लघुवित्तमा दोहोरो ऋण रोक्न पहल सुरु

काठमाडौं कात्तिक १४
लघुवित्त विकास बैंक संघले धेरै संस्थाहरुले एकै ठाउँ र एकै परिवारलाई ऋण दिएर विकृति आएको भन्दै त्यसलाई रोक्न पहल थालेको छ । सानो ऋण दिने संस्थाहरुको छाता संगठन संघले आफ्ना मातहतका सदस्य लघुवित्त कम्पनीलाई एकै परिवारमा मात्र ऋण प्रवाह नगर्न केही दिनअघि निर्देशन दिएको हो ।
'एक संस्थाले बनाइसकेको ग्राहकमा अर्को संस्था गएर कर्जा नदिन निर्देशन दिइसकेका छौं,' संघका अध्यक्ष धर्मराज पाण्डेले नागरिकसँग भने, 'अहिले भएको दोहोरो कर्जालाई कम गर्दै लैजानसमेत भनेका छौं ।' अहिले २२ वटा लघुवित्त विकास बैंक साचालनमा छन् । यसवाहेक राष्ट्र बैंकबाट स्वीकृति लिएर सहकारी गैरसरकारी संस्थाहरुले पनि लघुवित्तको काम गर्दै आएका छन् ।
सानो रकम ऋण दिइ गरिवको जीवनस्तर उकास्ने उद्देश्यले खुलेका लघुवित्त संस्थाले मर्म अनुसार ऋण नदिँदा र दोहोरोपनाका कारण विकृति वढ्दै गएको छ । दोहोरोपनाकै कारण इनरुवामा एक किसानले आत्महत्या प्रयास गरेका छन् भने कर्जा तिर्न नसकेर ऋणीहरु भाग्न थालेका छन् । वढीमा ९० हजार रुपैयाँसम्म ऋण दिने यस्ता विभिन्न संस्थाहरुबाट एक पटक १२ लाख रुपैयाँसम्म गरिवले चलाएका थिए ।
'दोहोरोपनाले लघुवित्त संस्थाहरुलाई विस्तारै समस्यामा पार्न थालेको हामीले वुझेका छौं,' उनले भने, 'यसलाई रोक्न जरुरी भइसकेकाले पहिलो चरणमा निर्देशन दिएको हो ।' उनले दोहोरोपना पुरै नियन्त्रण गर्नका लागिसमेत आवश्यक पहल भइसकेको जानकरी दिए ।
संघले आफ्नै पहलमा कर्जा सुचना केन्द्र स्थापना गर्नका लागि समिति गठन गरिसकेको छ । केन्द्र स्थापना भएपछि सवै लघुवित्त संस्थाले कसलाई कति ऋण दिएको जानकारी पठाउनु पर्छ । केन्द्रमा सवैको सुचना पुगेपछि कसले दुईभन्दा वढी संस्थाबाट ऋण चलाइरहेको छ भन्ने जानकारी पाउन सकिन्छ । केन्द्रले ग्राहक दोहोरिएको पुस्टी गरेपछि त्यहाँ अर्को संस्थाले लगानी गर्न पाउँदैन ।
'कम्पनीको नाफामूखि प्रवृत्तिले केही दोहोरोपना भएपनि केही अज्ञनतावश पनि भएको छ,' पाण्डेले भने, 'ग्राहकले ऋण पाउनका लागि अर्को संस्थाबाट पैसा नलिएको बताउने गर्नाले समेत दोहोरोपनाले प्रश्रय पाएको हो ।' केन्द्रको स्थापनापछि ग्राहकले ऋण दिने संस्थालाई छकाउन नसक्ने उनले जानकारी दिए ।
लघुत्ति संस्थाहरुले अहिले देशभरका १६ लाख ५० हजार विपन्न परिवारलाई सेवा पुर् याइसकेको छ । दोहोरोपना हटाउने हो भने यो संस्या १० लाख मात्र भएको लघुवित्त क्षेत्रमा काम गर्ने विज्ञहरु वताउँछन् । लघुवित्तले ६५ जिल्लामा सेवा पुर् याइरहेको छ ।
केन्द्र स्थापना गर्नका लागि वनेको समितिमा संघका उपाध्यक्ष तथा छिमेक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी संयोजक छन् । समितिले केन्द्र स्थापनाका लागि राष्ट्र बैंक तथा अन्य सरोकारवाला निकायसँग कुराकानी गर्न सुरु गरिसकेको छ । 'केन्द्र स्थापना भएपछि त्यसमा लाग्ने प्राविधिक खर्च वढी हुने भएकाले सहयोगका लागि पहल गरिरहेका छौं,' जोशीले भने, 'सफ्टवेयरलगायत अन्य प्राविधिक उपकरणको जोहो भए यो वर्षभित्र साचालन गर्न सकिन्छ ।'
लघुवित्तकर्मीहरुका अनुसार पहाडी क्षेत्रभन्दा तराईमा कर्जा खपत वढी हुन्छ । पहाडका मानिसहरु कर्जा लिन डराउने स्वभावका हुन्छन् तर तराईमा सजिलै कर्जा पाइने भएपछि जसले पनि लिइदिने गरेको छ । 'तराईका गरिवले लघुवित्तबाट सजिलै कर्जा पाइन्छ भनेर वुझेका छन् । यसले गर्दा उनीहरु नयाँ संस्था पुग्ने वित्तिकै ऋण लिन तयार भइहाल्छन,' जोशीले भने, 'संस्था खोल्न नपाउँदै ग्राहक आएपछि लघुवित्त विकास बैंकले पनि सजिलै ऋण दिन्छन् ।'  संघले गरेको प्रयासका कारण आगामी ६ महिनासम्म दोहोरोपनामा कमी आउने उनले दावी गरे ।
यातायात तथा अन्य भौतिक पूर्वाधार पुगिसकेकाले तराईमा काम गर्न सजिलो हुने भएकाले पनि लघुवित्त विकास बैंकहरु तराई केन्द्रित भएका हुन् । जोशीका अनुसार गएको दुई वर्षयता एकैचोटी लघुवित्त कम्पनीहरुको संख्या वढेसँगै दोहोरोपनाले समस्याको रुप लिएको हो । उनले तयार भइसकेका ग्राहकमा लगानी गरेर तत्काल नाफा खाइहाल्ने प्रवृति वढेको भन्दै दोहोरोपना हटाउनका लागि पहल सुरु गर्न लागेको जानकारी दिए ।





No comments:

Post a Comment

thanks for comment