एभरेस्ट इन्स्योरेन्सद्वारा सबै कारोबार बन्द

काठमाडौं, भदौ २७- विमा समितिका पछिल्ला निर्देशनले काम गर्न असजिलो बनाएको आरोप लगाउँदै एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि बिमा सम्बन्धि सम्पूर्ण कारोबार बन्द गरेको छ। नियामक निकाय बिमा समितिका गलत निर्देशन र कर्मचारी युनियनका अनावश्यक हस्तक्षेपका कारण बिमा व्यवासय गर्न कठिन भएको आरोप लगाउँदै समितिले कारोबार बन्द गर्ने निर्णय गरेको हो।
कम्पनीको संचालक समिति सोमबार दिनभर कारोबार बन्द गर्ने -नगर्ने विषयमा छलफलमा व्यस्त थियो। कम्पनीले मंगलबार विहान सवा १० बजे कर्मचारीलाई कारोबार बन्द गर्ने निर्णय भएको जानकारी गराएको थियो। तर, सोमबार साँझबाटै 'सिस्टम' बन्द गरिएको थियो। कम्पनीले नयाँ बिमा लेख जारी नगर्ने र पुराना बिमा लेख घटाउँदै जाने निर्णय गरेको छ।

बिमा समितिले जारी गरेको संस्थागत सुसाशन सम्वन्धि निर्देशिका-२०६९ पालना गर्न नसकिने भएपछि कम्पनी बन्द गरेर जानु पर्ने वाध्यता भएको एक सञ्चालकले जानकारी दिए। उनले समितिले निर्देशिकामार्फत कम्पनीहरु चल्न नसक्ने गरी निरङकुशता लाद्न खोजेको आरोप लगाए।

'नियामकले दिएको निर्देशन पालना गर्नुपर्छ। पालना गर्न नसकिने भए कम्पनी बन्द गर्नु पर्छ,' ती सञ्चालकले भने, 'निर्देशन पालना गर्न नसकिने अवस्था भएकाले बन्द गर्नुपर्ने विकल्प रोज्नु पर्यो।' उनले समितिले सरोकारवालासँग छलफल नै नगरी निर्देशन जारी गर्ने र पूर्वाग्रह राखेर कारवाही गर्ने गर्दा व्यवसाय गर्न गाह्रो भएको बताए।

यो कम्पनी सञ्चालक समिति अध्यक्षमा राजेन्द्रकुमार खेतान छन्। सदस्यहरुमा रतनलाल संघाइ, विरेन्द्रकुमार शाह, मधुसुदन अग्रवाल, निरन्जन टिवडेवाला, ओमप्रकाश सिकारिया, प्रेमप्रकास खेतान, प्रसाद ज्ञवाली र रवीकुमार टिवडेवाला छन्।

'कतिसम्म निर्देशन दिँदा कम्पनी चल्न सक्छन् भनेर समितिले बुझ्न सकेन,' ती सञ्चालकले भने, 'कतिपय कारवाहीहरु पूर्वाग्रह राखेर गरियो। चौतर्फी आक्रमण हुन थालेपछि कारोबार गर्न सकिन्न। त्यही भएर बन्दको विकल्पमा गयौं।'

बिमा समितिले गत १२ गते सर्वेयरको पूर्ण प्रतिवेदन नआउँदै बिमाको दावी भुक्तानी गरेको भन्दै अग्नी बिमा कारोबारमा रोक लागाउँदै जरिवाना गर्ने निर्णय गरेको थियो। समितिले प्रमुख कार्यकारीलाई हदैसम्मको कारवाही गर्न सञ्चालक समितिलाई निर्देशन पनि दिएको थियो। हिमालयन स्न्याक्स एन्ड फुड प्रालिलाई कम्पनीले ४ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

समितिले दुई साताअघि निर्देशन जारी गर्दै एकाघरको बिमा व्यवसाय गर्न नपाउने, सञ्चालक समितिमा एकाघरको एकभन्दा वढी सदस्य हुन नपाउनेलगायतका व्यवस्था गरेको छ।

