सुपर नाफाको पछाडि नदौडनुस् : गभर्नर


नागरिक संवाददाता
काठमाडौं माघ २५
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नाफाको पछाडि मात्र नदौडन बैंकरलाई आग्रह गरेका छन् । उनले नाफा कमाउनै पर्छ भन्ने ढिपीबाट व्यवसाय चलाउँदा सर्वसाधारणलाई आर्थिक भार पर्ने बताए ।

'हिजो यतिको वृद्धि थियो आज त्योभन्दा वढी हुनु पर्छ भनेर हुँदैन,'सोसियल डेभलपमेन्ट बैंकको उद्घाटन गर्दै उनले मंगलबार भने, 'यसका लागि संस्थापक सेयरधनी र साचालक समितिले पनि दवाव दिन मिल्दैन ।'
उनले स्वभाविक नाफाका लागि काम गर्दै बैंक तथा वित्तीय संंस्थाले सामाजिक सेवामा जोड दिनु पर्ने बताए । 'साधारण नर्मल नाफा खानु पर्छ । यसका लागि राष्ट्र बैंक नै वातावरण बनाइदिन्छ,' उनले भने, 'तर सुपर अस्वभाविक नाफा कमाउनेतिर लाग्नु भएन । यसबाट कि ग्राहक ठगिएका हुन्छन् कि सेयरधनी ।' उनले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको संख्यात्मक विस्तारको पक्षमा नरहेको भन्दै सेवाको गुणस्तर र पहुँच विस्तारका पक्षमा रहेको बताए ।

