लगानी गरेका बैंकले चालु वर्षको असोजसम्म खुद व्याज आम्दानी ६ अर्ब ३ करोड रुपैयाँ गरेका छन्। गत वर्ष यस्तो आम्दानी ६ अर्ब ९६ करोड रुपैयाँ थियो। अघिल्लो वर्षभन्दा लगानी ४५ अर्ब रुपैयाँले वढ्दासमेत बैंकको व्याज घटेको छ।
'रियलस्टेटमा गएको कर्जाको व्याज आइरहेको छैन,' नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले भने, 'कारोबार नभएकाले पैसा फिर्ता नआएको हो।'

निक्षेप र कर्जाको ब्याज घट्न थाल्यो


सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ९ 
लगानी गर्ने पैसा प्रशस्त भए पनि असल ऋणी नपाएपछि कतिपय बैंकले कर्जा र निक्षेप (लिने र दिने ) दुवैको ब्याज दर घटाएका छन्। बैंकहरुलाई अहिले कर्जाको चर्को ब्याजलाई कम गर्न दबाब परिरहेको छ।बैंकरहरुका अनुसार मुद्दतिको ब्याजमा शून्य दशमलव ५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशत बिन्दुसम्म घटाइएको छ। अर्कोतिर विभिन्न कर्जामा लिएको कर्जामा पनि एक प्रतिशतसम्म ब्याज कम गरिएको छ।
मुद्दतिको ब्याजमा  
१ .५ प्रतिशत बिन्दुसम्म 
कर्जामा  एक प्रतिशतसम्म 
ब्याज कम गरिएको छ।
'अहिले बैंकहरुमा प्रशस्त पैसा छ, तर लगानी गर्ने उपयुक्त ठाउँ छैन, यस्तोमा ब्याज नघटाएर सुखै भएन,' एक बैंकरले भने। अहिले वाणिज्य बैंकहरुसँग करिब ७  खर्ब रुपैयाँ छ। यसमध्ये करिब ३५ अर्ब रुपैयाँ उनीहरुका लागि अधिक तरलता हो।
बैंकले विस्तारै ब्याज घटाउन सुरुवात गरे पनि अहिले दुई वर्षअघिभन्दा बढी छ। दुई वर्षअघि एक वर्षे मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशतसम्म थियो।
बजेट समयमा आएर सरकारी खर्च बढेको, अमेरिकी डलर बलियो भएसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, शोधनान्तर बचत बढ्दै गएकाजस्ता कारणले अहिले बैंकसँग लगानी गर्ने पैसा धेरै छ। १२ प्रतिशतसम्म तिरेर लिएको पैसालाई तीन महिनायता लगानी गर्न नपाए पछि निक्षेपको ब्याज घटाउन बैंक वाध्य भएका हुन््। चर्को ब्याज दिएर पैसा लिएका बैंकलाई अहिले असल ऋणीको खाँचो छ।

बैंकको नाफा २३ प्रतिशतले घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ७ 
करिव दुई वर्षदेखि घरजग्गा कारोबारमा देखिएको मन्दीको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ। गत वर्षको पहिलो चौमास (साउन-असोज) का तुलनामा वाणिज्य बैंकको नाफा यस वर्ष २३ प्रतिशतले घटेको छ।
लामो समयदेखि लगातार नाफा गरिरहेका बैंकहरुले अहिले पहिलो पटक नाफा घटेको हो। बैंकहरुले हालै प्रकाशित गरेको तथ्यांकअनुसार यो वर्षको पहिलो चार महिनामा ७९ करोड १२ लाख रुपैयाँ घटेको छ। गत आर्थिक वर्षको असोजसम्म ३ अर्ब ४६ करोड कमाएका बैंकले यस वर्ष २ अर्ब ६७ करोडमा झरेको छ। सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकमध्ये २२ को नाफा घटेको हो।
बैंकको नाफा घटनुमा पहिलो कारण घरजग्गामा दिएको कर्जा नउठनु हो। महँगो ब्याज तिरेर सर्वसाधारणबाट बचत संकलन गरे पनि त्यही अनुरुप लगानी गर्न नसक्नुले पनि बैंकको नाफा घटेको हो।

