बिमा बुझ्ने बढेका छन

रेस्टा झा
प्रमुख कार्यकारी अधिकृत 
प्राइम लाइफ इन्स्योरेन्स

 
कम्पनीको चालु वर्षको पहिलो छ महिनामा व्यवसाय विस्तार कस्तो रहयो ?
यो वर्ष हाम्रो अलिकति खस्किएको छ । पहिलो ६ महिनामा हाम्रो बजार १० प्रतिशतले घट्यो । यो युनिटीका कारणले हो । पहिले ५ करोड ५३ लाखको पहिलो बिमा शुल्क उठाएकोमा अहिले ४ करोड ९० लाख रुपैयाँमा झरेको छ । तर बजार सुधार हुँदै गएको छ । आगामी त्रैमाससम्म हामीले यसमा सुधार गरेर राम्रो अवस्थामा हुनेछौं । हाम्रो बजार हिस्सा पनि विस्तारै बढ्न थालेको छ । गत वर्षको पहिलो त्रैमासमा ५ प्रतिशत दोस्रोमा ४ तेस्रोमा ५ चौथोमा ७ र चालु वर्षको पहिलोमा १३ प्रतिशत छ । आगामी दिनमा यो थप बढ्दै जान्छ ।

बैंकहरुले नयाँ कर्जा दिन छाडे

निक्षेप बढ्न नसकेकाले नयाँ कर्जा दिन छाडिएको छ । थप पैसा नआउन्जेल बैंकले लगानी गर्न सक्ने अवस्था छैन ।

वृद्धि १५ बाट घटेर ९ प्रतिशतमा सीमित
सुदर्शन सापकोटा
काठमाडौं माघ २९
बैंक तथा वित्तीय संस्थाले पछिल्लो तीन सातादेखि कर्जा लगानी रोकेका छन् । बैंकमा रकम जम्मा हुनेभन्दा लगानी गर्ने क्रम बढेको कर्जा-निक्षेप अनुपात र बैंकसँग रकम पनि नभएपछि नयाँ कर्जा दिन रोकिएको हो ।
'बैंकमा रकम जम्मा हुने क्रम बढ्न नसकेकाले नयाँ कर्जा दिन छाडिएको छ,' बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भण्डारीले बिहीबार नागरिकसँग भने, 'थप पैसा नआउन्जेल बैंकले लगानी गर्न सक्ने अवस्था छैन ।'
दसैंयता बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि भएको छैन । तर यसका तुलनामा लगानी बढेकाले कर्जा-निक्षेप अनुपात बढेको छ । यो अनुपातले गर्दा बैंकहरुले तीन सातादेखि कर्जा रोकेका हुन् । गभर्नर युवराज खतिवडाका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात ८५ प्रतिशतबाट बढेर ८९ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले यस्तो अनुपात ८० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।
बैंकरका अनुसार दसैंदेखि नै कर्जा दिन कम गरिएको हो । पछिल्लो समयमा अनुपात वढेको र निक्षेप कतैबाट पनि वृद्धि हुन नसकेकाले नयाँ लगानी रोक्नुपरेको हो । 'सुस्त सरकारी खर्च र शोधनान्तर घाटा बढेकाले तरलता अभाव भएको छ,' बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले नागरिकसँग भने, 'निक्षेप नबढ्ने र दसैंयता थोरै भए पनि लगानी विस्तार भएर कर्जा-निक्षेप अनुपात बढ्दा नयाँ लगानी गर्न सकिने अवस्था छैन ।' बैंकहरुले हालसम्म ५ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन तीन सातादेखि स्थिर छ ।

'बैंक सञ्चालक र कर्मचारीको सेवा सुविधामा पनि सीमा'

 सुदर्शन सापकोटा
काठमाडौं, फागुन १२ -
राष्ट्र बैंकको कार्यकारीस्तरीय एक अध्ययन टोलीले बैंक तथा वित्तिय संस्थाका सञ्चालक समिति सदस्य र कर्मचारीको सेवा, सुविधा र तलबमा सीमा तोक्न सिफारिस गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलबमा हालै सीमा तोकेपछि विवाद उठेको थियो।

बैंकिङ क्षेत्रमा वित्तीय विवरण पारदर्शी भए पनि अन्य धेरै विषय अपारदर्शी भएकाले राष्ट्र बैंकले यस्तो अध्ययन गराएको हो। नेपालमा बजार स्वयंमले आफ्नै कार्यसन्चालन प्रणालीलाई स्वनियमन गर्न सक्ने अवस्था नआउन्जेल बैंक तथा वित्तीय संस्थामा भरपर्दो सुशासनको प्रत्याभूति दिन तलव सीमा निर्धारण गर्नुपर्ने अध्ययनको निचोड छ।
बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावलीमा आवश्यक परिमार्जन गरी एकरुपता कायम गर्नु अध्ययनको उद्देश्य रहेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।
टोलीले तयार गरेको अध्ययन प्रतिवेदन अहिले छलफलका लागि बैंकर्स संघमा पठाइएको छ। अध्ययनले कम्पनीहरुको स्तरअनुसार सञ्चालकले बढीमा ८ हजार रुपैयाँसम्म भत्ता पाउने व्यवस्थासहित अन्य कर्मचारीलाई सरकारी कर्मचारीको जस्तै पद निर्धारण गरी तलव सीमा तोक्न सिफारिस गरेको छ।

