एनबी समुहको सेयर बेच्न अर्थसँग राय माग

काठमाडौं, भदौ २६
नेपाल बंगलादेश बैंकको प्रवर्द्धक सेयर विक्री गर्नका लागि राष्ट्र बैंकले सरकारसँग राय मागेको छ। राष्ट्र बैंकले एनबी समुहको स्वामित्वमा रहेको २६ प्रतिशत सेयर विक्रीका लागि स्वीकृति दिने/नदिने बारे अर्थ मन्त्रालयसँग मंगलबार राय माग गरेको हो।
एनबी समुहले ओगटेको सेयर बंगलादेशको आइएफआइसी बैंकले खरिद गर्न चाहेको छ। एनबी समुहले नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा रहेर लिएको ऋण नतिर्ने गरेपछि राष्ट्र बैंक यो समुहलाई बैंकबाट अलग गराउन चाहेको छ।
समुहको नाममा रहेको ६० लाख कित्ता सेयर विक्री गरेर आएको पैसा बैंकको ऋण चुक्ता गर्ने सर्तमा राष्ट्र बैंकले एनबी समुहलाई अनौपचारिक स्वीकृति दिइसकेको छ। औपचारिक स्वीकृति दिनुअघि राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग राय माग गरेको हो।
'सरकारका तर्फबाट अर्थमन्त्रालयले राय दिएपछि सेयर विक्री गर्न दिने/नदिने निर्णय गरिने छ,' राष्ट्र बैंक स्रोतले भन्यो।
राष्ट्र बैंकले कारवाही गर्ने चाल पाएपछि एनबी समुहका तर्फबाट सञ्चालक बनेका लक्ष्मीवहादुर श्रेष्ठ र पुष्पराज राजकर्णिकारले राजिनामा गरेपछि सेयर विक्रीको बाटो खुला भएको हो। उनीहरुले १५ दिनअघि राजिनामा गरेका थिए। समुहको नाममा ६० लाख कित्ता सेयर भए पनि लक्ष्मीवहादुरको नाममा ४ लाख कित्ता मात्र सेयर छ।
सञ्चालकले आफ्नो सेयर विक्री गर्न पद छाडेको एक वर्ष समय कुर्नु पर्ने कानुनी व्यवस्था छ। यही व्यवस्थाका कारण एनबी समुहको सेयर  विक्री योजना पछि सरेको थियो। 'चार लाख कित्ता वाहेकको वाँकी ५६ लाख कित्ता सेयर विक्री गर्न समस्या छैन,' राष्ट्र बैंक स्रोतले भन्यो,'औपचारिक स्वीकृति दिनु पूर्व कानुनी परामर्शका लागि अर्थमन्त्रालयसँग राय मागिएको हो।'
१८ वर्षअघि खुलेको बैंकमा बंगलादेशको आइएफआइसी बैंकको ९.९२ प्रतिशत सेयर लगानी छ। अर्को बंगलादेशी बैंक बैंक एसिया लिमिटेडको १४.८८ प्रतिशत सेयर छ। एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष लगानी ३.५ र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ।
एनबी बैंकमा बैंक एसियाका तर्फबाट इरफानुद्दिन एहेमद र आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमान सञ्चालक छन्। आइएफआइसीले सबै एनबी सहुको सेयर किनेपछि उसको कुल सेयर २६.९२ प्रतिशत पुग्ने छ।
एनबी समुहले सेयर विक्री गरेर आएको पैसा त्यही बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्नु पर्ने छ। राष्ट्र बैंकले सेयर विक्री गरेको रकम ऋण भुक्तानी गर्नलाई प्रयोग गर्नु पर्ने गरी एनबी समुहलाई लिखित हस्ताक्षर गराइसकेको छ। एनबी समुहले एनबी बैंकबाट लिएको करिव ५० करोड ऋण भुक्तानी गर्न वाँकी छ।
एनबी समुहको ६० लाख कित्ता सेयर प्रति कित्ता सय रुपैयाँका दरले विक्री भएमा पनि बैंकको ऋण तिर्न पुग्छ। बंगलादेश बैंकको प्रवर्द्धक सेयरको पछिल्लो कारोबार मूल्य प्रति कित्ता २ सय २० रुपैयाँको हाराहारीमा छ। बैंकले गत आर्थिक वर्ष १ अर्ब ३ करोड नाफा कमाएको थियो।
राष्ट्र बैंकले लक्ष्मीवहादुर श्रेष्ठ, विष्णु अधिकारीलगायतका सञ्चालकलाई जनही ५ लाख जरिवाना गर्ने निर्णय गरिसकेको छ। गत वर्षको वासलातमा देखिएको कैफियत सुधार नगरेको, प्र्रकृया नपुर्‍याइ ऋण अपलेखन गरेको, लिलाम वोलकवोलको बैना रकम फिर्ता गरेको लगायतको बारेमा राष्ट्र बैंकले सञ्चालक समितिसँग स्पष्टीकरण सोधेको थियो। सञ्चालकहरुले स्पष्टीकरणको चित्त वुझ्दो उत्तर नदिएपछि राष्ट्र बैंकले कारवाही गरेको हो।
लक्ष्मीवहादुर लगायतका सञ्चालकहरुले राजिनामा गरेपछि बैंकले शम्भुशरण कायस्थ, अच्युत बजगाइँ र मुकुन्द ढुङ्गेललाई नयाँ सञ्चालकमा चयन गरिसकेको छ।

No comments:

Post a Comment

thanks for comment