बैंकहरुले नयाँ कर्जा दिन छाडे

निक्षेप बढ्न नसकेकाले नयाँ कर्जा दिन छाडिएको छ । थप पैसा नआउन्जेल बैंकले लगानी गर्न सक्ने अवस्था छैन ।

वृद्धि १५ बाट घटेर ९ प्रतिशतमा सीमित
सुदर्शन सापकोटा
काठमाडौं माघ २९
बैंक तथा वित्तीय संस्थाले पछिल्लो तीन सातादेखि कर्जा लगानी रोकेका छन् । बैंकमा रकम जम्मा हुनेभन्दा लगानी गर्ने क्रम बढेको कर्जा-निक्षेप अनुपात र बैंकसँग रकम पनि नभएपछि नयाँ कर्जा दिन रोकिएको हो ।
'बैंकमा रकम जम्मा हुने क्रम बढ्न नसकेकाले नयाँ कर्जा दिन छाडिएको छ,' बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भण्डारीले बिहीबार नागरिकसँग भने, 'थप पैसा नआउन्जेल बैंकले लगानी गर्न सक्ने अवस्था छैन ।'
दसैंयता बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि भएको छैन । तर यसका तुलनामा लगानी बढेकाले कर्जा-निक्षेप अनुपात बढेको छ । यो अनुपातले गर्दा बैंकहरुले तीन सातादेखि कर्जा रोकेका हुन् । गभर्नर युवराज खतिवडाका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात ८५ प्रतिशतबाट बढेर ८९ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले यस्तो अनुपात ८० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।
बैंकरका अनुसार दसैंदेखि नै कर्जा दिन कम गरिएको हो । पछिल्लो समयमा अनुपात वढेको र निक्षेप कतैबाट पनि वृद्धि हुन नसकेकाले नयाँ लगानी रोक्नुपरेको हो । 'सुस्त सरकारी खर्च र शोधनान्तर घाटा बढेकाले तरलता अभाव भएको छ,' बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले नागरिकसँग भने, 'निक्षेप नबढ्ने र दसैंयता थोरै भए पनि लगानी विस्तार भएर कर्जा-निक्षेप अनुपात बढ्दा नयाँ लगानी गर्न सकिने अवस्था छैन ।' बैंकहरुले हालसम्म ५ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन तीन सातादेखि स्थिर छ ।

बैंकहरुसँग अहिले ६ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप छ । गत वर्ष यो अवधिमा निक्षेप ५ खर्ब ८६ अर्ब रुपैयाँ थियो । कर्जा ४ खर्ब ६३ अर्ब रुपैयाँ थियो । 'पुस मसान्तसम्म निक्षेपको वृद्धिभन्दा कर्जाको वृद्धि धेरै भएको छ,' भण्डारीले भने, 'यसले बैंकको कर्जा-निक्षेप अनुपात बढायो ।'
बैंकरका अनुसार आर्थिक वर्ष २०६५/६६ मा कर्जाको वृद्धिदर ३३ प्रतिशत थियो । गत वर्ष वृद्धिदर १६ प्रतिशतमा झरेको थियो । गत वर्षको पहिलो छ महिनाको अवधिमा वृद्धि दर १५ प्रतिशत थियो । चालु वर्षको पहिलो छ महिनामा यो वृद्धि दर घटेर ९ प्रतिशतमा सीमित भएको छ ।
कर्जा लगानी नहँुदा यसले अर्थतन्त्रको वृद्धिमा असर पर्छ । गत आर्थिक वर्षमा पनि दोस्रो त्रैमासिकपछि बैंकहरुले कर्जा लगानी बन्द गरेका थिए । यसले आर्थिक वृद्धिमा असर परेको थियो । 'कर्जा लगानी हुन नसक्दा बैंकको नाफासँगै उत्पादन र रोजगारीसमेत प्रभावित हुन्छ,' क्षेत्रीले भने, 'उत्पादनमा कमी आएपछि आयात बढाएर शोधनान्तर घाटा थप बढाउन सहयोग गर्छ ।'
क्षेत्रीका अनुसार सरकारी खर्च बढ्न थाले मात्र बैंक लगानी विस्तार हुन्छ । उनले सरकारी खर्चको प्रभावले बैंक निक्षेपमा सुधार आएर कर्जा-निक्षेप अनुपात घटेर बैंकलाई लगानीका लागि सहज हुन्छ । अर्थ मन्त्रालयका अनुसार अहिले सरकारी खातामा २८ अर्ब रुपैयाँ बचत छ । शोधनान्तर घाटा पनि ५ अर्ब ३ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा पुससम्ममा पुँजीगत खर्चसमेत १० प्रतिशतले घटेको छ । गत वर्ष यो अवधिमा पुँजीगत खर्च १४ अर्ब ५३ करोड भएको थियो ।
बैंकरका अनुसार १० लाखभन्दा बढीको बैंक निक्षेपमा स्रोत खोल्नुपर्ने व्यवस्थाले समेत निक्षेप बढ्न नसकेको हो । '१० लाखको स्रोत खोल्नुपर्ने व्यवस्था गर्नुको पछाडि सरकारको आफ्नै वाध्यता होला,' लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बिहीबार नागरिकसँग भने, 'स्रोत खोल्ने व्यवस्थाले सर्वसाधारणमा डरको भावना उत्पन्न भएकाले निक्षेप आउन सकेको छैन ।'

No comments:

Post a Comment

thanks for comment