नागरिकलाई प्राप्त उक्त प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको वरिष्ठ सहायक महाप्रवन्धक, नायव महाप्रवन्धक र सहायक महाप्रवन्धकलाई सहसचिव स्तरको कर्मचारीका रुपमा श्रेणी निर्धारण गरी सोही अनुसार न्युनतम तलव सीमा तोक्न सिफारिस गरिएको छ। यस्तै प्रवन्धक तहका कर्मचारीलाई उपसचिव, अधिकृतलाई शाखा अधिकृत श्रेणी निर्धारण गर्नुपर्ने सुझाव दिइएको छ।
केन्द्रीय बैंंकले केही महिनाअघि प्रमुख कार्यकारीको तलव सीमा कुल सम्पतिको ०.०२५ प्रतिशत र कुल कर्मचारी खर्चको ५ प्रतिशतभन्दा बढी हुन नहुने गरी सीमा तोकेको थियो। यसको बैकरहरुले विरोध गर्दै आएका छन्।

घरजग्गा कर्जाको किस्ता उठ्न छाड्यो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन १०- 
बैँकको घरजग्गा कर्जा संकटतिर धकेलिएको विवरण दिँदै बैंकरहरूले 'संकट टार्न' नोक्सानी व्यवस्थामा पुनर्विचार गरिनुपर्ने औंल्याएका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा पछिल्ला तीन महिनामा नउठ्ने (खराब) कर्जा दोब्बरभन्दा बढी भएर समस्या बढेको विवरणले बैंकरहरू झस्किएका हुन्।
हाउजिङ र रियलस्टेटमा करिब एक खर्ब बैंकिङ कर्जा लगानी छ। यो कुल कर्जा लगानीको २० प्रतिशत हो।

वाणिज्य बैंकहरुले असोजमा नउठ्ने कर्जाबापत १ अर्ब २ करोड रुपैयाँ छुट्ट्याएका थिए। पुस मसान्तमा यस्तो रकम बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा छ।
विभिन्न क्षेत्रमा गरेको कर्जा लगानी नउठ्ने देखिए बैंकहरूले कर्जाबराबरको रकम नोक्सानी व्यवस्थाअन्तर्गत राख्नुपर्छ। बैंकरहरू असार अन्तिमसम्म यस्तो रकम झनै बढ्ने बताउँछन्।
अर्थ मन्त्रालय र राष्ट्रबैंकको नीतिका कारण करोडौं ऋण लिएर घरजग्गा र प्लटिङ व्यवसायमा लगानी गरेका व्यवसायीले ऋण तिर्न नसक्दा बैंक कर्जा समस्यामा पर्न थालेको उनीहरूको ठहर छ। अहिले घरजग्गा किनबेच ठप्प भएको र मूल्य पनि ३० प्रतिशतसम्म घटेकाले व्यवसायी कर्जा तिर्न सक्ने अवस्थामा छैनन्।

वाणिज्य बैंकहरुको नाफा ४ प्रतिशत घट्यो

तरलता अभावले पुँजी लागत बढ्नु स्प्रेडदर कम हुँदै जानु लगानीको वातावरण नहुनुजस्ता कारणले नाफा घटेको हो

सुदर्शन सापकोटा
काठमाडौं फागुन ८
पाँच वर्षयता ५० प्रतिशतसम्म कमाउँदै आएका वाणिज्य बैंकहरुको नाफा चालु आवको ६ महिनामा भने ४ प्रतिशतले घटेको छ ।
गत वर्षको पहिलो ६ महिना पुससम्म मा वाणिज्य बैंकहरुले ७ अर्ब ४९ करोड नाफा गरेका थिए । यसपालि नाफा ७ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । यो ३ दशमलव ९२ प्रतिशत कम हो ।

तरलता लगानीयोग्य पुँजी अभावले कर्जा खुम्चनु आर्थिक कि्रयाकलाप घटेर जानु र लगानीका लागि आकर्षक क्षेत्र रियलस्टेट तथा सेयरमा कर्जा सीमाका कारण बैंकको नाफा घटेको हो ।
वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०६३/६४ को पहिलो छ महिनामा ३५ प्रतिशत नाफा गरेका बैंकले २०६४/६५ मा नाफा ५०.८१ प्रतिशत गरेको थियो । त्यसपछि १६.१४ प्रतिशतमा नाफा सीमित भयो । 'तरलता अभावले पुँजी लागत बढ्नु निक्षेप र कर्जाको ब्याजदरबीचको फरक स्प्रेड दर कम हुँदै जानु लगानीको वातावरण नहुनुजस्ता कारणले नाफामा असर परेको छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले नागरिकसँग भने, 'यसपालिको नाफा बैंकहरुको कार्यक्षमता राम्रो भएकाले मात्र भएको हो । नत्र यो पनि हुँदैन थियो ।'

