नयाँ उचाइमा पुरानो बैंक

सुदर्शन सापकोटा
काठमाडौं, मंसिर ५ - 
नेपाल कमर्स क्याम्पसमा पढ्ने सविन भट्टराईसँग नेपाल बैंकको खाता छ। इलाममा बस्ने उनका बुवाले काठमाडौंको खर्चपानीका लागि पैसा पठाउँदा त्यही खातामा राखिदिन्छन्। ६ वर्षअघि आफ्नो ठाउँमा अरु बैंक नभएका बेला उनले नेपाल बैंकमा खाता खोलेका थिए।
निजीले २ अर्ब पुँजी पुर्‍याएर 
४६ अर्ब निक्षेप उठाएका छन्।
यसले भने ३८ करोड पुँजी 
हुँदाहुँदै बैंकले ४६ अर्ब ७० करोड 
बचत बटुलेको छ। बैंकको सेवा 
लिनेको संख्या १० लाख नाघेको छ।
'अरु बैंकभन्दा नेपाल बैंकनजिक भएकाले खाता खोलेको थिएँ,' उनले भने, 'बुवाको पुरानो खाता पनि त्यहीं भएकाले सजिलो भयो।' केही वर्षअघि बैंकहरुले खाता खोल्न दुईजना खाता भएका व्यक्तिको सिफारिस अनिवार्य माग्थे। उनको बुवा तथा चिनेजानेकाको खाता पनि भएकाले उनलाई त्यहाँ खोल्न सजिलो परेको थियो।
देशकै पुरानो नेपाल बैंकको उमेरसँगै उसप्रति जनताको विश्वास पनि झाँगिदै गएको छ। न निजी क्षेत्रका बैंकमा जस्तो प्रविधिमैत्री जनशक्ति छन् न पुँजी नै ठूलो छ। तर पनि बैंकको निक्षेप र ग्राहक संख्या बढ्दो छ। ५६ जिल्लामा बैंकले १ सय १२ वटा शाखा खोलेको छ।
नेपालमा वित्तीय जागरणको सुरुवात गरेको बैंकले बितेको बुधबार ७५औं वार्षिकोत्सव मनाएको छ। अरु बैंकको भन्दा ७५ प्रतिशतभन्दा कम पुँजी नेपाल बैंकसँग छ। निजीले २ अर्ब पुँजी पुर्‍याएर ४६ अर्ब निक्षेप उठाएका छन्। यसले भने ३८ करोड पुँजी हुँदाहुँदै बैंकले ४६ अर्ब ७० करोड बचत बटुलेको छ। बैंकको सेवा लिनेको संख्या १० लाख नाघेको छ।
कमजोर सरकारी नीतिका कारण जथाभावी नउठ्ने गरी कर्जा प्रवाह
गरेर २०५५/५६ तिर एकदमै खराब अवस्थामा पुगेको बैंकमा विस्तारै सुधारका संकेत देखिन थालेका छन्। केही वर्षअघि १२ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक नेटवर्थ रहेको बैंकले यसलाई घटाएर ४ अर्ब २२ करोडमा झारिसकेको छ। विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सुधारको क्रममा रहेको बैंकले कार्यक्रम सुरु भएयता निरन्तर नाफा गर्दै आएको छ। गत असोज मसान्तमा मात्रै बैंकले ३४ करोड नाफा कमायो।
'बैंकमा धेरै सुधार आइसकेको छ। खराब अवस्था हुँदा पनि जनताको विश्वास र सरकारी सहयोगले जनविश्वास गुमाउनुपरेन,' बैंकका व्यवस्थापन समूह संयोजक महेश्वरलाल श्रेष्ठले भने। राष्ट्र बैंकका निर्देशक रहेका उनी नेपाल बैंकमा प्रमुख कार्यकारी छन्।
सबैभन्दा बढी शाखा रहेको नेपाल बैंक राष्ट्र बैंकभन्दा पुरानो संस्था हो। बैंकले १९९४ कात्तिक ३० बाट कारोबार सुरु गरेको हो। ७५ वर्षमा आइपुग्दा बैंकले २६ अर्ब ७१ करोड कर्जा प्रवाह गरी कुल ३७ अर्ब लगानी गरिसकेको छ।
३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ। बैंकले आगामी ३ वर्षभित्र राष्ट्र बैंकले तोकेको पुँजी संरचनाअनुसार वृद्धि गर्ने तयारी थालिसकेको छ। 'तीन वर्षभित्र हामी बैंकको पुँजी ४ अर्ब र अन्य वित्तीय सूचकांक आवश्यकताअनुसार पुर्‍याई पूर्ण क्षमतामा पुर्‍याउने छौं,' श्रेष्ठले भने। वाणिज्य बेंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब हुनुपर्छ।
