तस्करले सुन उठाउँदा बजारबाट डलर गायव, राष्ट्र बैंक भन्छ–जुन देश जाने हो त्यहीँको पैसा लैजाउ

काठमाडौं, भदौ २० - चीनबाट सुनको अवैध आयात गर्ने व्यापारीले प्रयोग गर्न थालेपछि केही दिनयता बजारमा डलर अभाव चर्किएको छ। नेपालमा भन्दा चीनमा सुन सस्तो भएकाले तस्करहरूले सुन खरिद गर्न मनी चेन्जरहरूलाई बजार मूल्यभन्दा तीन रुपैयाँसम्म बढी तिरेर डलर उठाएपछि बजारमा अभाव चर्किएको हो।
चीनमा प्रतिदस ग्राम सुनको मूल्य नेपालको भन्दा तीन हजार चार सय रुपैयाँ सस्तो छ। सस्तो सुन खरिद गर्न व्यापारीले मनी चेन्जरबाट डलर उठाउन थालेका हुन्। मंगलबार चीनमा प्रतिदस ग्राम सुनको मूल्य ४८ हजार ५६ रुपैयाँ छ। नेपालमा त्यति नै सुनको मूल्य ५१ हजार ४ सय ४० रुपैयाँ छ। प्रति दश ग्राम २ हजार ३ सय रुपैयाँ भन्सार शुल्क तिर्दा पनि नेपाली सुन चीनको भन्दा महँगै छ। भन्सार तिरेर सुन बेच्दा प्रति १० ग्राममा २३ सय रुपैयाँको अन्तर पर्ने भएकाले तस्करी मौलाएको हो।
मनी चेन्जरहरूले पनि बजारमा चलेको दरभन्दा बढी मूल्य पाउन थालेपछि बैंकमा जम्मा नगरी बाहिरै बिक्री गर्न थालेका छन्। अहिले एक डलर ८९ रुपैयाँको हाराहारीमा चलेको छ। सुन तस्करहरुले ९२ रुपैयाँसम्म तिरेर मनी चेन्जरबाट पैसा उठाइरहेका छन्।
मनी चेन्जरहरूले संकलन गरेको डलरको रेकर्ड नराखी सोझै तस्करलाई बिक्री गरिरहेको स्रोतले बतायो। यही कारण उनीहरूले बंैकमा जम्मा गर्ने डलरको बचत दुई महिनायता आधाले घटेको छ। डलरको मुख्य स्रोत मनी चेन्जरको निक्षेप र पर्यटकले खोलेको खाता हो। बैंकमा संकलन हुने कुल डलरमध्ये पर्यटकको खाताको हिस्सा एकदमै थोरै हुन्छ।
'अहिले मनी चेन्जरले बैंकमा डलर कम जम्मा गर्न थालेका छन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले मंगलबार नागरिकसँग भने, 'तीन महिनायता मनी चेन्जरले डलर जम्मा गर्न ५० प्रतिशतले घटाइसकेका छन्।' उनले मनी चेन्जरले डलर नल्याउँदा बजारमा सटही अभाव भएको जानकारी दिए।
बजारमा डलर अस्वभाविक रुपमा हराएपछि राष्ट्र बैंकले यसको निगरानी सुरु गरेको छ। प्रहरीमार्फत मनी चेन्जरहरुको निगरानी सुरु गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो।
बजारमा डलर अभाव भएर सर्वसाधारणले गुनासो गर्न थालेपछि राष्ट्र बैंकले जुन देश जान लागेको त्यही देशको मुद्रा साटेर लैजान सार्वजनिक अपिल नै गरिसकेको छ। राष्ट्र बैंकले पाँच सय डलरसम्म साट्न समस्या नभएको जनाए पनि पढ्न, घुम्न, औषधी उपचारका लागि विदेश जानेहरुले अझै त्यति रकम पाएका छैनन्।
'ग्राहकलाई ५ सय डलरसमेत दिन सकिएको छैन,' जोशीले भने, 'पहिले २५ सय डलरसम्म नगद दिन सकिन्थ्यो।' डलर अभाव चर्किएपछि राष्ट्र बैंकले पाँच सय डलरभन्दा बढी नगद साट्न नपाइने व्यवस्था गरेको छ। पाँच सयभन्दा बढी रकमका लागि कार्ड र ट्राभलर चेक लग्नुपर्ने व्यवस्था गरेको छ।
चीनबाट आएको सुन नेपाली बजारमा सजिलै बिक्री गर्न कठिन छ। त्यही भएर नेपाल भित्रिएको अधिकांश सुन भारत जाने गरेको छ। भारतका सीमावर्ती क्षेत्रमा सुन बिक्री गर्न कठिनाइ नभएको स्रोतले बतायो।
तस्करहरुले चीनको सुन स्थानीय बासिन्दालाई प्रयोग गरेर नेपाल छिराउँछन्। स्थानीयले प्रतिकिलो सुन नेपाल छिराएबापत २० हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन्। एक खेपमा स्थानीयले १० किलो सुन नेपाल भित्राएर २ लाख रुपैयाँसम्म कमाउँछन्।
राष्ट्र बैंकले डलरको सहज आपूर्ति होस् भनेर केही दिनअघि उपहार, गिफ्टलगायतमा आएको ५ सय डलरसम्म व्यक्तिगत रुपमा मनी चेन्जरमा साट्न पाउने व्यवस्था गरेको छ। 'घरमा भएको डलर पनि बजारमा आओस् भनेर नीति परिवर्तन गरेको थियो,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'तर यस्तो डलर पनि दुरुपयोग हुन थालेको छ।' राष्ट्र बैंकले यस्तो डलर बैंकमा गएर साट्न पाउने व्यवस्था गरे अभाव कम हुने उनले दाबी गरे।

No comments:

Post a Comment

thanks for comment