'यहाँ गरेको व्यवसायको हामीले पुनर्बिमा गराउनु पर्ने हुन्छ,' एक सञ्चालकले भने, 'पुनर्विमा कम्पनीहरुले समितिको निर्देशन बमोजिम काम गर्न समेत कठिन छ। यसले गर्दा व्यवसाय वढाउन सकिने अवस्था छैन।' उनले एभरेस्ट इन्स्योरेन्स कम्पनी ऐनमा दर्ता भएर बिमा ऐन अनुसार चलिरहेकोमा बिमा कारोबार बन्द भएपछि कम्पनी ऐनले दिएको अधिकार प्रयोग गरेर अन्य कारोबार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

'कम्पनी ऐन अनुसार कारोबार गर्न हामीलाई कसैले छेक्दैन,' ती सञ्चालकले भने, 'बिमा ऐन अनुसार कारोबार गर्दैनौं।'

एभरेस्ट इन्स्योरेन्स गैरजीवन बिमा कारोबार गर्ने सबैभन्दा ठूलो कम्पनी हो। साउनमा मात्र कम्पनीले सवा १३ करोडको नयाँ बिमा गरेको थियो। चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ रहेको कम्पनीले गत वर्ष ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले ७२ करोड ३२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको गरेको थियो।

कम्पनीले कार्यालय खुला राखेपनि बिमा सम्वन्धि कुनै कारोबार गर्दैन। कम्पनीमा कुनै काम नभएपछि कर्मचारीहरु छाडेर अन्य संस्थामा जाने वा स्वेक्षिक अवकास कार्यक्रममार्फत वाहिरिने एक सञ्चालकले जानकारी दिए। कारोबार बन्द भएपनि कम्पनी सञ्चालन भएसम्म (२०७१) कर्मचारीहरुले तलव सुविधा भने पाउने छन्। कम्पनीमा करिव ८५ कर्मचारी कार्यरत छन्।

कम्पनी सञ्चालकले निर्णय गरे पनि औपचारिक माइन्युट भने गरिसकेको छैन। कम्पनीले अगाडि कसरी वढ्ने भनेर चार्टर्ड एकाउन्टेन्ट र कानुन विद्वहरुसँग छलफल गरेपछि औपचारिक माइन्युट गर्ने निर्णय गरेको छ। 'कम्पनी बन्द गर्ने निर्णय भइसकेको छ, तर अगाडि वढ्ने प्रकयाका बारेमा अनभिज्ञ भएकाले छलफलपछि माइन्युट गर्छौं,' उनले भने।

कम्पनी सञ्चालक समितिले ६ महिनाको तलव सुविधासहित स्वेक्षिक अवकास योजना ल्याउने निर्णयसमेत गरेको छ। २०७१ सम्म सम्पूर्ण बिमाको दावी भुक्तानी सकेर संस्था बन्द गर्ने निर्णय गर्दै सञ्चालक समितिले कम्पनी सचिवमार्फत कर्मचारीहरुलाई जानकारी गराएको हो। कर्मचारीले भने तीन वर्षको तलव सुविधासहित अवकास योजना ल्याउनु पर्ने माग राखेको स्रोतले जानकारी दियो।

व्यवस्थापनबाट कम्पनी बन्द गर्ने निर्णय आएपछि युनियनलगायत कर्मचारीहरुले सुनुवाइका लागि मंगलबार नै बिमा समिति गएका छन्। उनीहरुले समितिको निर्देशनका कारण कम्पनीहरु समस्यामा परेकाले निर्देशन फिर्ता लिएर काम गर्ने वातावरण बनाइदिन समितिसँग माग गरेका थिए। स्रोतका अनुसार, समितिले भने आधाकारिक रुपमा कम्पनी बन्द गरेको जानकारी आएपछि आवश्यक निर्णय गर्ने भन्दै कर्मचारीलाई आश्वस्त पारेको छ।

कम्पनीले गत वर्ष २१ हजार ९ सय १८ मा बिमा लेख विक्री गरेको छ। कम्पनीको दावी भुक्तानी रुकम ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ।

No comments:

Post a Comment

thanks for comment