घरजग्गा कर्जाको किस्ता उठ्न छाड्यो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन १०- 
बैँकको घरजग्गा कर्जा संकटतिर धकेलिएको विवरण दिँदै बैंकरहरूले 'संकट टार्न' नोक्सानी व्यवस्थामा पुनर्विचार गरिनुपर्ने औंल्याएका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा पछिल्ला तीन महिनामा नउठ्ने (खराब) कर्जा दोब्बरभन्दा बढी भएर समस्या बढेको विवरणले बैंकरहरू झस्किएका हुन्।
हाउजिङ र रियलस्टेटमा करिब एक खर्ब बैंकिङ कर्जा लगानी छ। यो कुल कर्जा लगानीको २० प्रतिशत हो।

वाणिज्य बैंकहरुले असोजमा नउठ्ने कर्जाबापत १ अर्ब २ करोड रुपैयाँ छुट्ट्याएका थिए। पुस मसान्तमा यस्तो रकम बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा छ।
विभिन्न क्षेत्रमा गरेको कर्जा लगानी नउठ्ने देखिए बैंकहरूले कर्जाबराबरको रकम नोक्सानी व्यवस्थाअन्तर्गत राख्नुपर्छ। बैंकरहरू असार अन्तिमसम्म यस्तो रकम झनै बढ्ने बताउँछन्।
अर्थ मन्त्रालय र राष्ट्रबैंकको नीतिका कारण करोडौं ऋण लिएर घरजग्गा र प्लटिङ व्यवसायमा लगानी गरेका व्यवसायीले ऋण तिर्न नसक्दा बैंक कर्जा समस्यामा पर्न थालेको उनीहरूको ठहर छ। अहिले घरजग्गा किनबेच ठप्प भएको र मूल्य पनि ३० प्रतिशतसम्म घटेकाले व्यवसायी कर्जा तिर्न सक्ने अवस्थामा छैनन्।