डलर अहिलेसम्मकै महँगो, एक डलर किन्न ८४ रुपैयाँ २० पैसा

काठमाडौं, मंसिर ७ 
अमेरिकी डलर मगंलबार अहिलेसम्मकै महँगो भएको छ। भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएकाले र नेपाली रुपैयाँको विनिमय दर भारुसँग स्थिर भएकाले अमेरिकी डलर नेपाली मुद्राको तुलनामा महँगो भएको हो। विदेशी मुद्रा खरिदबिक्री गर्ने बैंकहरूले भारतीय बजार हेरेर मंगलबार एक डलर ८४ रुपैयाँभन्दा बढीमा बिक्री गरे।
 दिनको अन्त्यसम्म प्रतिडलर ९० पैसा बढेर बिक्री दर ८४ रुपैयाँ २० पैसा कायम भयो। २०६५ फागुन २१ मा ८३ रुपैयाँ ४० पैसासम्म पुगेको थियो।
डलर महँगिएकाले विदेशीबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जान महँगो पर्ने भएको छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने व्यक्तिबाट रेमिट्यान्स पाउने परिवारलाई भने यसबाट फाइदा पुग्छ।
विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने राष्ट्र बैंकले डलरको मूल्यवृद्धिबारे अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। सर्वसाधारणले एक डलर बेच्दा ८३ रुपैयाँ ६० पैसा पाउने गरी बुधबारका लागि मूल्य तोकिएको छ। ग्राहकले किन्दा योभन्दा ६० पैसा बढी तिर्नुपर्छ। डलर मूल्य ६ महिनायता झन्डै १७ प्रतिशत माथि गएको छ।

नयाँ उचाइमा पुरानो बैंक

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ५ - 
नेपाल कमर्स क्याम्पसमा पढ्ने सविन भट्टराईसँग नेपाल बैंकको खाता छ। इलाममा बस्ने उनका बुवाले काठमाडौंको खर्चपानीका लागि पैसा पठाउँदा त्यही खातामा राखिदिन्छन्। ६ वर्षअघि आफ्नो ठाउँमा अरु बैंक नभएका बेला उनले नेपाल बैंकमा खाता खोलेका थिए।
निजीले २ अर्ब पुँजी पुर्‍याएर 
४६ अर्ब निक्षेप उठाएका छन्।
यसले भने ३८ करोड पुँजी 
हुँदाहुँदै बैंकले ४६ अर्ब ७० करोड 
बचत बटुलेको छ। बैंकको सेवा 
लिनेको संख्या १० लाख नाघेको छ।
'अरु बैंकभन्दा नेपाल बैंकनजिक भएकाले खाता खोलेको थिएँ,' उनले भने, 'बुवाको पुरानो खाता पनि त्यहीं भएकाले सजिलो भयो।' केही वर्षअघि बैंकहरुले खाता खोल्न दुईजना खाता भएका व्यक्तिको सिफारिस अनिवार्य माग्थे। उनको बुवा तथा चिनेजानेकाको खाता पनि भएकाले उनलाई त्यहाँ खोल्न सजिलो परेको थियो।
देशकै पुरानो नेपाल बैंकको उमेरसँगै उसप्रति जनताको विश्वास पनि झाँगिदै गएको छ। न निजी क्षेत्रका बैंकमा जस्तो प्रविधिमैत्री जनशक्ति छन् न पुँजी नै ठूलो छ। तर पनि बैंकको निक्षेप र ग्राहक संख्या बढ्दो छ। ५६ जिल्लामा बैंकले १ सय १२ वटा शाखा खोलेको छ।
नेपालमा वित्तीय जागरणको सुरुवात गरेको बैंकले बितेको बुधबार ७५औं वार्षिकोत्सव मनाएको छ। अरु बैंकको भन्दा ७५ प्रतिशतभन्दा कम पुँजी नेपाल बैंकसँग छ। निजीले २ अर्ब पुँजी पुर्‍याएर ४६ अर्ब निक्षेप उठाएका छन्। यसले भने ३८ करोड पुँजी हुँदाहुँदै बैंकले ४६ अर्ब ७० करोड बचत बटुलेको छ। बैंकको सेवा लिनेको संख्या १० लाख नाघेको छ।
कमजोर सरकारी नीतिका कारण जथाभावी नउठ्ने गरी कर्जा प्रवाह

