बैँकहरु, ऋणको ब्याज घटाऊ (टिप्पणी)

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक २८-
'अहिले बढेको निक्षेपको स्रोत स्थायी हो/होइन थाहा छैन। त्यही भएर ब्याज घटाइहाल्ने अवस्था छैन।' पैसा यति धेरै हुँदा पनि ब्याज किन नघटाएको भन्ने पत्रकारको जिज्ञासामा अधिकांश बैंकरले दिने जवाफ हो यो। तर, उनीहरुको जवाफ व्यावहारिक र तर्कसंगत भने छैन।
११ प्रतिशतमा निक्षेप लिएर 
१ प्रतिशतको टे्रजरी बिलमा 
लगानी गर्नुभन्दा १२/१३ 
प्रतिशतमा ब्याजदर झार्दा 
तत्कालका लागि 
बैंकलाई फाइदा हुनेछ।
विगत वर्षमा चार/पाँच पटकसम्म ब्याज बढाउने बैंकरले तरलता बढेका बेला ब्याज घटाउन नसक्ने भन्ने हुँदैन। तरलताको स्रोत अस्थायी नै होला तर जहिलेसम्म सहज हुन्छ त्यो बेलासम्म कायम हुने गरी ब्याज घटाउन सकिने विकल्प छ। तरलता अभाव भए फेरि पुरानै अवस्थामा ब्याज फर्काउन सकिन्छ।
तर, नाफामा कसले सम्झौता गर्ने? अर्थतन्त्रका अरु क्षेत्र समस्यामा जाने बैंकिङ क्षेत्र मात्रै नाफामा जाने भन्ने हुँदैन। अप्ठेरो अवस्थामा पनि राम्रो नाफा गरेर सेयरधनीलाई लाभांश दिने भनेको ब्याज दरमा कसिकसाउ गरेर नै हो। बढाउन वाहना खोज्ने तर घटाउन पर्याप्त आधारहरु हुँदा पनि नचाहनु भनेको नाफामा सम्झौता गर्न नसकेर नै हो।
तरलता अभाव हुँदा वर्षमा चार पटकसम्म ब्याज बढाएका बैंकहरु अहिले ३५ अर्बभन्दा बढी अधिक तरलता हुँदा चुप लागेर बसेका छन्। एक सय प्रतिशतभन्दा अधिकले बढेको ब्याजलाई तरलता सहज भएको मौकामा घटाउनुको साटो लगानी गर्ने ठाउँ भएन भनेर गुनासो गरिरहेका छन्।

अहिले अन्तरबैंक सापटी लिने संस्था छैनन्। सरकारी ऋणपत्र ट्रेजरी बिलको दर १ प्रतिशत छ। १ प्रतिशतमा किन्छुभन्दा पनि पाउन मुश्किल छ। बाहिर ब्याज महँगो भएर कर्जाको माग छैन। कर्जा लिएकाले ब्याज महँगो भएका कारण तिर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा पनि बैंकहरु घटाउनेतर्फ कुनै चासो दिइरहेका छैनन्।

विदेशी साझेदारीमा खुलेको एभरेस्ट बैंकले एकदमै कम भए पनि ब्याज घटाएर अन्य बैंकलाई दबाब र आँट दुवै दिएको छ। 'हामीले घटाएको ब्याजले बजारलाई ठूलो असर पादर्ैैन तर सबैले मिलेर घटाउँदै जाने हो भने यसले सकारात्मक भूमिका खेल्न सक्छ भनी सुरुवात गरेका हौं,' एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पिके मोहपत्रले भने।
एभरेस्टले सुरुवात गरेको बाटोमा हिँड्नुको साटो उसलाई गिज्याउनतिर केही बैंकरहरु व्यस्त छन्। 'त्यति ०.२५ प्रतिशत ब्याज हामी पनि घटाउन सक्छौं तर त्यति घटाएर बजारलाई केही फरक पर्दैन,' केही बैंकरले भने। अरुलाई उडाउनुको साटो थोरै भए पनि आफूले घटाउँदा सर्वसाधारणमा सकारात्मक धारणा बन्छ। एकैचोटी ह्वात्तै घटाउन मुश्किल भएको अवस्थामा यसरी घटाउँदा बजारको अवस्था बु‰न र रणनीति बनाउन पनि सहयोग पुग्छ।
विगतमा तरलता अभाव हुँदा ऋणीलाई राष्ट्र बैंकले प्रकाशित गर्ने तरलता स्थितिको तालिका पठाएर ब्याज बढाउनुपरेको भन्दै सूचना दिने बैंकहरु अहिले तरलता बढी हुँदाको तालिका पठाउँदैनन्। आफ्नो नाफामा कुनै असर पर्न नदिन ब्याज बढाबढमा लागेका बैंक अहिले तरलता सहज हुँदा घटाउन किन नलागेका हुन्?
महँगो ब्याजले रियलस्टेट कारोबार हुन छाडेर कर्जा उठ्न नसकेको बैंकरै बताउँछन्। रियलस्टेटका लागि राष्ट्र बैंकसँग सहुलियत माग गर्न जानुको साटो ब्याजदर घटाएर आफैं सहुलियत किन नदिने? ११ प्रतिशतमा निक्षेप लिएर १ प्रतिशतको टे्रजरी बिलमा लगानी गर्नुभन्दा १२/१३ प्रतिशतमा ब्याजदर झार्दा तत्कालका लागि बैंकलाई फाइदा हुनेछ। एक प्रतिशतमा सरकारी ऋणपत्रमा लगानी गरेर लागत मात्रै बढ्छ। यसले नाफा घट्छ नै प्रमुख कार्यकारीदेखि साधारण कर्मचारीले पाउने बोनससमेत कटौती हुन सक्छ।
नियामक निकाय राष्ट्र बैंकले पनि निक्षेप र कर्जाबीचको फरक धेरै भएकाले ब्याज घटाउन अनौपचारिक रुपमा भन्दै आएको छ। 'निक्षेपको ब्याजलाई यथावत राखेर कर्जाको घटाउनुपर्छ। ब्याज घटाएपछि उत्पादनमूलक क्षेत्रमा लगानीसमेत बढ्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्। अहिले स्प्रेडदर ४ प्रतिशतभन्दा माथि छ। २ देखि अढाइ प्रतिशतको स्प्रेडमा काम गर्दा पनि बैंकले नाफा कमाउन सक्छन्। थोरै स्प्रेड राखेर अहिले कर्जाको ब्याज घटाउन थालेपछि क्रमिक रुपमा निक्षेपको ब्याज घटाउन पनि बैंकहरुलाई सजिलो हुनेछ।
आफ्नै नाफा र सर्वसाधारण तथा उद्यमीका हितका लागि ब्याजदर घटाउनुको विकल्प छैन। पैसा बढी भएका बेला ब्याजदर घटाउँदा बैंकहरुप्रति सर्वसाधारण र उद्यमीको अपनत्व बढ्छ। नत्र बैंकलाई चक्रवर्ती ब्याज खाने साहुभन्दा फरक पर्दैन।

1 comment:

thanks for comment