सम्झना फाइनान्स खारेज गर्ने निर्णय


युनाइटेड विकास बैंक समस्याग्रस्त घोषणा

काठमाडौं माघ २४

राष्ट्र बैंकले वित्तीय रुपमा धराशयी भएको सम्झना फाइनान्सलाई खारेज गर्ने निर्णय गरेको छ । यसका लागि बैंक व्यवस्थापनले फाइनान्सलाई १५ दिने स्पष्टिकरण सोधेको एक उच्च अधिकारीले नागरिकलाई जानकारी दिए ।

यसै गरी वित्तीय रुपमा समस्यामा परेको युनाइटेड डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरिएको छ । सोमबार राष्ट्र बैंक साचालक समितिले यस्तो निर्णय गरेको हो ।
सम्झना फाइनान्सको करिब ६४ करोडको दायित्व छ । साना निक्षेपकर्ताको रकम करिब १८ करोड रुपैयाँ छ । वित्तीय रुपमा पहिलेदेखि नै स्वस्थ नभएको यो फाइनान्समा सेनाको कल्याणकारी कोषको २ करोड निक्षेप छ । २१ करोड कर्जा उठ्न बाँकी छ । गैरबैंकिङ सम्पत्तिसहित फाइनान्सको सम्पत्ति ३० करोड रुपैयाँ रहेको अनुमान छ ।

यो फाइनान्सको चुक्ता पुँजी करिब ५ करोड छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको फाइनान्सको शाखा ललितपुर र कमलाक्षीमा छन् । अधिकांश कर्जा ललितपुर शाखाबाट प्रवाह भएको छ । ललितपुर शाखा प्रबन्धक सरोज बज्राचार्य अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । कमलाक्षी शाखाका प्रबन्धक विजयमणि आचार्य राजिनामा दिएर विदेश पलायन भएको अधिकारीहरुले जनाएका छन् ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हिम गुरुङ निलम्बित छन् । केही सयमअघि १ करोड नयाँ लगानी गर्ने गरी प्रबन्ध निर्देशक बनेका मोदप्रसाद अधिकारीले रकम जम्मा नगरेपछि हटाइएको थियो । अनुभवी कर्मचारी अभावमा अहिले वित्तीय विवरण तयार पार्न फाइनान्समा समस्या छ । अनुभवी कर्मचारी नभएकोले वित्तीय विवरण बनाउनसमेत कठिनाइ पर्दै आएको छ ।
करिब एक वर्षअघि निक्षेप संकलन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाएपछि पनि फाइनान्सले नक्कली खाता खडा गरी काम गरिरहेको थियो । लुकाइएको खातामा रकम राख्ने निक्षेपकर्ताले रकम फिर्ता माग्न आएपछि राष्ट्र बैंकले यो विषयमा खोजी सुरु गरेको थियो ।
निक्षेप जम्मा गर्नेलाई रसिद दिएको र कर्जा पनि प्रवाह भएको पाइएपछि विस्तृत वित्तीय विवरण तयार पार्न ढिलाइ भएको अधिकारीहरुले जनाएका छन् । अधिक मूल्यांकन गरी दिएको कर्जाको धितो भने फाइनान्सकै नाममा राखिएकाले निक्षेपकर्ताको रकम सुरक्षित रहेको अनुमान छ । फाइनान्समा करिब ५ हजार निक्षेपकर्ता छन् ।
६ महिना अवधिमा फाइनान्सले करिब ७ करोड कर्जा उठाएको र करिब ७ करोड नै निक्षेपकर्तालाई फिर्ता दिएको छ । बाँकी रकम फिर्ता गर्न उसले सकेको छैन ।

