डेरिभेटिभ बजार : गल्ती स्वीकार्ने तर नसच्याउने


 धितोपत्र वोर्डले गरेको अध्ययन सार्वजनिक भएपछि डेरिभेटिभ बजारको चर्चा एकाएक चुलिएको छ। ६ वर्षदेखि नियमनबीना चलिरहेको बजारका विकृतिका बारेमा समाचारहरु दैनिकजसो सार्वजनिक हुन थालेका छन्। 
 कमाउनेभन्दा गुमाउने लगानीकर्ताको संख्या धेरै भएको, डेरिभेटिभ एक्सचेन्ज चलाउने सञ्चालकहरुले विदेशी मुद्राको अपचलन गरेको, अपारदर्शी कारोबार गरेको, लगानीकर्तालाई जालझेल गरेकोलगायतका २०औं प्रश्नसहित मिडियामा समाचार आउन थालेका छन्। ६ वर्षसम्म पोजेटिभ समाचार मात्र प्रकाशित भएको देखेका डेरिभेटिभका निर्माताहरु नेगेटिभ समाचार आउन थालेपछि अत्तालिएका छन्। उनीहरुसँगै लगानीकर्तामा पनि अन्यौलता वढेको छ। तर ढिलोचाँडो समाचार आउनेवाला नै थियो। वोर्डको रिपोर्ट सार्वजनिक भएपछि अपेक्षाभन्दा चाँडो समाचार आएको मात्र हो। 
 आफूहरु स्वनियमनमा बसेका छौं भनेर सार्वजनिक भाषण दिनेहरु अहिले आफै भन्न थालेका छन् हामीबाट गल्तीहरु पनि भएका छन्। समाचार सार्वजनिक हुनअघि नै उनीहरुलाई आफ्ना गल्तीहरु थाहा थियो भने किन सुधार गर्नतिर लागेनन्? ७५ हजारमा एक किलो सुन किन्न पाइन्छ भन्दै लगानीकर्तालाई 'गुमराह' मा राखेर बजारमा तानेका उनीहरुले मिडियाले सत्यतथ्य वाहिर ल्याउन थालेपछि अहिले आएर हामीबाट गल्ती भएको छ भन्नुमा कति दम छ? अहिले आएर पनि उनीहरुले आफ्ना गल्ती सच्याउन के के गरे त? समाचार आउन थालेपछि मिडिया हाउसहरुमा सर्वसाधारणको जानकारीका नाममा विज्ञापन फ्याँक्न थाले– ताकी नेगेटिभ समाचार नआओस्।
 तर उनीहरुले साँच्चै नै रियलाइज गरेको भए कमोडिटी बजारका बारेमा 'जानकारी' फैलाउनतिर लाग्दैन थिए 'शिक्षित' बनाउत तिर लाग्थे। जानकारी बढाउनु त आफ्नो मात्र बजार प्रवर्द्धन गर्नु हो। तर शिक्षित बनायो भने लगानीकर्ताले बजारको बारेमा सम्पूर्ण कुरा जान्ने मौका पाउँछ। ग्राहकलाई शिक्षित बनाउँदा बजारका बारेमा 'अन्दर' का कुरा सवै थाहा पाएर उ फर्किदैन भन्ने भ्रममा एक्सचेन्जहरुले पालेर बसेका छन्। तर उनीहरुले के वुझेनन् भने– नियमनका बारेमा लगानीकर्ताले नै सम्वन्धित निकायलाई झक्झकाउँछन् भनेर। 
 सँधै सट्टेवाजी नै गर्ने हो भने बजार किन चाहियो भनेर अहिले गम्भिर रुपमा प्रश्नहरु आउन थालेपछि उनीहरु आत्तिएका हुन्। सवै एक्सचेन्जहरुले स्थापना हुँदा उनीहरुले भन्ने गरेका थिए, 'लोकल कमोडिटीहरुको पनि कारोबार गराउँछौं। किसानहरु अहिले ठगिएका छन्। त्यसबाट किसानलाई फाइदा पुर्‍याएर राष्ट्रिय अर्थतन्त्र विकासका लागि काम गर्छौं।' के उनीहरुले गरेको प्रतिवद्धता पुरा गरेका छन्। छैन। किनभने, अहिले स्पेकुलेसनबाट टन्न कमाइ भइरहेको बेला कसले झन्झट बोक्ने? व्यापार गर्ने भनेको नाफाका लागि हा, नाफा भइरहेको छ। अनि केका लागि टाउको दुखाइ लोकल उत्पादनको कारोबार गराउन। किसान, राष्ट्रिय अर्थतन्त्र सबै भन्ने कुरा न हुन्। डेरिभेटिभ बजारले राष्ट्रिय अर्थतन्त्रलाई फाइदा पुर्‍याउन केही न केही गर्नैै पर्छ। सँधै सट्टेवाजी गरेर हुँदैन। किसानको हितमा कन्ट्राक्टहरु ल्याउनु पर्छ। सट्टेवाजी नै गर्ने हो भने नेपालमा के क्यासिनो कम छ र? जुवाका अखडा छँदै छन् नि किन डेरिभेटिभ चाहियो? 
सजिलै कमाइ हुन थालेपछि ६ वर्षमा एउटा, दुई वटा होइन सात–सात वटा एक्सचेन्ज सञ्चालनमा आए। ५२ वटा त कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै भइसके। कमोडिटी बजारको सुधारका लागि सरकारको पनि कमजोरी छ। सरकारले यसलाई करको दायरामा त ल्यायो तर यसबाट लगानीकर्ता ठगिन थालेका छन् भनेर कहिले पनि ध्यान दिएन। सन्सारका प्राय मुलुकमा सञ्चालन भइरहेको यस्तो बजार नेपालमा पनि चल्नु पर्छ। यिनीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा लगानउ तुरुन्तै नियमन गर्ने बेला भइसकेको छ। ऐन बनाउने बेला भइसकेको छ।

2 comments:

  1. कमोडिटीवालाहरुले मनपरी गरिरहेका छन्। ब्लग होइन सर समाचार लेख्नु पर्‍यो। यिनीहरु राष्ट्रिय ठगहरु हुन्। यिनीहरुलाई युनिटी बनाउनु पर्छ। यि सबै जनता ठग्न पल्केकाहरु हुन् ।

    ReplyDelete
  2. कमोडिटीवालाहरु राष्ट्रिय ठगहरु हुन्।

    ReplyDelete

thanks for comment