एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं, भदौ २७
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। कम्पनीले बिमा कारोबार बन्द गरेको समाचार सार्वजनिक भएपछि नेप्सेले सोधपुछका लागि भन्दै कारोबार रोक्का गरेको हो।
कम्पनीको पछिल्लो सेयर कारोबार मंगलबार प्रति कित्ता ३ सय २५ रुपैयाँका दरले किनवेच भएको थियो। कम्पनीले सोमबार साँझबाट 'सिस्टम' बन्द गरेर मंगलबारबाट कारोबार बन्द गरेको थियो। यो समाचार सार्वजनिक भएपछि नेप्सेले कारोबार रोक्का गरेको हो।
कम्पनीले वुधबार आफ्ना सात वटै शाखा बन्द गरेको छ।
बिमा समितिले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व नै ४ करोड रुपैयाँ दावी भुक्तानी गरेको भन्दै कारवाही गरेपछि कम्पनीले कारोबार बन्द गरेको हो। कम्पनीले बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धि निर्देशिकाका कारण काम गर्न नसकिएकाले कारोबार बन्द गर्नु परेको आरोप लगाएको छ।
हिमालयन स्न्याक्स एन्ड फुड प्रालिमा आगलागी भएपछि एभरेस्ट इन्स्योरेन्सले सर्वेयरको पूर्ण प्रतिवेदन आउनुअघि चार करोड भुक्तानी गरेको थियो। 'कारवाही गरेको कम्पनीले सुशासनको मुद्दा उठाएर कारोबार बन्द गर्न मिल्दैन। यो गैरकानुनी हो,' समिति स्रोतले भन्यो।
समिति स्रोतका अनुसार, कम्पनीलाई गरेको कारवाहीको विषय वस्तुलाई अन्तै तिर मोडेर सुशासनको मुद्दा उठाइएको हो। 'बाँकी २४ कम्पनीलाई त्यही निर्देशन ठिक हुने एभरेष्टलाई मात्रै गलत हुने भन्ने हुँदैन,' स्रोतले भन्यो, 'उसले कारवाहीबाट जोगिन नयाँ रणनीति बनाएको मात्र हो।' स्रोतका अनुसार, समितिले कार्यालय बन्द गर्नुको कारणसहित कम्पनीलाई स्पष्टीकरण सोध्ने तयारी गरिरहेको छ।
'समितिले कारवाही गर्‍यो भनेर हामीलाई थर्काउन खोजिएको हो,' समिति स्रोतले भन्यो, 'समितिले प्रकृयागत रुपमा गएर निर्णय लिने छ। बन्द गरेको पुष्टी भए कारवाही हुन्छ।'
चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ रहेको कम्पनीले गत वर्ष ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले ७२ करोड ३२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको गरेको थियो।
'निर्णय गरेको तर माइन्युट नगरेको भन्ने समाचार सार्वजनिक भएको छ,' समिति स्रोतले भन्यो,'यो भनेको के हो? समितिले आधाकारिक निर्णयहरुलाई मात्र   मान्छ।' उनले कम्पनी खोल्नेजस्तै बन्द गर्ने पनि प्रकृया हुने भन्दै सञ्चालक समितिले निर्णय गर्दैमा पब्लिक लिमिटेड (सार्वजनिक) कम्पनी बन्द हुँदैन।

No comments:

Post a Comment

thanks for comment