तरलता अभाव कम भयो

काठमाडौं माघ १२ (नागरिक)
बैंकहरुले आपसमा लिने सापटी अन्तरबैंक को दर घटेको छ । गत साता साढे १२ प्रतिशतसम्म रहेको अन्तरबैंक दर यो साताको सुरुदेखि नै घटेर साढे ६ प्रतिशतमा आएको छ । 'सरकारी कोषबाट पैसा बाहिर आएकाले अन्तर बैंक घटेको हो,'बैंक अफ एसिया नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले नागरिकसँग भने ।

सरकारले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको पेन्सन कोष भुक्तानी गरेकाले तरलता प्रवाह भएको हो ।  'दुई बैंकका कर्मचारी पेन्सनको पैसा सरकारले भुक्तानी गरेको छ,' स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका कर्पोरेट अफेयस्र प्रमुख दिवाकर पौडेलले भने, 'सरकारले टे्रजरी विल्स जारी गर्न स्थगन गरेकाले व्याज दर तल आएको हो । ' उनले दुई बैंकको पैसा आएकाले व्याज तल झरेको हुँदा यो अल्पकालिन हुन सक्ने बताए ।
क्षेत्रीका अनुसार सरकारी कोषबाट पैसा आएको बैंकहरुले सरकारी ऋणपत्रको धितो रिपो मार्फत पैसा पाइरहेको र टे्रजरी विल्स केही समयका लागि जारी गर्न छाडिएकाले अन्तर बैंक दर तल झरेको हो । 'अहिले अल्पकालिन घटेको हो,' उनले भने, 'सरकारले पुनः आन्तरिक ऋण उठाउन थाल्ने र केन्द्रीय बैंकले रिपो बन्द गर्दिने हो भने अवस्था पहिलेकै जस्तो हुन्छ ।'
केन्द्रीय बैंकले अहिलेसम्म १८ अर्ब रुपैयाँ रिपोमार्फत बैंकलाई कर्जा दिइसकेको छ । दुई बैंकको पेन्सनका लागि करिव अढाइ अर्व रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ । अझै केही रकम भुक्तानी गर्न वाँकी ।
पौडेलका अनुसार रिपो परिपक्क भएपछि त्यसको पैसा राष्ट्र बैंकमा पुनः फर्काउनु पर्ने हुँदा बैंक दरमा दवाव पर्न सक्छ । 'अहिले नै तल जान्छ वा अझै माथि जान्छ भनेर अनुमान गर्न सक्ने अवस्था छैन,' उनले भने , 'केही समय पर्खिएपछि मात्र भन्न सकिन्छ ।'
दसैंयता वाहिरिएको निक्षेप फिर्ता नआएको बजेट ढिला गरी आउँदा सरकारी खर्च नभएको र १० लाखको स्रोत खोजिदा बैंकिङ माध्यमबाट कारोबार हुन छाडेकाले अन्तर बैंक ब्याज दर १३ प्रतिशतसम्म पुगेको थियो । अहिले पनि सरकारी कोषमा २५ अर्बभन्दा वढी रकम बचत छ ।



No comments:

Post a Comment

thanks for comment