माछापुच्छे्रको खराव कर्जा १ अर्ब १० करोड

नाफा ९७ प्रतिशतले घट्यो
सुदर्शन सापकोटा
काठमाडौं फागुन ७
माछापुच्छे्र बैंकको खराव कर्जा अस्वभाविक रुपमा वढेको छ । चालु वर्षको पुस मसान्तसम्म बैंकको खराव कर्जा कुल कर्जाको ७ दशमलव १६ प्रतिशत अर्थात १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा १.८७ प्रतिशत मात्र थियो ।
बैंकको खराव कर्जा वढेका कारण खुद नाफा ९७ प्रतिशतले घटेको छ । बैंकले चालु वर्षको पुससम्म जम्मा ३४ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा नाफा १० करोड ३४ लाख रुपैयाँ थियो । तीन महिनाअघि अर्थात असोज मसान्तसम्म पनि नाफा ९४ लाख रुपैयाँ थियो ।
बैंकको खराव कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । केन्द्रीय बैंकले खराव कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा वढी हुन नहुने व्यवस्था गरेको छ । खराव कर्जा सात प्रतिशतभन्दा माथि पुगेकाले बैंकले थप शाखा खोल्न पाउँदैन ।

ठूलो पुँजीको लघुवित्त संस्था आवश्यक छ


नुमनाथ पौडेल
प्रमुख कार्यकारी अधिकृत
फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक

 
लघुवित्त विकास बैंकमा अहिले लगानीकर्ताको आकर्षण वढेको छ नि ?
लघुवित्त क्षेत्रमा कोषको लागत र साचालन लागत वढी हुन्छ । त्यो भएर लघुवित्त संस्थाहरु स्थायित्वका लागि समय लाग्छ । विगतमा साचालनमा आएको तीन वर्षसम्म पनि कम्पनीहरु नाफामा आउन कठिन हुन्थ्यो । अहिले सुचना प्रविधि यातायात सुविधालगायतका कारणले कम्पनीहरु खुलैकै वर्ष नाफामा जान थालेका छन् । पहिले लघुवित्त कम्पनीहरु सेवाका लागि भन्ने थियो । यसमा सरकार वा राष्ट्र बैंकको निर्देशनले निजी क्षेत्रका बैंकले मात्र लगानी गर्थिए । कोष पर्याप्त नहुने भएकाले उनीहरुको स्थायित्वका लागि समय लाग्थ्यो । अहिले ठूलो पुँजीमा लघुवित्त संस्थाहरु आउन थालेका छन् । यसले गर्दा स्रोत परिचालन गर्न सजिलो भएको छ ।

गाउँमा तरलता अभाव छैन


नारायण श्रेष्ठ
अध्यक्ष, सिभिक डेभलपमेन्ट बैंक

गाउँमा बैंकिङ गर्न कतिको सजिलो रहेछ ?
अहिले अर्थतन्त्र त्यति सवल अवस्थामा छैन । त्यही भएर आक्रमक भएर कारोबार गर्न सकिदैन । हामी नयाँ भएकाले पनि आक्रमक भएर जान सक्दैनौं । सिक्दै पनि जाने अनि विस्तारै वृद्धि हाँसिल गर्ने । मैले आफैले सकि्रयता लिएर बैंक खोलेको हो । त्यही भएर दिगो वृद्धिका लागि हामी कारोबार गर्छौ । गाउँमा बैंकिङ गर्ने बजार छ । सानो सानो रकमको कर्जा माग्न आउँछन् । जुन बैंकले पुरा गर्न सक्छ । त्यही भएर हाम्रो प्रभाव पनि गाउँमा राम्रो छ । शहरमा भन्दा गाउँमा लगानी गर्न सजिलो छ । त्यहाँ एकै व्यक्तिले धेरै संस्थाबाट कर्जा लिँदैनन् । कर्जा समयमा तिर्छन । इमान्दारिता छ त्यहाँ ।