अनिल ज्ञवाली भन्छन्-पुसबाट व्याज दर घट्छ

काठमाडौं मंसिर ३
नबिल बैंकमा आएको ६ महिनाको अवधिमा तपाईले गरेको परिवर्तन र उपलब्धि के छन् ?
ठूलो पुरानो र दीगो वृद्धिमा लागेको बैंकमा नयाँ बैंकजस्तो तुरुन्त केही पनि देखिइ हाल्ने खालको परिवर्तन हुँदैन । पुरानो बैंकमा आफ्नै खालको चुनौती हुन्छन् । पुरानो बैंकलाई अहिलेको आधुनिक तरिका र नविनतम हिसावले हाँक्नु पर्ने हुन्छ । नबिल बैंक एउटा प्रणालीबाट चलेको संस्था हो । यसलाई अगाडि वढाउन हामीले सुचना प्रविधिलाई महत्व दिएका छौं । कार्ड तथा इन्टरनेट बैंकिङमा धेरै गर्नु पर्ने छ । यसमा हामीले काम गर्न थालेका छौं ।
अनिल ज्ञवाली
प्रमुख कार्यकारी अधिकृत
नबिल बैंक
६ महिनाको अवधिलाई मूल्यांकन गर्दा नविलको वलियो र कमजोर पक्ष के पाउनु भयो ?
नबिल पुरानो बैंक हुनका हिसावले यसको वलियो पक्ष भनेको ग्राहक आधार र जनविश्वास नै हो । यो विश्वास आजको भोली आर्जन भएको होइन । धेरै समय लागेर आएको विश्वास हो यो । बैंकिङ क्षेत्रमा तरलताको समस्या पर्दा पनि नबिललाई त्यसले खासै असर पारेन । नबिलको कमजोर पक्षभन्दा पनि सुचना प्रविधिको क्षेत्रमा काम गर्न धेरै वाँकी छ । सुचना प्रविधिबाट तुरुन्त नतिजा आउँदैन । तर यो आवश्यक छ । बैंकिङ सेवाको गुणस्तरमा सुदृढ गर्दै लैजानु पर्छ । काम गर्ने क्रममा केही गुनासाहरु पनि आउँछन् । तर गुनासाको तत्काल शंवोधन भए ग्राहक सन्तुस्ट हुन्छ ।

लिलामको घरजग्गा बिक्री भएन

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर २ - 
ऋणीले कर्जा तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले बिक्रीका लागि लिलाम गर्न राखिएका सम्पत्ती बिक्री हुन सकेका छैनन्। ऋण लिने अधिकांश ग्राहकले धितोमा राखेको घरजग्गा तथा अन्य अचल सम्पत्ती राख्ने गर्छन्।
बैंक ब्याज महँगो भएर ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले धितोमा राखेको सम्पत्ती लिलाम गर्न खोजेका हुन्।

'कारोबारै नहुने भएपछि लिलामको सम्पत्ती खरिद नभएको हो,' वित्तीय संस्था संघका अध्यक्ष राजेन्द्रमान शाक्यले नागरिकसँग भने, 'सम्पत्ती खरिदका लागि कि आफैंसँग पैसा हुनुपर्‍यो कि बैंकले लगाइदिनुपर्‍यो। अहिले यस्तो अवस्था छैन।'
बिग्रँदो आर्थिक अवस्था, सम्पत्ती खरिद गर्दा स्रोत देखाउनुपर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पत्ती बिक्री हुन छाडेको बैंकरहरु बताउँछन्। सेयर तथा गाडीको लिलामी भने भइरहेको छ।
खासगरी घर तथा जग्गा धितो राखेर कर्जा प्रवाह भएको सम्पत्ती बिक्री नभएको हो। पछिल्लो समयमा घरजग्गाको कारोबार घटेकाले लिलामको सम्पत्ती बिक्री हुन छाडेको बैंकर बताउँछन्। 'आर्थिक क्रियाकलाप नभएका बेला लिलाममा राखिएका सम्पत्ती बिक्री नहुनु स्वभाविक हो,' बैंकर्स संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने।

