निक्षेप र कर्जाको ब्याज घट्न थाल्यो


सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ९ 
लगानी गर्ने पैसा प्रशस्त भए पनि असल ऋणी नपाएपछि कतिपय बैंकले कर्जा र निक्षेप (लिने र दिने ) दुवैको ब्याज दर घटाएका छन्। बैंकहरुलाई अहिले कर्जाको चर्को ब्याजलाई कम गर्न दबाब परिरहेको छ।बैंकरहरुका अनुसार मुद्दतिको ब्याजमा शून्य दशमलव ५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशत बिन्दुसम्म घटाइएको छ। अर्कोतिर विभिन्न कर्जामा लिएको कर्जामा पनि एक प्रतिशतसम्म ब्याज कम गरिएको छ।
मुद्दतिको ब्याजमा  
१ .५ प्रतिशत बिन्दुसम्म 
कर्जामा  एक प्रतिशतसम्म 
ब्याज कम गरिएको छ।
'अहिले बैंकहरुमा प्रशस्त पैसा छ, तर लगानी गर्ने उपयुक्त ठाउँ छैन, यस्तोमा ब्याज नघटाएर सुखै भएन,' एक बैंकरले भने। अहिले वाणिज्य बैंकहरुसँग करिब ७  खर्ब रुपैयाँ छ। यसमध्ये करिब ३५ अर्ब रुपैयाँ उनीहरुका लागि अधिक तरलता हो।
बैंकले विस्तारै ब्याज घटाउन सुरुवात गरे पनि अहिले दुई वर्षअघिभन्दा बढी छ। दुई वर्षअघि एक वर्षे मुद्दतिको अधिकतम ब्याज ८ प्रतिशतसम्म थियो।
बजेट समयमा आएर सरकारी खर्च बढेको, अमेरिकी डलर बलियो भएसँगै विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा (रेमिट्यान्स) वृद्धि भएको, शोधनान्तर बचत बढ्दै गएकाजस्ता कारणले अहिले बैंकसँग लगानी गर्ने पैसा धेरै छ। १२ प्रतिशतसम्म तिरेर लिएको पैसालाई तीन महिनायता लगानी गर्न नपाए पछि निक्षेपको ब्याज घटाउन बैंक वाध्य भएका हुन््। चर्को ब्याज दिएर पैसा लिएका बैंकलाई अहिले असल ऋणीको खाँचो छ।
'तरलता बढेसँगै बजार मागका कारण ब्याज तल आउन थालेको हो,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले बिहीबार नागरिकसँग भने, 'पुसपछि तरलताको अवस्था यथावत रहे ब्याज दर विस्तारै तल जान्छ।' एनआइसी बैंकले एक वर्षे मुद्दति खाताको ब्याज शून्य दशमलव ५ प्रतिशतले घटाइसकेको उनले जानकारी दिए। कर्जाको ब्याज पनि त्यसको प्रकृति हेरी शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म घटाइएको उनले बताए।
कर्जाको माग नहुने तर महँगोमा लिएको निक्षेप बढेकाले बैंकहरुको नाफामा पनि असर देखिइसकेको छ। नाफामा देखिएको असर कम गर्नलाई पनि बैंकले निक्षेपको ब्याज घटाउनुपरेको हो। यसपालि बैंकको नाफा २३ प्रतिशतले घटेको छ। असोजसम्मको वित्तीय विवरणले बैंकहरुको कर्जा र लगानीको ब्याजबाट भएको आम्दानी ११.९३ प्रतिशत छ। निक्षेप र सापटीको ब्याज लागत भने ८.१५ प्रतिशत छ। विगतमा यी दुईबीचको फरक धेरै थियो।
निक्षेपको ब्याजसँगै ऋण माग्न आउनेलाई आकर्षित गर्न बैंकले यसको ब्याजसमेत घटाउन थालेका छन्। कर्जाको ब्याज शून्य दशमलव ५ प्रतिशतदेखि १ प्रतिशत बिन्दुसम्म घटाएका छन्। निक्षेपको ब्याजको तुलनामा कर्जाको ब्याज घट्ने अनुपात भने सुस्त छ।
सबैभन्दा बढी निक्षेपको ब्याज स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले घटाएको छ। बैंकले एक वर्षे मुद्दतिको ब्याज एक दशमलव ५ प्रतिशतले घटाएर ७ प्रतिशतमा झारेको छ। कर्जाको ब्याज भने एक प्रतिशत बिन्दुसम्मले घटाएको छ।