विकास बैंक र फाइनान्सको निक्षेप बिमा गर्न निर्देशन

बिमा गर्नु पर्ने रकम २४ अर्बको

सुदर्शन सापकोटा
काठमाडौं फागुन ३
विकास बैंक र फाइनान्स कम्पनी टाँट पल्टिए पनि त्यहाँ पैसा राखेका सर्वसाधारण बचतकर्ताले चिन्ता लिनु पर्दैन । मुद्दति तथा बचत खातामा रहेको अधिकतम २ लाख रुपैयाँसम्मको निक्षेप बिमा गराउन केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई मंगलबार निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्था आर्थिक रुपमा टाँट पल्टिँदा सर्वसाधारणको निक्षेपमा हुने जोखिम कम गर्न बजेटमार्फत ल्याइएको निक्षेप बिमा कार्यक्रमलाई अगाडि वढाउँदै केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई निक्षेप तथा कर्जा सुरक्षण निगममा बिमा गराउन भनेको हो । केन्द्रीय बैंकले चाँडै वाणिज्य बैंकलाई पनि निक्षेप बिमा गर्न निर्देशन दिँदैछ । अहिले ८४ वटा विकास बैंक ८७ फाइनान्स कम्पनी र ३१ वाणिज्य बैंक साचालनमा छन् ।
नेपाल विकास बैंक टाँट पल्टिएर खारेजीमा जाँदा त्यहाँका निक्षेपकर्ताले पैसा फिर्ता पाउने की नपाउने अन्यौल उत्पन्न भएका बेला सरकारले निक्षेप बिमा कार्यक्रम ल्याएको थियो । यसका लागि सरकारले निक्षेप सुरक्षण ऐनको मस्यौदासमेत तयार पारिसकेको छ ।

गोर्खा बैंकका पूर्वअध्यक्ष बम्जनलाई कारबाही हुने

चालु आबमा बैंक घाटामा जान सक्ने
राष्ट्र बैंकको निर्देशनअनुसार १२ करोड ४१ लाख रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थामा छुट्याँउदा चालु आबमा बैंक घाटामा जान सक्ने देखिएको छ। बैंकले गत आर्थिक वर्ष ७ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो। गत वर्षको नाफालाई यो वर्ष झन्डै दोब्बर नपारे बैंकको पुँजी घट्ने छ। यसको ६६ करोड चुक्ता पुँजी छ।

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ४ - 
कर्जा दुरुपयोग भएको पुष्टि भएपछि राष्ट्र बैंकले गोर्खा डेभलपमेन्ट बैंकका पूर्वकार्यकारी अध्यक्ष डिबी बम्जन र कर्जा दिने कर्मचारीलाई कारबाही गर्ने भएको छ। केन्द्रीय बैंकले दुरुपयोग कर्जा बराबर रकमको सम्भावित नोक्सानी व्यवस्था गर्नसमेत बैंकलाई निर्देशन दिन लागेको छ। 'छानविनमा कर्जा दुरुपयोग भएको पाइयो,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'अब एक/दुई दिनमा कारबाही गर्न बैंकको बोर्डलाई निर्देशन दिन्छौं।' गोर्खा डेभलपमेन्ट बैंकले गत असारमा अब्दुल कवाडी टे्रडिङको नाममा १२ करोड ४१ लाख रुपैयाँ कर्जा दिएको थियो।

आफ्नै गल्तीको जिम्मा लिन्नन् बैंक

खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ ।

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ३- 

बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा तपाईंले एक लाख रुपैयाँ जम्मा गर्नुभयो। तर, बैंकका कर्मचारीले शून्य कम गरेर १० हजारमात्रै खातामा चढाए भने तपाईंको बाँकी ९० हजार गुम्छ। यसको जिम्मेवारी बैंकले लिँदैन।
 पैसा राख्ने सबैभन्दा सुरक्षित ठाउँ बैंकमा पनि यस्तो हुन्न होला भन्ने तपाईंलाई लाग्न सक्छ। तर, तपाईंले बैंकमा पैसा जम्मा गर्न खाता खोल्नु अघि भर्नुपर्ने फर्ममा यस्तै व्यहोराका सर्त हुन्छन्। प्रायः सबैजसो सर्वसाधारणले यस्ता सर्त नपढी हस्ताक्षर गरी खाता खोल्छन्।
वाणिज्य बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाले यही वाक्य भएको फर्म प्रयोगमा ल्याइरहेका छन्।
बैंक तथा वित्तीय संस्थाले कम्पनीलाई अपुग भए जुनसुकै किसिमले असुल गर्ने तर, ग्राहकका हकमा भने बैंक जिम्मेवार नहुने फर्ममा हस्ताक्षर गराउँछन्।

घरजग्गा कारोबार बढ्न समय लाग्ने

काठमाडौं, माघ २७ (नागरिक) - मुलुकका प्रमुख व्यवसायी, अर्थशास्त्री, सरकारी प्रतिनिधि र बैंकरहरू एकै ठाउँमा बसी हाउजिङ र रियल स्टेटका चुनौतीबारे छलफल गरिरहेकै समयमा घरजग्गाको ऋण तिर्न नसकेर बागलुङका निलकण्ठ सापकोटाले सात तलामाथिबाट हाम फालेर आत्महत्या गरे।

राजधानीको सुन्धारास्थित सिंगापुर गेस्ट हाउसमा घरजग्गा व्यवसायीहरूबीच लेनदेनबारे छलफल हुँदै गर्दा सापकोटाले ऋण तिर्न नसक्ने देखेपछि बुधबार दिउँसो हाम फालेर आत्महत्या गरेका हुन्। त्यसैबेला पाँच तारे होटल अन्नपूर्णमा रियल स्टेटका चुनौतीलाई समाधान गर्ने उपाय निकाल्न आयोजित छलफलले पनि उचित निष्कर्ष दिन सकेन। राष्ट्र बैंक र सरकारले ल्याएका नीतिका कारण यो क्षेत्रमा समस्या आएको सबैले स्वीकार गरे। तर, समाधानका उपाय के हुन्? भन्नेमा सबैको एउटै धारणा आएन।