ओबरायले सोल्टीको सेयर बेच्यो


-किन्ने नेपाली कम्पनी

काठमाडौं कात्तिक २९
पाँचतारे होटल सोल्टी लिमिटेडमा रहेको विदेशी लगानीकर्ता ओबराय होटल्स प्रालिको सबै सेयर नेपाली कम्पनी शिवकि्रमल्यान्ड एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले किनेको छ । अन्तर्राष्ट्रिय होटल साजाल रहेको भारतीय कम्पनी ओबरायले १४ करोड २८ लाख रुपैयाँमा शिवकि्रमल्यान्डलाई आफ्नो स्वामित्वमा रहेको सबै ६ दशमलव ८ प्रतिशत सेयर बिक्री गरेको हो ।
शिवकि्रम उद्योगी रविभक्त श्रेष्ठसँग सम्वद्ध कम्पनी हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्रेष्ठ सोल्टीका साचालक पनि हुन् । ओबरायले भारतमा व्यापक लगानी विस्तार गरिरहेको छ । त्यहीं बढी ध्यानकेन्द्रित गर्न सेयर बिक्री गरेको सम्वद्ध स्रोतले जनाएको छ ।
शिवकि्रमल्यान्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत प्रति कित्ता १ सय ४० मा सेयर किनेको हो । यो सोल्टीको पछिल्लो सेयर कारोबार मूल्यभन्दा ४६ रुपैयाँ २४ दशमल ७३ प्रतिशत कम हो । ठूलो संख्यामा ब्लक सेयर किनेबेच भएकाले मूल्य घटेर कारोबार भएको हो ।

बैँकहरु, ऋणको ब्याज घटाऊ (टिप्पणी)

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २८-
'अहिले बढेको निक्षेपको स्रोत स्थायी हो/होइन थाहा छैन। त्यही भएर ब्याज घटाइहाल्ने अवस्था छैन।' पैसा यति धेरै हुँदा पनि ब्याज किन नघटाएको भन्ने पत्रकारको जिज्ञासामा अधिकांश बैंकरले दिने जवाफ हो यो। तर, उनीहरुको जवाफ व्यावहारिक र तर्कसंगत भने छैन।
११ प्रतिशतमा निक्षेप लिएर 
१ प्रतिशतको टे्रजरी बिलमा 
लगानी गर्नुभन्दा १२/१३ 
प्रतिशतमा ब्याजदर झार्दा 
तत्कालका लागि 
बैंकलाई फाइदा हुनेछ।
विगत वर्षमा चार/पाँच पटकसम्म ब्याज बढाउने बैंकरले तरलता बढेका बेला ब्याज घटाउन नसक्ने भन्ने हुँदैन। तरलताको स्रोत अस्थायी नै होला तर जहिलेसम्म सहज हुन्छ त्यो बेलासम्म कायम हुने गरी ब्याज घटाउन सकिने विकल्प छ। तरलता अभाव भए फेरि पुरानै अवस्थामा ब्याज फर्काउन सकिन्छ।
तर, नाफामा कसले सम्झौता गर्ने? अर्थतन्त्रका अरु क्षेत्र समस्यामा जाने बैंकिङ क्षेत्र मात्रै नाफामा जाने भन्ने हुँदैन। अप्ठेरो अवस्थामा पनि राम्रो नाफा गरेर सेयरधनीलाई लाभांश दिने भनेको ब्याज दरमा कसिकसाउ गरेर नै हो। बढाउन वाहना खोज्ने तर घटाउन पर्याप्त आधारहरु हुँदा पनि नचाहनु भनेको नाफामा सम्झौता गर्न नसकेर नै हो।
तरलता अभाव हुँदा वर्षमा चार पटकसम्म ब्याज बढाएका बैंकहरु अहिले ३५ अर्बभन्दा बढी अधिक तरलता हुँदा चुप लागेर बसेका छन्। एक सय प्रतिशतभन्दा अधिकले बढेको ब्याजलाई तरलता सहज भएको मौकामा घटाउनुको साटो लगानी गर्ने ठाउँ भएन भनेर गुनासो गरिरहेका छन्।