एभरेस्ट बैंकले निक्षेपको ब्याज शून्य दशमलव ५ प्रतिशत बिन्दुले घटाएको छ। कर्जाको ब्याज भने ०.२५ प्रतिशतले घटाएको छ। सिटिजन्स बैंकले पनि कर्जाको ब्याज ०.२५ प्रतिशतले घटाएको छ। मेगा बैंकले निक्षेप र कर्जा दुवैको ब्याज दर शून्य दशमलव ५ प्रतिशतले घटाएको छ। एसबिआई बैंकले निक्षेपको मात्र ब्याज घटाएको छ। बैंकले ब्याज शून्य दशमलव ५ प्रतिशतले घटाएको हो।
निक्षेपको ब्याज घटाउने भने पर्खिरहेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले कर्जाको यथावत राखी निक्षेपको ०.५ प्रतिशतले घटाएको छ। 'तरलता अभाव भएका बेला पनि हामीले कर्जाको ब्याज नबढाएकाले अहिले नघटाएका हौं,' बैंकका महाप्रबन्धक ज्योति पाण्डेले भने।
किस्ट बैंकले कर्जाको ब्याज घटाएको छ। बैंकले कर्जाको ब्याज शून्य दशमलव ५ प्रतिशतले घटाएको हो। 'बजारको मागअनुसार तीन महिनाअघिको तुलनामा ब्याज घटाइसकेका छौं,' किस्ट बैंकका सहायक महाप्रबन्धक बिएन घर्तीले भने, 'केही समयपछि निक्षेपको ब्याज पनि घटाउँछौं।'
निक्षेपको ब्याज घट्दा कुनै जोखिम बहन नगरी प्रतिफल खोज्ने सर्वसाधारणलाई घाटा हुन्छ। तर जोखिम लिएर लगानी गर्नेका लागि निक्षेपको ब्याज सस्तिँदा कर्जा पनि सस्तिएर फाइदा हुन्छ। उनीहरुले सस्तो ब्याजमा कर्जा लिएर आर्थिक क्रियाकलाप गर्न सक्छन्। भारतको तुलनामा कम ब्याजको निक्षेप भएको अवस्थामा भने पुँजी पलायन हुने सम्भावना रहन्छ।
महँगो ब्याजमा भेला पारेको पैसा लगानी वातावरण नहुँदा एक प्रतिशतको टे्रजरी बिल्सलगायतमा लगाउनुपरेको छ। लगानी गर्न नसकिने तर महँगोमा लिएको निक्षेपले लागत बढाइरहेकाले बैंकले ब्याज घटाउन थालेका हुन्।
अपरिस्कृत तथ्यांक अनुसार अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेपको ५५ प्रतिशत महँगोमा लिएको निक्षेप छ। बैंकहरुले प्रकाशित गरेको असोजसम्मको तथ्यांक हेर्दा उनीहरुले औसत ३.२१ प्रतिशतको स्पे्रड दर (कर्जा र निक्षेपबीचको ब्याज दरको फरक) मा काम गरिरहेका छन्। ५ प्रतिशतसम्म औसत स्प्रेडमा काम गरिरहेका बैंकले यो घटाएर लगानी गर्न खोज्दासमेत निक्षेपको तुलनामा ऋण प्रवाह हुन सकेन। यसले बैंकको लागत मात्र बढ्न थालेकाले ब्याज घटाउन दबाब परेको थियो।
बैंकहरुलाई ब्याज घटाउनुपर्ने दबाब भने कर्जाको छ। राष्ट्र बैंक तथा बैंकबाट ऋण लिनेले कर्जाको घटाउन दबाब दिइरहेका छन्। 'निक्षेपको ब्याज नघटाई कर्जाको ब्याज घटाउनुपर्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्।
बैंकहरुले छाटो अवधिको (९० दिने) कर्जाको ब्याज यसअघि नै घटाइसकेका छन्। आयात-निर्यात तथा व्यापारिक प्रयोजनका यस्तो कर्जाको ब्याज २ प्रतिशत बिन्दुसम्मले घटिसकेको छ। अन्तरबैंक सापटी एक प्रतिशतभन्दा तल आउने तथा टे्रजरी बिलको दर पनि एक प्रतिशतको हाराहारीमा भएकाले बैंकले यस्तो कर्जाको ब्याज घटाइसकेका थिए।

No comments:

Post a Comment

thanks for comment