सेयर उकास्ने नीति नल्याउने

काठमडौं माघ २५
चालु वर्षको मौदि्रक नीतिको मध्यावधि समिक्षामार्फत सेयर बजार उकास्ने सम्वन्धमा महत्वपूर्ण निर्णय गर्ने बताउँदै आएका गभर्नर खतिवडाले तत्काल त्यो विषयलाई संवोधन नगर्ने संकेत गरेका छन् ।

उनले सेयर बजार सम्वन्धमा राष्ट्र बैंकले गरेको अध्ययनले मौदि्रक नीतिका कारणले भन्दा पनि तरलता अभावले बजार ओरालो लागेको देखाएको जानकारी दिँदै तरलता अभाव हुन नदिन राष्ट्र बैंक सचेत रहेको बताए ।
'सेयर बजारलाई राष्ट्र बैंकले लिएका नीतिहरुले प्रभाव पारेको हो कि भनेर हामीले पनि यसलाई नजिकबाट नियालेका हौं,' उनले भने, 'सेयरको आपुर्ति धेरै भएर पो बजार घटेको हुन सक्छ भनेर अध्ययन गर्दा त्यो पनि देखिएन ।' यद्यपी उनले सेयर बजारलाई सहयोग गर्नका लागि पुँजी वृद्धि गर्ने नीतिलाई पुनर्विचार गरिरहेको जानकारी दिए ।

सोसियल डेभलपमेन्ट बैंकको कारोबार सुरु


काठमडौं माघ २५ 
सोसियल डेभलपमेन्ट बैंकले मंगलबारबाट कारोबार सुरु गरेको छ । राष्ट्रिय स्तरको १५औं विकास बैंकका रुपमा स्थापित बैंकको उद्घाटन गभर्नर युवराज खतिवडाले गरे ।

राजधानीको नारायण चौरमा केन्द्रीय कार्यालय रहेको बैंकमा संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत छ । ६४ करोड चुक्ता पुँजीमार्फत ३८ करोड २७ लाख रुपैयाँ चुक्ता भइसकेको छ । ९६ जना संस्थापक सेयरधनी रहेको बैंकले चालु वर्षभित्र तीन शाखा कार्यालय खोल्ने प्रमुख कार्यकारी अधिकृत अमिरध्वज प्रधानले जानकारी दिए ।

सुपर नाफाको पछाडि नदौडनुस् : गभर्नर


नागरिक संवाददाता
काठमाडौं माघ २५
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नाफाको पछाडि मात्र नदौडन बैंकरलाई आग्रह गरेका छन् । उनले नाफा कमाउनै पर्छ भन्ने ढिपीबाट व्यवसाय चलाउँदा सर्वसाधारणलाई आर्थिक भार पर्ने बताए ।

'हिजो यतिको वृद्धि थियो आज त्योभन्दा वढी हुनु पर्छ भनेर हुँदैन,'सोसियल डेभलपमेन्ट बैंकको उद्घाटन गर्दै उनले मंगलबार भने, 'यसका लागि संस्थापक सेयरधनी र साचालक समितिले पनि दवाव दिन मिल्दैन ।'
उनले स्वभाविक नाफाका लागि काम गर्दै बैंक तथा वित्तीय संंस्थाले सामाजिक सेवामा जोड दिनु पर्ने बताए । 'साधारण नर्मल नाफा खानु पर्छ । यसका लागि राष्ट्र बैंक नै वातावरण बनाइदिन्छ,' उनले भने, 'तर सुपर अस्वभाविक नाफा कमाउनेतिर लाग्नु भएन । यसबाट कि ग्राहक ठगिएका हुन्छन् कि सेयरधनी ।' उनले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको संख्यात्मक विस्तारको पक्षमा नरहेको भन्दै सेवाको गुणस्तर र पहुँच विस्तारका पक्षमा रहेको बताए ।

सम्झना फाइनान्स खारेज गर्ने निर्णय


युनाइटेड विकास बैंक समस्याग्रस्त घोषणा

काठमाडौं माघ २४

राष्ट्र बैंकले वित्तीय रुपमा धराशयी भएको सम्झना फाइनान्सलाई खारेज गर्ने निर्णय गरेको छ । यसका लागि बैंक व्यवस्थापनले फाइनान्सलाई १५ दिने स्पष्टिकरण सोधेको एक उच्च अधिकारीले नागरिकलाई जानकारी दिए ।