अनलराज भट्टराई भन्छन्- सस्तोमा कर्जा दिने अवस्था छैन

अहिले कर्जा उठ्न छाडेर बैंकिङ क्षेत्र समस्यामा छ भन्ने सुनिन्छ । के छ अवस्था ?
सवै क्षेत्रमा समस्या होइन । कुनै एउटा क्षेत्रमा समस्या छ । त्यो भनेको रियलस्टेट हो । समस्या आएकैले बैंकर र व्यवसायीले नियामक निकायसँग केही सहुलियत माग गरेका छन् ।
अनलराज भट्टराई
प्रमुख कार्यकारी अधिकृत
कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल
अहिले व्याज भुक्तानीमा समस्या देखिएको छ । अिहले मूल्य धेरै वढेर रियलस्टेट कारोबार बन्द भएको छ । रियलस्टेट भनेको आफैमा उत्पादनमूलक क्षेत्र होइन । यसबाट फाइदा हुन कारोबार हुनै पर्छ । यसलाई तरल बनाउनै पर्छ । अहिले बजारमा किन्ने कोही नभएकाले रियलस्टेटलाई तरल बनाउन सकिएको छैन । जसले गर्दा बैंकको ऋण र व्याज भुक्तानी गर्न समस्या भएको हो ।
अहिले सरकारी खर्च वढेको छ । दँसैतिहारले गर्दा विदेशबाट नेपालीले पठाउने पैसा पनि वढेको छ । नेपाली मूद्रा डलरसँग अवमूल्यन भएको छ । यसले गर्दा बैंकमा निक्षेप वढेको हो । अहिले वढेको निक्षेप कुन प्रकृतिको हो अर्थात स्थायी हो कि अस्थायी हो भन्ने अन्यौंल छ । यो नहेरी लामो अवधिको कर्जा दिन पनि समस्या छ । छोटो अवधिको कर्जाको माग छैन अहिले । महँगो व्याज दरका कारणले कर्जाको किस्ता भुक्तानी समय वढाउनु परेको छ । तरलता वढ्ने तर लगानी गर्ने ठाउँ नहुँदा लागत वढेको छ । अहिले जोखिम एकदमै वढेर गएको छ ।

६ वित्तीय संस्थालाई मर्जर स्वीकृति, कुन-कुन संस्था गाभिँदै छन्?

काठमाडौं, कात्तिक २५ 
राष्ट्र बैंकले ६ वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले ६ महिनाभित्र गाभिइसक्ने गरी स्वीकृति दिएको हो। 
 राष्ट्र बैंकले अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स, पशुपति विकास बैंक र लर्डबुद्ध फाइनान्स तथा बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्सलाई आपसमा गाभिन सैद्धान्तिक स्वीकृति दिएको हो। स्वीकृति पाएका तीनवटै विकास बैंक क्षेत्रीय स्तरका र फाइनान्स कम्पनी राष्ट्रिय स्तरका हुन्। आपसमा गाभिएपछि बन्ने नयाँ कम्पनी राष्ट्रिय स्तरको विकास बैंक हुनेछ।
अन्नपूर्ण विकास बैंकको चुक्ता पुँजी ६७ करोड २० लाख रुपैयाँ छ। १ अर्ब रुपैयाँभन्दा बढी निक्षेप भएको बैंकले १ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष ८ करोड रुपैयाँ नाफा कमाएको बैंकको पुँजी पर्याप्तता अनुपात ५४ प्रतिशतभन्दा बढी छ। बैंकको खराब कर्जा २ प्रतिशतहाराहारीमा छ।

घरजग्गा : 'घाटा खाएर बेच्न खोज्दा पनि ग्राहक पाइएन'

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २४-
घरजग्गा व्यवसायी लालकाजी गुरुङले ललितपुरको सुनाकोठीको जग्गा बिक्री गर्न खोजेको ६ महिना भयो तर, बिकेन। २ वर्षअघि प्रतिआना ८ लाख रुपैयाँका दरले किन्न आउँदासमेत नदिएको जग्गा ६ लाख रुपैयाँ आनामा बिक्री गर्न खोज्दा किन्ने कोही भेटिएनन्।
'अहिले साढे पाँच लाख रुपैयाँ आनाले बिक्री भए पनि म खुसी हुन्थंे,' नेपाल जग्गा तथा आवास विकास संघका कार्यकारी सदस्यसमेत रहेका उनले भने।
जग्गा मूल्य बढिरहेका बेला उनले बैंकबाट ऋण लिई यो जग्गा किनेका थिए। अहिले बैंक ब्याज बढेकाले बिक्री गर्न खोजेका हुन्। दुई वर्षअघिसम्म राम्रो नाफा कमाइ देखेर अपार्टमेन्ट र जग्गामा लगानी गर्नेहरुमध्ये कतिपयले पैसा अभाव हुन थालेपछि बैंकबाट लिएको ऋण तिर्न छाडेका छन्। 'गत वर्षको भन्दा यसपालि रियलस्टेट कर्जामा धेरै जटिलता आइसकेको छ,' सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले भने, 'बेलैमा नीतिगत व्यवस्था गरेर सम्बोधन गर्नुपर्छ।'

