गाउँमा तरलता अभाव छैन


नारायण श्रेष्ठ
अध्यक्ष, सिभिक डेभलपमेन्ट बैंक

गाउँमा बैंकिङ गर्न कतिको सजिलो रहेछ ?
अहिले अर्थतन्त्र त्यति सवल अवस्थामा छैन । त्यही भएर आक्रमक भएर कारोबार गर्न सकिदैन । हामी नयाँ भएकाले पनि आक्रमक भएर जान सक्दैनौं । सिक्दै पनि जाने अनि विस्तारै वृद्धि हाँसिल गर्ने । मैले आफैले सकि्रयता लिएर बैंक खोलेको हो । त्यही भएर दिगो वृद्धिका लागि हामी कारोबार गर्छौ । गाउँमा बैंकिङ गर्ने बजार छ । सानो सानो रकमको कर्जा माग्न आउँछन् । जुन बैंकले पुरा गर्न सक्छ । त्यही भएर हाम्रो प्रभाव पनि गाउँमा राम्रो छ । शहरमा भन्दा गाउँमा लगानी गर्न सजिलो छ । त्यहाँ एकै व्यक्तिले धेरै संस्थाबाट कर्जा लिँदैनन् । कर्जा समयमा तिर्छन । इमान्दारिता छ त्यहाँ ।

चुनौति के रहेछन् त ?
अहिले बैंकिङ क्षेत्रमा धेरै चुनौतिहरु छन् । अहिले कसरी हुन्छ बचेर काम गर्ने अवस्था छ । त्यही भएर हामी आक्रमक भएर गएको पनि छैन । त्यै पनि डेढ वर्षको अवधिमा हाम्रो सत् प्रतिशत कर्जा उठाउन सफल भएका छौं । कुनै कर्जा पनि अहिलेसम्म विगि्रएको छैन । त्यही भएर हामी उत्साही पनि छौं ।
तरलता अभावले समस्या पारेको छैन ?
अहिले तरलता अभावको अवस्था छ । तर यो शहरी क्षेत्रमा मात्र हो । गाउँमा बैंकिङ गर्नेलाई तरलता अभावले केही असर गरेको छैन । गाउँका मान्छेलाई थोरै थोरै कर्जा चाहिन्छ । र उनीहरुले भएको थोरै पैसा बचत राख्छन् । त्यही भएर हामीलाई तरलता अभावको प्रभावले छोएको छैन ।
गाउँको कुन क्षेत्रमा लगानी केन्द्रीत गर्नु भएको छ ?
गाउँमा हामीले खासगरी कृषिमा लगानी गरिरहेका छौं । कृषि उत्पादनमूलक क्षेत्र भएकाले कर्जा डुब्ने सम्भावना पनि कम रहन्छ । खासगरी नगदे वाली तरकारी खेती कुखुरा पालनलगायका क्षेत्रमा हाम्रो लगानी छ ।
बैंकको आगामी योजना के छ ?
धादिङको आरुघाटमा शाखा खोल्दैछौं । वैरेनीमा खोलेको शाखाबाट पनि हामीले राम्रो गर्न सकिरहेको छौं । आरुघाट वाहेक यसै वर्ष हामी अन्य दुई शाखा खोल्छौं । आगामी दुई वर्षमा पुँजी वृद्धि गरेर तीन जिल्ले हुने योजना छ । पुँजी १० करोड पुर् याउँछौं । चाँडै साधारण सेयर निस्कासन गर्दैछौं । यसका लागि सिभिक क्यापिटल मर्चेन्टलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेका छौं । साथै प्रति एक वरावर एक हकप्रद सेयरसमेत निस्कासन गर्दैछौं । हामीसँग ३५ जना संस्थापक सेयरधनी छन् । थोरै भएकाले पुँजी हाल्न पनि हामीलाई गाह्रो छैन । सवै संस्थापक बैंक प्रति उत्साही भएकाले पनि पुँजी वृद्धिका लागि गाह्रो नभएको हो । चाँडै एटिएम जडान गर्दैछौं । त्यहाँ एटिएमका माग वढी छ ।
अहिले कर्जा लगानीको अवस्था के छ ?
अहिलेसम्म हामीले ५ करोड कर्जा लगानी गरिसकेका छौं । साचालनको पहिलो वर्षैमा हामीले नाफासमेत कमाउन सफल भयौं । निक्षेप संकलनमा पनि हामीलाई गाह्रो परेको छैन । हामीसँग अहिले पनि सर्वसाधारणको २ हजार खाता छन् । यसलाई वढाउँदै लग्छौं । स्थानीय सहकारी स्कुल कलेज अस्पताल र गाविसमा ठूलो निक्षेपका लागि लक्षित भएका छौं । तर हाम्रो मूख्य उद्देश्य चै साना निक्षेप नै लिने हो । अहिले हामीसँग ७ करोड निक्षेप छ । हामी लघुवित्त अवधारणा अनुसार अघि वढ्छौं । अहिले हामीले निक्षेपमा १२ प्रतिशतसम्म र कर्जामा १६ देखि १८ प्रतिशतसम्म व्याज लिइरहेका छौं ।
गाउँमा गएर बैंकिङ गर्न कर्मचारी अभाव कत्तिको खड्किएको छ ?
दक्ष कर्मचारी पाउन गाह्रो छ । दक्ष जनशक्ति शहर केन्द्रीत छन् । गाउँमा जान उनीहरु चाँहदैनन् । गाउँमा खुलेको सानो बैंकले शहरको जति सेवा सुविधा कर्मचारीलाई दिन सक्दैन । त्यही भएर समस्या छ । अहिले हामीसँग १५ जना स्टाफ छन् ।



No comments:

Post a Comment

thanks for comment