अहिले ऋणात्मक नेटवर्थ रहेको बैंकको सम्पत्ती बिक्री गरेको अवस्थामा नेटवर्थ न्यूनतम पनि ९ अर्बभन्दा बढी पुग्ने मूल्यांकनकर्ताले बताउँदै आएका छन्। बैंकले केही समयअघि तेस्रो पक्षबाट सम्पत्तीको मूल्यांकन गराएको थियो।
वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु हुनुअघि बैंकको खराब कर्जा ६० प्रतिशत थियो। कार्यक्रम लागु भएपछि यस्तो कर्जा अहिले ५ प्रतिशतको हाराहारीमा झरिसकेको छ।
१२ जना कर्मचारीबाट सुरु भएको नेपाल बैंकमा अहिले २ हजार ८ सय जनाभन्दा बढी कर्मचारी छन्। केही वर्षअघिसम्म ८ हजार कर्मचारी थिए। कर्मचारी धेरै तर प्रतिस्पर्धी नभएपछि बैंकले स्वैच्छिक अवकास योजना ल्याएर संख्या घटाएको हो। २०४६ पछि निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको संख्यामा ह्वात्तै वृद्धि हुन थालेपछि बैंकले पनि प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न थालेको छ।
राष्ट्र बैंकले नेपाल बैंकको पुँजी धनात्मक बनाउनका लागि पुँजी योजना पारित गरिसकेको छ। योजनाअनुसार बैंकले २०७१ भित्र हकप्रद सेयर जारी गरेर तथा सम्पति विक्री गरेर पुँजी पुर्‍याउने छ।
बैंकको वित्तीय अवस्था सुधार भएपछि उसले प्रविधिमा पनि सुधार गरेको छ। विगतमा पैसा झिक्न आउने बचतकर्तालाई घन्टौं लाइनमा राखेर सेवा दिने बैंकले अहिले केही मिनेटमै भुक्तानी दिन थालेको छ। 'विगतमा ढड्डा पल्टाएर रेकर्ड मिलाएर घन्टौं लाइन लागेपछि पैसा भुक्तानी दिने अवस्था थियो,' श्रेष्ठले भने, 'अहिले तत्काल भुक्तानी हुन्छ।' बैंकले सबै शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिन थालेको उनले जानकारी दिए। बैंकले अहिले एटिएम कार्ड, एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा सुरु गरिसकेको छ।
बैंकले जनशक्तिामा पनि नयाँ अनुहार भित्राउन थालेको छ। पुरानो बैंक भएसँगै पुराना कर्मचारीको बाहुल्य रहेको बैंकले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न दुई वर्षयता भर्खर विश्वविद्यायलबाट पास गरेका अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा एमबिएलाई नियुक्त गर्न थालेको छ। 'पुरानो कर्मचारीको अनुभव र नयाँको सीप तथा क्षमता प्रयोग गरेर बैंकलाई आन्तरिक रुपमा नै बलियो बनाएका छौं,' उनले भने।
विदेशी व्यवस्थापनको नेतृत्वमा बैंकले धेरै नै सुधार गर्‍यो। खासगरी कम्प्युटरमा अभ्यस्त नभएका कर्मचारी आधुनिक बैंकिङ दिन प्राविधिक रुपमै तयार भए। निक्षेप फिर्ता गर्न घन्टौं कुराउने परिपाटी टुंगियो।
राष्ट्र बैंकभन्दा पहिले स्थापना भएको नेपाल बैंकले अन्यलाई वित्तीय रुपमा साक्षर बनाउने काम गर्‍यो। अहिले देशमा २७० भन्दा बढी बैंक तथा वित्तीय संस्था पुगिसकेका छन्। ९ खर्बभन्दा बढी निक्षेप ७ खर्ब कर्जा लगानी भइसकेको छ। अहिले देशका ८३ लाख जनसंख्याको विभिन्न बैंकमा खाता छ। ३९ प्रतिशत जनसंख्याले आधा घन्टाको दुरीमा बैंकिङ सेवा पाउन थालेका छन्।

No comments:

Post a Comment

thanks for comment