रियलस्टेट र सेयर कर्जा उठ्न छाड्यो

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २१
अधिकांश वाणिज्य बैंक तथा वित्तीय संस्थाले चालु वर्षको ऋणको किस्ता र ब्याज उठाउन सकेका छैनन्। रियलस्टेट र सेयर कर्जासँगै उद्योगका लागि दिएको ऋणको किस्ता र ब्याजसमेत उठेको छैन।

घरजग्गाका ऋणीले बैंक कर्जा तिर्न छाडेपछि बैंकको खराव कर्जासँगै नोक्सानी व्यवस्था वापतको रकमसमेत बढ्ने देखिएको छ। बैंकरहरुका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज) मा २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम जोखिम व्यवस्थापनका लागि संभावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने अवस्था छ। कुनै पनि बैंकले असोज मसान्तसम्मको वित्तीय विवरण भने प्रकाशित गरेका छैनन्।
'गत वर्षको भन्दा पनि अवस्था एकदमै जटिल बनेको छ,' सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले नागरिकसँग भने, 'रियलस्टेटलगायत अन्य कर्जालाई नीतिगत व्यवस्था गरेर सम्बोधन गर्न आवश्यक छ।'
असोजसम्म ५ खर्ब २३ अर्ब रुयैयाँ ऋण लगानी गरेका बैंकको गत वर्षभन्दा ब्याज आम्दानी १५ प्रतिशतभन्दा बढीले घट्ने अनुमान बैंकरले गरेका छन्। गत वर्ष यसै अवधिमा ब्याज आम्दानी १६ अर्ब ५६ करोड रुपैयाँ भएको थियो। यो अवधिमा कर्जा भने ४५ अर्बले बढिसकेको छ।

घरजग्गामा बैंकर र व्यवसायीको मिलेमतो आशंकामा राष्ट्र बैंकको निगरानी

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २१
बैँकर र घरजग्गा व्यवसायीले किस्ता उठाउने एक महिना समय थपसहित ६ वटा माग राखेकामा मिलेमतोको आशंका गर्दै राष्ट्र बैंकले अनुसन्धान थालेको छ। बैंकर र व्यवसायीले संयुक्त रुपमा माग राखेकाले राष्ट्र बैंकले मिलेमतोको आशंका गरेको हो। राष्ट्र बैंकले बैंकरहरुको किस्ता असुलीको अवस्था जान्न कात्तिक १८ सम्मको व्याजको अवस्था पठाउन बैंकरलाई निर्देशन पनि दिइसकेको छ। 
 किस्ता उठाउन एक महिना थप, ८० लाखको घरजग्गा कर्जालाई एक करोड पुर्‍याउनुपर्ने पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, कुनै पनि नोक्सानी व्यवस्था नगरी कर्जालाई पुनर्संरचना गर्नुपर्ने, पाकेको ब्याजलाई पुँजीकृत गर्न पाउनुपर्ने माग बैंकर र व्यवसायीले राखेका थिए ।
ब्याजको वास्तविक अवस्थाबारे जानकारी भएपछि राष्ट्र बैंकले यसै साता कात्तिकसम्म भएको ब्याज आम्दानीलाई असोजकोमा देखाउन पाउने व्यवस्था गर्नसक्ने एक उच्च अधिकृतले जानकारी दिए। 'एक महिना थप गर्न हामीलाई केही पनि गाह्रो छैन,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'वास्तवमै समस्या भएर माग गरेका हुन् वा रियलस्टेट कारोबारीसँगको मिलेमतोमा हो भनेर बुझ्न खोजेका हौं।'