यसै गरी वित्तीय रुपमा समस्यामा परेको युनाइटेड डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरिएको छ । सोमबार राष्ट्र बैंक साचालक समितिले यस्तो निर्णय गरेको हो ।
सम्झना फाइनान्सको करिब ६४ करोडको दायित्व छ । साना निक्षेपकर्ताको रकम करिब १८ करोड रुपैयाँ छ । वित्तीय रुपमा पहिलेदेखि नै स्वस्थ नभएको यो फाइनान्समा सेनाको कल्याणकारी कोषको २ करोड निक्षेप छ । २१ करोड कर्जा उठ्न बाँकी छ । गैरबैंकिङ सम्पत्तिसहित फाइनान्सको सम्पत्ति ३० करोड रुपैयाँ रहेको अनुमान छ ।

बैंकरलाई पेलेर राम्रै भएको छ : अशोक राणा

अशोक राणा
अशोक राणा
अध्यक्ष नेपाल बैंकस्र संघ

एउटा पदका लागि तीन जनाको उमेद्वारीले जम्मा ३३ सदस्य रहेको संघमा पनि विवाद धेरै रैछ भनेर बुझ्दा हुन्छ ?
तीन जना एउटै पदका लागि लड्दैमा विवाद छ भन्ने हुँदैन । प्रजातान्त्रिक प्रकृयामा चुनाव हुन्छ । चुनावमा हारजित भइहाल्छ । चुनावपछि हामी सबै एक ढिक्का हो । बैंकस्र संघ व्यवसायिक व्यक्तिहरुको संगठन भएकाले चुनावको असर यसमा पर्दैन । पर्नु पनि हुँदैन । भविस्यमा यसबाट कुनै समस्या पर्दैन । सवै साथीहरुको समर्थन मेरो साथमा हुन्छ ।
नयाँ अध्यक्षका रुपमा तपाईको तत्कालका प्राथमिकता के छन् ?
कसरी अगाडि जाने भनेर कार्यसमितिका साथी र अन्य साथीहरुसँग मेरो छलफल भइसकेको छैन । छलफलबाट मेरो प्राथमिकता निर्धारण हुन्छ । त्यस वाहेक तरलता अभाव लगानीयोग्य पुँजी हटाउनका लागि सरोकारवाला सवै पक्षसँग कुराकानी गर्ने राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वयकारी भूमिका खेल्दै अगाडि वढ्ने नै हो । साथै अहिले रियलस्टेट क्रसरलगायतका साथै अन्य उद्योग धन्दा संकटमा परेकाले व्याज तिर्न सकिरहेका छैनन् । रियलस्टेट क्रसरजस्ता उद्योगले साँवाको व्याजतिरेपछि निस्चित अवधिसम्मका लागि साँवा नवीकरण गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग आग्रह पहल गर्ने छु । साथै प्रमुख कार्यकारीको तलव सीमा तोक्ने जिम्मा सम्वन्धित बैंक तथा वित्तीय संस्थाको साचालक समितिलाई दिन राष्ट्र बैंकसँग पहल गर्छु । खुला बजार अर्थतन्त्रमा सीमा तोकिनु तर्क संगत र व्यवहारिक हुँदैन । क्लियरिङ हाउस तलिमलगायतका विषयलाई निरन्तरता दिँदै अन्य रचनात्मक कार्यक्रम पनि साचालन गर्छु ।

निक्षेप बिमा गर्ने ऐनको मस्यौदा तयार


नागरिक संवाददाता
काठमाडौं माघ २०
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको पैसा सुरक्षा गर्न निक्षेप सुरक्षण ऐनको मस्यौदा तयार भएको छ । चालु वर्षको बजेटले निक्षेप सुरक्षणका लागि २५ करोड रुपैयाँ छुट्याएर यसलाई अघि वढाउने जनाएपछि ऐनको मस्यौदा तयार भएको हो ।

बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको २ लाखसम्मको निक्षेप बिमा गर्ने उद्देश्यले मस्यौता तयार पारिएको हो । अर्थमन्त्रालयले तयार पारेको मस्यौदा उसले छलफलका लागि कानुन मन्त्रालयमा पठाएको छ ।
गत बर्ष निक्षेप बिमाका क्षेत्रमा केही पनि प्रगति हाँसिल नभएपछि सरकारले बिमा गर्ने कम्पनी बलियो बनाउनका लागि २५ अर्ब रुपैयाँ लगानी गरेको हो । ऐनको मस्यौदामा निक्षेपको बिमा गर्नका लागि वेग्लै निक्षेप सुरक्षण कोष स्थापना गरिने व्यवस्था गरिएको छ । सवै बैंक तथा वित्तीय संस्थालाई कोषमा समेत दर्ता हुन अनिवार्य गरिएको मस्यौदामा कम्पनीहरुले एक सय रुपैयाँ निक्षेप वरावर २० पैसा पि्रमियम वुझाउनु पर्ने हुन्छ ।
नेपाल विकास बैंक टाँट पल्टेर निक्षेपकर्ताको बचत असुरक्षित भएपछि गत वर्षको वजेटमा ल्याइएको यो कार्यक्रम कसले साचालन गर्ने भन्नेमा नै अन्यौल थियो । मस्यौदा तयार भएपछि कार्यक्रम छुट्टै निकायले साचालन गर्दै यस अन्तर्गत नआउने बैंक तथा वित्तीय संस्थालाई जरिवाना तथा कारवाही गरिने व्यवस्था समेत गरिएको छ ।