'अहिले घरजग्गाको कारोबार घटेकाले व्यवसायीलाई बैंकको किस्ता र ब्याज तिर्न समस्या भएको छ,' बैंकर्स संघका अध्यक्ष अशोक राणाले सोमबार नागरिकसँग भने, 'नोक्सानी व्यवस्थाको रकम वृद्धि र खराब कर्जाकै कारण किस्ता र ब्याज नआएर यस्तो समस्या आएको हो।'
घरजग्गा व्यवसायीहरू पनि कारोबार नभएकाले साँवा-ब्याज दुवै बुझाउन नसकेको बताउँछन्। बैंकहरूबाट ४ करोड रुपैयाँ कर्जा लिएर घरजग्गामा लगानी गरेका एक व्यवसायीले किनबेच घटेपछि ब्याजसमेत तिर्न नसकेको बताए। बैंकहरूले दिनहुँ ब्याज थपेर कर्जा झनै बढिरहेका बेला किनबेच ठप्प भएकाले धेरै व्यवसायी धितो लिलामीको अवस्थामा पुगेको उनले बताए। 'एक/दुई किस्ता ब्याज सहकारी र सरसापट गरी चलाइयो,' उनले भने, 'किनबेच नबढे अब धितो लिलामको विकल्प छैन।'
चाँडै कारोबार बढ्ने लक्षण पनि अहिले देखिँदैन। सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले अहिले घरजग्गा कर्जामा देखिएको समस्या लक्षण हो/होइन भनेर चैत मसान्तसम्म पर्खिनुपर्ने बताए। 'घरजग्गामा गएको सबै ऋण तिर्नै छाडेको अवस्था होइन,' उनले भने, 'चैतसम्म घरजग्गा कर्जाको प्रस्ट तस्बिर आइसक्छ।' सरकारले खर्च गर्न थालेर बजारमा तरलता आई आर्थिक क्रियाकलाप हुन थाले यसमा सुधार आउने जानकारी उनले दिए। भण्डारीका अनुसार केही घरजग्गा व्यवसायीले अहिले १० रुपैयाँ किस्ता तिर्नुपर्ने ठाउँमा ८ रुपैयाँमात्र तिर्न सकेका छन्।
'राष्ट्रबैंकले घरजग्गा कर्जामा सीमा तोकेपछि यसमा केही समस्या देखिएको छ,' कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्यामसिंह पाण्डेले सोमबार नागरिकसँग भने, 'केही महिनायता घरजग्गा कर्जाका ऋणीले बैंकको पैसा तिर्न छाडेका छन्।'
उनका अनुसार आवासीय घर बनाउने ग्राहकले समयमै बैंकको ब्याज र किस्ता तिरे पनि ठूला आकारमा ऋण लिएकाले तिर्न छाडेका छन्। 'ब्याज र किस्ता आउन छाडेपछि खराब कर्जा र सम्भावित नोक्सानी व्यवस्थाबापतको रकम बढ्नु स्वाभाविक हो,' पाण्डेले भने।
वाणिज्य बैंकहरूले पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ कुल कर्जा लगानी गरेका छन्। यसमध्ये घरजग्गामा मात्र ९७ अर्ब रुपैयाँ लगानी छ। चालु वर्षको पहिलो महिनादेखि नै अधिकांश वाणिज्य बैंकको घरजग्गामा गएको कर्जा किस्ता उठ्न छाडेपछि उनीहरूले नउठेको कर्जाको २५ प्रतिशत रकम संभावित नोक्सानी व्यवस्थाका लागि छुट्ट्याउनुपरेको छ।
केन्द्रीय बैंकले बैंकहरूलाई चालु वर्षको असार मसान्तसम्म घरजग्गा कर्जालाई ३० प्रतिशतमा झार्न निर्देशन दिएको छ। साथै आगामी वर्ष यसलाई २५ प्रतिशतमा झार्नुपर्छ। यस्तै कर्जाको २५ प्रतिशत साँवा र सबै व्याज भुक्तानी गरेपछि मात्र बाँकी कर्जा नवीकरण गर्ने व्यवस्थाले घरजग्गा कर्जामा मन्दी सुरु भएको हो।
'घरजग्गा कर्जामा समस्या देखिइसकेको छ,' बैंकर्स संघका उपाध्यक्ष राजनसिंह भण्डारीले भने, 'बैंकको कुल पुँजीबराबरको रकम घरजग्गामा गएकाले यसको जोखिम व्यवस्था गर्ने नीतिमा पुनर्विचार आवश्यक छ।'
केन्द्रीय बैंक भने ५ खर्ब कर्जामध्ये २० प्रतिशत (करिब १ खर्ब) समस्यामा पर्दैमा बैंकिङ क्षेत्र बिग्रिएर नजाने तर्क गर्छ। 'बैंकको ८० प्रतिशत लगानी अन्य क्षेत्रमा छ,' राष्ट्रबैंक अधिकारीले भने, '२० प्रतिशत घरजग्गा कर्जा पनि सबै समस्यामा नपरेकाले यसले बैंकिङ क्षेत्रलाई खासै असर गर्दैन।'
बैंकहरूको वित्तीय विवरणअनुसार असोजदेखि पुससम्म कुल कर्जाको वृद्धि जम्मा तीन प्रतिशतमात्र छ। तर, त्यही कर्जाको सुरक्षणका लागि छुट्ट्याउनुपर्ने रकम वृद्धि भने १ सय ३९ प्रतिशत छ। 'यो कर्जा बिग्रिन लागेको संकेत हो,' किस्ट बैंकका प्रमुख बिजिनेस अधिकृत बिएन घर्तीले भने, 'क्रसर र घरजग्गा कर्जामा आएको समस्याका साथै ठूला उद्योग चल्न नसकेकाले कर्जा भुक्तानीमा समस्या आएको हो।'
हायर पर्चेज, इँटा, टायल, छड, सिमेन्टलगायत उद्योगबाट पनि कर्जा नउठ्ने समस्या आएको उनले जानकारी दिए। 'खराब कर्जा बढेको अर्थतन्त्र कमजोर भएर सबै क्षेत्रमा परेको असरले हो,' उनले भने, 'यसलाई घरजग्गा र क्रसर उद्योगले सघायो।'
राष्ट्रबैंकले पछिल्लो समयमा प्रवाह भएको कर्जाको ब्याज तीन महिनासम्म उठेन भने पनि सम्भावित नोक्सानीबापत रकम छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले तीन महिनासम्म नउठे प्रवाह भएको कर्जाको २५ प्रतिशत, ६ महिनासम्म नउठे ५० प्रतिशत र एक वर्ष नउठे शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ।
'घरजग्गासँगै सवारीसाधन कर्जाले पनि बैंकको खराब कर्जा बढाएको छ,' नबिल बैंकका बजार प्रमुख भुवन दाहालले भने, 'आर्थिक गतिविधि हुन थालेपछि यसमा सुधार आउँछ।' उनले बैंकको खराब कर्जा र त्यस वापत गर्नु पर्ने सम्भावित नोक्सानी व्यवस्थाका कारण नाफा घटेको जानकारी दिए। बैंकको नाफा करिब चार प्रतिशतले घटेको छ।

No comments:

Post a Comment

thanks for comment