आर्थिक वृद्धिमा सामान्य सुधार हुने


३.५ प्रतिशतबाट बढेर ३.८ पुग्ने आइएमएफको प्रक्षेपण

  • केही समय विनियम दरलाई यथावत छाडिदिनुपर्ने
  • निजी क्षेत्रको लगानी घट्यो
  • तरलता व्यवस्थासम्बन्धी एउटै नीति सबै बैंक वित्तीय संस्थामा लागु गर्न नहुने
  • राष्ट्र बैंकले तत्काल तरलता उपलब्ध गराउन क्षमता वृद्धि गर्नुपर्ने

सुदर्शन सापकोटा
काठमाडौं कात्तिक १९

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले चालु वर्ष देशको आर्थिक वृद्धिमा सामान्य सुधार आउने जनाएको छ । आइएमएफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वृद्धिदर ३.८ प्रतिशत पुग्ने अनुमान गरेको छ । गत वर्ष मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशत थियो ।
यसपटक कृषि उत्पादन बढेर कुल गार्हस्थ्य उत्पादन जिडिपी मा सामान्य वृद्धि हुने छ । आइएमएफको निर्देशक समितिले नेपालको आर्थिक स्थितिको समीक्षा गर्दै गैर कृषितर्फको गार्हस्थ्य उत्पादन घट्ने जनाएका छन् । प्रतिवेदनअनुसार गत वर्ष गैर-कृषितर्फको गार्हस्थ्य उत्पादन ३.१ प्रतिशत रहेकोमा यो वर्ष २.९ मा झर्ने छ । यद्यपि अघिल्लो वर्ष गैर-कृषितर्फको गार्हस्थ्य उत्पादन ५.४ प्रतिशत थियो । तीन वर्षयता गैर-कृषि क्षेत्र खस्किँदै गएको आइएमएफको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष सामान्य बढेको कुल राष्ट्रिय बचत यस पटक घट्ने अनुमान आइएमएफको छ । चार वर्षदेखि निरन्तर घटिरहेको बचत गत वर्ष सामान्य बढेर ३४.१ प्रतिशत पुगेको थियो । यो ३५.७ प्रतिशतबाट घट्न थालेको हो । चालु वर्ष बचत ३२ प्रतिशत हुने अनुमान गरिएको छ । मूल्य वृद्धिले धेरै रकम उपभोगमा खर्च हुने भन्दै आइएमएफले बचत घटने प्रक्षेपण गरेको हो ।

बैँकबाट ऋण लिनुछ ? केही समय पर्खनुस् !

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १८-
वाणिज्य बैंकबाट ऋण लिनु छ भने केही समय पर्खिंदा वा मोलमलाई गर्न सके फाइदा लिन सकिने छ। अहिले बैंकसँग लगानी गर्न सक्ने पैसा 'तरलता' बढेको छ। भरपर्दा ग्राहक पाए ब्याजदर केही सस्तो गरेर भए पनि बैंकरहरु लगानी गर्न खोजिरहेका छन्।
दसैंयता पैसा बढेकाले बैंकले सुरक्षित मानिने तर करिब एक प्रतिशत मात्र ब्याज आउने सरकारी ऋणपत्रमा पैसा लगाएका छन्। यस्तो अवस्थामा मोलमलाई गर्न सक्ने ग्राहकले सस्तो दरको ऋण पाउने सम्भावना बढेको छ।
एक प्रतिशतमा लगानी गर्नुभन्दा समयमा तिर्न सक्ने राम्रा र विश्वासिला ग्राहक आए प्रचलित ब्याजदरभन्दा केही घटाएर पनि दिन सकिने बैंकरहरु बताउँछन्।
अहिले बैंकले १५-१६ प्रतिशत ब्याजमा कर्जा दिइरहेका छन्। दुई वर्षअघि यस्तो ब्याज १० प्रतिशत हाराहारीमा थियो।
'अहिले नै हामीले छोटो अवधिका निर्यात र उत्पादनमूलक क्षेत्रतर्फको ब्याज घटाइसकेका छौं,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले नागरिकसँग भने, 'पुसपछि अन्य कर्जाको ब्याजसमेत घटाउने दबाब परिसकेको छ।'
असार मसान्तयता मात्र ४१ अर्ब रुपैयाँ निक्षेप बढेको छ। यसले बैंकहरुलाई ऋणमा ब्याज घटाउन दबाब पारेको हो। पहिलो चरणमा बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीलाई दिने ब्याज घटाइसकेका छन्। पुसबाट वित्तीय संस्थाले पैसा आउने गरी वाणिज्य बैंकमा पैसा राख्न नपाउने भएकाले बैंकहरुले उनीहरुलाई दिने ब्याज घटाएका हुन्। वित्तीय संस्थालाई दिएको ब्याज घटाउँदासमेत निक्षेप नबाहिरिएकाले बैंकहरु अन्य कर्जाको ब्याज घटाउन दबाब परेको बताउँछन्।

