समितिले एभरेष्टलाई स्पष्टीरण सोध्यो

काठमाडौं, भदौ २९- बिमा समितिले एभरेस्ट इन्स्योरेन्स कम्पनीलाई तीन दिने स्पष्टीकरण सोधेको छ। कम्पनीले 'सिस्टम' बन्द गरेर सम्पूर्ण कारोबार रोकेपछि समितिले स्पष्टीकरण सोधेको हो।
'कम्पनीले कारोबार बन्द गरेको समाचार आइरहेकाले त्यस बारेमा वास्तविकता के हो तीन दिनभित्र जवाफ पठाउन भनेका छौं,' समिति स्रोतले भन्यो, 'स्पष्टीकरणको जवाफ आएपछि आवश्यक निर्णय गर्छौं।' स्रोतले कम्पनीले जवाफ नपठाए कानुनी रुपमा कारवाही गरिने तयारी भइरहेको बतायो। समितिले बिहीबार दिउँसो स्पष्टीकरण पठाएको हो।
समितिले बिहीबार स्पष्टीकरण पठाइ रहँदा एभरेष्ट इन्स्योरेन्सले भने कारोबार बन्द गर्नेलगायतका निर्णयहरु सवै 'माइन्युट' गरेको छ। मंगलबार कम्पनीले माइन्युट नै बिना कम्पनी बन्द गरेको थियो। 'निर्देशनका कारण कम्पनी चल्नै नसक्ने भएपछि औपचारिक रुपमा माइन्युट गरेका छौं,' कम्पनी स्रोतले भन्यो, '६ महिनाभित्र सबै दावी भुक्तानीका रकम सकेर औपचारिक रुपमा कम्पनी बन्द गरेर अन्य क्षेत्रमा लगानी गर्छौं।'
कम्पनी बन्द गर्न वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गराउनु पर्छ। त्यो प्रस्ताव बिमा समितिमा लगेपछि मात्र कम्पनी बन्द गर्ने औपचारिक बाटो खुल्ने छ। तर सञ्चालकहरुले भने कम्पनी बन्दका लागि कुनै पनि औपचारिकता पुरा गरेका छैनन्।
कम्पनीले बिमा राफसाफ गर्ने, कम्पनीको आकार घटाउने, सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन गर्ने र आगामी व्यवसाय के गर्ने भनेर प्रस्ताव तयार पार्ने निर्णय गर्दै माइन्युट गरेको हो। कम्पनीले सहायक महाप्रबन्धकहरुलाई यसको जिम्मेबारीसमेत दिएको छ।
कम्पनीले कर्मचारीहरुका लागि स्वेक्षिक अवकासको योजना समेत ल्याउने भएको छ। ८५ जना कर्मचारीमध्ये ३२ जना करारमा रहेकाले उनीहरुलाई कम्पनीले चाँडै विदाइ गर्दैछ। वाँकी कर्मचारीका लागि कम्पनीले अवकास योजना ल्याउन लागेको हो। कम्पनीले ६ महिनाको तलव सुविधा सहित स्वेक्षिक योजना ल्याउन लागेको हो।
कम्पनीले बिमा समितिको संस्थागत सुशासन सम्वन्धि दिर्नेशिककाका कारण व्यवसाय गर्न नसकिने भन्दै कारोबार बन्द गरेको जनाएको छ। कम्पनीले ६ महिनाभित्र सम्पूर्ण दावी भुक्तानीहरु सकेर बन्द गर्ने योजना बनाएको छ।
'हामी कुनै पनि हालतमा कम्पनी चलाउने पक्षमा छैनौं,' एभरेष्ट स्रोतले भन्यो, 'हामीले औपचारिक माइन्युट गरेर बन्दको निर्णय गर्‍यौं।' सञ्चालक समितिले कर्मचारी व्यवस्थापन, दावी भुक्तानीलगायतका कामका लागि बिहीबार जिम्मेवारीहरुसमेत तोेकेको छ।
'अब कम्पनी ऐन अन्तर्गत रहेर अन्य कारोबार गर्ने योजनामा छौं,' एक सञ्चालकले भने, 'के गर्ने टुङ्गो लागिसकेको छैन। तर प्रस्ताव तयार भइसकेपछि त्यतातिर लाग्छौं।'
समिति भने कम्पनीको सञ्चालक समितिलाई खारेज गरेर व्यवस्थापन नियन्त्रणमा लिने योजनामा छ। 'हामी नियम कानुन अनुसार अगाडि वढ्नु पर्छ। नियम वाहिर जानेलाई कडा कारवाही गर्नै पर्छ,' स्रोतले भन्यो, 'सेयरधनी र ग्राहकको भविस्य अन्यौल बनाएर हामी बस्न सक्दैनौं। व्यवस्थापन नियन्त्रणमा पनि लिन सकिन्छ।'
नेपाल स्टक एक्सचेन्जले पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिसकेको छ।
बिमा समितिले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व नै ४ करोड रुपैयाँ दावी भुक्तानी गरेको भन्दै कारवाही गरेपछि कम्पनीले कारोबार बन्द गरेको हो। कम्पनीले बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धि निर्देशिकाका कारण काम गर्न नसकिएकाले कारोबार बन्द गर्नु परेको आरोप लगाएको छ।
'कारवाही गरेको कम्पनीले सुशासनको मुद्दा उठाएर कारोबार बन्द गर्न मिल्दैन। यो गैरकानुनी हो,' समिति स्रोतले भन्यो, 'कम्पनीलाई गरेको कारवाहीको विषय वस्तुलाई अन्तै तिर मोडेर सुशासनको मुद्दा उठाइएको हो।' समितिले जारी गरेको निर्देशनको अन्य २४ बिमा कम्पनीले सार्वजनिक विरोध गरेका छैनन्।
चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ रहेको कम्पनीले गत वर्ष ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले ७२ करोड ३२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको गरेको थियो।

No comments:

Post a Comment

thanks for comment