बैंकरको अध्यक्ष भए राणा

काठमाडौं माघ २०
जम्मा ३३ जना सदस्य रहेको नेपाल बैंकस्र संघको अध्यक्षमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा विजयी भएका छन् । उनले २१ भोट पाएका हुन् । उनका प्रतिद्वन्दी शशिन जोशीले ११ भोट मात्र पाए । अर्का उमेद्वार कमल ज्ञवालीले निर्वाचन हुनु केही अघि आफूलाई पनि भोट नहाली राणालाई सहयोग गरे । निर्वाचनमा नेपाल एसबिआइ बैंकले कसैलाई पनि समर्थन गरेन ।
अशोक राणा

निर्वाचित भएपछि संघका १५औं अध्यक्ष राणाले राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वयकारी भूमिका खेल्दै अगाडि वढ्ने बताए । उनले आफ्नो कार्याकालमा बैंकको भूमिकाका बारेमा वुझाउँदै सहकारीको पैसा बैंकतिर तान्ने बताए । 'अहिले जिल्लातिर सहकारी र बैंक बीचको फरक देखिएन,' उनले नागरिकसँग भने, 'आफ्नो कार्यकालमा बैंकको भूमिकाका बारेमा वुझाउँदै विश्वासको वातावरण वनाउने छु ।'
नवनिर्वाचित अध्यक्ष राणाले अहिलेको तरलता अभावको विषयमा राष्ट्र बैंकसँग कुरा गर्दै रिपोको दर राष्ट्र बैंक र बैंकरहरु मिलेर तोक्ने पहिलेकै अवस्थामा फर्काउन प्रयास गर्ने जानकारी दिए । उनले प्रमुख कार्यकारीको तलव सम्वन्धित बैंकको साचालक समितिलाई नै तोक्ने अधिकार दिन राष्ट्र बैंकसँग पहल गर्ने बताए ।

३३ जनाको बैंकर समुहमा नै विवाद


उपाध्यक्ष नै आगामी कार्यकालमा अध्यक्ष हुने परम्परा अनुसार मैले उमेद्वारी दिएको हुँ : राणा
वर्तमान अध्यक्ष पुनः उठेर वा राणालाई अध्यक्षमा सर्वसम्मति गरे आफूलाई उपाध्यक्ष छाडिदिए निर्वाचन हुँदैन : ज्ञवाली

प्रजातन्त्रमा निर्वाचन हुने भएकाले आफूले उमेद्वारी दिएको : जोशी
Ashok rana

Kamal gyawali


shashin joshi





















विटुमिन व्यारेलको सेयर सुचीकरणबाट हट्ने


सुदर्शन सापकोटा
काठमाडौं माघ १८
पाचकन्या समुह अन्तर्गतको नेपाल विटुमिन एण्ड व्यारेल उद्योग नेपाल स्टक एक्सचेन्ज नेप्से को सुचीकरणबाट हट्ने भएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनी २६ वर्षअघि निजीकरण भएपछि समुहले लिएको थियो । निजीकरण भएकामध्ये यो नाफामा साचालित कम्पनी हो ।

'चाँडै सुचीकरणबाट हटाउने तयारीमा छौं,' समुहका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले नागरिकसँग भने,  'सेयर कारोबार त्यति भइनरहने भएकाले हटाउन खोजेका हौं ।' नेप्सेका अनुसार कम्पनीको सेयर २०६४ भदौ २७ गते पछिल्लो पटक कारोवार भएको थियो । कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांससमेत दिँदै आएको छ । कम्पनीले पछिल्लो पटक लगानीकर्तालाई १० प्रतिशत नगद लाभांस दिएको थियो ।

मार्ग निर्देशनले बचतको व्याज घटायो


सुदर्शन सापकोटा
काठमाडौं माघ १६
बचत खातामा वढी व्याज पाउँदै आएका उपभोक्ताले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा तथा सेवाशुल्क सम्बन्धी मार्गदर्शन जारी गरेपछि कम व्याज पाउन थालेका छन् । केन्द्रीय बैंकले बचतको ब्याज दरमा २ प्रतिशत विन्दुभन्दा वढीको फरक हुन नहुने मार्गर्दन जारी गरेकाले बैंक तथा वित्तीय संस्थाले वढी दिँदै आएको बचतको ब्याजलाई घटाएर तल झारेपछि उपभोक्ताले कम पाउन थालेका हुन् ।

'राष्ट्र बैंकले जनताका लागि नीति लिएको भन्दै मार्गदर्शन जारी गरे पनि जनतालाई नै घाटा हुने काम गरेको छ,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'कम दरको बचत खाताको ब्याज वढाउने अवस्था नभएकाले वढी भएकोलाई घटाउँदा यस्तो भएको हो ।' उनले प्रतिस्पर्धाले ग्राहकले पनि वढी व्याज दिने बैंक खोज्ने थालेकाले पछिल्लो एक वर्षदेखि पुराना खाताको पैसा नयाँ बचत खातामा सरेको दावी गरे । 'बैंकहरुले पुरानो खाता साचलनमा राखेपनि पछिल्लो समयमा त्यसमा पैसा घट्न थालेको थियो,' उनले भने, 'ग्राहकले वढी व्याज आउने खातामा पैसा सार्न थालेका थिए ।

