बैँकबाट ऋण लिनुछ ? केही समय पर्खनुस् !

सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक १८-
वाणिज्य बैंकबाट ऋण लिनु छ भने केही समय पर्खिंदा वा मोलमलाई गर्न सके फाइदा लिन सकिने छ। अहिले बैंकसँग लगानी गर्न सक्ने पैसा 'तरलता' बढेको छ। भरपर्दा ग्राहक पाए ब्याजदर केही सस्तो गरेर भए पनि बैंकरहरु लगानी गर्न खोजिरहेका छन्।
दसैंयता पैसा बढेकाले बैंकले सुरक्षित मानिने तर करिब एक प्रतिशत मात्र ब्याज आउने सरकारी ऋणपत्रमा पैसा लगाएका छन्। यस्तो अवस्थामा मोलमलाई गर्न सक्ने ग्राहकले सस्तो दरको ऋण पाउने सम्भावना बढेको छ।
एक प्रतिशतमा लगानी गर्नुभन्दा समयमा तिर्न सक्ने राम्रा र विश्वासिला ग्राहक आए प्रचलित ब्याजदरभन्दा केही घटाएर पनि दिन सकिने बैंकरहरु बताउँछन्।
अहिले बैंकले १५-१६ प्रतिशत ब्याजमा कर्जा दिइरहेका छन्। दुई वर्षअघि यस्तो ब्याज १० प्रतिशत हाराहारीमा थियो।
'अहिले नै हामीले छोटो अवधिका निर्यात र उत्पादनमूलक क्षेत्रतर्फको ब्याज घटाइसकेका छौं,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले नागरिकसँग भने, 'पुसपछि अन्य कर्जाको ब्याजसमेत घटाउने दबाब परिसकेको छ।'
असार मसान्तयता मात्र ४१ अर्ब रुपैयाँ निक्षेप बढेको छ। यसले बैंकहरुलाई ऋणमा ब्याज घटाउन दबाब पारेको हो। पहिलो चरणमा बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीलाई दिने ब्याज घटाइसकेका छन्। पुसबाट वित्तीय संस्थाले पैसा आउने गरी वाणिज्य बैंकमा पैसा राख्न नपाउने भएकाले बैंकहरुले उनीहरुलाई दिने ब्याज घटाएका हुन्। वित्तीय संस्थालाई दिएको ब्याज घटाउँदासमेत निक्षेप नबाहिरिएकाले बैंकहरु अन्य कर्जाको ब्याज घटाउन दबाब परेको बताउँछन्।

'पैसा धमाधम आउन थालेकाले कतिपय ब्याज घटाउन दबाब परेको छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, 'अहिले भएको निक्षेप महँगो भएकाले ह्वात्तै घटाउने अवस्था भने छैन।'

'अहिले महँगोमा निक्षेप लिएर सस्तोमा दिनुपरेकाले बैंकहरुको खर्च बढिरहेको छ,' कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'पुसपछि बैंकिङ तरलताको अवस्था स्पस्ट हुने भएकाले ब्याज घटाउनुपर्ने अवस्था छ।' उनले निक्षेप र कर्जाको ब्याजसँग सँगै घट्ने जानकारी दिए।
बैंकहरुले १ सय रुपैयाँ निक्षेप उठाएर २० रुपैयाँ ब्याज नआउने गरी राष्ट्र बैंकमा राख्नु पर्छ। १२ प्रतिशतमा एक सय रुपैयाँ लिएका बैंकले ८० रुपैयाँबाट ऋणीलाई १२ प्रतिशत ब्याज दिँदै थप आम्दानी गर्नुपर्ने हुन्छ। यसले गर्दा बैंकको कर्जाको ब्याज महँगो भएको हो।
निक्षेपको ब्याज घटेपछि कर्जाको ब्याज स्वत तल आउँछ। पहिला निक्षेपको ब्याज घटाउँदा बजारमा नराम्रो सन्देश जाने भएकाले बैंकहरु एकै पटक कर्जा र निक्षेप ब्याज घटाउने योजनामा छन्। महँगोमा लिएको निक्षेप एक प्रतिशत ब्याजमा लगाउँदा बैंकको दैनिक नाफामा असर पर्न थालेको भट्टराईले जानकारी दिए।
'कर्जाको ब्याज ह्वात्तै घटाउन अहिलेकै जस्तो तरलताको अवस्था भए कम्तीमा एक वर्ष लाग्छ,' पोडेलले भने, 'बैंकहरुले एक वर्ष अवधिको महँगो निक्षेप लिएकाले समय लाग्ने हो।'

No comments:

Post a Comment

thanks for comment