युनाइटेड विकास बैंक समस्याग्रस्त घोषणा
युनाइटेड विकास बैंकमा सशासन कायम नभएको जनाउँदै राष्ट्र बैंकले सोधेको ३५ दिने स्पष्टिकरणमा चित्त नबुझेपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।
यो बैंकका कार्यकारी अध्यक्षका रुपमा रविन्द्रबहादुर िसंह छन् । व्यवस्थापन व्यावसायिक नभएकाले बैंकको वित्तीय स्वास्थ्य बिगि्रएको हो । प्रारम्भिक अनुसन्धानमा संस्थापक र साचालकले बैंकको कर्जा प्रयोग गरेको अनुमान छ ।
संस्थापकले कर्जा लिन नपाउने व्यवस्था उल्लंघन गरिएको र धितो नराखी कर्जा प्रवाह गरिएको भेटिएको अधिकारीहरुले बताएका छन् । 'समग्रमा बैंकको संस्थागत सुशासन धेरै नाजुक देखिएको छ,' ती अधिकारीले भने ।
तीन जिल्लामा कार्यक्षेत्र भई बारामा केन्द्रीय कार्यालय रहेको यो बैंकलाई २०६३ मा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । खराब कर्जा घट्ने र पुँजीको अवस्था सकारात्मक भएपछि २०६६ मा यो बैंक समस्याग्रस्तबाट मुक्त भएको थियो । 'फेरि बैंकको वित्तीय स्थिति नकारात्मक देखिएपछि स्पष्टिकरण सोधिएको हो,' ती अधिकारीले भने, 'चित्तबुझ्दो जवाफ नआएपछि समस्याग्रस्त घोषणा गरिएको हो ।'
बैंकमा नेपाली सेनाको निक्षेप करिब ७ करोड छ । सर्वसाधारणको निक्षेप करिब १ करोड ५० लाखजति छ । अरु दुई वित्तीय संस्थाको ६ करोड निक्षेप फिर्ता भएको जानकारी बैंक व्यवस्थापनले राष्ट्र बैंकलाई दिएको छ । सर्वसाधारणसँग करिब १ करोड ५० लाख रुपैयाँमात्रै कर्जा रहेको राष्ट्र बैंक अधिकारीको अनुमान छ ।  केही कर्जा अनियमित रुपमा प्रवाह भएका छन्ु ती अधिकारीले भने ।
यो विकास बैंकले लामो अवधिसम्म सर्वसाधारणलाई सेयर बिक्री नगरेकाले निक्षेप संकलन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाइसकेको थियो । बैंकको अवस्था खराब भए पनि सर्वसाधारणको रकम डुब्ने स्थिति नरहेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । संस्थागत निक्षेप संकटमा पर्ने अवस्था पनि उनले देखाए ।
लामो अवधिसम्म सर्वसाधारणलाई सेयर बिक्री नगर्ने युनाइटेडसहित पाँच बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले किन खारेज नगर्ने भनी स्पष्टिकरण सोधेको थियो । यसको चित्तबुझ्दो जवाफ बैंकले पाएको छैन । बोर्डमा सेयर बिक्री स्वीकृतिका लागि आवेदन नदिनेमा युनाइटेड डेभलपमेन्ट बैंक छ ।
गत आर्थिक वर्षमा बैंक ४ करोड ५४ लाख नोक्सानीमा थियो । गत असारसम्म बैंकसँग ८ करोड ८४ लाख निक्षेप थियो । कर्जा १३ करोड ४१ लाख छ । खराब कर्जा १ करोड ४३ लाख छ । बैंकको चुक्ता पुँजी ८ करोड २ लाख रुपैयाँ छ । २०७० सम्म १० करोड चुक्ता पुँजी पुर् याउनुपर्ने राष्ट्र बैकको निर्देशन पनि पालना हुने अवस्थामा नभएको अधिकारीहरुले बताए ।
बैंकमा पटक-पटक नयाँ लगानीकर्ता आएका छन् । नयाँ लगानीकर्ता आए पनि बैंकको अवस्था विगतमा एक पटक सुधार भएको थियो तर झन् बिगि्रएको राष्ट्र बैंकका अधिकारीको अनमान छ ।
सम्झना फाइनान्स र युनाइटेड विकास बैंकमा सेनाको कल्याणकारी कोषको रकम निक्षेपका रुपमा राखिएको छ । धराशयी भएका संस्थामा निक्षेप राख्ने निर्णय गर्ने सेनाका अधिकारीको निवर्तमान रक्षा मन्त्री विद्यादेवी भण्डारीको कार्यकालमा सेनामा प्रोत्साहित गरिएको राष्ट्र बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।

No comments:

Post a Comment

thanks for comment