पञ्चकन्याले पर्यटनमा हात हाल्दैछ

pradeep kumar shrestha

pradeep kumar shrestha

pradeep kumar shrestha

pradeep kumar shrestha

प्रदीपकुमार श्रेष्ठ  
 प्रबन्ध निर्देशक, पन्चकन्या समुह

 पन्चकन्या समुहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ आशावादी उद्यमी हुन। चीन र भारतजस्तो तीब्र आर्थिक वृद्धि हासिल नगरे पनि अहिले निराश भइहाल्नु पर्ने स्थिति अहिले नभएको उनको विचार छ। नेताहरुको मानसिकतामा परिवर्तन भए, राजनीतिक स्थिरता कायम भए मुलुक तीब्र गतिको आर्थिक वृद्धिमा जाने उनको ठम्याई छ। यसका लागि आर्थिक एजेन्डालाई केन्द्रमा ल्याउनुपर्ने उनको शर्त हो। नेपालमा व्यावसायिक सम्भाव्यता,लगानीको क्षेत्र तथा वातावरणलगायतका विषयमा श्रेष्ठसँग नागरिकका सुदर्शन सापकोटाले गरेको कुराकानीको सार :
नेपालमा औद्योगिक सम्भावना कत्तिको छ?
नेपालमा सम्भावना धेरै छ। नेपालीलाई मात्र होइन विदेशीहरुले पनि पैसा कमाउने खानी देखेका छन् यहाँ। राजनीतिक स्थिरता मात्रै छैन। यो भएपछि सुरक्षा आफै हुन्छ। राजनीतिक स्थिरता भए नेपाली लगानीमा थप विस्तार भएर विदेशीले धमाधम लगानी गर्न थाल्छन्। नेपालीलाई भने यहाँ काम गर्न गाह्रो छैन। बाँचे पनि मरे पनि यही गर्नु पर्ने भएकाले नेपालीलाई गाह्रो नभएको हो। फेरी यस्तो बेलामा काम गर्न नेपालीहरुको बानी परिसकेको छ।
औद्योगिक वातावरण छैन भन्दाभन्दै पनि १० देखि १२ प्रतिशतको हाराहारीमा औद्योगिक विकास भएको छ। राजनीति अस्थिरताका बेलासमेत यो वृद्धि हुनु राम्रो कुरा हो। सामान्य अवस्था भएको भए वृद्धि अझ हुन्थ्यो। सामान्य अवस्थामा हाम्रो वृद्धि ३/४ गुणाले नै बढी हुन्थ्यो। त्यो वृद्धि हासिल गर्नेतिर सबैले सोच्नुपर्छ। प्रजातन्त्र आएपछि औद्योगिक क्षेत्रमा आएको यो वृद्धिलाई राम्रो मान्नुपर्छ। तर भारत लगायत अन्य मुलुकसँग तुलना गर्ने हो भने यो केही पनि होइन।

देउराली जनताले अनुसन्धान केन्द्र साचालनमा ल्याउने

नागरिक संवाददाता
काठमाडौं माघ १३
देउराली जनता फर्मास्यूटिकल्सलले अनुसन्धान तथा विकास केन्द्र साचालनमा ल्याउने भएको छ । २० हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको केन्द्र आगामी आइतवारबाट साचालनमा आउने छ । कम्पनीले केन्द्र अन्तराष्ट्रियस्तरको भएको दावी गरेको छ ।

'केन्द्र स्थापनाले आफ्नो उत्पादनको अनुसन्धान र विकास गर्न मात्र सजिलो भएको छैन,' कम्पनीकोको २१औं वार्षिकोत्सवको अवशरमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक हरिभक्त शर्माले भने, 'औषधि विकासको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गर्नसमेत सकिने खालको छ ।'
उनले भविस्यमा नेपालमा अत्यावश्यकीय औषधिको विकास र अनुसन्धान गर्न केन्द्रबाट सम्भव हुने दावीसमेत गरे । उनले नेपाली उत्पादनको बजार हिस्सा ४० प्रतिशत रहेको जानकारी दिँदै वाँकी औषधि वाहिरबाट आउने गरेको बताए ।

तरलता अभाव कम भयो

काठमाडौं माघ १२ (नागरिक)
बैंकहरुले आपसमा लिने सापटी अन्तरबैंक को दर घटेको छ । गत साता साढे १२ प्रतिशतसम्म रहेको अन्तरबैंक दर यो साताको सुरुदेखि नै घटेर साढे ६ प्रतिशतमा आएको छ । 'सरकारी कोषबाट पैसा बाहिर आएकाले अन्तर बैंक घटेको हो,'बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले नागरिकसँग भने ।