हाइप्रोफाइलहरु धमाधम कालोसुचीमा, ऋण नतिर्ने अनि उल्टो ठूला कुरा गर्ने?

कर्जा सुचना केन्द्रले धमाधम ठूलावडाहरुलाई कालोसुचीमा राख्न थालेपछि शहरमा यसले ठूलै चर्चा कमाउन थालेको  छ। सानातिना ऋणीहरु त पहिले पनि कालोसुचीमा परेकै थिए। तर ठूलावडा पनि तानिन थालेपछि अहिले कालोसुचीको चर्चा शहरभरी चल्न थालेको हो।
आफूलाई हाइप्रोफाइल भन्नेहरु बैंकबाट लिएको ऋण तिर्न नसक्दा कालोसुचीमा परेका छन्। कोही कोही भुक्तानी गरेको चेकमा पैसा नहुँदा कालोसुचीमा पर्न थालेका छन्।
घरजग्गा, सेयर कारोबार मौलाएका बेला एकाएक रोडबाट करोडपति बनेकाहरु वढीजसो कालोसुचीमा पर्न थालेका हुन्। यसवाहेक आफूलाई उद्योगी भन्न रुचाउने, वुद्धिजिवी र सम्भ्रान्तहरु कालोसुचीमा परिरहेका छन्।
पछिल्लो समय एनमबी समुहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ कालोसुचीमा परेका छन्। उनले नबिल बैंकको ४३ करोड रुपैयाँ ऋण तिर्न सकेनन् बैंकले कालोसुचीमा राख्यो। पूर्वगभर्नर तथा नबिल बैंकका अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ पनि एनबी बैंकको ऋण तिर्न नसकेपछि कालोसुचीमा परेका छन्। उनले बैंकको चार करोड रुपैयाँ ऋण तिर्न नसकेका हुन्।
पर्नलाई त अरु पनि परेका छन् कालोसुचीमा तर चर्चा लक्ष्मीवहादुर र सत्येन्द्रप्यारा अर्थात नबिल बैंक र एनबी बैंकको हुने गरेको छ। लक्ष्मीवहादुरको २६ प्रतिशत सेयर रहेको एनबी बैंकले आफ्ना अध्यक्ष सत्येन्द्रप्यारालाई कालोसुचीमा राख्न सिफारिस गरेपछि नबिलले पनि एक साताभित्रै लक्ष्मीवहादुरलाई कालोसुचीमा राखेको चर्चा शहरमा छ।
नेपालमा वित्तीय अपराधिका रुपमा कहलिएको एनबी समुहका वाँकी सदस्यहरु (लक्ष्मीवहादुरका दाइ जितवहादुर, भतिजो जेन श्रेष्ठ) पनि कालोसुचीमा पर्दैछन्। जुन क्षेत्रमा हात हाल्यो  त्यही क्षेत्र डुवाएर आफू मोटाउँदै आएका एनबी समुहलाई नियामक निकायहरु वलियो हुँदै गएपछि कारवाही गर्न थालिएको हो। नभए नीति नियमको कमजोरी पत्ता लगाएर उनीहरुले ऋण लिने र नतिर्ने गर्दै आएका थिए।
नियामक राष्ट्र बैंकको प्रभावकारिता वढ्दै गएको र बैंकहरुमा पनि ऋण नतिर्नेलाई छाड्नु हुन्न भन्ने भावना विकास हुन थालेकाले आफूलाई सम्मानित भन्नेहरु कालोसुचीमा पर्न थालेका हुन्। किनभने उनीहरुले ऋण अहिले आएर नतिरेका होइनन्। धेरै नै भइसकेको थियो ऋण नतिरेको।
बैंकहरुले आफूलाई वढी विजिनेस दिने (भोली पनि दिन सक्छन्) हरुलाई पनि अहिले कालोसुचीमा राख्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाले अरबपति अग्नी एयरका मालिक सुधिर बस्नेत, गुण एयरलाइन्सका मालिक राजेन्द्र (डिजेन्द्र) श्रेष्ठ, प्रदीपमान वैद्य, चण्डीराज ढकाल, विनिता प्रधानलगायत हाइप्रफाइललाई पनि कालोसुचीमा राख्न  थालेका छन्।
बैंकको ऋण नतिर्ने उल्टो टोलछिमेकमा ठूला गफ दिनेहरुलाई कालोसुचीमा राखेर मात्र पुग्दैन। कडाभन्दा कडा कारवाही पनि गर्नु पर्छ। बैंकहरुले ऋण नतिर्ने अथवा नियम विपरित कारोबार गर्ने हाइप्रोफाइलरुलाई कालोसुचीमा राख्न थालेकाले यसलाई सबैले तारिफ गर्नै पर्छ। तर कालोसुचीमा मात्र मख्ख परेर हुँदैन। कडाभन्दा कडा कारवाहीमा पनि जानु पर्छ।

1 comment:

  1. कमजोर खालका ठूलावडालाई मात्र कालोसुचीमा होला। अरुलाई पनि राखेर देखाउन् अनि पत्याउँला।

    ReplyDelete

thanks for comment