गभर्नर खतिवडाले बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रकृति अनुसारको काम गर्नु पर्ने बताए । उनले वाणिज्य बेंकले गर्ने काम विकास बैंकले गर्न नहुने तर्क गर्दै वाणिज्य बैंकले वासलात वाहिरको पनि कारोवार गर्ने भएकाले ती सरह अरुले गर्न माग गर्नु अस्वभाविक हुने बताए । 'विकास बैंक र वित्त कम्पनीले पुँजी कम हुन्छ,' उनले भने, 'तर वाणिज्य बैंक सरह नाफा कमाउने काम पनि उति नै गर्न पाउने भन्ने हुँदैन ।'
उनले वाणिज्य बैंकको तुलनामा अन्य कम्पनीको कर्जा केही महँगो हुने बताउँदै संस्थाको प्रकृति अनुसार त्यो स्वभाविक भएको जानकारी दिए । 'वाणिज्य बैंककै हाराहारीमा विकास बैंक र वित्तीय संस्थाको स्प्रेड दर हुनु पर्छ भन्ने होइन,' उनले भने, 'म आफैले विकास बैंकको खाका तयार पारेकाले यी कम्पनीको स्प्रेड ५ प्रतिशतसम्म स्वभाविक हुन्छ भनेर म वुझ्छु ।' उनले बैंकहरुले गैरकोषमा आधारित सेवा दिने भएकाले उनीहरुको स्प्रेड कम हुने भन्दै विकास बैंक र वित्तीय संस्थाको केही महँगो हुने बताए ।
गभर्नरले अहिले बैंकहरुको समेत स्प्रेड दर वढेको जानकारी दिए । 'बैंकहरुले तीन प्रतिशतको हाराहारीमा भनेका छन्,' उनले भने, 'तर अहिले स्प्रेड ४ प्रतिशतसम्म पुगेको छ ।'
'वाणिज्य बैंकजस्तो खर्च ढर्रा गरेर विकास बैंक र वित्तीय संस्था चल्न सक्दैनन्,' उनले भने, 'वाणिज्य बैंकवाहेकका कम्पनीको स्प्रेड अलिकति वढी हुन्छ ।' उनले विकास बैंक सेवाका हिसावले दीर्घकालिन सेवा दिने संस्था भएकाले अहिले हौसिएर या अन्य कारणले अत्याधिक व्याजदरमा वढी निक्षेप परिचालन गर्दा भोली समस्या पर्ने बताए । 'वढी लागतको निक्षेप ३० प्रतिशतभन्दा वढी लिनु हुँदैन,' उनले भने, 'यसले पछि व्याज दर कम भएका बेला अप्ठ्यारो पर्छ ।' गभर्नरले बैंक तथा वित्तीय संस्थाको पुँजी लागत औषतले ४ प्रतिशतसम्म वढेको जानकारी दिए ।
कृषि उत्पादनमूलक क्षेत्रमा बैंकहरुले लगानी गर्न नसकेको भन्दै उनले त्यस क्षेत्रमा जान आग्रह गरे । उनले साना सीमान्त कृषक र पिछडिएको क्षेत्रमा बैंकिङ क्षेत्रको पुँजी पुग्नु पर्ने बताए । 'बैंक तथा वित्तीय संस्थाको संख्यात्मक विस्तारले कति जनसंख्यामा बैंकिङ सेवा पाए भन्ने कुरालाई प्रतिनिधित्व गर्दैन,' उनले भने , 'कुल बचतको कति प्रतिशत बैंकिङ क्षेत्रको निक्षेपमा छ भन्ने कुराले मात्र यसलाई प्रतिनिधित्व गर्छ ।' गभर्नरले अहिले बैंक तथा वित्तीय संस्थामा २० देखि २५ लाख बचत खाता रहेको जानकारी दिँदै ऋणको खाता धेरै कम रहेको दावी गरे । 'बचतकर्ताको सानो समुहले पनि कर्जामा पहँुच पाउनु पर्छ' उनले भने , 'पेट चिरेर बचत गरेको पैसा भित्ता काट्ने र धान खेतमा वालुवा हाल्नेमा जानु भएन ।' साना किसान उत्पादनमूलक क्षेत्रमा पनि कर्जा जानु पर्ने उनले बताए ।
गभर्नरले घरजग्गा र गाडी वाहेक अन्य क्षेत्रमा जोखिम देख्ने वानीमा परिवर्तन गर्न बैंकरहरुलाई आग्रह गरे । 'अहिले कृषि क्षेत्रलगायत उत्पादनमूलक क्षेत्रमा बिमा हुन्छ । ८० प्रतिशतसम्म जोखिम लिने संस्थाहरु छन्,' उनले भने, 'कमसेकम २० प्रतिशत जोखिम त बैंक तथा वित्तीय संस्थाले पनि लिनु पर्यो ।'
गभर्नरले घरजग्गामा सीमा तोक्दा केही बैंक तथा वित्तीय संस्थालाई अप्ठ्यारो पारेको बताए ।  'केही बैंकलाई गाह्रो परेको छ,' उनले भने, 'उहाँहरुले घटाउनु पर्छ । यसको विकल्प छैन ।' राष्ट्र बैंकले कुल लगानीको २५ प्रतिशतसम्म घरजग्गामा कर्जा लगानी गर्न छुट दिएको छ । अहिले अधिकांस बैंकहरुले यो कर्जा २० प्रतिशतमा झारिसकेको गभर्नरले जानकारी दिए ।
कार्यक्रममा वोल्दै वित्तीय कम्पनी संघका अध्यक्ष रामशान्त श्रेष्ठले महँगो ब्याज दरका कारण उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकिएको बताए । उनले महँगोमा निक्षेप लिएर सस्तोमा लगानी गर्न नसकिने हुँदा उत्पादनमूलकमा जान नसकिएको बताए । 'मुखले मात्र भनेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिदैन,' उनले भने, 'कम व्याज दिउँ निक्षेप आउँदैन वढी दिउँ कर्जा महँगो पर्छ ।' उनले व्याज दरका कारण बैंकिङ क्षेत्रको कर्जा प्रवाह घटेको जानकारी दिए ।
कार्यक्रममा विकास बैंक बैंकर संघका प्रथम उपाध्यक्ष इन्द्रराज हुमागाइले विकास बैंकहरुले कसरी ३ प्रतिशतको स्प्रेड दरमा काम गर्न सकिन्छ भनेर छलफलमा रहेको जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment