एभरेष्ट इन्स्योरेन्सका सञ्चालकले भने–कम्पनी होइन कारोबार बन्द गरेको हो

काठमाडौं, असोज २- एभरेष्ट इन्स्योरेन्सका सञ्चालकहरुले कारोबार रोकेर कम्पनी बन्द गर्ने निर्णय गरे पनि विमा समितिलाई भने नयाँ कारोबार बन्द गरेको प्रस्टीकरण दिएका छन्। समितिले स्पष्टीकरण सोधेपछि एभरेष्टले बिमाको दावी भुक्तानी धेरै भएकाले त्यसलाई राफसाफ गर्न नयाँ कारोबार बन्द गरिएको जवाफ पठाएको छ।
कम्पनीले 'सिस्टम' बन्द गरेर सम्पूर्ण कारोबार रोकेपछि गत बिहीबार समितिले एभरेष्टलाई तीन दिने स्पष्टीकरण सोधेको थियो। कम्पनीले एभरेष्टको वित्तीय स्वास्थ्य राम्रो बनाउन कर्मचारी कटौटी गर्दै शाखा कार्यालय घटाउने निर्णय गरिएको जवाफसमेत पठाएको छ।
सञ्चालकहरुलेे बिमा राफसाफ गर्ने, कम्पनीको आकार घटाउने, सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन गर्ने र आगामी व्यवसाय के गर्ने भनेर प्रस्ताव तयार पार्ने निर्णय गर्दै माइन्युटसमेत गरेका थिए। कम्पनीले सहायक महाप्रबन्धकहरुलाई यसको जिम्मेबारीसमेत तोकिसकेको छ।
एभरेष्टको स्पष्टीकरणबारे समितिले मंगलबार औपचारिक निर्णय लिदैंछ। 'सबै सञ्चालकहरुको बैंक खाता रोक्का गर्दै कम्पनीको आय, व्यय खाता रोक्ने तयारी गरिरहेका छौं,' समिति स्रोतले भन्यो, 'समिति सञ्चालकहरुको वैठकपछि औपचारिक निर्णय गरिने छ।' उनका अनुसार, एभरेष्टका सञ्चालकहरुले समितिलाई थर्काउन खोजेकाले औपचारिक निर्णय गरेर अगाडि बढ्नु पर्ने अवस्था आएको छ।
एभरेष्ट स्रोतका अनुसार, अहिले कारोबार रोक्का मात्र भएकाले समितिलाई त्यही लेखेर पठाइएको हो। 'हामी कुनै पनि हालतमा कम्पनी चलाउने पक्षमा छैनौं,' कम्पनी स्रोतले भन्यो, 'जवाफ मागेको भएर लेखेर पठाएका मात्र हौं। सबै कुरा समितिलाई भन्न आवश्यक पनि छैन।' उनले विशेष साधारणसभा डाकेर कम्पनी बन्द गर्ने औपचारिक निर्णय गराउने बारेमा छलफल भइरहेको जानकारी दिए।
'६ महिनाभित्र सबै दावी भुक्तानीको रकम सकी औपचारिक रुपमा कम्पनी बन्द गरेर अन्य क्षेत्रमा लगानी गर्छौं,' उनले भने, 'यसका लागि विशेष साधारणसभाबाट सञ्चालक समितिमा अधिकार ल्याउँछौं।'
कम्पनी बन्द गर्न साधारणसभाबाट प्रस्ताव पारित गराउनु पर्छ। त्यो प्रस्ताव बिमा समितिमा लगेपछि मात्र कम्पनी बन्द गर्ने औपचारिक बाटो खुल्ने छ। कम्पनी बन्द गर्न कर्मचारीहरुको अधिकतम अवधिसम्मको सेवा सुविधाहरु दिनु पर्छ। त्यसपछि सम्पूर्ण दायित्वहरु भुक्तानी गर्नु पर्छ।
समितिले खाता रोक्का गरेपछि कम्पनी सञ्चालकहरुको आचरणमा सुधार नआए अर्को कदमको समेत तयारी गरेको छ। 'बिमा अत्यावश्यकीय सेवा क्षेत्रभित्र पर्ने भएकाले ऐन अनुसार कारवाही गर्न सक्छौं,' समिति स्रोतले भन्यो, 'वा अर्को विकल्प कम्पनीको सञ्चालक समिति खारेज गरेर व्यवस्थापन जिम्मा लिन सकिन्छ। हामी कुन विकल्पमा जाँदा उत्तम हुन्छ भनेर कानुनी राय लिइरहेका छौं।'
कम्पनीले भने कर्मचारीहरुका लागि स्वेक्षिक अवकासको योजना समेत ल्याउने भएको छ। ८५ जना कर्मचारीमध्ये ३२ जना करारमा रहेकाले उनीहरुलाई कम्पनीले चाँडै विदाइ गर्दैछ। वाँकी कर्मचारीका लागि कम्पनीले अवकास योजना ल्याउन लागेको हो। कम्पनीले ६ महिनाको तलव सुविधा सहित स्वेक्षिक योजना ल्याउन लागेको हो।
कम्पनीले बिमा समितिको संस्थागत सुशासन सम्वन्धि दिर्नेशिककाका कारण व्यवसाय गर्न नसकिने भन्दै कारोबार बन्द गरेको जनाएको छ। कम्पनीले ६ महिनाभित्र सम्पूर्ण दावी भुक्तानीहरु सकेर बन्द गर्ने योजना बनाएको छ।
'हामी कुनै पनि हालतमा कम्पनी चलाउने पक्षमा छैनौं,' एभरेष्ट स्रोतले भन्यो, 'हामीले औपचारिक माइन्युट गरेर बन्दको निर्णय गर्‍यौं।' सञ्चालक समितिले कर्मचारी व्यवस्थापन, दावी भुक्तानीलगायतका कामका लागि बिहीबार जिम्मेवारीहरुसमेत तोेकेको छ।
'अब कम्पनी ऐन अन्तर्गत रहेर अन्य कारोबार गर्ने योजनामा छौं,' एक सञ्चालकले भने, 'के गर्ने टुङ्गो लागिसकेको छैन। तर प्रस्ताव तयार भइसकेपछि त्यतातिर लाग्छौं।'
नेपाल स्टक एक्सचेन्जले पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिसकेको छ।
बिमा समितिले सर्वेयरको पूर्ण प्रतिवेदन आउनु पूर्व नै ४ करोड रुपैयाँ दावी भुक्तानी गरेको भन्दै कारवाही गरेपछि कम्पनीले कारोबार बन्द गरेको हो। कम्पनीले बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धि निर्देशिकाका कारण काम गर्न नसकिएकाले कारोबार बन्द गर्नु परेको आरोप लगाएको छ।
'कारबाही गरेको कम्पनीले सुशासनको मुद्दा उठाएर कारोबार बन्द गर्न मिल्दैन। यो गैरकानुनी हो,' समिति स्रोतले भन्यो, 'कम्पनीलाई गरेको कारवाहीको विषय वस्तुलाई अन्तै तिर मोडेर सुशासनको मुद्दा उठाइएको हो।' समितिले जारी गरेको निर्देशनको अन्य २४ बिमा कम्पनीले सार्वजनिक विरोध गरेका छैनन्।
चुक्ता पुँजी १० करोड १२ लाख रुपैयाँ रहेको कम्पनीले गत वर्ष ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले ७२ करोड ३२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको गरेको थियो।

No comments:

Post a Comment

thanks for comment