लघुवित्तमा दोहोरो ऋण रोक्न पहल सुरु

काठमाडौं कात्तिक १४
लघुवित्त विकास बैंक संघले धेरै संस्थाहरुले एकै ठाउँ र एकै परिवारलाई ऋण दिएर विकृति आएको भन्दै त्यसलाई रोक्न पहल थालेको छ । सानो ऋण दिने संस्थाहरुको छाता संगठन संघले आफ्ना मातहतका सदस्य लघुवित्त कम्पनीलाई एकै परिवारमा मात्र ऋण प्रवाह नगर्न केही दिनअघि निर्देशन दिएको हो ।
'एक संस्थाले बनाइसकेको ग्राहकमा अर्को संस्था गएर कर्जा नदिन निर्देशन दिइसकेका छौं,' संघका अध्यक्ष धर्मराज पाण्डेले नागरिकसँग भने, 'अहिले भएको दोहोरो कर्जालाई कम गर्दै लैजानसमेत भनेका छौं ।' अहिले २२ वटा लघुवित्त विकास बैंक साचालनमा छन् । यसवाहेक राष्ट्र बैंकबाट स्वीकृति लिएर सहकारी गैरसरकारी संस्थाहरुले पनि लघुवित्तको काम गर्दै आएका छन् ।
सानो रकम ऋण दिइ गरिवको जीवनस्तर उकास्ने उद्देश्यले खुलेका लघुवित्त संस्थाले मर्म अनुसार ऋण नदिँदा र दोहोरोपनाका कारण विकृति वढ्दै गएको छ । दोहोरोपनाकै कारण इनरुवामा एक किसानले आत्महत्या प्रयास गरेका छन् भने कर्जा तिर्न नसकेर ऋणीहरु भाग्न थालेका छन् । वढीमा ९० हजार रुपैयाँसम्म ऋण दिने यस्ता विभिन्न संस्थाहरुबाट एक पटक १२ लाख रुपैयाँसम्म गरिवले चलाएका थिए ।

ऋणको व्याज अन्तर धेरै

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १५
जोखिम लिएर बढी ब्याज आउने ठाउँमा लगानी गर्ने कि नाममात्रको फाइदा हुने ट्रेजरी बिल्समा? सरकारी ऋणपत्र ट्रेजरी बिल्स र सर्वसाधारणलाई दिने ऋण ब्याजदर बीचको फरक निकै ठूलो भएकाले वित्तीय संस्थामा यो प्रश्न उठ्न थालेको छ।
 सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण लिँदा १५ प्रतिशत वा त्यसभन्दा बढी ब्याज तिर्नुपर्छ। तर, दसैंपछि पैसा बचत बढेकाले बैंकहरुले १ प्रतिशतमात्र ब्याज आउने सरकारी ऋणपत्र ट्रेजरी बिल्समा लगानी पनि गरिरहेका छन्।
ट्रेजरी बिल्सलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। सर्वसाधारणबाट महँगोमा लिएको पैसा लगानी गर्ने ठाउँ नपाउँदा वित्तीय संस्थाले एक प्रतिशत ब्याज आउने टे्रजरी बिलमा लगानी गरेका हुन्।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुसँग करिब ३० अर्ब रुपैयाँभन्दा लगानी गर्न सक्ने थप पैसा तरलता छ। तरलता अभाव हुँदा १२ प्रतिशतसम्म ब्याजमा पैसा लिएका थिए।